Tuesday, 3 March 2020

बाआमा फर्कनुभो

जेबी दर्लामी

विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्वास्नी ल्यायो, दुईटा बच्चा जन्मायो अनि बाआमालाई दुश्मन ठान्यो र घर गाउँ र बाआमा छाडेर सहर पस्यो तर, समाजको यो ढाँचा एकदिन पक्कै ढल्नेछ ।’

समाजको यो रुप एकदिन ढल्ला नढल्ला तर आफ्नो आत्मा डुलिरहेको ज्यूँदो घर छाडेर अर्काको कंक्रिट घरको साँगुरो कोठामा जीवन बिताउन थालेको मैले पनि सत्र वर्ष भइसकेछ । २०५९ सालमा गाउँ छाडेर सन्धिखर्क आएको थिएँ । यहाँको समाज र वातावरणले मुग्ध बनाएको त पक्कै हो तर, त्यसभन्दा बढी यो ठाउँ छाड्न नसक्नुको कारण आफ्नै थियो । आफ्नो जीवन जस्तोसुकै भएपनि कमसेकम आफ्ना सन्तानलाई त केही सहज होस् भन्ने नै सायद सबै बाआमाको मन हुन्छ होला । त्यही परम्परागत सोचबाट म पनि मुक्त हुन सकिनँ । गाउँमा विद्यालय, अस्पताल, सडक, बत्ती, खानेपानी यी आधारभूत आवश्यकताका कुनै पनि संरचना नभएको अवस्थामा गाउँ फर्केर संघर्ष गर्ने आँट पनि ममा आएन होला । त्यही कारण त बसेँ हूँला यतिका वर्ष यो ठाउँमा !
तर बिडम्वना कस्तो हुन आयो भने आफ्नै गाउँ परदेश बनिदियो । यो ठाउँ त त्यसै परदेश छँदैछ । सन्धिखर्कमा यतिका लामो कालखण्ड बिताएँ । यहाँको हावापानी र ढुँगामाटोले पनि मलाई राम्ररी चिन्छजस्तो लाग्छ तर, यहाँका मान्छेहरूले मलाई चिन्दैनन् । केही सिमित साथीभाइबाहेक मेरा भन्नु यो ठाउँमा कोही छैनन् । अनि उता गाउँ पनि दिनदिनै परदेशजस्तो बन्दै गइरहेछ । मैले गाउँ छाड्ने बेलामा जन्मेका शिशुहरू अहिले सत्र वर्षका लक्का जवान बनेका छन् । त्यसपछि जन्मेका त कति छन्, मलाई थाहा पनि छैन । जब कहिलेकाहीँ गाउँ जान्छु, आफ्नै गाउँमा परिचयको संकट पर्छ । न ती युवाहरूले मलाई चिन्छन्, न त म नै उनीहरूलाई चिन्दछु । समयले बडो अप्ठेरोमा पारेर छाडेको अनुभव गर्छु र मौन रुवाईका साथ फर्कन्छु ।


हुँदाहुँदा भाइबहिनी पनि यतै आए । बाआमालाई गाउँमा छाडेर आफूहरू सहरमा बस्नु हाम्रो मनले दिने कुरै थिएन । बाआमा पनि आउनुभयो । सन्धिखर्कमा बनेका साँगुरा घरका अँध्यारा कोठाहरूमा हाम्रो परिवारले आश्रय लिन थाल्यो ।
हामीले त सोचेका थियौं, बाआमालाई सहरमा ल्याएर बडा राम्रो काम गरियो । उहाँहरूलाई गाउँ छाड्न लगाएर आफू सन्तान हुनुको महान कत्र्तव्य पूरा गरियो । तर, हामी कति गलत रहेछौँ । हामी कति मूर्ख रहेछौँ, अञ्जान रहेछौँ । यति कुरा बुझ्न हामीलाई धेरै वर्ष लाग्यो ।

बाआमाका लागि भला गर्ने नाउँमा हामीले त अपराध पो गरेछौँ । राजा बनेर गाउँभरिका मुद्दामामिला मिलाउँदै हिँड्ने बाबालाई हामीले आठ बाई दस फूटको कोठामा थुनेर परिचयविहिन बनाएछौँ । आफ्ना सँगीसाथीहरूसँग उन्मुक्त बनेर हाँसिरहेकी आमालाई हामीले मानिस हुनुको संवेदना नै गुमाएको ठाउँमा ल्याएर छाडिदिएछौँ । खुबै सहरमा ल्याएर सुख दिएको भन्ठानेका थियौँ तर, हामीलाई के थाहा, हामीले त बाआमालाई डरलाग्दा जनावर बस्ने घनघोर जँगलमा पो ल्याएर अलपत्र पारेछौँ । हामीले आफ्नो मनले सक्ने मात्र सोचेछौँ तर बाआमाको ठाउँमा रहेर कहिल्यै सोचेनछौँ ।

करिब चार वर्षको सन्धिखर्क बसाईँपछि बाबाले एकदिन घर फर्कने कुरा गर्नुभो । घरबारी बाँझो नराखिदिने शर्तमा कसैको जिम्मा छाडेर आएका थियौँ । आफू बसेकोजस्तो त कहाँ पो हुन्थ्यो र ? बारीका कान्लाहरू बढेको, छेउछाउ बाँझै छाडिएको, घरमा लिपपोत नपुगेको आदि अनेक चिन्ता थियो बाबालाई । रित्तिएको गोठभरि फेरि गाईभैैंसी बाँध्ने रहर थियो । खोरभरि बाख्रा पाल्ने चाह थियो । करेसाभरि चरिरहेका कुखुराहरूको अभावले सताएको थियो । हामीलाई के थाहा ? हामी त बडा सहरबासी बनेका थियौँ । ज्यानमा अझैपनि गोबरको गन्ध आउँथ्यो तर आफैलाई खुबै सदरमुकाममा बस्ने सम्भ्रान्त ठानिरहेका थियौँ । अचानक घर फर्कने कुरा गरेर बाबाले हामीलाई हाम्रो औकात सम्झाइदिनुभयो । गाउँको घाम, गाउँको पानी, गाउँको क्षितिज र गाउँका मान्छे याद गराइदिनुभयो । आफन्त खोज्दै जहाँ जति भट्किएपनि आफ्ना मान्छेहरू त गाउँमै रहेको यथार्थ देखाइदिनुभयो ।

र गएको भदौ महिनाको झरीमय दिनमा बाआमा घर फर्कनुभयो । त्यसपछि भाइहरू धेरैपटक घर पुगेर, गाउँ डुलेर आएका छन् । घरमा कुखुराहरू हुर्कँदैछन् । बाख्राले एकैपटक दुईटा बच्चा जन्माएको त अस्ति आमाले नै फोनमा खुसी हुँदै सुनाउनुभयो । घरले फेरि घरको स्वरुप लिँदैछ । बाआमा बस्ने घर पो घर, अरु त सबै मूर्दाघर हो जस्तो लाग्छ ।

दशैंको पूर्णिमाका दिन गाउँका युवाहरूले आयोजना गरेको कार्यक्रममा पुगेको थिएँ । सहायक प्रमुख जिल्ला अधिकारीद्वय विष्णुराज बेल्बासे र विक्रम थापासित सँगै गएको थिएँ । बेल्बासे हाम्रै छिमेकी गाउँका, साविकको त एउटै गाविसका हुन् । जाँदैगर्दा उनको घरमा पस्यौं । बृद्ध उमेरका बाआमा मात्रै घरमा हुनुहुँदो रहेछ । भूकम्पले चर्काएको चीसो घरमा उहाँहरूलाई देख्दा मनभरि मेरै बाआमा देखा पर्न आउनुभो । आँसु थाम्न एकदमै गाह्रो भयो ।
बेल्बासे सरको पनि उही मनोस्थिति । घर त काठमाडौंमा पनि छ । आफू बसेकै कार्यालय नजिक राख्न पनि सकिन्थ्यो तर, बाआमाले माने पो ! बाआमालाई आफू खाइखेलेको ठाउँमै रमाउन मन छ । अन्त गएर एकैछिन पनि सन्तोषले बस्न सक्नुहुन्न । यही हो समस्या । अहिले नेपालभरिका बाआमा र तिनका सन्तानले भोगेको भावनात्मक दशा यस्तै होला । तर यो समस्या कुनै व्यक्तिले चाहेर भएको होइन । यो त राज्यले हामीमाथि बलात् थोपरेको हो । राज्यको पूँजीवादी चरित्र रहेसम्म यो समस्याको समाधान पनि कतै छैन ।

तर राज्य या प्रणालीलाई एकोहोरो दोष देखाएर आफ्नो कत्र्तव्य बिर्सने रोगबाट ग्रसित हुनु गलत हो । यो गल्ती हामी कहिल्यै गर्नेछैनौँ । हामीले सोचेका छौं, गाउँघरसितको आउजाउ र सम्पर्क बढाउँदै जानेछौँ । गाउँकै हावामा सास फेरेर बाआमाले खुसी भएको हेर्नेछौँ । अनेक बाध्यताले टाढा भएपनि दुःख पर्दा नजिक हुनेछौँ । निरन्तर फोनसम्वाद गर्नेछौँ । सन्तानहरू आफूबाट टाढा गएको भान बाआमाको मनमा कहिल्यै पर्न दिनेछैनौँ । हामी सँगै छौँ भन्ने आभास उहाँहरूलाई सधैं दिनेछौँ ।

रचना मिति ः २०७६ कात्र्तिक २९
०००

Sunday, 27 January 2019

यात्रीका मेरा पात्रहरू

जेबी दर्लामी

‘यात्री’को सार्वजनिकीकरण भएको पनि एक वर्ष नाघिसकेको छ । यो उपन्यासका पात्रहरूले भने मलाई अझै पछ्याउन छाडेका छैनन् ।
यात्रीको भावभूमि पृथ्वीको उत्तरी गोलाद्र्ध मंगोलियाको हो तर मैले यसलाई दक्षिणी गोलाद्र्ध मलेसियामा बसेर लेखेको हुँ । सेक्युरिटी गार्डको काम कुनै कुनै दिन समय त्यत्तिकै बस्दैमा जान्थ्यो । अझ रात्रीको ड्यूटी परेको बेलामा त सिंगो रात नै काम हुन्नथ्यो । कि सुत्ने कि त इन्टरनेट चलाएर बस्ने । मैले यही खाली समयलाई उपयोग गरेर यात्रीको रचना पूरा गरेको थिएँ ।

 
म पात्र अर्थात् ‘यात्री’लाई मैले मेरै मानस रुप दिएको हुँ । नेपालमा त्यस समय दुईथरी अतिवादी स्वर मुखर बन्दै गइरहेका थिए । एकथरी देशका आदिवासी जनजातिलाई सकेसम्म होच्याएरै तह लगाउन सकिन्छ भन्ने मानसिकताबाट ग्रसित थिए भने अर्कोथरी क्षेत्रीबाहुनलाई एकोहोरो गाली गरेर आफ्नो अधिकार स्थापना गर्न सकिन्छ भन्नेमा थिए । 


