@the Gorkha daily
—जेबी दर्लामी
वियोगी काइँलाकृत काव्यकृति ‘नीलो सपना’ पढेर केही लेखुँला भन्दै सोँचेको पनि थुप्रै महिना भएछ । जम्माजम्मी ७२ (भूमिकासहित) पेजमा समेटिएको यो कवितासँग्रहको पुस्तक उचाल्दा जति नै हलुङ्गो लागेपनि पढ्दाखेरि चाहिँ अत्यन्तै गह्रुँगो लाग्दछ । आजभन्दा ३६ वर्षअघि पाँचथरको पौवासारतापमा जन्मिएका काइँलाले विप्लव ढकालको शब्दमा— ‘तेस्रो आयामदेखि रङ्गवादसम्मका मुद्दाहरुलाई नजिकबाट चिहाएका छन् । पाँचथर जिल्लाको पौवासारताप त्यस्तो गाविस रहेछ जहाँबाट चारजना काइँलाहरुले कविताको मञ्चमा बलियोगरि आफ्नो उपस्थिति जनाएका छन् । सर्वश्री वैरागी काइँला, विरही काइँला, समदर्शी काइँला । यी सबै काइँलाहरुले आफ्नै शैलीका कारण नेपाली कवितामा मौलिक छाप छोडेका छन् । त्यही मेलोमा थपिएका छन् वियोगी काइँला । समदर्शी काइँलाको भनाईमा ‘कविताहरुमा वियोगी काइँलाले प्रतिचिन्तन मनको गतिशील रङ्गबोधन कुँदेका छन् । विचलनको चलनबाट चल्ने कवि वियोगी काइँलाले कविताभरि चेतनास्व ज्ञानको आविष्कृति र मौलिकतामा विशेष स्वतन्त्रताको सदुपयोग गरेका छन् ।’
कवि वियोगी काइँला धेरै बोल्दैनन्, धेरै लेख्दैनन्, प्रकाशित हुन चाहन्नन् तर राम्रो लेख्छन् र सार्थक लेख्छन् भन्ने प्रमाण उनका कविताहरु नै हुन । वि.सं. २०७१ मा प्रकाशित २३ ओटा कविताहरुको सङ्गालो ‘नीलो सपना’ पढिरहँदा एउटा सामान्य पाठकको मनमा लाग्ने कुरा सायद मेराजस्तै हुनन् ।
बाटो र माया
यस सँग्रहको पहिलो कविताको शीर्षक हो यो । बाटो र माया असिमित भएतापनि अनिकालमा माया र भीडभाडमा बाटो नपाइने प्रसङ्गलाई रोचक पारामा कविताको रुप दिइएको छ ।
......
तर कहिलेकाहीँ अनिकालमा
माया मागेर पनि नपाइँदो रहेछ
कहिलेकाहीँ भीडभाडमा
बाटो मागेर पनि नपाइँदो रहेछ ।
द्वन्द्ध
दुई पँक्तिको यो कविता बडो अर्थपूर्ण छ । कविता यति मात्रै छ—
तिमीलाई मन परेको रङ्गमा चढाएँ जीवन
अब मैले आँखा टेकेको क्षितिजमा लगाऊ दृष्टि ।
यही दुई लाइनमा पनि कविले थुप्रै कुरा बोलिरहेको जस्तो लाग्छ । यहाँ एक–अर्कामा समर्पित हुने आव्हान छ । कुनै लेनदेन, कुनै हिसाबकिताबविनै एक–अर्कामा विलय हुने मीठो अपेक्षा छ । भावनाले मात्र हैन, व्यवहारले पनि एक हुने अपील छ । आफुले कसैको मनपराई मुताबिक उसको जीवनमा आफ्नो जीवन अर्पित गरिसकेको र त्यो ‘कसैलाई’ पनि आफ्नो उद्देश्यमा एकाकार बनिदिन विना दबाव अनुरोध गरिएको छ । यो अनुरोध कुनै आग्रहबाट ग्रसित देखिँदैन बरु स्वाभाविक र साँचो लाग्दछ ।
भञ्ज्याङ
संसारलाई भञ्ज्याङसित तुलना गरिएको छ यस कवितामा । जन्मेपछि एकछिन (एकजूनी) अडिने÷सुस्ताउने थलो यही भञ्ज्याङरुपी संसार हो भनेर मीठो व्याख्या यस कवितामा गरिएको छ ।
