Monday, 27 June 2016

अब राज्य मधेशी जनताले बुझ्नेगरी बोलोस्



@ Esamata.com 

-- जेबी दर्लामी  

यस हप्ता एबीसी टेलिभिजनमार्फत् डा. सिके राउतको अन्तर्वार्ता प्रसारण भएपछि केही मानिसहरुको प्रतिकृया यस्ता आएका छन् मानौँ सिके राउतले देश टुक्र्याउने कुरा पहिलोपटक बोलेका हुन् । सामाजिक सञ्जालमा केही अजासुहरु छन् जसले कतै सिके राउतको नाम देख्नासाथ पूरै प्रसङ्ग पढ्दैनपढी लेख्नेमाथि नै एकोहोरिएर खनिएका पनि देखियो । देशको विखण्डन हुनुपर्छ भन्ने राउतको पक्षमा कोहीपनि बोलेको छैन तर केही मानिसहरु एकअर्कामाथि गालीगलौजमासमेत उत्रिएका छन् । केही समयदेखि विभिन्न अनलाइनहरुमा निरन्तर विश्लेषण तथा विवेचना लेख्दै आइरहेका दिल निशानीमगर पनि यसपाली यही विरोधको भूमरीमा परेका छन् ।

पहिलेपहिले देशको विखण्डन गर्ने सिके राउतको कुरामाभन्दा नेपाली सेना र पहाडी महिलामाथिको उनले गरे भनिएका टिप्पणीहरुको बढ्ता विरोध हुने गरेको थियो । तर यसपालीको अन्तर्वार्तामा उनी निकै खारिएका देखा परे । उनले स्वतन्त्र मधेशवाहेक अरु कुरै गरेनन् । यतिसम्म कि टेलिभिजन पत्रकारले पटकपटक चाइल्डीष्ट भन्दै आवेशमा ल्याउने कोशिस गरिरहँदा पनि उनको ओँठबाट मुस्कान कतै लुकेन ।
अन्तर्वार्तामा उनले बोलेका कुराहरुभन्दा बढी मलाई उनको हाउभाउ र अनुहारको शालीन भावले हल्लायो । उनको शान्त अनुहार, रक्तपातपूर्ण लडाइँलाई गौण स्थानमा राख्नु, शान्तिको मार्गमै रहेर अलग देश बनाउने नैतिक साहस र दृढता, आवेशमा नआएर उनले अपनाएको संयमता र विचारमा स्पष्टता र लगन । अनि आफ्नो अभियानप्रति उनको बोलीमा जुन ढुक्कपना सुनियो त्यो चानचुने थिएन । विजेताले मात्रै यसरी ढुक्क भएर कुरा गर्न सक्छ । यसर्थ उनको देहभाषामा यदि हामी झुँक्किएका हैनौँ भने यति भन्न कुनै गाह्रो मान्नुपर्दैन, उनले आफुले सुरु गरेको लडाईँको आधा हिस्सा जितिसकेका रहेछन् ।

देशमा यतिखेर सिके राउतलाई बुझ्ने दुईथरि अतिवाद विकास भएको छ । र ती दुवै अतिवादी स्वरहरु पहाडबाट सुनिएका छन् जुन अत्यन्तै दुःखपूर्ण छ । एकथरि भन्छन्, सिके राउत एउटा बहुला कुकुर हो । त्यो भुक्दै गर्छ हामीले पिना सुकाउँदै जानुपर्छ । अर्काथरि भन्छन्, सिके राउतलाई चौराहमा ल्याएर झुण्ड्याउनुपर्छ कि त ईन्काउण्टर गरेर मार्नुपर्छ । यी दुवै अतिवाद पहाडे मनोविज्ञानबाट निर्देशित छन् । यी दुवै अतिवादले सिके राउत एउटा समस्या हो भनेर स्वीकारेका छन् तर समस्याको समाधान यसरी हुन सक्दैन भनेर विचार मन्थन गर्ने ह्याउचाहिँ यिनमा छैन ।
सिके राउतलाई लिएर आम मानिस बोलेर चिच्याएर हुँदैन । उनको विरोध गर्नेहरु हामी अधिकाँश पहाडेहरु नै हौँ र योबेलामा हाम्रो भाषा मधेशले बुझ्न सकिरहेको छैन या त चाहिरहेको छैन । मधेशलाई स्वतन्त्र देश बनाउनकाखातिर सरकारलाई जनमतसँग्रहको खुला चुनौती दिन सक्ने सिके राउतको शक्तिको श्रोत भनेकै मधेशी जनता हुन् । दूर्भाग्य के छ भने छःमहिना लामो आन्दोलनपछि मधेशी जनता राज्यसँग यसरी चिढिएका छन् कि उनीहरुले राज्यको भाषा सुन्नै चाहिरहेका छैनन् । यस्तो समयमा मधेशमा आफ्नो प्रेममय उपस्थिति जनाउने जिम्मेवारी राज्यको हो ।
सिके राउतको आफ्नो सेना छ । आफ्नो झण्डा र राष्ट्रगान पनि छ । एउटा स्वतन्त्र देशलाई चाहिने सबैप्रकारका सँरचनाहरु उनको अभियानले निर्माण गरिसकेको छ र उनको दाबीलाई मान्ने हो भने अबको आठदस वर्षपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई निम्त्याएर मधेशलाई स्वतन्त्र मुलुक घोषणा गरिनेछ ।
एउटा मान्छेले देश विखण्डनको कुरा राष्ट्रिय टेलिभिजनबाट बोलिरहँदा राज्य किन चुपचाप छ ? अब हामीले सिके किन त्यसरी बोले भनेर हैन राज्य किन यसरी मौन छ भनेर प्रश्न गर्नुपर्ने भएको छ । सिके राउत कति गलत छन् या सही छन् भन्ने कुरा  मधेशी जनताको जीवनमा राज्य कति गलत या कति सही भन्ने तथ्यसँग अन्तर्सबन्धित विषय हो । त्यसकारण आफु असल बनेर सिकेलाई गलत सावित गर्ने काम राज्यको हो । तर यही पाराले जाने हो भने पछि पछुताउनुवाहेक राज्यसँग अरु केही विकल्प बाँकी रहने छैन । यस्तो लाग्छ कि देश विखण्डनको चिन्ता राज्यलाई कत्तिपनि छैन ।
तत्काल सरकारको काम भनेको मधेशी जनतासँग जीवन्त सम्वाद सुरु गर्नु हो । राज्यले बोलेको नबुझेकै कारण उनीहरुले सिके राउतलाई सुन्न बाध्य भएका हुन् । अझैपनि राज्यले यस कुरामा ढिलासुस्ती ग¥यो भने मधेश भौगोलिक रुपमा त नेपालमै रहला तर भावनात्मक रुपमा मधेश छुट्टै देश बनिसक्नेछ । भावनात्मक रुपमा अलग्गिइसकेको भूगोललाई डण्डाको बलमा एक बनाउँछु भनेर कसैले नसोँचे हुन्छ । 
मधेशलाई अलग देश बनाउने कि नबनाउने ? अझैसम्म यो निर्णायक शक्ति सिके राउतको हैन राज्यको हातमा छ । यो शक्ति राज्यको हातबाट फुत्कने दिन मधेश मात्र हैन नेपालबाट अरुपनि भूगोल चोइटिएर अलग्गिएर थुप्रै देशहरु बन्नेछन् । यसतर्फ सबैको ध्यान जाओस् ।






No comments:

Post a Comment

Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...