मैले सकेसम्म मध्यमार्ग खोजी गर्दै हामी सबै यात्री हौं भन्ने विचार प्रवाह गर्नका लागि यो उपन्यासको परिकल्पना गरेको थिएँ । त्यही कारण यसको मुख्य पात्रको नाम नै यात्री राखिएको हो ।
नेपालमा भएका आदिवासी जनजातिले आफूलाई मंगोलियन भनिरहेको या भन्न बाध्य भइरहेको देख्दा मैले यात्रीलाई मंगोलियाको यात्रा गराउन चाहें । मुस्ताङमा उसको भेट लुङदार काजी नाम गरेका मानिससित हुन्छ जसको वास्तविक नाम विरकाजी हो । यहाँ दुईपटक म बडो संकटमा परेको छु । विरकाजीको चरित्र उपन्यासमा कोर्दै गर्दा नेपालमा कबड्डी नाम गरेको सिनेमाले खुब बजार लियो । यूट्युबमा त्यो फिल्म हेरेपछि मपनि अरुजस्तै प्रभावित नै भएँ । त्योभन्दा बढी म हिस्स परें । कारण त्यो फिल्ममा मुख्य पात्र (दयाहाङ राई) को नाम काजी राखिएको छ । अनि ती काजीको घर पनि त्यही मुस्ताङमा हुन्छ । धेरैदिनसम्म मैले उपन्यासको एक पात्र लुङदारकाजीको नाम फेर्ने कोशिस गरें तर सकिनँ । लुङदार काजी मेरो मस्तिष्कमा यसरी आसन जमाएर बसेका थिए कि मैले तिनलाई निकालेर अर्कै नाम गरेको पात्र सिर्जना नै गर्न सकिनँ ।
मुस्ताङ हुँदै यात्री तिब्बत भूमिमा प्रवेश गर्दछ । तिब्बतमा उसको भेट कर्मा नाम गरेका एकजना तिब्बतीसँग हुन्छ । तिनको श्रीमती र एक छोरी छन् । यात्रीलाई एक चिया पसलमा फेला पारेर ती तिब्बतीले आफ्नो घर लिएर जान्छन् ।
त्यही समय नेपालमा चर्चित साहित्यकार नयनराज पाण्डेको सल्लीपीर नाम गरेको उपन्यास प्रकाशित भयो । मलेसियामा पनि त्यसलाई मगाएर पढियो । त्यो उपन्यास पढेपछि म फेरि खिस्रिक्क भएँ । कारण त्यहाँ पनि कर्मा नाम गरेका पात्रको मुख्य भूमिका छ ।
यसपटक पनि मैले मेरो उपन्यासमा भएको तिब्बती पात्रको नाम बदल्न निकै कसरत गरें तर सकिनँ । जतिपटक कर्माको नामको विकल्प सोच्थें, वैकल्पिक नाम कहिल्यै नसुनेको नदेखेकोजस्तो लाग्थ्यो । कर्माको ठाउँमा राख्न चाहेका धेरै पात्रहरू मेरा लागि विरानाजस्ता भए । ती कहिल्यै मेरो नजिक भएनन् । मैले पनि उनीहरूलाई कर्माको स्थान दिन सकिनँ ।
कर्माको पछि लागेर यात्री मंगोलिया पुग्छ । त्यहाँ केही मंगोलियन पात्रहरू फेला पर्छन् । गुर्बान गाउँका मुखिया बूढा र उनकी नातिनी बोलोर्मा ऊर्फ नेर्जुई । नातिनीको खास नाम बोलोर्मा हो तर उसले आफैले राखेको नामचाहिँ नेजुई हो । नेर्जुई इतिहासकी विद्यार्थी हो । यहाँ मेरो आफ्नो रुचीले पनि काम गरेको थियो होला । मुस्ताङको गुम्बाबाट चोरेर लगेको हस्तलिखित प्राचीन लिपि भएको किताबको रहस्य सुल्झाउनका लागि पनि इतिहासका बारेमा जानकार पात्र नै चाहिन्थ्यो । त्यहीकारण पनि नेर्जुईको चरित्रमा त्यो समावेश गरिएको हो ।
नेर्जुईको बाआमा खर्कमा भेडा, च्याङ्ग्रा चराएर बस्छन् । उसको काका पनि खर्कमै बस्छ, पशु डाक्टरको रुपमा । घरमा बाजे नातिनी मात्रै हुन्छन् । यात्रीलाई तिनै मुखिया बाजेको जिम्मा लगाएर कर्मा तिब्बत फर्कन्छन् ।
पछि कर्मा तिब्बतमा मारिन्छन्, चिनिया प्रहरीहरूबाट । मलाई थाहा छ, कर्मालाई मैले सिर्जना गरेको हुँ । उनलाई उपन्यासमा मैले जन्माएको हुँ । तर अझैपनि मलाई यस्तो लाग्दैन । मलाई यस्तो लाग्छ, कर्मासित मेरो कुनै समय भेट भएकै हो । उनको पछिपछि हिँडेर मैले गोबी मरुभूमि पार गरेको हुँ । उनले मलाई मंगोलियाको गुर्बान भन्ने गाउँमा छाडेर फर्केका हुन् । त्यही भएर त अहिले पनि आफैले लेखेको उपन्यासको पृष्ठसंख्या २४८ पढ्दा भक्कानिन्छु जहाँ कर्माको हत्या प्रसंग छ । उनको हत्या मैले गरेको हुँ । मेरै कलमले गरेको हो । यो मलाई थाहा छ तर मेरो मन मान्दैन । मलाई अझैपनि यस्तै लाग्छ, कर्मालाई चिनिया प्रहरीहरूले नै ल्हासाका सडकमा घिसारी घिसारी मारेका हुन् । उपन्यास लेखनको छोटो अवधिमा कर्मा नाम गरेका पात्रसँग म कति घुलमिल भएको रहेछु, सम्झँदा भावुक हुनेगर्छु ।
यात्रीभित्र धेरै स्वेरकाल्पनिक र पौराणिक पात्रहरू पनि आएका छन् । यहाँ पारुहाङ छन् जो धेरैधेरै वर्षअघि मंगोलियाबाटै हिमाल नाघ्दै यहाँसम्म आएका छन् । यहाँ ईन्द्र छन् जो दक्षिणी भूभागबाट मूत्र्तिपूजकहरूको नेतृत्व गर्दै यता आइपुगेका छन् । यहाँ बरम्हाजी (ब्रम्हा) छन्, लक्ष्मी, सरस्वती र विष्णु पनि छन् । यी पात्रहरू उपन्यासको दोस्रो अध्यायमा अटाएका छन् जो मुस्ताङको गुम्बाबाट लगिएको प्राचीन पुस्तकभित्रको कथा हो । यहाँ समय र स्थानका बारेमा जानीबुझी नै तारतम्य मिलाइएको छैन । त्यसो गर्न थालेको भए यो उपन्यास हैन, गैरआख्यानजस्तो बन्नेथियो कि ?
अनि यही अध्याय दुईभित्रै तीनजना बृद्धहरूको कथा छ ।
एक हुन् गोम्पो बाजे । हिमाल नाघ्ने बेलामा हरेस खाएर उतै फर्कन चाहनेहरूको नेतृत्व उनैले गरेका छन् । यो चरित्रमा मैले सकेसम्म वास्तविक पात्रलाई नै प्रस्तुत गर्न खोजेको हुँ । मेरो अध्ययनले बाटो बिराएको छैन भने तिब्बतका संस्थापक गोम्पो नाम गरेका मानिस नै हुन् । उनलाई इतिहासबाट टिपेर यहाँ राख्ने धृष्टता गरेको छु ।
अर्का छन् जसको नाम हो वाइखा । नयाँ भूमि (अहिलेको नेपाल)मा मंगोलियन जातिले खेतीपाती गर्न सिक्ने समयमा ती वाइखा बाजेको नेतृत्वमा एक टोली समुदाय छाडेर निस्कन्छ । धरतीलाई खनजोत गरेको उनीहरूलाई मन पर्दैन । आजसम्म यही धरतीले हामीलाई भोकैप्यासै नराखेको भन्दै उनीहरू वनमा स्वभाविक जीवनयापन गर्न थाल्छन् । वाइखा बाजेको चरित्र निर्माण गर्ने बेलामा मैले हाम्रै देशका राउटे समुदायलाई केन्द्रमा राखेको थिएँ । उनीहरूले अझैपनि सामुदायिक रुपमा खेतीपाती गर्न नमानिरहेको परिवेशलाई ध्यानमा राखेर वाइखा बाजेको जन्म उपन्यासमा भएको हो ।
र अझ अर्का एक बाजे छन् जसको नाम हाङतुआ हो ।
दक्षिणी गोलाद्र्धमा बसेर उत्तरी गोलाद्र्धको कथा कसरी लेखिस् ? भनेर केही साथीहरूले सोेधेका छन् मलाई । मलेसियामा बसेर अधिकांश पात्र मलेसियाबाहिरका राखेर लेखिएको उपन्यासमा यी पात्रचाहिँ मलेसियाकै हुन् । मलेसियामा हाङतुआको निकै ठूलो नाम छ तर उनको कतै लिखित इतिहास भने छैन । मलेसियामा मिथक बनेर उनी अझैपनि छाइरहेका छन् । त्यो मिथक कथाअनुसार त्यहाँका मानिसहरू भन्छन्, अहिलेको मलेसियाको कुनै कुनामा उनको राज्य थियो । उनी सूरवीर र लडाका थिए । उनीबाटै अहिलेको मले जाति खडा भएको हो । उनलाई केही चित्रहरूमा देखाउने काम गरिएको पनि छ । तर उनको वास्तविक परिचय भने कसैलाई थाहा छैन ।
हिमाल नाघिसकेपछि अलि सजिलो ठाउँमा आइपुगेर पनि केही मानिसहरू हिउँले पुरिएर मर्छन् । त्यो देखेर समुदाय परित्याग गरेर हिँडेको देखाइएको छ हाङतुआ बाजेलाई । उनीसितै केही मानिस पनि समुदायको ठूलो संख्यालाई छाडेर हिँडेको देखाइएको छ । उपन्यास लेखिरहँदा मैले कल्पना गरेको थिएँ, हाङतुआ त्यहाँबाट भाग्दैभाग्दै दक्षिण लागे । त्यसपछि उनी अहिलेको मलेसियामा आइपुगे र यहाँ आफ्नो राज्य स्थापना गरे ।
‘यात्री’ भित्रका धेरै पात्रहरू काल्पनिक हुन् । केही वास्तविक पात्रहरूलाई पनि टाईम र स्पेसको बन्धनबाट मुक्त गराइ काल्पनिकजस्तै बनाइएको छ । तर आफैले कल्पना गरेर कलमको नीवबाट जन्माइएका पात्रहरू पनि अहिले वास्तविक हुन् कि जस्तो लागिरहन्छ । जब कतै एकान्तमा म उनीहरूबारे गम्छु, मलाई ती सबैका बोली, हाँसो, रुवाई, दुःखसुख एकएक सम्झनामा आउँछन् । यात्री म आफै थिएँ कि जस्तो लागिरहन्छ । कर्माका श्रीमती र छोरी कहाँ होलान्, के गर्दै होलान् भन्ने सोच्दा अहिले पनि म उकुसमुकुस हुन्छु । नेर्जुईले अझैपनि मंगोलियामा मोरिनखुर बजाउँदै मलाई पर्खेर बसिरहेकी होली झैं लागिरहन्छ । कर्मालाई घिस्याएको सडकमा उनको रगत अझै सुकेको छैन होला जस्तो लागिरहन्छ । यात्री नेपाल फर्कने बेलामा मृत्युको बारेमा सारै लोभलाग्दो प्रवचन दिएका नेर्जुईका बूढा बाजे ज्यूँदै होलान् कि मरिसके होलान् भन्ने प्रश्न खेल्दा मन बेचैन भएर आउँछ ।
आजभोलि म आफ्नै उपन्यासका यिनै पात्रहरूसित कसरी नजिक हुन सकिएला भनी सोचिरहेको हुन्छु । उनीहरू कतै बीच बाटामै अलपत्र परेझैं देख्छु र कसरी तिनलाई आफूसितै हिँडाउन सकिएला भनी कल्पने गर्छु ।
०
रचना: २०७५ पुस १९ बिहीबार
http://nayaonline.com/2019/01/23/24981/ मा प्रकाशित |

Sunday, 20 January 2019

ढाकाटोपी दिवसको अन्तर्य


जेबी दर्लामी


नेपालको इतिहास अध्ययन गर्दा हामी के पाउँछौं भने नेपालमा राज्यशक्ति लगाएर राष्ट्रिय चिह्नहरूको अवधारणा ल्याएको धेरै समय भएको छैन । जस्तो, राष्ट्रिय जनावर गाई, पंक्षी डाँफे, रङ सिम्रीक, भाषा खस, धर्म हिन्दु । यस्तो व्यवस्थाको अभ्यास गरिनुअघि नेपालमा कुनै जाति समुदायले गाईगोरुको मासु खाने र कतिपय पूजाआजामा बली नै दिने परम्परामाथि ठाडै हस्तक्षेप गरियो । किनकी राज्यको शक्ति परिचालन गर्ने तहमा पहाडे हिन्दुहरू थिए जसले नेपाललाई आफू अनुकूल हिंडाउन खोजिरहेका थिए । आफ्नो धर्म र संस्कृतिलाई फलाउन फुलाउनका लागि नेपालमा आदिकालदेखि नै बसोबास गरिरहेका हिन्दुवाहेकका संस्कृति र परम्परालाई बलात् दमन गर्नैपर्छ भन्ने तथ्य पनि उनीहरूलाई अवगत थियो । र त्यही मेसोमा राष्ट्रि«य पोशाकको रुपमा दौरासुरुवाल र ढाकाटोपीलाई मात्रै मान्यता दिइने व्यवस्था गरियो । सयथरी जातिको सयथरी नै पारम्परिक पहिरन भएको देश नेपालमा यसरी एउटा जातिसमुदायको पहिरनलाई मात्रै राष्ट्रिय पोशाक बनाईंदाखेरि अरु पोशाक तथा पहिरन स्वतः अराष्ट्रिय भए । 


२०१७ पछि पञ्चायतले ल्याएको ‘हाम्रो राजा हाम्रो देश, एउटै भाषा एउटै भेष’ भन्ने नाराले पहाडे खसआर्य समुदायको अभीष्टलाई राज्यस्तरबाटै संस्थागत गर्ने काम ग¥यो । नागरिकताको प्रमाणपत्र बनाउँदा ढाकाटोपी लगाउनैपर्ने बाध्यता सिर्जना गरियो । त्यतिमात्र होइन, दौरासुरुवाल र ढाकाटोपी नलगाउने नेपालीलाई पराई देख्ने आँखा पनि त्यही पञ्चायतले निर्माण गरेको हो । ‘मेरो टोपी कैलाशको शिरजस्तो’ जस्ता बोल भएका गीत लेखिए, लेखाइए, गाइए । यसको अर्थ टोपीलाई पनि हिन्दुकरण गर्ने धृष्टता गरियो ।
राज्यले बनाएको राष्ट्रिय पोशाकमा मधेशमा बस्ने ठूलो संख्याका नेपाली समेटिएनन् । उनीहरूले शदीयौंदेखि आविष्कार गरेर लगाइरहेको पोशाक राज्यका आँखामा विरानो भइदियो । उनीहरूलाई धोंती नाम दिएर गालीबेईज्जती गर्ने संस्कारको जन्म पहाडमा भयो र त्यसलाई राज्यले नै मलजल गरेर हुर्कायो बढायो । यसरी पञ्चायतले ल्याएको राष्ट्रि«य चिह्न, राष्ट्रि«य पोशाकजस्ता अवधारणाले नेपालको एकता बलियो भएन, बरु त्यसले त देशलाई विभाजन गरिदियो । 
मधेशमा आगो दन्केको हाम्रो निकट अतीतलाई राम्ररी अध्ययन गर्दा त्यो विभाजन कस्तोप्रकारको र कति हदसम्मको थियो भन्ने स्पष्ट भइहाल्छ ।