जन्मको पहाडबाट फुत्त निस्केर भञ्ज्याङमा
अडिनु यात्री
रमिता हेर्नु रङ्गैरङ्ग
मृत्युको डाँडा छिचोल्नु बिस्तारै सरासर
बिस्तारै सरासर । जीवन लामो पनि छ तर क्षणिक पनि छ भन्ने सुन्दर भाव सुन्दर अभिव्यक्ति यस कवितामा हामी पढ्न पाउँदछौँ ।
जिन्दगीमा एकखेप
जिन्दगीमा एकखेप रुन नजान्ने नसक्ने मानिसलाई अभागी नाम दिँदै कविले यस कवितामा ती सबैलाई भाग्यमानी भनेका छन् जसले जिन्दगीमा एकखेप राम्ररी हाँस्न पाएका छ्रै्रनन् । यो कविता संसारका सबै भूइँमान्छेहरुको सहानुभूतिमा समर्पित छ ।
हत्केलाभरि आयु दुख्नु
जीवनको नमिलेको पाटोलाई यस कवितामा उजागर गरिएको छ–
अब बुद्धले बन्दुक उचाले पनि
युद्धले समर्पण बसाले पनि
जियाइ घाउको हरियै
मेटाउन नसकेर टिपेक्सले
ब्याकरण बिग्रेको एक हरफ ‘जिवन’
पर्खेर सँस्करण क्रोमोजोमको
बसिराख्नु ला .... मो मार्जिन छोडेर बी ... चतिर ...
घामछायाँ
जीवनकै विषयमा लेखिएको कविताको शीर्षक हो यो । एउटा जिन्दगीमा बाँच्नुपर्ने असँख्य भूमिका, छोटो जीवन तर लामा रहरहरु यस कविताको भावभूमि हो ।
ढलिसकेको जिन्दगी उठाएर पनि
मरिसकेको सपना बचाएर पनि
यो छोटो छोटो जिन्दगी
लामो लामो रहर
वश
चिप्लिरहेछ
सकिइरहेछ
हतारहतार
मेलो छुटिरहेछ
यहाँ कविले हामीले जिन्दगीमा चाहेर पनि गर्न नसकिने कामलाई छुटेको मेलो भनेका छन् । यो बिम्ब साँच्चै मनोहर लाग्दछ ।
जीवन आर्केष्ट्र«ा
यो कविता पनि जीवन बुझाउनका लागि जीवनकै बारेमा लेखिएको छ ।
जीवनमा थुप्रै रङ्गहरुको जीवन छ
मिलाउनु किरिङमिरिङ आर्केष्ट्रा
जति सकिन्छ तेति मिलाउनु
नमिलेको छँदैछ
सम्झनाको मौन झ्याङ
अव्यक्त प्रेमको उच्चतम अभिव्यक्ति काइँलाको यस कवितामा पढ्न पाइन्छ । उदाहरणका लागि केही पँक्तिहरु–
ठूली ! उभिरहेको छु नि त चौबाटोमा
बाटो ढुकिरहन्छु आधारात–रातसम्म
सम्झनाको कुइनेटोमा सुनसानसँग
निरवताभित्र जिन्दगीलाई सुनिरहेछु म
बाँचिरहनुभो हजुरठूली दन्तेकथाको परी
मेरो यूटोपियाकी राजकुमारी
हजुरको कठोरतालाई प्रेम गरिरहेछु कि
हजुरको सम्पूर्णतामा आत्मसमर्पण गरिरहेछु
सुनगाभा टिप्न तारेभीर चढ्ने मेरो प्रेमको भ¥याङ्ग
हजुरले ढालिदिनुभयो
कि हजुरसँग यति मात्र भन्न चाहेको हुँ
ठूली ! हजुरको सम्पूर्णताले खिँचेर÷ थिँचेर ÷मिचेर
हजुरकै मुटुनेरि मरिरहेछु
आच्छु छु छु छु डायस्पोरा
देश छाडेर परदेश भोग्न बाध्य मानिसहरुको कथाव्यथा त यस कवितामा जरुर छ नै त्यसवाहेक कविले यसमा डायस्पोराको जाडो खप्न विवश सबैलाई न्यानो हौसला पनि बाँडेका छन ।
फिर्न नसकेका निर्वासित चराहरु
बुन्नु मखमली गुँडको सपना
तर खस्नु मरिचिकाको फड्केबाट
उमेरहरु बेच्नु मात्र
बगाउनु पसिनाको नदी
श्रम र सीपको खिया लाग्नु
.......
