कमरेड, के म यत्ति सोध्न सक्छु ?
-- जेबी दर्लामी
कुनै समय थियो, नेपालको तत्कालीन माओवादी पार्टीलाई दुनियाभरका कम्युनिष्टहरुले ज्योतिर्पुञ्जको रुपमा हेरेका थिए । त्यस्तो ज्योतिर्पुञ्ज जसको चहकिलो उज्यालोमा आफ्नो अस्तित्व छाम्न सकियोस्, आफ्नो मार्ग पहिल्याउन सकियोस् र गन्तव्यमा पुग्न सकियोस् । तर विडम्बना अहिले माओवादी पार्टी स्वयं औँशीको रातमा बाटो बिराएको बटुवा बन्न पुगेको छ र त्यसलाई सही बाटोमा कसले डो¥याउला भन्ने अवस्था आइलागेको छ ।
सम्विधानसभाको पहिलो निर्वाचनमा उपलब्ध ऐतिहासिक विजयलाई व्यवस्थापन गर्न नसक्नुको परिणाम एमाओवादीले अहिलेसम्म भोगिरहेको छ र देश अनिर्णयको बन्दी बनिरहनमा पनि उसको आचरण नै जिम्मेवार छ । वर्षौँदेखि देशलाई लुटिरहेका पशुपतिका भट्टहरुलाई निकाल्नै पर्दथ्यो तर त्यो समय अनुकूल थिएन किनकि माओवादीको सरकार स्वयं अरु पार्टीहरुको आडभरोसामा अडिएको थियो । शक्तिखोरमा प्रचण्डले आफ्नो आन्द्राभँुडी नै निकालेर त्यसरी बोल्न नै हँुदैनथ्यो किनकि शान्तिप्रक्रियाको निरन्तरता टुंगिएकै थिएन । मान्छे च्यूत भएको या व्यवहारले देखाउँछ या त बोलीले तर एमाओवादीका शीर्षस्थ नेताहरु र विशेषगरि प्रचण्ड बोली र व्यवहार दुवैमा भ्रष्ट रुपमा देखा परे । हुट्टिट्याउँको किस्सा यदि साँचो हो भने त्यो प्रचण्डमा ठ्याक्कै मेल खान्छ । मविना देश चल्दैन भन्ने मनोविज्ञानको कमजोर धरातल टेकेर प्रचण्डले जुनप्रकारको नौटंकी देखाए त्यसले सिंगो पार्टीलाई नै लज्जास्पद घुम्तिमा ल्याइपु¥यायो । सम्विधानसभाको दोस्रो निर्वाचनमा त्यो राम्ररी देखा प¥यो । माओवादी पार्टी दुई टुक्रामा परिणत हुनु, सम्विधानसभामा तेस्रो स्थानमा समेटिनु, देशैभर उसले आफ्नो लोकप्रियता गुमाउनु यी यावत् समस्याका कारणहरुमध्ये प्रमुख कारण प्रचण्डको थुतुनो नै हो । उनी भर्खर बोल्न सिकेको दुधे बच्चाजस्तो जहिले पायो तहिले र जे पायो त्यही बोल्नु नै पार्टीका निम्ति
घातक सिद्ध भइदियो र अर्को, प्रचण्डको विलासी चरित्र पनि समस्याका कारणहरुमध्ये एउटा हो । लगातार नेतृत्वमा टाँस्सिरहन चाहनुले कम्युनिष्टहरुको चरित्र नमरुञ्जेल मुख्य नेता बनी राख्ने सन्देश आम जनतामा पुगेको छ भने कम्युनिष्टहरुको व्याख्यामा सधै बुर्जूवा र अलोकतान्त्रिक भनिएका पार्टीहरु बरु सत्ता संचालन र शक्ति सन्तुलनमा उनीहरुभन्दा बढी व्यवहारिक र लोकतान्त्रिक देखा परेका छन् । असली न्यायाधीश जनता नै हुन् भन्ने बिर्सेर एमाओवादी आफ्नो तालमा नाचिरह्यो । उसले जनताको आँखा छ र त्यसले कालोलाई कालो र सेतोलाई सेतो नै देख्छ भन्ने यथार्थ चटक्कै भुलेको देखिन्छ ।