पञ्चायतले छाडेको विरासतको धङधङीबाट नेपाली, त्यसमा पनि पहाडमा बस्ने एउटा जाति (वर्ग पनि भन्न सकिन्छ) अझै मुक्त भइसकेको छैन । त्यसका अनेक ज्वलन्त उदाहरणमध्ये तथाकथित टोपी दिवस पनि एक हो । 
संसारसामु नझुकेको वीर नेपाली जातिको विशेषण स्वीकार गरेर पनि अत्यन्तै हीनताबोधका साथ बाँचिरहेको पनि हामी नेपाली नै हौं । संसारलाई थाहा छ, यो दुनियामा ईश्वी सम्वत् भन्ने तिथिमिति छ जसलाई नेपालमा ईसा पूर्व र ख्रीष्टाब्द भनिन्छ । संसारका धेरै देशहरूले आफ्नो कामकाजमा यही सम्वत्लाई अँगालेका छन् । हो, निश्चय नै यो येशु ख्रीष्टसित सम्बन्धित सम्वत् हो । अर्थात् ईसा आउनुअघिको समय ईसापूर्व हो भने उनी आएपछिको समय ख्रीष्टाब्द हो ।
यो सम्वत्को पहिलो महिना जनुअरी हो जो हाम्रो नेपालको पुस महिनामा पर्दछ । येशुसित सम्बन्धित भएकै कारणले र विशेषगरी पश्चिमाहरूप्रतिको आग्रहपूर्वाग्रहका कारणले नेपालमा विगत ६ वर्षदेखि यही जनुअरी १ लाई टोपी दिवस भनी मनाउन थालिएको छ ।
नेपालमा अझैपनि येशु ख्रीष्ट र पश्चिमी देशहरू अन्तर्सम्बन्धित हुन् भन्ने गलत बुझाई रहेको पाइन्छ । निश्चय नै येशु ख्रीष्टको विचार एशियामै सुरु भएको भएतापनि यसको प्रचारप्रसार र अभ्यास पहिले यूरोप अमेरिकामा भयो र उनीहरूमार्फत् यतातिर आएको सत्य हो तर यसको अर्थ यो होइन कि हरेक सेतो छाला भएको मानिस इसाई नै हो । उनीहरूमध्ये पनि धेरै मुसलमान छन्, बुद्धिष्ट छन् र हिन्दु पनि छन् । तर येशु र पश्चिमाहरूप्रतिको आग्रहपूर्वाग्रह भने नेपालमै मात्र बढी देखिन्छ ।

यहाँ दुईओटा देशको प्रसंग राख्न सकिन्छ । एक, भारत जो आफै विशाल जनसंख्या हिन्दु धर्माबलम्वीहरू भएको देश हो । यतिसम्म कि विक्रमादित्य जसको नामबाट विक्रमसम्वत् चलेको छ र जुन सम्वत्लाई नेपालीले आफ्नै भनी अँगाल्न मरिहत्ते गरेका छन् ती राजा पनि त्यही भारतकै हुन् । तर भारतमै विक्रमसम्वत् चल्दैन । त्यहाँ पनि राज्यसंयन्त्रका ठूला ओहदाहरूमा हिन्दु धर्म मान्नेहरूकै बाहुल्यता छ तर ईश्वीसम्वत् चलाउँदा उनीहरूमा त्यस्तो हीनताबोध देखिंदैन । भारतको उन्नति प्रगतिमा ईश्वीसम्वत्ले कतै बाधा पु¥याएको पनि छैन । 
अर्को देश छ मलेसिया, जहाँ ६० प्रतिशत मुसलमान छन् । लगभग २६ प्रतिशत बुद्धिष्ट र ६ प्रतिशत जति हिन्दु छन् । मले जातिलाई दिइएको अग्राधिकारका कारण चिनिया र भारतीय मूलका मलेसियनहरू राज्यदेखि रुष्ट छन् । आआफ्नो भाषा, धर्म र संस्कृतिप्रतिको उनीहरूको प्रतिबद्धता पनि लोभलाग्दो छ । तर ईश्वीसम्वत्को नयाँ वर्ष उनीहरूले यसरी मनाउँछन् कि त्यो उत्सवले उनीहरूलाई विभाजन गर्दैन बरु एकअर्कालाई जोड्ने काम गर्दछ । अरु दिनको मनमुटाव र भावनात्मक रुपमा लागेका घाउ उनीहरूले यही नयाँ वर्षमै निको पार्ने प्रयत्न गर्छन् । ईश्वीसम्वत्ले मलेसियाको पनि समृद्धिको यात्रा रोकिएको छैन, झन्झन् अगाडि बढिरहेको छ । 
नेपालमा भने हामीले सबै उन्नति प्रगतिको बाधा ईश्वीसम्वत् नै होजस्तो गरिरहेका छौं । यो हाम्रो हीनताबोधको एक नमुना हो । हीनताबोधबाट उम्कने माध्यम हामीले प्रतिशोध र दूराग्रहलाई बनाएका छौं । यो झनै खतरनाक छ ।

ईश्वीसम्वत्को रिसमा सुरु गरिएको टोपी दिवसले के नेपालीलाई एकअर्कामा जोड्ने काम गरेको छ ? यो प्रश्न बडो गम्भीर छ । कुनैपनि चाडपर्व, दिवस या उत्सवले देश विखण्डन गर्नुहुँदैन । बरु तिनले त भावनात्मक रुपमा विखण्डित भइरहेको देशलाई जोड्नुपर्छ, गाँस्नुपर्छ । तर नेपालको पहाडे खस मनोविज्ञानले सधैं नै मधेसी र जनजातिलाई उपनिवेश बनाइरहने सपना देखेको छ । त्यही सपनाको प्रकटीकरण नै तथाकथित टोपी दिवस हो ।

मैले यस्तै आशयको भनाई सामाजिक सञ्जालमा राखेको देखेर केही साथीहरूले आपत्ति प्रकट गरे । मैले लेखेको थिएँ, टोपी दिवसले हाम्रो देशलाई एक बनाउँदैन बरु यसले हामीमा विखण्डन ल्याउनेछ । कतिपय साथीहरूले यो विखण्डन भन्ने शब्दलाई भूगोलसित मात्रै जोडेर हेरे । म स्पष्ट छु, जाबो टोपी दिवसले मात्रै हाम्रो भूगोल कदापी विखण्डन हुनेछैन तर हाम्रो मनको विखण्डन कसले देखेको छ ? यस्ता दिवस थपिंदै जाने हो भने एकदिन त्यही निहूँमा भूगोल नै विखण्डन नहोला पनि भन्न सकिंदैन । भूगोल विखण्डन एकै रातमा या एकै झट्कामा हुने कुरा होइन । पहिला मानिसको मन विभाजन हुने हो । भावना विखण्डन हुने हो । बल्ल भूगोल विखण्डनको प्रक्रिया सुरु हुने हो । मैले लेखेको विखण्डन भूगोलको होइन मनको हो, आत्माको हो, भावनाको हो ।

यो टोपी दिवस प्रायोजित नै हो भन्ने प्रमाण के पनि हो भने हरेक वर्षजस्तै भृकुटीमण्डपमा केही महिलाहरूलाई ढाकाटोपी लगाएर उभ्याइन्छ । पत्रकारहरूलाई बोलाइन्छ । अनि उनीहरूको तस्वीर र समाचार केही राष्ट्रिय भनिएका मिडियाहरूमा छापिन्छ । अनि टोपी दिवस सफल भएको गीत गाइन्छ । तर टोपी दिवस सफल भइरहँदा यहाँ देश असफल बन्दैगएकोतर्फ कसैको ध्यान पुगेकै छैन । भृकुटीमण्डपमा प्रायः भइरहने प्रायोजित कार्यक्रमहरूको लहरमा यो एक सामान्य दृश्यजस्तो पनि लाग्ला तर गहिरिएर हेर्ने हो भने यसमा ठूलो राजनीति लुकेको छ । ती दिदीबहिनीहरूलाई कसैले सोधोस्, के ढाकाटोपी तिम्रो स्वभाविक पोशाक हो ? पञ्चायतकालमै पनि नागरिकताको प्रमाणपत्रमा समेत महिलालाई अनिवार्य नगराइएको ढाकाटोपी लगाउने बाध्यता तिमीउपर कसले सिर्जना ग¥यो ? 

अझ अर्को गम्भीर प्रश्न, कतिजना मधेशीले यो दिवसमा सहभागी भएर खुसी साटासाट गरे ? हिसाब गर्ने नै हो भने जवाफ शून्य आउला । सामाजिक सञ्जालमा केही मधेसीहरुले आफ्नो पारम्परिक पोशाक प्रदर्शन गर्दै धोती दिवसको शुभकामना भनेर लेखे । यस्तो क्रियाकलाप यही टोपी दिवसको प्रतिकार हो । मन विभाजन भइरहेको एउटा प्रमाण पनि हो यो ।
यसपाली जनजातिले पनि यो तथाकथित दिवसमा भाग लिएको देखिएन । यसको अर्थ के हो भने, यो दिवस सबै नेपालीको होइन । यसमा सबै नेपालीले आफ्नोपन महसुस गर्न सक्दैनन् । 
यतिसम्म कि माथि भिन्नै प्रसंगमा उल्लेख गरिएका पहाडे खसआर्य समुदायकै अधिकांश मानिसले देश विखण्डनको अन्तर्य बुझेरै होला, चलेको यो बतासमा सहभागी हुन अनिच्छा मात्र देखाएनन्, सामाजिक सञ्जालमा खुलेरै यसको प्रतिवाद र विरोध पनि गरे । यसर्थ यो टोपीदिवसको यात्रा यहींनिर रोकिनुपर्छ । यसको अब कुनै सकारात्मक अर्थ बाँकी छैन । 

हिजो पो राज्य नै एकल थियो । एकल भाषा, एकल धर्म, एकल संस्कृतिलाई ईतर जातिसमुदायका थाप्लामा जबर्जस्ती बोकाउने काम हुन्थ्यो । मिडिया, स्कूलकलेज, सार्वजनिक फोरमहरूमा राज्यको नियन्त्रण थियो । एक जातिसमुदायले ल्याएको जस्तोसुकै विभेदकारी अवधारणा होस् त्यसलाई राज्यले नै दानापानी दिएर हुर्काउँथ्यो । तर अब समय त्यस्तो रहेन । अब हरेक नेपालीको हातमा मिडिया छ । आफ्नो विचार निर्धक्क राख्न सकिने अनेकन मञ्चहरू छन् । तसर्थ कुनैपनि अभियान चलाउनुअघि त्यसका हत्र्ताकत्र्ताहरूले कम्तीमा दसपटक सोचविचार गर्नैपर्छ । हरेक नेपाली विवेकशील त हिजो पनि थिए, तर आफ्नो विवेकलाई स्वतन्त्रतापूर्वक प्रयोग गर्न सक्ने आजको लोकतान्त्रिक व्यवस्थामा कसैले कसैमाथि विभेद गर्ने कोशिस नगरे हुन्छ । 
०


Monday, 24 December 2018

तिहार कसको ?

जेबी दर्लामी  


हरेक वर्षजस्तै तिहार आयो । हरेक वर्षजस्तै तिहार गयो । तर त्यसले छाडेको झन्कार गाउँघरतिर अझैपनि बजिरहेको छ । त्यसलाई भैलो खाने भनिन्छ । सहरबजारको भैलो खाने चलन अब बनभोजजस्तो बनिसकेको छ । चर्कोचर्को स्पीकरमा रेडिमेड गीत बजाउने अनि सूर न तालसित दिनभरि उफ्रिने । सहरबजारमा भैलो खाने परम्परा यस्तो बस्न थालिसकेको छ ।
तर केही गाउँघरतिरको भैलो खाने रौनक अझैपनि उस्तै छ । भैलेहरूले गाउँभरिका मानिसलाई निम्तो गर्छन् । तिहारकै छेउछाउमा जस्तै मादल भिर्छन् । भैले पोशाक लगाउँछन् र रातभरि दिनभरि उसैगरि नाच्दछन् । त्यो नाचमा कुनै क्रृत्रिमता हुँदैन । 

तिहार हरेक वर्ष आउँछ जान्छ । तर त्यसले एउटा गहिरो प्रश्न हामीमाझ छाडेर जान्छ, तिहार कसको हो ? कसको हो तिहार ?
यो प्रश्न मेरो मनमा उब्जन लागेको पनि धेरै वर्ष भइसक्यो, अद्यापी यसको जवाफ मैले पाउन सकिरहेको छैनँ । यो आलेख त्यही जवाफको आशामा लेखिएको हो ।

अचेल तिहार आउँदा म आफ्नो बालापनमा फर्कने गर्छु । बाजे हुनुहुन्थ्यो । हाम्रो कुल झाँक्री परम्परामा बाँचेको थियो । यो परम्परा अझै छ । हाम्रो शाखासन्तानमा एकजना भूइँफूट्टा झाँक्री हुने गर्दछ । उसलाई कसैले तन्त्रमन्त्र सिकाउनुपर्दैन । कसैले उसलाई गुरु बनेर झाँक्री विद्या सिकाइरहनु पर्दैन । उसलाई कुनै शक्तिले नै त्यो सिकाउँछ । अनि ‘बहालवाला’ झाँक्रीको देहान्त हुनासाथ उक्त व्यक्ति स्वतः झाँक्री बन्ने परम्परा छ । हाम्रो बाजे त्यस्तै झाँक्री हुनुहुन्थ्यो । उहाँको शेषपछि एकजना काका उहाँको ढ्याँग्रो र गजा बोक्ने झाँक्री बन्नुभएको छ । गाउँमा अझैपनि हामीलाई झाँक्रीका सन्तान भन्ने गर्छन् ।

