@ Shram Weekly
मलेसियामा नेपाली पत्रकारिताः सम्भावना र चुनौति
-- जेबी दर्लामी
मलेसियामा नेपाली पत्रिकाहरु निस्कन थालेको एक दशकको कालखण्ड पूरा भएको छ । यति छोटो समयावधिमा यहाँ लगभग आधा दर्जन नेपाली पत्रिकाहरु निरन्तर प्रकाशित हुनु भनेको हामी नेपाली समुदायको निम्ति गर्वको विषय हो । यसबाट आम श्रमिकहरुले देशविदेशका समाचारबाट सुसुचित हुने मौका त पाएका छौँ नै, नेपाली समुदायको सिर्जनशीलता र सिर्जनक्षमता उजागर गर्ने माध्यम पनि यिनै पत्रपत्रिकाहरु बनेका छन् ।
कुनै समय थियो, जुन समयमा आज जस्तो सामाजिक सञ्जालको व्यापकता थिएन । दलालहरुबाट ठगिएका, कम्पनीबाट पेलिएका र दूतावासबाट लगभग उपेक्षाकै नियति भोगेका श्रमिकहरुको दुखेसो पोख्ने ठाउँ निर्विकल्प यहाँबाट प्रकाशित हुने यिनै पत्रिकाहरु नै थिए । तिनै नेपाली पत्रपत्रिकाहरुमा आफ्ना पीडाव्यथालाई कथा कविता र गीतगजलको रुपमा पस्केर मनमा मल्हम लगाउन चाहने नेपाली श्रमिकहरुको संख्या अत्यन्तै ठूलो थियो । समस्यामा परेका कतिपय श्रमिकहरुलाई उद्धार गर्ने काममा तिनै पत्रिकाहरु र तिनमा संलग्न पत्रकारहरुको अहं भूमिका देखिन्थ्यो । श्रमिकहरुले दूतावासमा भन्दा बढी विश्वास पत्रिकाहरुमाथि गर्नुपर्ने समय थियो त्यो ।
अहिले परिदृष्य केही बद्लिएको छ । पत्रिका पढ्ने जमात एकाएक घटेर गएको देखिँदैछ । मानिसको चेतनास्तर अपेक्षित सीमा नाघेर बृद्धि भएको छ । प्रविधिमा कल्पनातीत विकास भएको छ । फेसबुक लगायत इन्टरनेट सञ्जालहरुले मान्छेको जीवनजगतप्रतिको धारणामा व्यापक परिवत्र्तन ल्याएदिएको छ । मान्छेहरु तीन रिँगेट तिरेर हप्तामा एउटा सोह्र पृष्ठको पत्रिका पढ्नुभन्दा छिनछिनमा अपडेट भइरहने सयौँहजारौँ संख्याका रचनाहरु र अनलाइन समाचार पढ्न अभ्यस्त हुँदै गएका छन् । पत्रिकाभन्दा मोबाइल फोनको स्क्रीनमा रमाईलो मान्ने एउटा पुस्ता निर्माण भइसकेको छ । फेसबुकमा आफ्ना रचना तथा फोटोहरु अपलोड गरेर अरुको कमेन्ट्स् र लाईक गनेर फुरुङ्ग हुनेहरुको संख्या पनि ह्वात्तै बढेर आएको छ । र यससँगै फेसबुकमा रचना टाँसेकै भरमा आफुलाई ठूलै लेखक ठानेर आत्मरतिमा रमाउनेहरुको पनि अचेल कुनै कमी छैन । पत्रिकालाई हेयको नजरले हेर्ने समूहको पनि अहिले डरलाग्दो प्रकारले उदय भइरहेको छ ।