युद्धपछिको समयमा एमाओवादीले मान्छेको अतुलनीय प्राणसँग साटेको हतियार हिजो आफैले वर्गवैरी घोषणा गरेको सत्तालाई सुम्पँदै गर्दा पाखुराको बल युद्धमा रित्याएर अयोग्यको बिल्ला भिरेर रुँदै घर फर्काइएका हजारौँ लडाकुहरुको शारिरीक र मानसिक पीडा पनि नदेखेझैँ गरेको थियो । ती लडाकुहरुको रगत र आँसुको मूल्य पार्टीमा लगानी भएको छ र एकदिन त्यसलाई ब्याजसहित चुक्ता गर्नुपर्ला भनेर पनि एमाओवादीले सायदै सोँचेको थियो होला र अझैपनि उसले यो यथार्थलाई खुला मनले स्वीकार गर्न चाहिरहेको छैन । उसका पछिल्ला कृयाकलाप त्यसैका उदाहरण हुन् ।
यो समय एमाओवादी पार्टीका सामु आफुलाई सुधार्ने भरपूर समय छ । तर उसले यसतर्फ अलिकति पनि ध्यान दिन सकेको छैन या चाहेको छैन । किनकि ऊ सुध्रन चाहँदैन । परम्परामाथि प्रश्न गर्नेहरु सदैव तिरष्कृत र अल्पमतमा पर्दै आएका छन् र त्यसको निरन्तरता अहिले बाबुरामसम्म आइपुगेको छ । गम्भीर तथा बौद्धिक जनता एमाओवादी पार्टीप्रति उदासीन बनिरहेका बेला र पार्टीउपर अत्यन्तै ठूलो अपेक्षा राखेका निमुखा जनतामा पार्टीप्रति नै चुलिँदै गइरहेको वितृष्णा कम गर्ने मनशायले सायद डाक्टर कमरेडले पार्टीको नेतृत्व हाँक्न चाहेका होलान् । (यति लेख्दा बाबुरामको अन्धभक्त भईँदैन होला जस्तो लाग्छ ।) तर प्रचण्डको हैकमवादको छायामा पार्टी सुदृढीकरण र शुद्धिकरणका सारा उपायहरु नै उपायहीन बन्दै गएका छन् ।
एमाओवादीले आफ्ना लडाकुहरुलाई मात्र हैन त्यतिका वर्षसम्मन् आफुलाई भात ख्वाएर पालेका शुभचिन्तक जनतालाई पनि पूर्णरुपमा उपेक्षा गरेका छन् । हिजो जस्तापाताले छाएको घरलाई सामन्तको घर भन्ने र आफुलाई सर्वहारा भन्न रुचाउने पार्टीका टाठाबाठाहरु अहिले गाउँका नयाँ सामन्तको रुपमा स्थापित भएका छन् । द्वन्द्धको लामो कालखण्डभरि आफ्नो छाक काटेर पार्टीलाई भोको हुनबाट बचाएका जनताचाहिँ झन् बढी दुःखमा छन् ।
अहिले एमाओवादीका स्थानीय र केही केन्द्रीय तहका नेताहरु विभिन्न व्यवसायमा संलग्न हुने एकप्रकारको लहर नै चलेको छ भन्दा पनि हुन्छ । कोही माछापालनमा, कोही बँगुरपालनमा त कोही कुखुराबाख्रा पालनमा लागेका छन् । कसैले डेरी व्यवसाय सञ्चालन गर्दैछन् । किराना पसले त कति भए कति । बाबुराम भट्टराईजस्ता नेताले पाएसम्म कलेज पढाउने धोको पूरा गरिराखेको पनि हामीले देखेकै कुरा हो । कसैकसैले त्यसलाई उदाहरणीय कामको रुपमा व्याख्या गर्ने गरेका पनि छन् तर के म यत्ति सोध्न सक्छु कमरेड, दसवर्षे युद्ध र बीसौँहजार नेपाली जनताको वलिदान के यसैका निम्ति थियो ? के एमाओवादीका नेताहरुलाई व्यवसायको मालिक बनाउनकै लागि हजारौँ नेपालीले ज्यान दिनु परेको हो ? लाखौँ जनता आफ्नै देशमा घरबारविहीन बन्नु परेको हो ? हजारौँले अपाङ्गता स्वीकार्नु परेको हो ? होइन भने त्यो युद्धको औचित्य खोई ?? चेलीहरु बलात्कृत हुनुपरेको विवशताको औचित्य कसले पुष्टि गर्नु पर्ने हो ? टुहुरा बनेका बालबालिकाहरुको भविष्यको ग्यारेण्टी खोई ???