गाउँमा तिहारको बेला भैलो खेल्ने चलन थियो । चार जना मादले, दुईजना (कहिलेकाहीं त चारैजना) मारुनी, एकजना पुर्सुङ्गे मिलेर नाच्ने नाचलाई नै मैले भैलो भनेर चिनेको हुँ । (अहिले त बनिबनाउ गीतमा दुईजना यसो हल्लिने चलनलाई पनि भैलो भनी स्थापित गराइएको छ ।)
अनि त्यो भैलोमा मादलेमध्ये एकजना गुरु मादले हुन्थ्यो । उसले भिरेको मादललाई गुरु मादल भनिन्थ्यो । त्यसलाई अरु मादले लगायत सबै नचारुले ढोग्नुपथ्र्यो, पुज्नुपथ्र्यो । अनि बाजे सिंगो भैले समूहको नाईके हुनुहुन्थ्यो । उहाँले नै गीतबाट चार दिशा, चार कुना बाँधेपछि मात्र भैलो समूह सुरक्षित रहने विश्वास गरिन्थ्यो । कहिलेकाहीं नचारुहरू मुटु दुख्यो भन्दै कहालिएको म देख्थें । त्यस्तो बेलामा बाजेकै मन्त्रले सुरक्षा प्रदान गथ्र्यो । 

यहाँ मैले जोड दिन चाहेको कुरा के हो भने भैलो खेल्ने परम्परासितै तन्त्रमन्त्र पनि जोडिएको छ । यतिसम्म कि छिमेकी गाउँका अन्य झाँक्रीहरूले हाम्रो गाउँको भैलो नाच राम्रो नहोस्, त्यसले अरु गाउँका भैलोलाई नउछिनोस् भनेर आफ्नो तन्त्रमन्त्रले मादल फुटाइदिन्छन् पनि भनिन्थ्यो । कथंकदाचित त्यस्तो भइहाल्यो भने बाजेको झाँक्री शक्तिमाथि प्रश्न उठ्ने गर्दथ्यो । 
मैले देखेको अर्को महत्वपूर्ण दृष्य, गाउँमा डुलेर भैलो नाच्ने समय नाच सुरु गर्नुअघि ‘समृति बाँध्ने’ परम्परा अनिवार्य थियो । गीतको अगुवाई मेरो बाजेले नै गर्नुहुन्थ्यो । त्यो समयमा मादल र बाँसुरीको ताल भिन्नै हुने गथ्र्यो । त्यो सूर र ताल अरु बेला कसैले बजाउन पाउँदैनथ्यो । त्यो तालमा मादल र बाँसुरी बजिरहँदा त्यहाँ मानिसहरू काम्न थाल्थे । मादले, मारुनी र पुर्सुङ्गे मात्र नभइ कोही कोही दर्शक र सहभागी भैलेहरू पनि काम्थे । त्यो काम्ने शक्ति यति शक्तिशाली हुन्थ्यो कि मानिसहरूले उक्त व्यक्तिलाई पछाडिबाट चरप्प समात्नुपर्ने हुन्थ्यो । 
यसरी सम्पूर्ण तान्त्रिक मान्त्रिक रीत पूरा भइसकेपछि मात्रै भैलेहरू गाउँ पस्न तयार हुन्थे । बाजेको मृत्युपछि गाउँको भैले नाच पूर्णतया ध्वस्त बनिदियो । गाउँका अन्य केही धामी झाँक्रीहरूले केही वर्ष भैले नाचको परम्परा जोगाउन चाहेपनि सकेनन् । गाउँमा कुनै बलियो झाँक्रीविना भैलो खेल्न कोही तयार हुन सकेनन् । भैलो नाच नै आफैमा मन्त्रतन्त्रसित प्रत्यक्ष जोडिएको दृष्य आफ्नै आँखाले देखेर हुर्केको नयाँ पुस्ताले यस्तो आँट गर्नसक्ने कुरै भएन । बाजेसित भैलो नाच्न हिँडेका गाउँका मादलेहरूले अझैपनि स्मरण गर्दछन्,
‘आफूजत्रै अग्लो लौरो टेकेर गीतको अगुवाई गर्नुहुन्थ्यो झाँक्री बाजे । कोही नचारुले अलिकति मात्रै नाच बिगारेको देख्नुभयो भने आफूले टेकिराखेको त्यही लौराले त्यसको टाउकामा टक्रक्क हिर्काउनुहुन्थ्यो ।’
यसबाट भैलो नाचको सम्वेदनशीलता देखा पर्दछ । बाजे हुञ्जेल अर्घाखाँचीमा हाम्रो गाउँको जत्तिकै राम्रो भैलो नाच्न सक्ने मानिस अन्त सायदै थिए होलान् । निकै चर्चा हुन्थ्यो हाम्रो गाउँको भैलो नाचको ।

क्रमशः हाम्रो गाउँको भैले नाच कोमामा गयो । कालान्तरमा यो जाग्ला नजाग्ला तर अहिले वास्तविक भैलो हाम्रो गाउँमा खेलिँदैन । अन्त पनि त यस्तै भएको होला । धामीझाँक्री विद्यालाई अनदेखा गर्न थालिएपछि यसको प्रवद्र्धन हुने कुरै भएन । अनि मानिसहरू विस्तारै रेकर्डेड गीतमा नाच्न र उफ्रन थालेका होलान् । 
यही प्रश्नले मलाई सधैं हिर्काइरहन्छ ।
भैलो तिहारसित सम्बन्धित छ । भैलो धामीझाँक्री र तन्त्रमन्त्रको परम्परासित जोडिएको छ । त्यसो भए तिहार कसको हो ?
पछिल्लो समय नेपालका आदिवासी जनजाति समुदायमा दसैंतिहार हाम्रो हैन भन्ने एकप्रकारको आन्दोलन नै चल्यो । अहिले मगर समुदायले दसैं त हाम्रो हुँदैहैन तर तिहार भने हाम्रै हो भन्ने जागरण चलाइरहेको छ । जिल्ला जिल्लामा मगर संघजस्तो संगठित संस्थाले भैलो नाचको अगुवाई गरिरहेको पनि देखिन्छ । तर मैले बालक छँदा देखेको भैलो र अहिलेको भैलोमा कता हो कता अन्तर छ । मैले देखेको भैलोका अगाडि अहिलेका भैलेनाच भूराभूरी खेलेकोजस्तो देखिन्छ । भैलोको त्यो विरासत लोप हुने खतरामा छ । जनजाति अगुवाहरूले समयमै यो समस्यालाई नदेख्ने हो भने समयान्तरमा नयाँ पुस्ताले भैलो भनेको रेडिमेड गीतमा उफ्रने मौका हो भनेर बुझ्ने हुन् कि भन्ने डर छ ।

मेरो जिकिर के छ भने भैलो नाच क्षेत्रीबाहुनको त किमार्थ हुन सक्दैन । तन्त्रमन्त्रले बाँधेर खेलिने भैलो त उनीहरूमध्ये धेरैले देखेकै छैनन्, आफैले अनुभव गर्ने कुरा त धेरै पर भयो । अर्को कुरा, उनीहरूले अझैसम्म राम्ररी मादल भिर्नसम्म जानेका छैनन् भने नाच्न जान्ने भन्ने कुरा पनि धेरै धेरै पर भइहाल्यो । न नाच्न जानेका छन् न गाउन । हाम्रा गाउँमा केही राउत क्षेत्रीहरू छन् । मगर समुदायले नाचेको भैलोसित उनीहरू भलिभाँती परिचित थिए तर जब उनीहरूको भैलो नाच हामी देख्थ्यौं, हामीलाई अचम्म लाग्थ्यो । भैलोको भद्रता उनीहरूमा हुन्थेन । उनीहरूमा अर्कैप्रकारको जोश हुन्थ्यो । मादल बजाउँदाबजाउँदै उनीहरूले सुरुको ताल नै बिगारिदिन्थे । नाच्दानाच्दै उनीहरूको नाचमा छुट्टै (बिछट्टै पनि भन्न सकिने) प्रकारको जोश देखा पथ्र्यो । उनीहरूले भद्रतामा सुरु गरेको भैलो उग्रतामा सरायँ नाचजस्तो बनाएर टुंग्याउने गर्दथे । 

बाहुन त झन् नाच्ने गाउने परम्पराकै समुदाय हैन । यो वर्ष अर्घाखाँचीमा हिन्दू जागरण भन्ने समूहले भैलो खेलेको थियो । त्यहाँ अधिकांश क्षेत्री, बाहुन र नेवार समुदायका मानिसहरू थिए । उनीहरूले भैलोमा इसाई समुदायलाई लक्षित गरी केही साम्प्रदायिक गीतहरू आफैले बनाएर गाएका थिए । धर्मपरिवर्तनको विरुद्धमा रचिएका ती गीत आफैमा राम्रा होलान् तर भैलोकै अवसरमा भैलो नै भनेर गाइँदाखेरि भैलो गीत र नाचको लामो परम्परालाई त्यसले कुरुप बनाउने काम मात्रै ग¥यो । उनीहरूले नौमति बाजामा प्रयोग गरिने होंकर र अन्य बाजासमेत प्रयोग गरेका थिए । यतिसम्म कि रुपन्देही जिल्लामा यही वर्ष पञ्चेबाजामा भैलो खेल्ने चलनको सुरुआत भएको छ । र यस्तो चलन सुरु गर्नेहरू जनजाति समुदायका हैनन् । यस्ता अनेक उदाहरणले के पुष्टि गर्दछ भने वास्तविक भैलोको चलन जनजातिबाटै आएको हो । अरु जातिले यसलाई स्वीकार गरेका हुन् । सिको गरेका हुन् । सिको गर्ने क्रममा भैलोको मूल स्वरुपलाई बिगार्ने पनि अरु जातिका हुन् । तर पछिल्लो समयमा जनजाति आफै हिन्दु धर्ममा धर्मान्तरण हुँदै आउँदा उनीहरूले पनि भैलोको खास अर्थ बुझ्न सकिरहेका छैनन् ।

भैलो गीत गाउन जानेको जनजाति, भैलो नाच नाच्न जानेको जनजाति । फेरि त्यो भैलो गीतमा किन हिन्दु देवीदेउताहरूको नाम पुकारिने चलन चल्यो होला ? यो प्रश्न अझ गम्भीर छ । नेपाललाई हिन्दुकरण गरिन थालेको पृथ्वीनारायण शाहको समयदेखि जंगबहादुरको पालामा मुलुकी ऐन लेखेरै नेपालमा बसोबास गर्ने सबैलाई हिन्दु धर्म अनिवार्य मान्ने उर्दी जारी गरियो । अझ राजा महेन्द्रको शासनकालमा त यो उर्दीलाई अक्षरशः पालना गराउन जबर्जस्ती नै गरियो । सबै नेपाली पञ्च मात्र हैन, सबै नेपाली हिन्दु भन्ने भाष्यलाई नेपालमा जबर्जस्ती लाद्ने काम भयो । यसको फलस्वरुप हजारौं वर्षदेखि प्रकृतिको पूजा गर्दै आइरहेको जनजाति समुदाय शिवलिंग पुज्न बाध्य भयो । हिन्दु देवीदेउताको नाम जप्न विवश भयो । हिन्दु मिथक र त्यसले निर्माण गरेका कथ्यहरूलाई आफ्नो भनी अँगाल्न लाचार बन्यो ।
भैलोमा गाइने गीतहरूमा सिमेभूमेको नाम आउँछ । तर त्यहीं सरस्वतीको वन्दना पहिलो शत्र्त बनाइएको छ । माथिका केही उदाहरणले मात्र पनि भैलो जनजातिकै हो भन्ने त हामी सहजै बुझ्न सक्दछौं । त्यसमा गाइने गीतहरूमा हिन्दु देवीदेउताका नाम लिनुपर्ने कारण बुझ्न भने हामीलाई सकस छ । अनुमान मात्र लगाउन सक्छौं कि नेपाली समाजलाई हिन्दुकरण गरिंदै आएपछि भैलोका गीतहरूमा हिन्दु देवीदेउताहरूका नाम लिनैपर्ने बाध्यता पनि सिर्जना गरियो होला । यो विषय अनुसन्धाता र विज्ञहरूले अझ गहिराईमा पुगेर खोज्नुपर्ने देखिन्छ । माथिको कुरालाई पुष्टि गर्ने एउटा सानो आधार भनेको हाम्रो बाजेको समयको भैले गीतलाई संरक्षण गर्न जनजातिले अरुचि मानिरहेको र ईतरजातिले त झन् चाहेर पनि जान्दैनजानेको वर्तमान अवस्थालाई हेर्न सकिन्छ । हिन्दु देवीदेउताका नाम जोडिएका भैले गीत लोप हुँदै जानुको कारण के हो ? यो अर्को गम्भीर प्रश्न होजस्तो मलाई लाग्दछ । 

मंसिरको महिना जानै लागेको छ । गाउँघरमा भैलो खाने समय अझै भएको छैन । माघ महिनाको कमलो घाम ताप्दै भैलो खाने चलन छ धेरै ठाउँमा । जनजाति बाहुल्य ठाउँमा त भैलो खेल्दा उठाइएको अन्नको जाँड बनाइन्छ । त्यो अन्नलाई पूरापूर प्रयोग गर्न मदिरा बनाइन्छ । सुँगुर बँगुरको जोहो गरिन्छ । अनि गाउँको बीचमा कुनै खाली चौरमा भैलो पाक्छ । गाउँभरिका मानिस भेला हुन्छन् । मादले, मारुनी र पुर्सुङ्गेहरू दिनभरि रातभरि नाचेर थाक्दैनन् । त्यहाँ केही झाँक्रीहरूले आफ्नो शक्ति प्रदर्शन पनि गर्दछन् । जस्तो, बलिरहेको अगुल्टो चपाउने, आगोमाथि हिँड्ने । काम्ने त सामान्य भइगयो । 
तर यी दृष्य अब सहजरुपमा देख्न गाह्रो भइसकेको छ । पूँजीवादी शासन व्यवस्थामा भैलोको मौलिकता पनि लोप भइसकेको छ । उहिले चार मादल बजेको टाढा टाढासम्म सुनिन्थ्यो । मादल बजेकै सुनेर नाचौं नाचौं लाग्थ्यो । त्यो बेला गडमगडम बज्ने मादल अहिले टुङटुङ गर्छ । 

वास्तवमै अहिले गाउँघरमा मादलको स्वर झीनो बन्दै गएको छ । सहरबजारमा थर्कने ‘साउण्ड सिस्टम’का अगाडि गुरुमादलसमेत निरिह बनिरहेको छ । भैलोको साँचो स्वरुप यसरी सङ्कटमा परिरहेको छ । 
हरेक वर्ष तिहार आउँछ र जान्छ । तर त्यसले एक चर्को आवाजमा प्रश्न सोधेर जान्छ, तिहार कसको हो ? भैलो कसको हो ? र यसको मौलिकतालाई संरक्षण गर्ने जिम्मेवारी कसको हो ?

