@Nepali digest Weekly
३९औँ तलामा बसेर ‘डिनर’
-- जेबी दर्लामी
कुनै नाफाघाटा नहेरी जिन्दगीमा जोडिन आइपुगेका प्रियजनहरुको बारेमा लेखेर चर्चापरिचर्चा गर्न मन नलाग्दो रहेछ । तिनलाई त मनमनै सम्झन मन लाग्दो रहेछ । तिनका बारेमा सम्झेर एक्लै रमाउन मन लाग्दो रहेछ । लेख्न मन नलाग्नुका कारण, सम्झनका लागि कुनै बल लगाइरहन नपर्ने ती आत्मीयजनहरुको बारेमा सायद जति नै लेखेपनि थोरै हुने भएर होला । त्यही भएर त होला मलाई यत्ति लेख्न पनि ख्याल अल्छी लागेको थिएन । तर भन्छन् नि मान्छेको मन दुईओटा हुन्छ । हो त्यही एउटाचाहिँ मनले हुट्हुटी लगाएपछि यति लेख्न बसेको छु । मलाई थाहा छैन, मेरा यी निजात्मक अनुभूतिले पढ्नेहरुका निम्ति के अर्थ राख्ला ?
३१ अगष्ट २०१४ ।
मलेसियाको स्वतन्त्रता दिवस । ठिङ्ग उभ्भिने नोकरी गर्ने मान्छेको छुट्टी हुने त कुरै थिएन तर पनि एकदिनको ज्याला माया मारेरै भए पनि त्यो दिन विदा लिएको थिएँ । त्यसो गर्नुको कारण थियो, गजलकार निश्चल परदेशीको एकल गजल वाचन कार्यक्रम । तर शाहआलमबाट केएल नआइपुग्दै कार्यक्रम समापन भइसकेको अर्जुन काफ्लेबाट जानकारी पाएँ । अब डेरामा फर्कनुप¥यो भनेर तयार हुँदै गर्दा साथी अर्जुन काफ्लेलाई कसैले फोन ग¥यो । एकछिन कुरा गरिसकेपछि मोबाइल फोन मलाई दिँदै उनले भने— “रोहन समीप ।”
म झसँग भएँ । विगत तीनचार महिनाअघिदेखिका केही घटनाप्रसङ्गहरुले मेरो मनलाई छुँदै जाँदै गर्न थाले ।
‘त्यो आधी रात’ शीर्षकको मेरो कथा ‘समकालीन साहित्य’मा प्रकाशित भएको थियो केही महिनाअघि । एक दिन मेरो फेसबुकको टाइमलाईनमा यूट्युबको एउटा सामाग्री शेयर गरिएको पाएँ । त्यसो गर्ने अरु कोही हैन उनै रोहन समीप नै थिए जसलाई म चिन्दिनथेँ । यतिसम्म कि हामी भर्चुअल संसारमा अथवा सामाजिक सञ्जालमा समेत साथी बनेका थिएनौँ । प्रतिकृयाको अपेक्षासहित मेरो समयरेखासम्मन् आइपुगेको त्यो सामाग्री मेरो त्यही कथा थियो । रोहनले त्यस कथालाई आफ्नो मधुर आवाजमा रेकर्ड गरेछन् र यूट्युबमा अपलोड गरिदिएछन् । उनले त्यसलाई रेडियोमा बजाउने प्रस्ताव पनि राखेका थिए तर मैले मानिनँ कारण कथाको घटनाक्रमलाई विश्वसनीय बनाउने प्रयासवश बाध्यताले केही त्यस्ता शब्दावलीहरु पनि परेका थिए जसलाई एक्लै बसेर पढ्दा त स्वाभाविकै थियो तर पढेर अरुलाई सुनाउन अलि नमिल्ला जस्तो लागेर मैले त्यसरी ईन्कार गर्नु परेको थियो ।
त्यसपछि हामी फेसबुकमा साथी बन्यौँ । म छक्कै परेको थिएँ, मप्रति उनको यसप्रकारको चासो देखेर । आजको स्वार्थैस्वार्थले भरिएको यस दुनियामा यस्ता निस्वार्थ मन भएका साथीभाई पाउनु पनि कति दूर्लभ घटना बन्दो रहेछ । सुरुदेखि नै म उनलाई भाइ भनी बोलाउन थालेँ, आफ्नै भाइ जस्ता लाग्थे उनी । उनको आत्मीय व्यवहारले मलाई झुकाएको थियो ।
रोहनले हामीलाई आफ्नो निवासमा आमन्त्रण गरे । अर्जुन काफ्ले र म उनको आतिथ्यतालाई स्वीकार गर्दै त्यतै लाग्यौँ । गगनचुम्बी महलको ३९औँ तलामा बस्दा रहेछन् रोहन, सपरिवार ।
सातौँ तलामा अवस्थित स्वीमिङ्ग—पुलको छेउमा थुपै्रवेर बस्यौँ हामी, भलाकुसारी गरेर । अर्जुन काफ्ले आफ्नो व्यस्त नोकरीका वावजूद पत्रकारितामा लागिपरेका मान्छे । विषयगत ज्ञान र लगाव अनि मलेसियाका नेपाली श्रमिकहरुको दुःखसुखका समाचार लेख्न लालायित उनको मन देख्दा म कायल भएको थिएँ । कति सकेको हो समय व्यवस्थापन गर्न ? लोभ पनि लागेको थियो उनको सिर्जनात्मक क्रियाशीलतालाई देखेर । रोहन त त्यसै खुसी । उनको लगनशील बानी देखेर मलाई पनि हार्दिक खुसी लागेको