घृणाको जङ्गलबाट फर्क
पर्खिरहेछ सेतै फुलेको बूढो सगरमाथा
फर्क श्रम, सीप र जाँगरहरु
फर्क पाखुरा र पसिनाहरु
फर्क अस्तित्व र स्वाभिमानहरु
....
फूलको वक्तव्य
फूल र मान्छेको तुलना गरिएको छ यस कवितामा । कमलो मन र कठोर मनको अन्तर देखाइएको छ ।
फूलको षडयन्त्र हुँदैन
फूलको राजनीति हुँदैन
फूलको धर्म हुँदैन
फूलको सत्ता हुँदैन
फूलको वर्ग हुँदैन
फूलको ईश्वर हुँदैन
फूल भ्रष्ट हुँदैन
मानिसजस्तो फूल हुँदैन
.........
ईश्वरको समाधिमा उभिएर
यस कवितामा कविले ईश्वर मरेको घोषणा गर्ने नित्सेलाई अनुमोदन गरिदिएका छन् ।
जिन्दगी फिर्ता गरेर
ढुङ्गाको फेदबाट
उभिएर भगवानको चिहानमाथि
कि आकाशलाई गरेर सङ्केत
कराऔँ जोड–जोडले
मान्छे जिन्दावाद !!!
हराएको मान्छेको मुचुल्का शून्य रातमा
जाली, फटाहा, क्रूर र स्वार्थी मानिसहरुका कारण आम मानिसको अस्तित्व नै हराउन लागेको चित्रण यो कवितामा पाउन सकिन्छ ।
मान्छे मान्छेसँगै डराएर
नागरिक स्वरुप कता छ ?
कुन साँझ हिँडिरहेछ
मान्छेका सडकहरुमा ?
कुन दरबारको भित्तामा
झुण्डिएको छ स्वतन्त्रता ?
कुन पहिरोले पुरेछ मानवता ?
कुन झाडीमा ‘इस्वामा’ झारले छोएर
घुमिरहेछ नैसर्गिकता ?
.....
लेक लागेको जिन्दगी
राज्यले पाखा पार्दै लगेको सिमान्तकृत मान्छेको अन्तर्सम्वाद हो यो कविता । छेउमा पारिएको जिन्दगीको रुखोपन तर ऊसँग बाँकी रहेको मायाको तृष्णा बडो मार्मिक छ ।
उमेरका ती अबोधतामा
खोज्दछु बण्डापत्रहरु पहाडे कागतमा
तर वश तर ...
लेकमा जिन्दगी अभेगमा परेछ
जस्तो कि बाह्रैमास हुस्सु र कुहिरोले ढाक्छ
लेक लागेर रोगिएका सपनाका बुट्टाहरु
जिन्दगीको अँशबण्डा रुखो रुख्खो
साला ! जिन्दगीको भागबण्डामा जालझेल परेछ
.......
यायावर
यो कविता पनि कवि वियोगी काइँलाका बढीजसो कविताजस्तै जीवनकै बारेमा लेखिएको छ । यो कवितामा अलमलमा परेको जिन्दगीको गाथा गाइएको छ ।
अनिदो ÷अनिधो
दुई रातको मेलाबाट फर्कँदा बाटोमा
हराएर मायालुको चिनो
यताउति ... सामसाम सुमसुम
परिभाषाका झारपातमा औँठी खोजेझैँ अँध्यारोमा
ठ्याक्कै हात नलागेको
त्यही मायाको औँठी पो रहेछ जीवन
........