२०७५ मंसिर २६, सन्धिखर्क

http://nayaonline.com/2018/12/18/24087/  मा प्रकाशित 

Wednesday, 12 December 2018

मान्छे बन्न नसक्ने कसरी लेखक हुन्छ ?


जेबी दर्लामी 


संसारका ठूला लेखकहरूको काम लेख्ने मात्रै होइन, बोल्ने पनि हो । तर नेपालका लेखकहरू नगरकोटीको भाषामा गुफा पस्नुलाई गौरव ठान्छन् र त्यसो गरेर उनीहरू संसारका प्रसिद्ध लेखकहरूको दाँजोमा पुग्ने सपना देख्छन् । योभन्दा हास्यास्पद कुरा अरू के होला ?

तालिबानको चरम दमन सहन नसकी अभिभावकसित बेलायत भागेका खालिद हुसेनीले काइट रनर, एन्ड माउन्टेन इकोज र थाउजेन्ड्स स्प्लेन्डिड सन्सजस्ता विश्वप्रसिद्ध आख्यान मात्र लेखेका छैनन्, ‘दि खालिद हुसेनी फाउन्डेसन’को स्थापना गरेर अफगानिस्तानमा युद्धको चपेटामा परेका बालबालिकाका लागि सहयोग रकम पनि जुटाइरहेका छन् । उनी आख्यान लेख्नका लागि वर्षौं भूमिगत हुँदैनन् बरु दिनहुँ आफ्नो फेसबुक पेज र ट्विटरमा अपडेट हुन्छन् । किताब मात्र होइन, युद्धको विरोध र मानवताको पक्षमा निरन्तर सामाजिक सञ्जालहरूमा पनि लेख्छन् । उनको यस्तो लेखनीले उनलाई हलुका बनाएको छैन बरु झन्झन् जिम्मेवार लेखक भनी संसारभर चिनाएको छ ।

तर, हाम्रा ठूला भनिएका लेखकहरूले सामाजिक सञ्जाललाई आफ्नो र स्वास्नीको फोटो सार्वजनिक गर्ने साधनका रूपमा मात्र प्रयोग गरिरहेका छन् । उनीहरू यति साँघुरा छन् कि आफ्नो परिवार र हदै भए आफ्नो गुटसम्मको प्रचार गर्नुलाई आफ्नो प्रतिबद्धता सम्झिरहेका छन् । उनीहरूले सामाजिक सञ्जाल प्रयोग गर्ने भनेको व्यक्तिगत घुमघाम, खानपिन र मनोरञ्जनको फोटोहरू अपलोड गर्न मात्रै हो । समाजसित उनीहरूलाई कुनै लिनुदिनु छैन । कहिले बोक्सीको आरोपमा महिलालाई दिसा खुवाइन्छ । कहिले दलितले चुल्हो छोयो भन्दै आफूजस्तै मानिसलाई निर्घात कुटपिट गरिन्छ । कहिले दाइजो नल्याएको निहुँमा नवविवाहितालाई जलाएर मारिन्छ । कहिले आठवर्षीया बालिकादेखि असी वर्षकी वृद्धालाई सामूहिक बलात्कार गरिन्छ । र यो सब हाम्रै देशमा भइरहेको छ ।
तर, देशका दुईथरी लेखक भनिनेहरूलाई यी कुनै पनि घटनाले छुँदैन । एकथरी लेखक हुन् स्वघोषित नै सही ती सिकारु गजलकार जो आफ्नै अगाडि मान्छे मारिँदा पनि प्रेमिकाको आँखा, नाक, च्युँडो र नितम्बको बयान गर्दै गजल लेखिरहेका छन् र अर्कोथरि लेखकको समूह ‘ठूला’ भनिनेहरूको हो । केही लेखकहरू छन् जसलाई म आँखा चिम्लेर पछ्याइरहेको छु । तिनका किताब सबै पठनयोग्य छैनन् । तिनका सबै किताब मलाई मन पर्दैन पनि । तर जब बजारमा तिनका किताब आउँछन् म अघिपछि नसोची किन्ने गर्दछु । अनि कुनै घटनाले या कुनै बहसले जब सिंगो देश तरंगित हुन्छ तब म तिनको धारणा सुन्न आतुर हुन्छु । योबारेमा मेरा ती आदर्श लेखकले के भन्दा हुन् भनी जान्न व्यग्र हुने गर्छु । तर ती हिउँजस्तो चिसो बनेर यसरी बसिरहन्छन् मानौं केही भएकै छैन । तिनको लेखनको आदर्श र व्यवहारमा म आकाश–जमिनको अन्तर पाउँछु ।

अरू पाठकलाई पनि त मलाईजस्तै महसुस हुँदो हो । त्यसैले मलाई समाजका बोल्नैपर्ने मुद्दामा पनि मौन बस्ने तथाकथित ठूला लेखक र सिकारु गजलकारको झुन्ड एउटै लाग्छ । राजनीतिक त कुरै छाडौं, सामाजिक मुद्दामा समेत हाम्रा लेखकहरू मुखमा पानी हालेर बसेका हुन्छन् । आखिर केले रोक्छ हातमा कलम भएका र कामै लेख्ने भएका लेखकलाई बोल्न र टिप्पणी गर्न ? संग्रौलाको भाषामा भन्नुपर्दा हातमा लाठो हुनेहरू यसरी कोसित डराउँछन् ? स्पष्ट छ, उनीहरू आफैंसित डराउँछन् । आफ्नो पेटसित डराउँछन् । हरेक कुरामा पक्ष या विपक्षमा बहस हुन्छ । हाम्रा लेखकलाई के डर छ भने कुनै पनि मुद्दामा टिप्पणी गर्दा एक पक्षलाई चित्त नबुझ्न सक्छ । चित्त नबुझेको समूहमा रहेका पाठकले आफ्नो किताब नपढीदिन सक्छ ।
पाठकले नै नपढिदिएपछि किताबको बिक्रीमा ह्रास आउला । किताब नै बिक्री भइदिएन भने फूल टाइम मात्र नभै नेपालकै ठूलो लेखक बन्ने आफ्नो सपना पनि भत्कन सक्छ । आखिर आफ्नै सपनाको मलामी जान कसलाई रहर हुन्छ र, लेखकलाई होओस् ? नेपाली लेखकहरूको डर यति नै हो र यति मात्रै हो । अर्थात् आफूले दुई–अढाई वर्ष गुफा पसेर लेखेको किताबको बिचल्ली होला भन्ने डरले नेपाली लेखक आफ्नै अस्तित्व जोडिएको समाजको मुद्दामा बहस गर्न राजी छैन । योभन्दा ठूलो विडम्बना अरू के होला ? समाजसित अलग्गिएर भुँडी भर्ने पेसा त अरू पनि होलान् । किन तिनले लेखन नै अँगाल्नुपथ्र्यो र ? विदेशी लेखकको नाउँ धेरैको लिन सकिएला ।

तर नेपालकै लेखकहरूको नाउँ लिँदा मात्रै पनि धेरै हुनेछ । बिपी कोइरालाले आख्यान मात्रै लेखेर बसेनन् । न त आख्यानकार बन्ने मोहले राजनीति नै छाडे । उनले समाजको बारेमा सोच्न र बोल्न कहिल्यै छाडेनन् । राजनीतिक छविले उनको साहित्यिक अनुहारमा कहिल्यै दाग लगाउन सकेन । उनका कृति सबै क्षेत्रका पाठकले पढे, अद्यापि पढिरहेछन् । पाठक घट्लान् या आफ्नो किताबको बिक्री कम होला भनेर उनी डराएनन् । पारिजात, जसले आफ्नो जीवनलाई लेखनमा मात्र समर्पित गरिनन्, जीवनभरि समाजकै लागि बोलिन् ।
समाजकै मुद्दामा आफूलाई एकाकार बनाइन् । उनको यस्तो कर्मले उनका पाठक घटेनन् । सुब्बा कृष्णलाल अधिकारी र कृष्ण सेन ‘इच्छुक’सम्म सत्ताको नजरमा आतंककारी बनेका अन्य थुप्रै लेखकको नाउँ हामी लिन सक्छौं । त्यो प्रतिरोध हाम्रो परम्परा हो । स्वभावैले नेपाली जातिको स्वाभिमान अतुलनीय त छँदै छ तर समाजको प्रतिनिधि बनेर चिनिने लेखकको समूहले सत्ता र परम्परामाथि प्रश्न गर्न सक्तैन भने त्यो कसको प्रतिनिधि हो र त्यसले लेख्ने भनेको साहित्य कुन समाजको ऐना हो ? भावी पुस्ताले यो प्रश्न निश्चित रुपमा सोध्नेछ ।

नेपालका प्रायः सबै लेखक सामाजिक सञ्जाल प्रयोग गर्छन् । तर कमै मात्रले ताजा घटनामाथि टिप्पणी गर्ने साहस गर्दछन् । उनीहरू आफूलाई यस्ता कुरामा तटस्थ राख्न मन पराउँछन् । उनीहरू न्यू मिडियाको रुपमा परिचित फेसबुक, टिटर लगायतको शक्तिबारे राम्रै जानकार छन् । यिनै सामाजिक सञ्जालको प्रयोगले राज्यसत्तासम्म परिवर्तन हुन सक्छ भन्ने संसारका केही उदाहरण पनि तिनलाई थाहा छैन होला भन्न सकिँदैन । यति हुँदाहुँदै पनि उनीहरूको मौनताको अर्थ आफूलाई विवादरहित लेखकको रुपमा परिचय दिने ध्येय नै हो भन्नेमा स्पष्ट हुन सकिन्छ ।

आखिर तिनको मौनताले सहयोग पु¥याउने भनेको यथास्थितिलाई नै हो । परम्परालाई नै हो । दुनियाँमा राम, कृष्ण, जिजस, बुद्ध त सबैका प्रिय हुन सकेका छैनन् भने लेखकको कत्रो महत्वाकांक्षा कि ऊ सबैको प्रिय बन्न चाहन्छ । नेपाली लेखक आफ्नो किताबको बजार नघटोस् भन्ने कुरामा बडो चनाखो छ तर यही चनाखोपनले उसलाई ‘बाठो लड्छ तीन बल्ड्याङ’ भन्ने उखानको पात्र बनाइदिएको छ । उसलाई समाजप्रति कुनै जिम्मेवारीबोध नभएको असभ्य प्राणी बनाउँदै लगेको छ ।
लेखक पनि समाजकै अंग हो भने समाजको दुखाइमा ऊ उपन्यासमा रोएर मात्र हुँदैन । कवितामा संवेदनाको खेती गरेर मात्र हुँदैन । ऊ समाजसितै रुन र हाँस्न सक्नुपर्छ । नत्र मान्छे हुनुको अर्थ नै के रह्यो र ? मान्छे बन्न नसके लेखक कसरी बन्न सकिन्छ र ?

https://www.farakdhar.com/story/6259/ 

Friday, 15 June 2018

पावेल बन्ने मौका पाइनँ



जेबी दर्लामी


मई दिवस कथासंग्रह पढ्ने बेला म तेह्र या चौध वर्षको टुसा थिएँ । त्यतिखेर यस्तो लागेको थियो, हो न हो लेखक भनेको खगेन्द्र संग्रौला हो र खगेन्द्र संग्रौला मात्रै हो । लेखकलाई पहिलोपटक चिनेको मैले खगेन्द्र संग्रौलालाई हो र कुनै लेखकप्रति त्यतिविधि आदरभाव जागेको पनि पहिलोपटक उनीप्रति नै हो । त्यसलगत्तै बजारमा एउटा ढड्डु किताब फेला परेको थियो, जसको नाम थियो युवाहरूको गीत । किताबको शीर्षकले मात्रै त्यति ठूलो किताब पढ्ने आँट आउने थिएन होला तर त्यहाँ मलाई लोभ्याउने एउटा नाम थियो, उनै मेरा प्रथम लेखक खगेन्द्र संग्रौला । अनुवादकमा उनको नाउँ देखेपछि कतिपय शब्दै बुझ्ने सामथ्र्य छैन भन्ने जान्दाजान्दै पनि त्यो यामानको किताबको पाना पल्टाउने साहस जुटाएको थिएँ ।