थियो । यो केटोमा केही त्यस्तो खुबी छ, मलाई अहिले पनि यस्तो लाग्छ । मलेसियाको प्रवासी नेपालीहरुका विविध पक्षहरुमा हामीले कुराकानी ग¥यौँ । साहित्यप्रति अभिरुची राख्ने भएकाले होला हाम्रा कुराकानी घुमीफिरी साहित्यमै आएर अल्झिन्थ्यो । हामीले मनी राई गोठाले र उनको कथाकारीताबारे कुरा ग¥यौँ । हामीले गाउँले, नारथुँगे, मौलश्री, राज अविरल, परदेशी, सविन, दीप दर्शनका बारेमा कुरा ग¥यौँ । यहाँको पत्रकारिता र साहित्यिक माहौलको बारेमा कु्रा ग¥यौँ । साथी अर्जुनले यहाँ आएर केही उदाहरणीय काम गरेका नेपालीहरुको प्रोफाईल कलेक्सनको रुपमा छाप्न पाए हुन्थ्यो भनी सुनाए । रोहन भाइको ईच्छा थियो, मलेसियाको भावभूमिमा लेखिएका कथाहरुलाई साप्ताहिक रुपमा श्रृंखलाबद्ध वाचन गर्ने र यहाँका कथाकारहरुलाई अनलाईन रेडियोमार्फत् संसारभर चिनाउने । टनाटन पानी भरिएको स्वीमिङ्ग—पुलको छेउमा बसेर गफ गरिरहँदा मलाई आफ्नै घर नजिकैको रापती नदीको किनारमा बसेझैँ लागिरह्यो ।
बहिनी कमला रोहनले पस्केको स्वादिष्ट खाद्यपरिकार ३९ तलामाथि बसेर खायौँ । मजस्तो भूईमान्छेलाई यो अनुभव आजीवन बिर्सीनसक्नुको थियो । ३९ तलामा बसेर डिनर ? सोँचेको पनि थिइनँ, जिन्दगीमा कुनै दिन यस्तो पनि क्षण आउला । अठासी तले केएलसीसी सुनौलो बत्तीमा चम्कीरहेथ्यो । पूरै क्वालालम्पुर शहर दुलहीझैँ देखिएको थियो । स्वतन्त्रता दिवसको रौनक थियो त्यो । केएल टावरले नजिकैबाट हामीलाई नै हेरिरहेझैँ लाग्दथ्यो । प्रहरी प्रधान कार्यालय हामीभन्दा कति हो कति तल थियो । सीआईएमबी बैँकको मुख्यालयले भने हामीलाई घोप्टो परेर हेरेझैँ लाग्थ्यो । सयौँ वर्ष पछिसम्मलाई सोँचेर निर्माण गरिएका व्यवस्थित भवनहरु, आधुनिक भवनहरुबीच पनि पुराना र ऐतिहासिक महत्वका होँचा घरहरुलाई बचाएर राखिएको देखिन्थ्यो । रुखहरुलाई संरक्षण गरिएको र हरियालीलाई बचाइ राखिएको उदाहरण हामीले देख्यौँ । अनुशासनमा रहेर गरियो भने विकास कति सुन्दर र कलात्मक बन्दो रहेछ भन्ने पनि हामीले महसुस ग¥यौँ ।
भलाकुसारी गरेर हामी राती अबेरसम्म बस्यौँ । संयोग नै भनौँ, मेरो ‘अयोग्य’ शीर्षकको कथा अर्जुन काफ्लेको संयोजन र रोहन समीपको आवाजमा केही हप्ताअघि नै रेकर्ड भएको रहेछ जो दुबईबाट सञ्चालित प्रवासी अनलाईन रेडियोबाट दुईहप्ता अघिको आईतबार नै बज्नु पर्ने रहेछ तर प्राविधिक कारणवश होला अझैसम्म बजेको रहेनछ । रोहन भाइको नियमित कार्यक्रम थियो यो जहाँ मलेसियाको कुनै न कुनै विषय छोइएको कथा उनको मधुर आवाजमा बज्ने गर्दथ्यो । रोहनको अँध्यारो अनुहार र उदास स्वर बेलाबेलामा कोठामा देखियो सुनियो—
“आज पनि बजेन भने म यस रेडियोमा कहिल्यै कथा वाचन गर्दिनँ ।”
राती नौ बजेपछि त्यस अनलाईन रेडियोमा मेरो कथा बज्न थाल्यो । सबैभन्दा खुसी त सायद रोहन भाइ नै थिए कारण दुई हप्तादेखि नै रोकिएको कार्यक्रमले आज निरन्तरता पाएको थियो । हामी पनि खुसी नै थियौँ । संयोजक, वाचक र लेखक एकै ठाउँमा बसेर कथा सुन्न पाउनु हामी सबैको अहोभाग्य थियो । अर्जुनजी र रोहन भाइको मेहनत देख्दा मलाई त्यो कथा लेख्न बरु अलि सजिलो भयो होला भन्ने सोँचिरहेँ । त्यो कथा प्रसारणमा मेरोभन्दा अहं भुमिका ती दुई प्रियजनकै थियो । यो जस म उनीहरुलाई नै दिन चाहन्छु ।
भलाकुसारी गर्दै बसेर बिहानपख मात्र हामी ओछ्यानमा ढल्यौँ । भोलिपल्ट उठेर अर्को महत्वपूर्ण कार्यक्रममा सहभागी हुनु थियो । त्यो थियो, नेपाल मुक्तक प्रतिष्ठान मलेसिया शाखाको प्रथम साधारणसभा ।
०००
No comments:
Post a Comment