सेतो गुलाबको अभिशप्त मुस्कान
एउटी विधवालाई सेतो गुलाबको बिम्बमा राखेर कुनै सिपालु चित्रकारले कोरेको चित्र झैँ कोरिएको छ यो कविता ।
बाँसका भाटासम्मले नबारेको
तल वेशीको याक्सा जस्तो
विजोग जीवन
चुरा, पोते अनि सिन्दुरको बार भत्केपछि
लक्ष्मणरेखाको अर्थहीनताले
ढल्नकै लागि ढलपल ढलपल गरिरहेको
रङ्ग पुछिएको सेतो गुलाबको अभिशप्त मुस्कान
......
सडक
जनआन्दोलन २०६२÷६३ को एउटा दस्तावेज जस्तै छ यो कविता । भविष्य भनेको कहिले हो ? यो प्रश्नको औचित्य नभएको देशमा जहाँ भविष्य आजसम्मै लथालिङ्ग छ, तरपनि यस कवितामा भविष्यका सुखद दिनहरुको कल्पना गरिएको छ ।
एक चैतको कुरा
हुरी चल्यो रातभर
आयो कहिल्यै नआएको आँधी
सरासर पस्यो हुलाक कार्यालयमा
उडाएर लग्यो महाराजको तस्वीर, पुराना फाइलहरु
.........
ब्यूँझिएँ म दबिएको इतिहासको थाङ्नाबाट
मान्छे ब्यूँझेपछि त मान्छेलाई
भीर पहराले नथाम्दो रहेछ
डाँडाकाँडाले नछेक्दो रहेछ
आँधीबेहरीले नउडाउँदो रहेछ
बाढी पहिरोले नबगाउँदो रहेछ
......
फूलमाया
यस कवितामा प्रेमको पवित्र ध्येय र उद्देश्य प्रस्तुत गरिएको छ र साथै केही रसिला गुनासाहरु पनि पोखिएका छन ।
फ्ूलमाया !
तिमीलाई धेरै ठाउँ खोजेँ
तिमी हिँड्ने नागबेली बाटोहरुमा
घाँस दाउरा गर्दै गाउने भाकाहरुमा
प्रत्येक सीमा र नाकाहरुमा
अहँ, तिम्रो अत्तो न पत्तो
तिमी बिजुली चम्केझैँ मिलिक्क
मेरो हदयमा आयौ र गयौ
तर कहाँ गयौ ?
तिमी सारै नजाती
.......
फूलमाया !
तिमीले टेकेका फुटेका कुर्कुच्चाका डोबहरु
तिमीले बोकेका हँसिया, डोका नाम्लाहरु
तिम्रो बालापन हुर्केको वनपाखाहरु
विरह र विरक्तीमा
मभन्दा वेशी विह्वल भए
.......
कवि वियोगी काइँलाका कविता सरल छैनन् । यो गुनासो सायद मजस्ता सरल कविता मन पराउने पाठकलाई यो काव्यकृति पढ्दा भइरहन्छ होला । कवि काइँलाका सबै कविता बुझेँ भनेर मपनि घमण्ड गर्न सक्तिनँ । यस सँग्रहमा समावेश ‘पहिरो र नदी’, ‘मृत्युको वगैँचा’, ‘नीलो चिहान’, ‘नदीको लय’, ‘बन्दुकहरु गीत गाउँछन्÷बन्दुकहरु गीत गाउँदैनन’ र ‘फिर्ता आत्महत्या’ शीर्षकका कविता बुझ्ने ह्याऊ ममा छैन । काइँलाको लेखन क्लीष्ट छ । असामान्य छ । गाह्रो छ । उनको नक्कल गर्न पनि कसैलाई सजिलो छैन । र सायद यसैकारण उनी अरुभन्दा अलग छन्, मौलिक छन् र भिन्नै छन् । यही भिन्नता नै भीडमा चिनिने उनको पहिचान हो । अरुभन्दा बेग्लै छन् र त वियोगी काइँला साँच्चै वियोगी काइँला बनेका हुन ।
उनको काव्यलेखनको निरन्तर सफलताको कामनासाथ मेरो यो पाठकीय टिप्पणी यत्ति नै ।
०००
२९ अगष्ट २०१५
मलेसिया
No comments:
Post a Comment