@Gantavya monthly & Arghakhanchi Times weekly
मिझार बुबालाई सम्झेर
-- जेबी दर्लामी
“झन्तरे मिझार बुबा बित्नुभएछ ।”
खबर सुनेर मन झसँग भयो । एकछिन त हो कि हैन जस्तो पनि लागिरह्यो । तर साँच्चै रहेछ । झन्तरे मिझार बुबाले सधैका लागि छाडेर जानुभएछ हामीलाई । सिद्धारालाई । सिलिङखोलालाई ।
अहिले यो लेखिरहँदा पनि मन झनझन बेचैन भइरहेछ । सिद्धारालाई छाडेको, आफु जन्मेको गाउँ सिलिङखोलालाई छाडेको पनि झण्डै बाह्रवर्ष भइसकेछ । कुनै योजनाबिनै, कुनै रीसरागबिनै र कुनै मन दुखाइबिनै छाडेको थिएँ मैले मेरो गाउँलाई । मन दुखेको भएपनि थोरै मानिसहरुसँगको कुरा थियो । केही ठालूहरुसँगको मतमतान्तरमा बाझेर बस्न मन नलागेपछि छाडेको थिएँ मैले सिलिङखोलालाई । तर मलाई के थाहा, केही खराब मानिसहरुसँग तर्केर भाग्दा मैले गाउँका थुप्रै असल मानिसहरुलाई पनि छाडेर हिँडेको रहेछु । तिनै असल मानिसहरुमध्ये झन्तरे पनि एक हुनुहुन्थ्यो जसलाई म मिझार बुबा अर्थात् जेठा बा भनी बोलाउँथेँ ।
उहाँको खास नाम झग्गु दर्लामी । गाउँमा सबैले झन्तरे भन्थे र त्यसपछि बाजे, मामा, काका इत्यादी साईनोले सम्बोधन गर्दथे । हामी दर्लामी भएपनि तेह्रदिने दाजुभाइ थिएनौँ तर हाम्रो पारिवारिक सम्बन्ध दाजुभाइजत्तिकै थियो । उहाँका छोराहरुमध्ये दुईजना मेरा दाजु पर्छन् जसले मलाई र मेरा भाइहरुलाई पनि आफ्नै भाइहरुलाईजत्तिकै माया गर्छन् । बाँकी तीनजना मभन्दा उमेरमा कान्छा छन् जसले मलाई सदैव आफ्नै दाइलाईजत्तिकै आदर गर्छन् ।
उहाँहरु प्यूठानको हँसपुर गाविसबाट बसाईँ सरेर आउनु भएको, मेरो बाजेबज्यै, बाबा अनि फूपूचाहिँ तत्कालीन सल्यान जिल्लाको हाँसीपुर गाविसबाट बसाईँ सरेर यहाँ आएका । उहाँहरु मगर भाषा बोल्ने परिवार, हामीचाहिँ नबोल्ने । तर यतै जन्मेको हुनाले यिनै असल मानिसहरुको सान्निध्यमा हुर्कन पाएर भाषासम्बन्धि केही ज्ञान हामीले पनि पाएका छौँ ।
मिझारबुबा ठूलो जिउडालको हुनुहुन्थ्यो । लामालामा जुँगा पाल्ने, टाठो स्वरमा बोल्ने अनि हक्की र कसैसँग नडराउने स्वभावका कारण उहाँ हाम्रो गाउँभरिका लागि असाधारण व्यक्तित्व हुनुहुन्थ्यो । काम परेर जिल्ला सदरमूकामतिर जाँदा अड्डातिरका कर्मचारीहरुले उहाँलाई भूपू सैनिक हुनुपर्छ भनेर कुरा गर्थे । हैन भन्दापनि पत्याउँदैनथे । हामी सानै छँदा उहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो । उहाँकै बलमा सरकारी कोटाका शिक्षकहरु थपिएका थिए हाम्रो गाउँको सानो विद्यालयमा । त्यतिबेला जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुसँग भिडेको प्रसँग पछिसम्म पनि उहाँ सगौरव सुनाउनुहुन्थ्यो ।
