उमेश छापाखाना, कोशेली, अक्षर र सपना
— जेबी दर्लामी
सुत्नै दिएन सपनाले मलाई । निदाउनै दिएन । एउटै सपना लगातार कसरी सिलसिलेवार बनेर निद्रामा आउन सक्छ ? त्योपनि तीन–तीन वर्षसम्म ? आफैभित्र जन्मिएको प्रश्नको जवाफ नपाएर मूच्र्छा परेको छु । आज त नलेखी सुखै पाइएन । निद्रा राम्ररी खुलेकै छैन । वेहोशीकैजस्तो अवस्थामा ल्यापटपको अगाडि बस्न आएको छु र औँलाहरुले कीबोर्डमा हिर्काउन थालेको छु जसरी हिर्काइरहेछन् केही सम्झनाहरुले आजसम्म पनि । सपनामा पनि । विपनामा पनि । सपना र विपनाको सामञ्जस्यता यसरी ठ्याक्कै मिलेको देख्दा चकित चकित भएको छु म । मूच्र्छा नै त परेको छैनँ तर पर्छु कि जत्तिकै भएको छु ।
सन्धिखर्कमै वसाई थियो । ‘मै’ भनेर यसकारण जोड दिएँ किनकी मेरो गाउँका धेरै मानिसहरुले सन्धिखर्कको माटोमा जीवनभर जम्माजम्मी एकफेरा मात्र पाइला टेकेका छन् । त्योपनि आफुलाई नेपाली नागरिक हुँ भनेर चिनाउनै पर्ने बाध्यताले । नागरिकताको प्रमाणपत्र बनाउनै नपर्ने हुन्थ्यो भने उनीहरु सन्धिखर्क आउनुपर्ने अरु कुनै कारण थिएन । कारणहरु भएपनि उनीहरु त्यसबाट अञ्जान थिए र अझै त्यस्तै छन् ।
सन्धिखर्क जो एउटा जिल्लाको सदरमूकाम । अर्घाखाँची जिल्लाको सदरमूकाम । म जन्मिएँ जुन जिल्लामा त्यही जिल्लाको मुख्य अड्डा । अहिले त नगरपालिका बनिसक्यो रे । त्यो समयमा त गाविस नै थियो । तर त्यो हाम्रो जिल्लाको सदरमूकाम थियो र छ अझैपनि । मेरो जिल्लाको केन्द्र थियो र छ अझैपनि ।
सदरमूकाममै बस्ने भएर पनि ठूला पत्रिकाहरु किनेर पढ्ने हैसियत मेरो थिएन । रहर त लाग्थ्यो नि, कान्तिपुरको वार्षिक ग्राहक बनुँ । नागरिक र अन्नपूर्णको नियमित पाठक बनुँ । तर उही त हो । सधै सकस, सधै समस्या । सधैको अभाव ।
तर पनि यी पत्रिकाहरुको मोहनी यस्तो थियो कि आलोक पुस्तकालयमा धाएर हुन्छ कि, कतै मागेर हुन्छ कि, चिया खाने बहानामा कुनै होटेलमा पसेर हुन्छ कि यिनलाई पढेर मात्र तृप्त भइन्थ्यो । तर कुरो नढाँटी भन्नुपर्दा कान्तिपुर र नागरिकका शनिबारीय अँकहरु म सधैँ किन्ने गर्थेँ । कुनै हप्ता छुट्यो भने पनि अर्को हप्ता खोज्न लगाएर भए पनि ती अँकहरु बोकेर कोठामा आउँथेँ । त्यसो गर्नुको कुनै अर्को कारण थिएन । कारण यति मात्रै थियो, ती पत्रिकाका शनिबारीय अँकहरु साहित्यमय हुने गर्थे÷गर्छन । समाचार त प्रायः रेडियो टेलिभिजनमा सुनिसकिएको हुन्थ्यो, हेरिसकिएको हुन्थ्यो तर कथा कविता या अरु साहित्यिक सामाग्रीहरु पढ्न नपाएर बोधो बनेको मस्तिष्कमा यी पत्रिकाका शनिबारीय अँकहरुले नै सञ्जीवनी भरिदिन्थे ।
जिल्लामा दुईओटा ठूला स्टेशनरी पसलहरु थिए । अझै छन् । सँख्या थपिए होलान् अहिले । दुईबाट तीन या चार भए होलान् तर उतिबेला दैनिक या साप्ताहिक तथा मासिक पत्रिकाहरु ल्याएर बेच्ने काम उमेश छापाखानाले मात्रै गथ्र्यो भन्दा फरक नपर्ला । म त्यही पसलमा जाने गर्थेँ पत्रिका किन्न ।