प्रगतिशील भनिएका किताबहरू पढ्ने बानी बसाल्न सहयोग गर्ने मुख्य यिनै दुई किताब थिए मेरा लागि । त्यसपछि खुबै चर्चामा सुनिएको उपन्यास आमा पढ्ने अवसर भने केहीपछि बल्ल जुरेको थियो । जतिबेला देशमा माओवादी युद्धले चरमविन्दु छोइरहेको थियो, त्यतिबेलासम्म नेपालीमा लेखिएका र अनुवाद भएका र प्रगतिवादी भनिएका केही पुस्तकहरू मसित थिए । जस्तो, निकोलाइ आस्त्रोवस्कीको अग्निदीक्षा, याङमोको युवाहरूको गीत, संग्रौलाको मई दिवस, ऋषिराज बरालको कथासंग्रह (नाम भुलें), ईच्छुकको बन्दी र चन्द्रागिरी । र त्यही संकलनमा थियो म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास आमा ।

आमा उपन्यास पहिलोपटक हातमा उचाल्न पाउँदाको दिन मनमा एकप्रकारको गर्व महसुस भइरहेको थियो । एक ऐतिहासिक किताब पढ्न गइरहेको छु भन्ने बोधले रोमाञ्चकता अनुभव पनि गरिरहेको थिएँ । उपन्यासका पाना पल्टाउँदै जाँदा मलाई सबैभन्दा गारो लागेको भनेको उपन्यासका पात्रहरूको नाम पढ्न नै थियो । तर कथा यति बेजोड कि पानाहरू पल्टाउन ती अप्ठेरा पात्रहरूले कहींकतै रोक्न सकेनन् । 

र आमा पढेर सक्ने दिन मैले मेरी आमालगायत गाउँभरिका आमाहरूका बारेमा गमेको थिएँ । त्यो समयको रसिया र यो समयको नेपालका आमाहरूको चेतना उस्तै पाएको थिएँ । हाम्रो देशमा पनि लाखौं आमाहरू कुनै न कुनै रुपमा युद्धमा सरिक भइरहेका थिए । उनको छोरा पावेलजस्ता युवाहरू देश र जनताको नाममा सहिद भइरहेका थिए, जेल गइरहेका थिए । भलै अहिले आएर छोराहरू भ्रष्ट भए होलान् र आमालाई पनि बदनाम बनाइरहेका होलान् । तर त्यस समय आफैपनि केही अंशमा युद्धमा सरिक भएको परिवेशमा यो उपन्यासको महत्व मेरा लागि कति थियो, शब्दमा व्याख्या गर्न सक्तिनँ । 

त्यहीबीच २०५९ सालतिर हाम्रो गाउँमा यूनिफाइड कमाण्डको प्रवेश हुने हल्ला आयो । गाउँभरि भरुवा बन्दूक थिए, विना लाइसेन्सका । गाउँलेहरूले बन्दूक लुकाए । मैलेचाहिं घरका अरु सदस्यलाई अप्ठेरो नपरोस् भनी तिनै किताबहरू बनमा लगेर लुकाएँ । एउटा बाक्लो प्लाष्टिकमा बेरेर घरभन्दा धेरै पर ठूलो रुखको टोड्कामा लुकाएर राखेको थिएँ मैले ती किताबहरू । 
जब यूनिफाइडको आतंकमय हल्ला कम हुँदैआयो, मैले रुखको टोड्काबाट निकालेर ती किताबहरूलाई घरमा ल्याएर आएँ । त्यति बाक्लो प्लाष्टिकलाई पनि धमिराले खाएर छियाछिया पारिदिएको थियो । घरमा ल्याएर जब मैले ती किताबहरूलाई हेरें, तीमध्ये एउटै पनि सद्दे थिएनन् । सबै किताबका पानाहरू धमिराले खाइदिएका थिए । कुनै त पढ्नै नमिल्ने गरी । तर आमा उपन्यासका पानाहरू भने उतिसारो छिया परेका थिएनन् । 
म्याक्सिम गोर्की 

अहिले पनि मेरो सानो पुस्तकालयमा करिब चारसय किताबहरूको बीचमा ‘आमा’ उपन्यास पनि छ । त्यही धमिराले चाखेका पानासहित । जब म यो उपन्यासलाई हातमा लिन्छु, मेरो मनमा अनेक किसिमका विचारहरू आउनेजाने गर्न थाल्छन् । मेरो मनमा देशमा छाएको त्यो कालरात्री समयको सम्झना आउँछ । मेरो मानसपटलमा युवा जोश र जाँगरले जुरुक्क उठेको आफ्नै युवा उमेरको समयखण्ड देखा पर्न आउँछ । पावेल बन्न नसकेको आफ्नो अवस्थामाथि न म हाँस्न सक्छु न त रुन नै । तर आमाहरूको वेदना हिजोजस्तै आजपनि देख्नुपर्दा भने सारै नराम्रो लागिरहन्छ ।
० 
लुम्बिनी दैनिकमा प्रकाशित 

Tuesday, 8 May 2018

पुस्तक समीक्षा-जेबी दर्लामीको ‘यात्री’ लाई समाजशास्त्रीय दृष्टिकोणबाट नियाल्दा


कृष्ण भुसाल 

अर्घाखाँची जिल्लाको विकट क्षेत्र सिद्धारामा जन्मिएका साहित्यकार जेबी दर्लामी (कुनै बेलाका वर्षात् दर्लामी)सँग मुहार पुस्तिकामाभन्दा अन्यत्र साक्षात्कार हुन सकेको छैन तर उहाँलाई मैले नजिकबाटै चिनेको छु, पढेको छु । अनि आत्मीयता गाँसेको छु । पुस्तक अध्ययनलाई बढी प्राथमिकतामा राख्ने मेरो रोजाइमा प्रायशः माक्र्सवादी साहित्य, संस्मरण, उपन्यास, दर्शन आदि बिधा पर्ने गर्दछन । केही महिनाअघि दर्लामीको उपन्यास ‘यात्री’ विमोचन भएको खबर पाउनासाथ पढ्ने खुल्दुलीले मनभित्रै अनौठो उत्साह पैदा भएको थियो । यसै रफ्तारमा विद्यार्थी पुस्तक पसल सन्धिखर्कका व्यवस्थापक मेरो आत्मीय साथी लक्ष्मण खड्काले आफ्नो पसलमा ‘यात्री’ उपलब्ध रहेको जानकारी गराउनासाथ एकप्रति खरिद गरिहालें । लगेकै दिन ७६ पेजसम्म अधययन गरें तर आफ्नो स्नातकोत्तर तह दोस्रो वर्षको परिक्षाको तयारी गर्नु परेकोले केही समयलाई थाती राखेको थिंएँ । कताकता आफूलाई निकै ठूलो काम छाडेजस्तो महसुस गरिराखेको थिएँ । परिक्षाको चटारो सकिनासाथ पुनः सुरुबाटै अधययन गरी २ दिनमा सिध्याएपछि यसका बारेमा केही लेख्ने हुटहुटी बढेर आयो ।

लिपि बुक्सले प्रकाशनमा ल्याएको दर्लामीद्वारा लिखित उपन्यास ‘यात्री’ जम्माजम्मी २९२ पेजमा अटाएको छ । अन्य साहित्यिक कृतिमाजस्तो भुमिकाले भरिएको थिएन यो कृति न कुनै कृत्रिम प्रशंसाका शब्दले अगाडिको भाग भरिएको थियो । उपन्यासको भाग १ पढ्नुभन्दा पहिले मैले सोचेको थिएँ कि पक्कै यसमा सतही यात्रा अनुभव मात्र होला । जस्तै डायरीको पानाबाट संयोजित घुमघामका रसरंगहरु । तर पुस्तक अध्ययन सुरु गरिसकेपछि म त्यो भ्रमबाट पूर्णरुपमा ब्याक भएँ । ‘यात्री’का पानापानामा गहिरो भाव पाएँ, जसमा पात्रहरु साँच्चिकै अमूल्य साहित्यिक भुमिकाबाट सुसज्जित थिए । साहित्यको मिठास सँगसँगै उपन्यासमा साँस्कृतिक पर्यावरणको दृष्टिकोण पनि बलियोगरी पाएँ । साँस्कृतिक पर्यावरणले कुनैपनि ठाउँको वातावरण र प्राणीबीचको अन्तरसम्बन्ध हुन्छ भन्ने मान्यता राख्दछ । ‘यात्री’मा पनि परिवर्तित वातावरण र मौसमअनुसार त्यहाँका मानिसले अनुकुलन हुनका लागि अपनाएका विभिन्न रणनीतिहरुबारे साहित्यिक प्रस्तुतिकरण देख्न पाइन्छ । साथै ‘यात्री’ले जनजातीयता र पहिचानको विषयवस्तु पनि झल्काउन खोजेको देखिन्छ । उपन्यासको प्रमुख पात्रहरुमध्यको एक पात्र नेर्जुईले नेपाली जनजाती समुदाय जो चिम्सा आँखा र थेप्चा नाक गरेका मानिसहरु, नेपालमा बस्ने भएतापनि नेपाली बन्न नसकेको कुराले जनजाती समुदायको पहिचानको मुद्दा झल्काउन खोजेको छ । नेपाली भएर पनि अझै मंगोलियनको पगरी गाँसिनु, साथै जनजाति समुदायले आफ्नो मौलिक बिम्ब निर्माण गर्न नसकेको, जनजाति समुदाय आफ्नै समुदायसँग लडाइँ गरी पछाडि पारिएको कुराले वास्तवमै पहिचान के हो भन्ने कुरा झल्को दिएको पाइन्छ । ‘यात्री’ उपन्यासमा संरचनात्मक प्रकार्यात्मक दृष्टिकोण पनि देख्न सकिन्छ । उपन्यासको भाग दुईमा उपन्यासकारले उक्त कुरालाई जोडका साथ उठाएको पाइन्छ । सभ्यताको निर्माणको क्रममा समाज र संस्कृतिअन्तर्गतका विभिन्न एकाईहरु र तत्वहरुको प्रकार्यात्मक सम्बन्धलाई दर्शाउँदै मानिसहरुबीच समाजमा सहमति, एकीकरण, समायोजन, सन्तुलन जस्ता आयामहरुको प्रस्तुति यस उपन्यासमा देख्न सकिन्छ । मानिसहरु आफ्नो सभ्यता निर्माणको क्रममा सुरुवाती चरणदेखि गरेका अभ्यासहरु जस्तै, बसाइँसराइ, नयाँ ठाउँमा समायोजन, खेतिपाती, पशुपालन, आवास निर्माण, रक्षात्मक गतिविधी, सामूहिक पुजाआजा जस्ता गतिविधिले मानिसहरूबीच प्रकार्यात्मक एकता, सर्वव्यापकता, अनुकूलन, समायोजन जस्ता कुरालाई बलियोगरी दर्शाएको पाइन्छ । साथै ‘यात्री’ उपन्यासमा मानवशास्त्रीय अध्ययन पनि देख्न सकिन्छ । बेबिलोन र यहुदहरुको सभ्यताको विकास, आपसी सङ्घर्ष, धार्मिक विभेदता, साँस्कृतिक विभिधत जस्ता पक्षहरु मानवशास्त्रीय अध्ययनसँग सम्बन्धित देखिन्छन् । उपन्यासको सुरुदेखि अन्तसम्म गहन रुपले अध्ययन गर्दा मानव जीवनका अनेकौं पक्षहरुको बिशिष्ट रुपमा उपस्थित देख्न सकिन्छ । जस्तै धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पर्यावरणीय, राजनैतिक आदि । लुङ्दारकाजीको भुमिकादेखि कर्मा, नेर्जुइ लगायतको भुमिकाले फरक फरक तर विशिस्ट प्रकृतिका आयामहरु उल्लेखित रहेको पाइन्छ । लुङ्दारकाजी नामक पात्रले गरेको चिन्तालाई मनन गर्दा नेपालको धार्मिक, साँस्कृतिक महत्वमाथि विदेशीको हस्तक्षेप, ऐतिहासिक सम्पदाको सुरक्षाको चिन्ता र धर्मगुरुहरुको स्वार्थी प्रवृत्तिलाई छर्लङ्ग देख्न सकिन्छ । धार्मिक, साँस्कृतिक रुपले नेपाल विश्वमै परिचित भएपनि स्वयं नेपालीले नै आफ्नो धार्मिक तथा साँस्कृतिक सम्पदाको रक्षा गर्न नसकेको प्रसंगलाई उल्लेख गरिएको छ ।
त्यस्तै उपन्यासको अर्को महत्वपूर्ण पात्र कर्माको भुमिकाले स्वतन्त्र तिब्बत पक्षधरहरुले आफ्नो राजनैतिक अधिकार प्राप्तिका निम्ति गरेको लामो तथा कठोर सङ्घर्षको कथालाई दर्शाउन खोजेको छ । चिनिया केन्द्रिय सरकारको कठोर निगरानी, वाक स्वतन्त्रता र राजनैतिक अधिकारविनाको जनता हुनुको पीडा साथै राष्ट्रविनाको राष्ट्रियताको औचित्य नभएको कुरालाई देखाउन खोजिएको छ । त्यस्तै उपन्यासकै अर्को पात्र नेर्जुई, जसको भुमिकालाई बहुआयामिक रुपले विश्लेषण गर्न सकिन्छ । जन्मभूमिप्रति अगाध माया भएको पात्र हो नेर्जुई जसले विश्वविद्यालयसम्मको अध्ययन गरेतापनि अन्ततः आफ्नै गाउँ फर्किएकी छे । साथै मंगोलहरुको पहिचान, पर्यावरणसँग त्यस क्षेत्रका मानिसहरु कसरी अनुकूलन र समायोजन हुन्छन् भन्ने कुरा उसको भुमिकाबाट चरितार्थ भएको देख्न सकिन्छ । साथै उसको प्रेमिल भुमिकालाई पनि चाखलाग्दो रुपले हेर्न सकिन्छ । ‘यात्री’ उपन्यासका हरेक पात्रहरूको भुमिका विशिष्ट देखिन्छ । नेर्जुईको हजुरबुबा अनि काका काकीको भुमिका जसले जन्मभूमिलाइ नै कर्मभूमि मानी आफ्नो जीवनयापन गरिरहेका छन । साथै मंगोलियनहरुको महत्वपूर्ण पर्व नादाममा गुर्बान वस्तीका मानिसहरूको उत्साहले साँस्कृतिक एकताको सन्देश दिन खोजिएको छ जसलाइ संस्कार उपागमको रुपमा बुझ्न सकिन्छ । झाङ्नु भन्ने ठाउँमा नादाम पर्वमा हुने पहलवानहरुको युद्ध अर्थात कुस्तिले प्रतीकवाद (क्थmदयष्किm) को रूपमा उपस्थिति जनाएको छ । साथै गुर्बान गाउँका मानिसहरूको मुख्य पेसा पशुपालन भएको र व्यापार पनि सोही पेसासँग सम्बन्धित रहेको कुराले विनिमयात्मक उपागमको पक्षलाई पनि उपन्यासमा देख्न सकिन्छ । 
बहुआयामिक पक्षको मिश्रण रहेको उपन्यास ‘यात्री’ साहित्यको कौतुहलतापुर्ण रससँगै समाजशास्त्रीय एवं मानवशास्त्रीय पक्षहरु जस्तै, संरचनात्मक प्रकार्यवादी दृष्टिकोण, संस्कार उपागम, साँस्कृतिक पर्यावरणीय दृष्टिकोण, द्वन्द्वात्मक उपागम, विनिमयात्मक उपागम, जनजातीयता र पहिचान जस्ता पक्षहरुले भरिएको छ । उपन्यासको मुख्य पात्र यात्री जसले प्राचीन पुस्तकको रहस्य पत्ता लगाउनका निम्ति गरेको अठोट र हरेस नखाइ गरेको संघर्षपूर्ण यात्रा, प्रेम प्रसंग र उसको समग्र यात्रा विवरण रोचक एवं महत्वपूर्ण छ । विशिष्ट साहित्यक शब्द चयन गरी तयार पारिएको उपन्यास मानव सभ्यताको अध्ययनको दरिलो साहित्यालेखको रुपमा उपस्थिति जनाएको देखिन्छ । फरक स्वाद मन पराउने नेपाली पाठकहरुको निम्ति यो पुस्तक अमूल्य उपहारको रुपमा आएको छ । 