उहाँ सबै काम गर्ने तर गोठालाचाहिँ खासै नजाने । उहिले एकदिन जानुभएको रहेछ । गाउँभन्दा माथि एउटा अग्लो डाँडा छ । सम्म परेको, पानी जम्ने । उहाँले त्यहाँ बारी बनाउने कल्पना सुनाउनु भएछ । अनि त के, उहाँलाई मामा भन्नेहरुले त्यो डाँडाको नामै कुबाबारी राखीदिए । कुबा भनेको मगर भाषामा मामा हुन्छ । अहिले पनि त्यो डाँडालाई यही नामले नै चिन्छौँ हामी । यो डाँडासँगै मिझार बुबाको नाम पनि सदा काल बाँचिरहनेछ ।
उहाँको छेउमा बसेर पुरानो समयका अनेकानेक रोचक प्रसँगहरु सुन्न कम्ता आनन्द लाग्दैनथ्यो सानो छँदा । अलि बुझ्ने भएपछि उहाँको छेउमा बस्ने मौका कहिल्यै मिलेन । मिलेपनि ती अत्यन्तै छोटा समय थिए ।
अस्ति एकपटक सुनेको थिएँ, पोहोर साल बेस्सरी बिरामी हुनुभएको थियो रे तर निको लागिसकेको थियो रे । त्यसदिन बिहान आफै बारीसम्म झरेर केही काम गर्नुभएको थियो रे । दिउँसो चर्पी गएको मान्छे छट्पटाउँदै फर्कनुभएछ । मुखभरि रगत थियो रे । केहीबेरमै उहाँले सदाका लागि आँखा चिम्लनुभएछ ।
परिस्थितिको शिकार बनेर नेपाली युवाहरु लाखौँको सँख्यामा विदेशमा छन् । त्यसबाट हाम्रो गाउँ पनि अछूतो रहने कुरा भएन । हाम्रो परिवार पनि यसबाट जोगिन सकेन । उहाँका छोराहरु धेरै त बाहिरै छन् । मैले मेरा बाबाआमालाई सम्झेँ । गाउँभरिका बूढाबूढी मानिसहरुलाई सम्झेँ । सबैको हालत यस्तै छ । सबैको बाध्यता उस्तै छ भनेर सोँच्दा मन भारी भएर आयो । आँखाहरु रसाएर आए । हामीलाई हाम्रा साना हात समातेर हिँड्न सिकाउने बाबाआमाको बूढेशकालमा उहाँहरुको सहारा बन्न नसक्ने जिन्दगीको के काम भनेर सोँचेँ । के कुराले हामीलाई यसरी क्षतविक्षत बनाउँदै गइरहेछ भनेर कल्पने कोशिस गरेँ । पश्चात्तापले घेर्न आयो । जाबो एक छाक खानकै लागि गाउँ छाडेर, घर अनि आफन्तहरुलाई छाडेर हिँड्न पर्दैनथ्यो होला भनेर सोँच्दा आफैलाई धिक्कार्न मन लाग्यो ।
गाउँबाट जति टाढा भएपनि गाउँको याद त कहाँ आउन छाड्छ र ? हामीले त्याग्न चाहेपनि गाउँको मायाले हामीलाई कहाँ त्याग्न सक्छ र ? जतिपटक गाउँ सम्झेँ उतिपटक घर सम्झेँ । जतिपटक गाउँ सम्झेँ गाउँका असल मानिसहरुलाई सम्झेँ । असल मानिसहरुको सम्झना आउँदा मिझार बुबालाई कसरी छुटाउन सक्थेँ र ? सकिनँ । सधैँ सम्झेँ । सधैँ मनमा राखेँ ।
एउटा अचम्मको कुरा यी झन्तरे अर्थात् मिझार बुबा बिरामी भएर अस्पताल गएको गाउँमा कसैलाई थाहा थिएन पोहोरसम्म । त्यस्तो निख्खर र निरोगी थियो उहाँको ज्यान । पोहोर साल भने बेस्सरी बिरामी पर्नुभएको थियो रे ।
मिझार बुबालाई सम्झेर यति कुरा लेखिरहँदा उहाँको अनुहार याद आइरहेछ । उहाँको बोली याद आइरहेछ । सधै हामीलाई अभिभावकत्वको छहारी दिने, सधै हाम्रो पक्षमा बोलिदिने त्यो तेजस्वी मानिसको याद आइरहेछ । भेट हुँदा सधै मेरो प्रशँसा गर्नुहुन्थ्यो, “हेर् है हेर् तैँले यो गाउँको नाम राख्छस् । स्याबास, यस्तै जान्नेबुझ्ने हुनू ।”