उमेश दाइ हुनुहुन्थ्यो त्यहाँ । पहिला–पहिला उहाँका बा बस्नुहुन्थ्यो पसलमा । बूढेशकालमा पनि बर्खेझरीमा भुटेको मकै चपाएर बसेको देख्थेँ उहाँलाई । आमा पनि बस्नुहुन्थ्यो । पछि बाचाहिँ हृदयाघातले बित्नुभयो । त्यसपछि पसलमा सधै देख्थेँ उमेश दाइको गुरुगम्भीर अनुहार । व्यावसायिक लगन र व्यवहारसहित ।
त्यहाँ माधव दाइ पनि हुनुहुन्थ्यो । अझै हुनुहुन्छ होला । छापाखानाको मेशिन चलाउने, छापिएका सामाग्रीहरु मिलाउने, पसलतिर पनि हेर्न भ्याउने । चौतर्फी जिम्मेवारीले होला दूब्लो हुनुहुन्थ्यो तर सधै सहयोगी । साह्रै मिलनसार । कहिल्यै झर्केर बोलेको मलाई सम्झना छैन ।
शनिबार बन्द हुन्थ्यो सन्धिखर्क । साँझपख पुग्थेँ उमेश छापाखाना । कहिलेकाहीँ साँझमा केही पसलहरु खुल्थे । छापाखाना पनि खुलेको रहेछ भने खुसीको सीमा रहन्थेन । अझ शनिबारका कान्तिपुर र नागरिक हात लाग्यो भने त झन कुरै बेग्लै हुनेभो’ । पत्रिका कोखिलामा च्याँपेर यसरी लम्किन्थेँ कोठातिर मानौँ मासुको घोर लालचीले खसीको मासु बोकेर हिँडेको होस् । कहिलेकाहीँ पसलमा माधव दाइ नहुँदा उमेश दाइले बण्डलमा भएको पत्रिका निकाल्न अल्छी गरेको दिनचाहिँ जाँडको बाजीमा कुस्ती हारेर फर्केको जँड्याहाजस्तो मनोभाव लिएर कोठामा फर्कन्थेँ । साह्रै नरमाईलो लाग्थ्यो । कोशेली र अक्षरमा के के छापिएका होलान् भनेर छट्पटी लाग्थ्यो रातैभरि । अनि भोलिपल्ट उमेश छापाखानाको ढोका नखोलिँदै चियाउन पुगिहाल्थेँ ।
माधव दाई साहै्र जाती हुनुहुन्थ्यो । कहिलेकाहीँ अतिरिक्त पत्रिका हुँदैनथ्यो पसलमा । सबै ग्राहकहरुका नाम लेखिएका र वितरण गर्न ठिक्क पारिएका पत्रिकाको थुप्रोमा माधव दाइ सर्सर्ती नाम हेर्दै जानुहुन्थ्यो । कुन सरकारी कार्यालयको हाकिम अलिक सोझो छ ? अथवा कुन कार्यालयको हाकिमलाई साहित्य मन पर्दैन ? अथवा कुन कुन व्यक्तिको नाममा रहेको पत्रिकाबाट कोशेली र अक्षर सुटुक्क निकालेपनि फरक पर्दैन ? माधव दाइले अनुमान लगाउनुहुन्थ्यो अनि कोशेली र अक्षरका पातोहरु मात्र निकालेर मेरो हातमा थम्याइदिनुहुन्थ्यो । मचाहिँ चकलेट हातमा परेको बच्चाजस्तो बनेर खुसीले गदगद हुँदै कोठामा फर्कन्थेँ । त्यति हुस्सु पनि थिइनँ म । माधव दाइलाई धन्यवादले पुरिदिएर मात्रै फर्कन्थेँ । त्यस्ता कोशेली र अक्षर छापिएका पातोहरुको सँग्रहले केही बोरा भरिए । अहिले पनि ती सुरक्षित होलान् कोठामा ।
पढ्ने नशा यति लागेको थियो कि आलोक र सरिता पुस्तकालयमा गएर घण्टौँ बस्दापनि ढाड दुख्दैनथ्यो । मेरा लागि ती स्थलहरु कुनै मन्दिर, मस्जिद, चर्च र गुम्बाजत्तिकै पवित्र थिए ।