बाबुराम भट्टराईले कलेज पढाउन सुरु गर्नुअघि कि त भन्न सक्नुपथ्र्यो– ‘मेरो काम कलेज पढाउने हो, दसवर्षे युद्धमा लागेर गल्ती गरिएछ ।’ यदि त्यो युद्ध सही थियो भने कसरी सही थियो भनेर प्रमाणित गर्ने काम त उनीहरुको हैन र ? हिजो तिनका करबल र लहैलहैमा लागेर स्कुल छाडेर युद्धमा होमिएका र अहिले घर न घाटका बनेका ती युवाहरुले के सोँचिरहेका होलान् ? यसतर्फ पार्टीले गम्भीर भएर कहिल्यै विचार गरेको देखिएन ।
केही बुद्धिजीवि भनिएका र बनाइएका नेताहरुले पार्टीलाई सुधार्ने नाममा टाउको दुखेको ठीक पार्ने औषधी नाईटोमा दलिरहेका छन् । यति भद्दा र लज्जास्पद दृष्य पनि यी अभागी आँखाले देख्नु परिरहेछ ।
शीर्षस्थ नेताहरुले सत्र पुस्तालाई पुग्नेगरि सम्पत्ति थुपारेका छन्, एकजना हरिबोल गजुरेलले ‘मेरो सारा सम्पत्ति पार्टीलाई दिएको छु, अब मसँग आफ्नो भन्ने केही छैन’ भनेर के हुन्छ ? केही अर्थ छ त्यो भन्नुको ? कसैले पत्याउँछ ? पजेरो सँस्कारको विरोध त हिजोका दिनमा देखाउने दाँत बनाइएको थियो । आज कमरेडहरु पजेरोविना हिँडडुल गर्नै नसक्ने भएका छन् । अझ हेलिकोप्टर नै चाहिने भइसक्यो । अनि एकजना नारायणकाजीले ‘म त टेम्पो चढ्ने मान्छे’ भनेर जति चिच्याए पनि के हुन्छ ? फेवातालको पानी चम्चाले फ्याँकेर सुकाउने कुरा गरेजस्तै हो यो पनि । त्यसको लागि त भरपर्दो र व्यवहारिक संरचना बनाउनु प¥यो । दरिलो संयन्त्र बनाउनु प¥यो ।
एमाओवादीमा केन्द्रदेखि स्थानीय स्तरसम्म लागू हुनेगरि सुधारको प्रभावकारी अभियानकै खाँचो छ । सुध्रनुपर्छ त सबैले भन्छन् तर सुध्रनुसँग सबैलाई डर छ । बरु कालो झूटलाई त्यागेर सेतो झूटलाई समात्ने तर सत्यको पछाडि त मरि गए पनि नलाग्ने । यो मनोविज्ञान नेतृत्वबाटै कार्यकर्तामा सरेको छ । सम्भवतः एमाओवादीले सुध्रने मौका पनि अब गुमाइसकेको छ र यससँगै कम्युनिष्ट आन्दोलन नै मजाकको विषय बन्छ कि भन्ने डर बढ्दै गइरहेछ । पार्टीलाई यही रुपमा निरन्तरता दिने हो भने विश्व रंगमञ्चले कुनै बेलाको ‘हीरो’ एमाओवादीलाई सबैभन्दा ठूलो ‘जोकर’को रुपमा उभ्याउने दिन पनि सायद अब धेरै टाढा छैन ।
०००
No comments:
Post a Comment