उहाँले भनेझैँ गाउँको नाम राख्न सकेँ सकिनँ, उहाँले आशिष दिएझैँ जान्नेबुझ्ने हुन सकेँ सकिनँ तर यो मनमा धेरै कुरा बाँकी थिए उहाँलाई भन्नुपर्ने । उहाँका कुरा सुन्न अझै धेरै बाँकी थिए । उहाँको सल्लाह लिन अझै थुप्रै बाँकी थियो । सबै सकियो । उहाँलाई पनि सिलिङखोला र राप्ती नदीको दोभानमा लगेर जलाए होलान् । उहाँको देहबाट निस्केर हराएको धूँवाझैँ मेरा केही सपना थिए मिझार बुबासँग जोडिएका ती पनि सबै हराए ।
बाटो अलि सोझिनासाथ परदेश छाडेर सधैका लागि गाउँमा फर्कन्छु भनेर सोँचेको थिएँ । सोँचेको थिएँ, गाउँका रहलपहल युवाहरुलाई समेटेर केही काम गर्छु । बाउबाजेलाई सिकाउने मानिस भएनन् । गुजाराका लागि गरे । अब हामीले परम्परागत पेशा नै गरौँ तर गाउँको उत्पादनलाई बजारमा पु¥याउने तरिकाले गरौँ भनेर गाउँका तन्नेरीहरुसँग छलफल चलाउँदै हातेमालो गर्छु भनेर सोँचेको थिएँ । एउटा क्लब या सहकारी दत्र्ता गरेर सिर्जनशील काममा युवाहरुसँग सहभागी हुन्छु भनेर सोँचेको थिएँ । अनि सोँचेको थिएँ, एउटा साँस्कृतिक मञ्च बनाएर उत्सव या चाडबाड र फुर्सदको समयमा रमाईलो गरुँला । पुराना कुरा सँकलन गर्ने मेरो सदाबहार चाहना । मिझार बुबासँग सोधेर पुराना गीतहरुको शब्द डायरीमा लेखेर राख्नेछु भनेर सोँचेको थिएँ । एउटा रेकर्डर उहाँको मुखमा तेस्र्याएर तिनै पुराना गीतहरुको भाका पनि साँचेर राख्छु अनि गाउँमा रिहर्सल गराउँछु र हरेक उत्सवहरुमा गाउँका युवाहरुलाई पुराना तालमा नचाएर इतिहासको सँरक्षण गर्ने काममा सहभागी हुन्छु भनेर सोँचेको थिएँ । उहिलेका भाका सुनाएर मानिसहरुलाई उनीहरुको अतीत सम्झाइदिन्छु भनेर सोँचेको थिएँ । गाउँका पाका मानिसहरुलाई भेला गरेर बनभोजमा लैजान्छु र उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्छु भनेर सोँचेको थिएँ । सोँचेको सबैकुरा आजसम्म के नै पुगेको थियो र ? यो इच्छा पनि अधूरै रह्यो । यो अधूरो इच्छाले मेरो मनलाई सधै रुवाउनेछ मिझार बुबा । अरु त अरु तपाईँलाई अन्तिम क्षणमा काँध दिन पनि आउन पाइनँ । म कति अभागी रहेछु ।
गाउँमा अब त बूढाखाडा मानिसहरु पनि धेरै छैनन् । भएपनि मिझार बुबाजस्ता नहोलान् । यी सबै हाम्रा किल्ला थिए जो एक एक गर्दै ढल्दै गइरहेछन् । अनि हामी युवाहरु गाउँमा मक्किँदै गइरहेका हाम्रा किल्लाहरुलाई छाडेर विदेशका गल्लीहरुमा सुरक्षा खोजिरहेछौँ । हाम्रा आफ्नै मानिसहरु हाम्रो अनुपस्थितिमा यसरी विस्तारै हामीले कहिल्यै देख्न भेट्न नसकिने ठाउँमा गइरहेछन् अनि हामी छौँ जो परदेशमा आफ्नोपन खोजिरहेछौँ ।
अझै समय छ भन्ठान्थेँ म तर गाउँ फर्कन त धेरै ढिलो भइसकेको रहेछ ।
०००
रचना १३ मई २०१६
३१ वैशाख २०७३
मलेसिया
No comments:
Post a Comment