यस्तो बेलामा पत्रपत्रिकाहरुको काँधमा पहिलेभन्दा झन् बढी दायित्व आइलागेको छ । पाठकहरुलाई आफुतिर आकर्षित गराउन नसक्नुमा पत्रिकाहरुको गैरजिम्मेवारीपन र परम्परागत शैली पनि दोषी छ । नेपालमा रङ्गीन टेलिभिजनहरुको सर्वसुलभता र समाचार च्यानलहरुको लहर देखेर कुनै समय छापा पत्रकारिताको अस्तित्वमाथि नै प्रश्न गर्ने मानिसहरु पनि थिए । र त्यस्तो भन्नेहरु पढेलेखेकै मानिसहरु थिए । तर उनीहरुको त्यो अनुमान मिथ्या सावित भइदियो । छापा पत्रकारिताले पनि जनभावनालाई कदर गर्दै आफुलाई यति परिस्कृत र युगसापेक्ष बनाउँदै ल्यायो कि त्यसो भन्नेहरुले नै बरु टेलिभिजन हेरेनन् होला तर पत्रिकाचाहिँ अवश्यै पढे । दुनियाभरका नाम चलेका ठूल्ठूला पत्रिकाहरुलाई हेर्दा पनि यो स्वीकार गर्न कर लाग्छ कि प्रविधिमा चाहे जतिसुकै परिवत्र्तन भइरहोस तर छापा पत्रकारिताको महत्व र गरिमा कहिल्यै पनि हराउँदैन ।
मलेसियामा चाहिँ किन घट्दैछन् त पाठकहरु ? प्रमुख कारण त माथि भनेझैँ प्रविधिको अभूतपर्व विकास नै हो । मान्छेहरु अर्थात् हिँजोका पाठकहरु आज भर्चुअल दुनियामा आफैलाई लेखक, समालोचक, पत्रकार, दार्शनिक ठानेर पर्ममा पाएको रेडिमेड प्रतिक्रियामा मख्ख छन् । तर यसो भनेर पत्रिकाहरुले पन्छिन पनि मिल्दैन र त्यसो गरेर सकारात्मक नतिजा आउने पनि हैन । बरु आफ्नो गल्तीकमजोरीलाई पत्ता लगाई आफुलाई सुधार्दै जानुमा नै तिनको भलाई छ । यहाँका खबरपत्रिकाहरुले आफुलाई परिस्कृत गर्दै पाठकको मन जित्न सके भने हिँजोको स्वर्णिम दिन पुनः फर्कने कुरामा कुनै शंका छैन ।
हुन त सित्तैमा दिएको सुझाव लिन सबैलाई गाह्रो हुन्छ तैपनि मलाई लागेका केही कुराहरु छन् जसले सरोकारवालाहरुलाई अलिकति भएपनि सोँच्न बाध्य बनायो भने मेरो यो लेखको सार्थकता पूरा हुनेथियो भन्ने सोँचेको छु ।
१– समयसापेक्षता र नीजिपनः
मलेसियाबाट निस्कने सबै पत्रिकाहरुले समयसापेक्षता र आफ्नोपनमाथि पटक्कै ध्यान दिएको देखिँदैन । राजनीतिईतरका प्रायः सामाग्रीहरु बासी छापिन्छन् र त्यो पनि अनलाईन सँस्करणका हूबहू कपि गरेर । विभिन्न लिंकहरुबाट फेसबुकको भित्तामा सचित्र र अझ दृष्यसामाग्री सहित आईतबार पढेको समाचार एक हप्तापछिको शनिबार एउटा तर्कुले पनि फरक नपरी छापिन्छ । अनि पाठकलाई पत्रिकाप्रति मोहभंग नभएको कसलाई हन्छ ?