खासै चर्चामा आउन नरुचाउने साहित्यकार जेबी दर्लामीलाई यस पुस्तकले साहित्यको एक मुर्धन्य खम्बाको रुपमा उभ्याएको छ । यो उपन्यासले सभ्यता, भौगोलिक क्षेत्र, इतिहास, सँस्कृति र राजनीतिको गहिरो अध्ययनबाट मात्र जन्म लिएको देखिन्छ । नेपाली पाठकहरुका साथसाथै विश्वभरका पाठकहरुलाई पनि गतिलो खुराक मिलेको अनुभूति भएको छ । यदि यो पुस्तक अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्न सके पुस्तकले अन्तराष्र्टि«य महत्व पाउने कुरामा कुनै दुई मत छैन । सतही प्रेम, यौन, घुमफिरका संस्मरण, आत्मरतिले भरिएको नेपाली साहित्यिक रचनाहरुको भीडमा यो एउटा पृथक साहित्यिक गहनाको रुपमा उदाएको छ । उपन्यासको अन्तिम भागले पाठकको कौतुहलतालाई चरमोत्कर्षमा पु¥याउँछ । कर्माको भुमिकालाई विश्लेषण गर्दा लेखक पनि स्वतन्त्र तिब्बत आन्दोलनप्रति झुकाव राखेजस्तो देखिएपनि अन्य सम्पूर्ण पक्ष विशिष्ट रहेको छ । उपन्यासलाई साहित्यिक तवरले भन्दापनि समाजशास्त्रीय र मानवशास्त्रीय रुपले समीक्षा गरेको छु । साथै यस ‘यात्री’ उपन्यास नेपाली साहित्यका साथै अन्तराष्ट्र्रिय साहित्यिक जगतमा कोसेढुङ्गाको रुपमा स्थापित हुनेछ भन्नेमा आशावादी छु ।
०

Tuesday, 13 February 2018

यात्री - अंश


धेरै दिनपछि बस्तीमा पारुहाङको पुनरागमन भयो । सतीदेवीको मृत्युपछि त उनी सर्वथा एक्ला बने । लाज, पश्चात्ताप र दुःखको आहालमा चुर्लुम्म डुबेका थिए उनी । आएर  सरासर आफ्ना आसेपासेहरूकहाँ गएनन्, हामीकहाँ नै आए । 

ओतगोन्बा बाजेकहाँ आए, जो उनले थाहा नपाउनेगरी हाम्रो माङ्गोल समुदायको गुरुबा बन्नुभएको थियो, राजा बन्नुभएको थियो । उहाँको चरणमा घोप्टिएर पारुहाङ ग्वाँग्वाँ स्वर खोलेर रोए । 
धेरै बेर आँसु बगाइसकेपछि उनले भने, 
‘गुरुबा, मेरा आफन्त भन्नु, मेरा सबैथोक भन्नु तपाईंहरू नै हो । म भ्रममा परेको रहेछु । मैले बाटो बिराएको रहेछु । कुहिएर जाने लासको मोहमा डुबेको रहेछु । तर अब मैले मृत्युलाई देखेँ । त्यसको क्रूरतालाई बुझेँ । जीवनको महत्व चिनेँ । मलाई समुदायबाट क्षमा दिलाइदिनुहोस् । म तपाईंहरूबाट अलग्गिएर बाँच्न सक्दिनँ । मलाई माफ गरिदिनुहोस् ।’
पारुहाङको विलाप सुनेर अनि उनको पश्चात्ताप देखेर गुरुबा पनि धुरुधुरु रोएका थिए । हाम्रो समुदायले हत्यारा पारुहाङलाई सहजै क्षमा दियो ।
पारुहाङ दिनदिनै पहाडतिर उक्लन्थे । कहिलेकाहीँ हप्ता दिनसम्म पनि फर्कंदैनथे ।
एकपटक हिँड्न लाग्दा मैले सोधेकी थिएँ, ‘कता जान लाग्नुभएको ?’
‘बरम्हाजीलाई भेट्न चाहन्छु । मैले गुरुबालाई त गुमाएँ तर बरम्हाजीलाई फर्काएर ल्याउन चाहन्छु । उहाँको खुट्टा चुमेर क्षमा माग्न चाहन्छु ।’  भनेका थिए ।
तर उनले बरम्हाजीलाई कहिल्यै भेटाउन सकेनन् । प्रत्येक दिन बरम्हाजीलाई सम्झन्थे पारुहाङ । विरहमा डमरु बजाएर मन बहलाउने कोसिस गर्थे । उनको मनमा सतीदेवीको मृत्युको आघातमात्रै थिएन । मुख खोलेर नभने पनि निर्दोष मानिसहरूको हत्या गरेको सम्झेर उनी घोर पश्चात्तापमा डुबेका थिए ।
बरम्हाजी कता जानुभयो ? कहाँ बस्नुभयो तपस्यामा ? जिउँदो हुनुहुन्छ कि मरिसक्नुभयो होला ? यी यावत् प्रश्नहरूको जवाफ हामीसँग पनि थिएन ।


                                  ———
अनि एक दिन ।
ओतगोन्बा बाजेको कान्छी छोरी सुम्निमासित पारुहाङको बिहे भयो । 
सुम्निमा दिदीको एकपटक बिहे भइसकेको थियो । उनको लोग्ने पनि पारुहाङ र इन्द्रको षड्यन्त्रमा परेर मारिनेमध्ये एक थिए । उनको नाम चेघान थियो । सुम्निमा र पारुहाङको बिहेलाई धेरैले स्वीकार गरेका थिएनन् । तर मुख खोलेर विरोध गर्न पनि सकेनौं । गुरुबाको निर्णय थियो । सुम्निमालाई पनि कसैले करमा पारेको थिएन । उनीहरू राजीखुुसी थिए भने हामीले मन दुखाउनुको पनि कुनै तुक थिएन ।
पारुहाङको प्रशंसा गर्ने हाम्रो समुदायका मानिसहरू उनको सुध्रिएको जीवनको उदाहरण दिने गर्दथे र मान्छेलाई एकपल्ट सुध्रने मौका दिनुपर्दछ भन्थे । मलाई भने यस्तो लाग्थ्यो, पारुहाङले आफूले गरेको अपराधका लागि टाउकै काटेर दिए पनि कम हुन्छ । मेरो मनले पारुहाङलाई कहिल्यै क्षमा दिन सकेन । जब उनलाई क्षमा दिनुपर्छ भनी सोच्थेँ मेरा आँखामा बाजेको रक्ताम्य छाती देखा पर्न आउँथ्यो । पीडाले छटपटाइरहेका मेरो बाजे, मेरो भाइ र समुदायका सारा मानिसहरूको अनुहार देखा पर्न आउँथ्यो, जो यिनै पारुहाङका कारणले मारिएका थिए । गल्ती त सबैले गर्छन् तर पारुहाङको एउटै गल्ती हजार गल्तीभन्दा ज्यादा थियो ।
ओतगोन्बा बाजेलाई सम्झँदा रिस उठ्थ्यो मलाई । सुम्निमाले गरेको निर्णय सम्झँदा मन दुखेझैं हुन्थ्यो । आफ्नै दाजुभाइ र लोग्नेको हत्यारालाई लोग्ने भनी स्वीकार गर्न उसको कुनचाहिँ मनले मान्यो होला ? 
सुम्निमासँग बिहे गरेपछि पारुहाङको जीवनमा केही सुधार आइरहेको थियो । उनकै अगुवाइमा थानडाँडामा फेरि देवीदेउताका थानहरू निर्माण गरिए । त्यहीँ एकछेउमा हाम्रो बाजे र बरम्हाजीको नाममा एकएक वटा थान बनाइए । इन्द्रका मानिसहरू क्रुद्ध बनेका थिए । उनीहरू इन्द्रले अह्राएझैं नै पारुहाङलाई शिव भन्दथे र सुम्निमालाई पनि उनीहरूले नयाँ नाम दिएका थिए— पार्वती ।
हामी त्यस जोडीलाई सुम्निमा–पारुहाङ भन्थ्यौं । इन्द्रका मूर्तिपूजक मानिसहरू तिनलाई शिव–पार्वती भन्दथे ।

Wednesday, 7 February 2018

‘यात्री’को रचनागर्भ


जेबी दर्लामी 

(गज्जब साप्ताहिकमा प्रकाशित)

नेपालमा गणतन्त्रको उदयसँगै हामीले मुखर बनेर बोल्ने अधिकार पायौं । तर आफ्नो हक र अधिकारका लागि बोल्दा हामीले आफ्नो कर्तव्यचाहिं भुल्यौं कि भन्ने लागिरहन्थ्यो । विशेषगरी विभिन्न जातिविशेषका राज्य र संरक्षित ईलाकाको बारेमा बहस भैरहँदा देशमा जातीय भावना अत्यन्तै तीतो बन्यो । शासकहरूले जातैपिच्छे राज्यको ललिपप बाँडिरहने र जनता एकापसमा वैरी बनेर गालीगलौज र मारकाटमा उत्रने विचित्रको समय थियो त्यो । त्यही समयमा मैले यो उपन्यास लेख्ने योजना बनाएको थिएँ ।
२०७० सालको मध्यतिर (जतिबेला म मलेसियामा थिएँ, एउटा मजदुरको रुपमा) यो उपन्यासको सुरुको हरफ लेखेको थिएँ । होस्टेलमा जनजाति र खसआर्य दुवै समुदायका कामदार थियौं । तर राज्यलाई गाली गर्ने समयमा जनजाति साथीहरूले क्षेत्रीबाहुनलाई पनि भद्दा गाली गर्नेगर्थे । यसैमा मेरो उनीहरूसित सदैव असहमति रह्यो । मेरो स्पष्ट दृष्टिकोण के थियो भने राज्यसञ्चालनका निकायहरूमा खसआर्य समुदायकै मानिसहरूको सँख्या बढी रहेको हुँदा निश्चय नै देशको अवस्था बिग्रनुमा उनीहरूको हात छ तर कुनै सिंगो जाति या समुदाय यसको दोषी छैन । यही कुरालाई मेरा समुदायका साथीहरूले गलत तरिकाले बुझे । र मलाईसमेत गर्नुसम्म गाली गरेका थिए । 
म देख्थें, एउटै होस्टेलमा बस्ने, एउटै काम गर्ने साथीहरू नेपालका प्रायः सबै समुदायका प्रतिनिधि थियौं । जुन दुःख मगरको छोरोले पाइरहेको छ, त्यही दुःख बाहुनको छोरोले पनि पाइरहेको थियो । जुन पीडा एउटा राई युवकले भोग्नुपरेको छ, त्यही पीडा अर्को क्षेत्री युवकले पनि भोगिरहेको थियो । अर्थात् परदेशले हाम्रो नाकनक्शा या अनुहार हेरेर व्यवहार गरेन । उसको नजरमा हामी सबै नेपाली थियौं । आफ्नो देशमा बेरोजगार भएर काम खोज्न हिंडेका मजदुर मात्र थियौं हामी ।