विगत तीन वर्षदेखि मलेसियामा छु । यहाँ हुनुको विवशता, यहाँको अवस्था र यहाँको अनुभव लेख्ने अहिले मेरो ध्येय हैन । बरु म त छक्क मात्रै हैन तीन छक्क परिरहेको छु । एउटा सपनासँग जोडिएको प्रसङ्ग छ । दोहोरिँदै देखा पर्ने एकैप्रकारको सपनाले मेरो अन्तरलाई बेस्सरी छोएको छ । र आज म त्यस छुवाईलाई अनदेखा गर्नै सकिरहेको छैनँ ।
करिब आठपटक यो एउटैजस्तो लाग्ने सपना मेरो निद्रामा दोहोरिएको छ । सपनामा म सन्धिखर्कमा हुन्छु । कहिले शान्तिवगैँचातिरबाट त कहिले माथि टुँडिखेलतिरबाट त्यही उमेश छापाखानातिर लम्किरहेको हुन्छु । अनि पसलमा कहिले माधव दाइलाई भेट्छु त कहिले उमेश दाइलाई । जसलाई भेटेपनि म उहाँहरुसँग त्यही शनिबारको कान्तिपुर र नागरिक मागिरहेको हुन्छु । सपनामा पनि एउटा आशा र भोक मेरो अन्तरमा सञ्चार भइरहेको हुन्छ, यो हप्ता कोशेलीमा कस्ता साहित्यिक रचना छापिएका होलान् ? यो हप्ता अक्षरमा कस्ता–कस्ता कथा र कविता छापिएका होलान् ? यसपाली कस्ता विषयहरुमा चर्चा गरिएका होलान् ? विश्वसाहित्यका कस्ता प्रकारका जानकारी आएका होलान् ? अनि ती पत्रिका च्याँपेर सपनामै कोठातिर आइरहेको हुन्छु ।
एकपटकको सपनामा सरिता पुस्तकालयमा उक्लिरहेको थिएँ । विपनामाजस्तै त्यस पुस्तकालयका सँस्थापक तथा सञ्चालक प्रेमबहादुर कार्कीलाई भेटेँ । उस्तै बूढो अनुहार । सपनामा देखा पर्ने सन्धिखर्कको छायाछवि पनि उस्तै पुरानो हुन्छ, मैले छाडेर आएकैजस्तै । सुन्छु, सन्धिखर्क धेरै फेरिएको छ यो तीन वर्षमा । धेरै उन्नति प्रगतिहरु भएका छन् । नगरपालिका बन्यो । नगरपालिकामा चाहिने आधारभूत सुविधाहरु थपिएका छन् । नगरबस सञ्चालन भएको छ । दमकलको व्यवस्था छ । तर अस्ति युगज्योति छापाखानामा आगलागी भएको दुःखद समाचार पनि सुनेँ÷पढेँ । हुन त दमकल हुँदैमा आगलागी नै नहुने नहुने त हैन नि ?
सपनामा भने उही पुरानो सन्धिखर्कलाई झलझली देख्छु । यस्तो सपना एकपटक हैन धेरैपटक दोहोरियो । माथि नै भनिसकेँ करिब आठपटक । सपनाको अर्थ र रहस्यको कुरा म बुझ्दिनँ र यस्ता कुरामा मलाई विश्वास पनि छैन । तर आँखैमा टाँस्सिन आउने यस्तो खालको सपनाले मेरो मनलाई÷ मेरो सोँचाईलाई बेस्सरी बिथोलिदिएको छ । पटक–पटक मलाई बिथोल्न आउने सपनाको बारेमा तीन वर्षसम्म खासै चासो दिइनँ । तर आज मनले मान्दै मानेन र यति लेखेँ । यस्तो लाग्दैछ, म जति टाढा भएपनि म जति नै टाढा गएपनि मेरो अस्तित्वको कुनै हिस्सा जसलाई म कुनै नाम दिन सक्दिनँ त्यही सन्धिखर्कको गल्लीगल्लीमा डुलिरहेको छ । मेरो जिन्दगीको झण्डै एक दशाब्दी बितेको र मेरा थुप्रै प्रियजनहरु बस्ने त्यो प्रिय ठाउँ सन्धिखर्कप्रतिको मेरो माया त अझैपनि उस्तै छ । अब त यस्तो लाग्दैछ, सायद सन्धिखर्कले पनि मेरो माया अझै मार्न सकेको छैन ।
०००
रचना— ०६ फेब्रुअरी २०१६
क्वालालम्पुर, मलेसिया
No comments:
Post a Comment