२– मुद्राराक्षसको आतंकः
कुनैबेलामा शुद्धाशुद्धिमा राम्रो ध्यान दिने पत्रिका ‘नेपाली खबर’ले आफ्नो प्रयासलाई कायम राखीरहन सकेन । यहाँका नेपाली पत्रिकाहरुमा हेडलाईन तथा शीर्षक पनि गलत हिज्जेकासाथ छापिन्छन्, मसिना कुरा त नगरौँ । एउटै शब्दले पनि विषय या प्रसङ्गलाई आकाशपातालको फरक पार्न सक्ने भएका कारण सबै पत्रिकाहरुले शुद्धाशुद्धिमा खुबै ध्यान दिन जरुरी देखिन्छ । पछिल्लो समय यता ‘नेपाल पृष्ठभमि’लेचाहिँ व्याकरण र हिज्जेमा उल्लेखनीय सुधार गर्दै आएको छ । यसलाई सबैले अनुकरणीय रुपमा लिनुपर्दछ ।
३– संग्रहणीय सामाग्रीको प्रकाशनः
खोजमूलक सामाग्रीको अभावले गर्दा कपीपेस्टको शैलीमा सबै पत्रिकाहरुमा एकै प्रकारका सामाग्रीहरु प्रकाशन हँदै आएका छन् । एक हप्ता अघि नै विभिन्न अनलाईन माध्यमहरुबाट चर्चामा आएका सामाग्रीहरुलाई कपी गरेर जस्ताको तस्तै प्रस्तुत गरिनु पत्रिकाकै निम्ति घातक बन्दै गइरहेको छ । त्यसो गर्नुको साटो ऐतिहासिक तथा संग्रहणीय सामाग्री प्रकाशनमा जोड दिने हो भने पाठकहरु पत्रिका पढ्न अवश्यै लोभिनेछन् । सँगसँगै श्रमिकहरुका लागि प्रेरणादायी व्यक्तित्वहरुको जीवनी प्रकाशन गर्ने हो भने पनि लाभदायक नै हुने देखिन्छ ।
४– लेखकहरुलाई प्रोत्साहनः
कुनै पनि पत्रिका स्तरीय बन्नका लागि उम्दा रचनाहरुको खाँचो पर्दछ र यसमा लेखकहरुको भूमिका अत्यन्तै ठूलो रहेको हुन्छ । मलेसियामा पनि उमेर र अनुभव दुवैले पाका स्रष्टाहरु छन् । उनीहरुलाई यहाँका पत्रिकाहरुले खासै प्रयोग गर्न जानेको देखिएन । ती लेखकहरुलाई प्रोत्साहन दिएर र सकेसम्म लेखकस्वको व्यवस्था गरिदिने हो भने उनीहरुका स्तरीय रचनाका कारण पत्रिकाकै स्तरोन्नति हुनेछ ।
५– रचना छनौटमा ध्यानः
हरेक पाठकले आफ्नो रचना छापिए हुन्थ्यो भनी अपेक्षा राख्नु स्वाभाविक हो । श्रमिकका निम्ति छापिने पत्रिकाहरुमा श्रमिकहरुकै रचनाले प्रधानता पाउनु पनि स्वाभाविक नै हो । तर तिनका रचनाहरुमा सामान्य सम्पादन गर्ने सम्पादकीय हक पनि त हुन्छ । अपरिष्कृत रचनाहरुलाई सम्पादनसहित छाप्न जरुरी छ ।
६– मूल्यमाथि पुनर्विचारः
मलेसियामा उपलब्ध नेपाली पत्रिकाहरुको मूल्य तीन मलेसियन रिंगेट तोकिएको छ । यसलाई नेपाली रुपैयामा रुपान्तर गर्दा झण्डै नब्बे रुपैया हुन आउँछ । सबै पत्रिका पढ्न या संकलन गर्न चाहनेले हप्तामा अठार रिंगेट अर्थात् पाँचसय रुपैयाभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । तीन वर्षको हिसाब जोड्दा लगभग नब्बेहजार रुपैया हुन आउँछ । एउटा श्रमिकका निम्ति यो रकम भनेको चानचुने हैन । तसर्थ चाहेर पनि पाठकले सबै पत्रिका पढ्न सक्ने अवस्था छैन । त्यसकारण पत्रिकाको मूल्यमाथि एकपटक पुनर्विचार गर्ने पो हो कि ?
आम श्रमिकलाई सूसुचित गराउने जिम्मेवारी बोकेको मलेसियाका नेपाली छापा पत्रिकाले अब पाठक समूह निर्माण गर्ने एक अर्को दायित्व पनि निर्वाह गर्नुपर्ने देखिएको छ । किनकि सुचनाकै लागि अन्य थुपै्र माध्यमहरु मानिसका सामु उपलब्ध छन् । अब पत्रिकाहरुले चार लाईन फेसबुकमा टाँसेर आफुलाई देवकोटा सम्झने जमातलाई गहनतातर्फ आकर्षित गराउन सक्नुपर्दछ । सिकारुलाई उत्साह सँगसँगै अग्रज लेखकहरुलाई सम्मानित स्थान दिनुपर्दछ । छापा पत्रकारिताको काँधमा पहिलेभन्दा बढी जिम्मेवारी आइलागेको छ भन्नेतर्फ यससम्बद्ध सबैको ध्यान जान जरुरी देखिन्छ ।
०००
No comments:
Post a Comment