हो, यस्तै समयमा मैले यो उपन्यास लेख्न सुरु गरें । परदेशमा । यसको पहिलो खेस्रा सत्तरी सालभित्रै लेखेको थिएँ, कागजमा । ड्यूटीपोष्टमै । पछि नाइट ड्यूटी परेको समयमा ल्यापटपमा लेखें । लेख्ने क्रममा असजिलो अवस्थामा नै कलमको बेग बढी हुँदोरहेछ भन्ने पनि थाहा पाएँ । म्यानेजर र सीसीटीभी क्यामेराको आँखा छल्दै लेख्ने काम गाह्रो थियो तर मनले आँटेपछि असम्भव भन्ने पनि केही रहेनछ भन्ने थाहा पाएँ ।
हामी सबै यात्री मात्रै हौं भन्ने मुख्य थीममा म लेख्न गैरहेको थिएँ । कुनै जाति या समुदायप्रति लचिलो या कठोर नबनुँ भन्नेमा म लेखनअवधिभरि नै सचेत थिएँ । देशमा जातीय समस्या त अझैपनि छ । तर त्यो समस्या कुनै प्रदेशलाई कुनै जातिको नाममा नामाकरण गर्दैमा समाधान हुन्छ भन्नेमा हिजोजस्तै मलाई आजपनि विश्वास छैन । र यो उपन्यासले देशको जातीय समस्या समाधान गर्ने दाबी पनि गर्दैन । यत्ति हो, खराबी राज्यशक्तिमा हुन्छ र त्यसको विरोधमा सबै जाति समुदायका मानिसले एक भएर बोल्नुपर्छ भन्ने सन्देश कसैले पाएछ भने मात्रैपनि म आफ्नो उपन्यास लेखनको पहिलो पाईला सफल भएको ठान्नेछु ।

उपन्यास तीन अध्यायमा विस्तारित छ । पहिलो अध्यायको भावभूमि नेपाल, तिब्बत र मंगोलिया छ । दोस्रो अध्याय स्वेरकाल्पनिक हो, कतिपय सत्यलाई छाडेर । तेस्रो अध्यायमा पनि मंगोलिया र नेपालको भावभूमि समेटिएको छ ।
मिथकहरू छोइएको स्वेरकाल्पनिक कथा आफूलाई पनि पढ्न असाध्यै रुची लाग्ने हुँदा जानीनजानी यो उपन्यासको दोस्रो अध्यायमा त्यो प्रयोग गर्ने कोशिस गरेको छु । त्यसो गर्दा पात्रहरू कुनै समयसीमाभित्र बाँधिएका छैनन् । कति पाठकले रुचाएको प्रतिक्रिया दिएका छन् भने केही पाठकले विभिन्न धर्मशास्त्रहरूमा वर्णित देवीदेउताहरूको नाम हुबहु नराखेको भए हुन्थ्यो भनेका छन् । उपन्यास लेखिरहँदा म कुनै जातिसमुदाय, धर्म या विश्वासप्रति पूर्वाग्रही थिइनँ । तर सबै जातिमा असल मानिस पनि छन् र खराब पनि छन् भन्ने देखाउनकै लागि मैले यो कथा बुनेको थिएँ । कत्तिको सफल भएँ या भइनँ, मभन्दा जान्नेबुझ्ने त पाठक नै छन् ।

पात्रहरूलाई सकेसम्म यथार्थ बनाउने कोशिस गरेको छु । पात्रहरूका बारेमा छुट्टै सन्दर्भमा लेख्न सकिएला । उपन्यास लेख्ने क्रममा पात्रहरूसित म अत्यन्तै नजिक बनेको थिएँ । विशेषगरी कर्मा र नेर्जुईसित । तिब्बती युवक कर्मा जसको चरित्र मैले तिब्बती शरणार्थीहरूबाट टिपेको थिएँ । र मंगोलियन युवती नेर्जुई जसलाई मैले उपन्यासलाई कोमल बनाउने उद्देश्यले समातेको थिएँ । तर पछि ऊ वास्तवमै मैले सशरीर भेटेको थिएँ कि भन्ने हदसम्म मभित्र प्रवेश गरी । भूगोलको अध्ययनमा इन्टरनेटको सहयोग लिएको छु । ठाउँहरू, सन्दर्भ र घटनाहरू, सँस्कार र भाषा यथार्थ हुन् । तर कथामा काल्पनिकी नै धेरै छ ।

यो उपन्यास करिब चारपटक पुनर्लेखन भएको छ । एकपटक चोरले झोला नै खोसेर लग्यो । हार्ड डिस्कमा सेभ गर्न नभ्याइएका पेनड्राइभका सामग्री चोरिँदा केही दिन म विक्षिप्त नै बनेको थिएँ । त्यो सामग्रीमा यो उपन्यास पनि थियो । पछि केही महिना लगाएर पुनः टङ्कण गरें ।
यो उपन्यासको पहिलो खेस्रा एक लाख शब्दको थियो । त्यसलाई साथी फणीन्द्र संगमले काटछाँट गरिदिएर चिटिक्कको बनाइदिए । प्रकाशकलाई बुझाउनुअघि धेरै साथीहरूलाई पाण्डुलिपि पढ्न दिएको थिएँ । धेरैले धेरैप्रकारका सुझाव दिएर गुन लगाएका छन् । तर यसको प्रकाशनक्रममा धेरै असल साथीहरू टाढिएका पनि छन् । यसको कथा पनि बेग्लै छ । यहाँ उल्लेख गर्न असान्दर्भिक ठान्दछु । विशेषगरी नयाँ लेखकलाई उठ्न नदिन विभिन्न अवतारका पुस्तक माफियाहरूबाट परिचित बन्ने मौका पनि यो उपन्यासले मलाई दिएको छ । यसको बारेमा कतै न कतै पक्कै लेख्नेछु ।

लेखनको अनुभवले यो मेरो दोस्रो उपन्यास हो । पहिलो उपन्यास मलेसियाली नेपालीहरूको कथामा छ । त्यो लेख्न थालेको धेरै भयो । अझैपनि सम्पादन गरिरहेको छु । तर प्रकाशनको हिसाबमा यात्री मेरो पहिलो उपन्यास हो । र उपन्यास प्रकाशनको पहिलो अनुभव मेरो जीवनमा निश्चय नै अविस्मरणीय रहनेछ । 

यात्री बजारमा छ । नयाँ लेखक हुनुको कारण उपन्यासले धेरैको ध्यान तान्न सकिरहेको छैन होला । जतिले पढेका छन्, उनीहरूले अत्यन्तै उत्साहप्रद प्रतिक्रिया दिएका छन् । बजारशास्त्र या बजारको मनोविज्ञान थाहा छैन तर मलाई गम्भीर पाठकप्रति सदैव भरोसा छ । 
०
अर्घाखाँची
२०७४ माघ १



Monday, 29 January 2018

यात्री उपन्यासबाट

‘दुःख छ तर हरेश नखानू । कहिल्यै विचलित नहुनू । उदास नहुनू, हिम्मत नहार्नू । तिम्ले ल्याएर आएको पुस्तक म उलानबटोर लिएर जाँदैछु । मेरा गुरुहरूलाई देखाउँछु । केही रहस्य त अवश्य पत्ता लाग्नेछ,’  धेरै बेरको मौनतापछि नेर्जुईले भनी । 
म केही नबोली घोडामाथि बसिरहेँ । रुञ्चे स्वरमा नेर्जुई नै बोलीरही,
‘पाँच महिनापछि म आइहाल्छु । ढिलो गरेँ भने पनि अप्रिलको अन्तिम हप्तासम्म जसरी भएपनि आइपुग्छु । जुलाईमा त हाम्रो राष्ट्रिय पर्व हो । नादाम । कति रमाइलो हुन्छ,’ मनमा बिछोडिनुको पीडा दबाएर ऊ हाँस्ने कोसिसमा थिई । 
‘तिमी साथमा भए मलाई कुनै चाडपर्व चाहिन्न नेर्जुई ।’
मेरो कुरा सुनेर उसको अनुहार अँध्यारो भयो । हत्तपत्त हत्केलासम्मै झरेको ओभरकोटको बाहुलाले आँसु पुछी । 
‘मैले खुब याद गर्नेछु तिमीलाई,’ उसले रुँदै भनेकी यी वाक्यहरुले मेरो मुटु स्पर्श गरे । तीन घन्टाको घोडसवारीपछि हामी एउटा सानो डाँडोमा पुग्यौं । हामी त्यही डाँडामा घोडाबाट ओर्लियौँ । केही पर होचा र स–साना घरहरू भएको एउटा बजार देखाप¥यो ।
‘यही हो झाङ्नु बजार । हाम्रो क्षेत्रको सरकारी अड्डाहरू सबै यहीँ छन् । यहाँबाट सिधै उलानबटोरका लागि सवारीसाधनहरू पाइन्छन् । उलानबटोर पुग्न बसमा झन्डै नौ घन्टा लाग्छ,’ उसले मेरो हात समात्दै भनी, ‘नादाममा हामी सँगै आउनेछौं यो बजारमा । खुब रमाइलो हुनेछ ।’
उसलाई छोड्न मन थिएन । तर नछोडी सुख थिएन । जाँदै थिई ऊ मेरा लागि अपरिचित, विरानो सहरमा । 
‘अब तिमी फर्क यात्री ।’
‘किन फर्कने म ? तिमीलाई गाडी चढाएर मात्रै फर्कन्छु,’ मैले आत्तिँदै भनेँ । 
‘मोटरहरू देखेर यी घोडा तर्सेर भाग्लान् । एउटा भए त तिम्लाई सजिलै हुन्थ्यो । दुई वटालाई कसरी सम्हाल्न सक्छौ ? मेरो चिन्ता नगर, आफ्नो ख्याल राख । भोकै नबस । म फर्कंदाखेरि तिम्ले मलाई यहीँ लिन आउनुपर्छ है ?’
धेरै बेरसम्म हामी अलग हुन सकेनौं । एक–अर्काको अँगालोमा बाँधियौँ । मनले छुट्टिन मान्दै मानेको थिएन । कुन आसक्ति थियो कुन्नि त्यो ? यति चाँडै हाम्रो मन यस्तरी जोडिएको रहेछ । एक–अर्काको मुटुको धड्कन सुन्न सक्ने भएका रहेछौं हामी ।
मेरो अँगालोबाट भारी मनले मुक्त भएर उसले छिटोछिटो पाइला सारी । हिँक्कहिँक्क गर्दै रोइरहेकी थिई ऊ । पछाडि फर्केर हेर्नै सकिन । उसका खुट्टा लरबराइरहेका थिए । सायद, हिँडाइको सन्तुलन गुमाइसकेकी थिई । पर पुगेर हरियो चौरमा ऊ घुँडा टेकेर बसी । आफूभन्दा अग्लो झोलाले उसलाई थिच्यो ।
म दौडँदै उसको नजिक गएँ । भित्रैदेखि हिक्का छाडिरहेकी थिई ऊ । अगाडि गएर उसलाई हात दिएँ । मेरो हातमा झुन्डिँदै उठी ऊ र छातीमा टाँस्सिएर गला खोलेरै रुन थाली ।

मैले चुपचाप उसको कपाल मुसारिरहेँ । भन्नुपर्ने कुरा त कति थिए कति मनमा । तर यो बेला कुनै अर्थ थिएन ती कुराको । मैले उसलाई रुन दिएँ ।
केही बेरपछि ऊ आफंै सम्हालिई । रुन्चे बोलीमा निरन्तर ‘म तिमीलाई माया गर्छु’ भनिरहेकी थिई । हिजोसम्म मेरो निम्ति मायाप्रेम भन्ने शब्द नै झुटो थियो । बकवास थियो । बेकामको थियो र भ्रम थियो । आज मैले पनि बुझ्दै थिएँ, मायाको अर्थ । प्रेमको गहिराई म पनि अनुभूत गरिरहेको थिएँ ।

नेर्जुई त्यहाँबाट पनि अगाडि बढी । पटक–पटक फर्केर हेरी । हात हल्लाई उसरी नै पटक–पटक । ऊ मेरो पोल्टामा परेको मैले थाम्न नसक्ने खुसी थिई । मैले नमागेरै पाएको सौभाग्य थिई । संसारलाई नयाँ तरिकाले हेर्न सिकाएकी थिई उसले मलाई । जीवनको अर्थ सम्झाइदिएकी थिई । मेरो रुखो र निस्सार जीवनमा उसले बहार बोकेर आएकी थिई । बदलामा मैले उसलाई आँसु दिएर बिदा गरिरहेको थिएँ । 
हेर्दाहेर्दै उसको आकृति सानो हुँदै गयो । मैले एकटकले हेरिरहेँ त्यो बिन्दुलाई । अन्ततः बिन्दु पनि शून्यमा बिलाइगयो । 

यात्री उपन्यासबाट ।

Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...