जेबी दर्लामी
संसारका
ठूला लेखकहरूको काम लेख्ने मात्रै होइन, बोल्ने पनि हो । तर नेपालका
लेखकहरू नगरकोटीको भाषामा गुफा पस्नुलाई गौरव ठान्छन् र त्यसो गरेर उनीहरू संसारका
प्रसिद्ध लेखकहरूको दाँजोमा पुग्ने सपना देख्छन् । योभन्दा हास्यास्पद कुरा अरू के
होला ?
तालिबानको
चरम दमन सहन नसकी अभिभावकसित बेलायत भागेका खालिद हुसेनीले काइट रनर, एन्ड माउन्टेन इकोज र
थाउजेन्ड्स स्प्लेन्डिड सन्सजस्ता विश्वप्रसिद्ध आख्यान मात्र लेखेका छैनन्, ‘दि खालिद हुसेनी फाउन्डेसन’को स्थापना गरेर अफगानिस्तानमा
युद्धको चपेटामा परेका बालबालिकाका लागि सहयोग रकम पनि जुटाइरहेका छन् । उनी
आख्यान लेख्नका लागि वर्षौं भूमिगत हुँदैनन् बरु दिनहुँ आफ्नो फेसबुक पेज र
ट्विटरमा अपडेट हुन्छन् । किताब मात्र होइन, युद्धको विरोध र मानवताको
पक्षमा निरन्तर सामाजिक सञ्जालहरूमा पनि लेख्छन् । उनको यस्तो लेखनीले उनलाई हलुका
बनाएको छैन बरु झन्झन् जिम्मेवार लेखक भनी संसारभर चिनाएको छ ।
तर, हाम्रा ठूला भनिएका लेखकहरूले
सामाजिक सञ्जाललाई आफ्नो र स्वास्नीको फोटो सार्वजनिक गर्ने साधनका रूपमा मात्र
प्रयोग गरिरहेका छन् । उनीहरू यति साँघुरा छन् कि आफ्नो परिवार र हदै भए आफ्नो
गुटसम्मको प्रचार गर्नुलाई आफ्नो प्रतिबद्धता सम्झिरहेका छन् । उनीहरूले सामाजिक
सञ्जाल प्रयोग गर्ने भनेको व्यक्तिगत घुमघाम, खानपिन र मनोरञ्जनको फोटोहरू
अपलोड गर्न मात्रै हो । समाजसित उनीहरूलाई कुनै लिनुदिनु छैन । कहिले बोक्सीको
आरोपमा महिलालाई दिसा खुवाइन्छ । कहिले दलितले चुल्हो छोयो भन्दै आफूजस्तै
मानिसलाई निर्घात कुटपिट गरिन्छ । कहिले दाइजो नल्याएको निहुँमा नवविवाहितालाई
जलाएर मारिन्छ । कहिले आठवर्षीया बालिकादेखि असी वर्षकी वृद्धालाई सामूहिक
बलात्कार गरिन्छ । र यो सब हाम्रै देशमा भइरहेको छ ।
तर, देशका दुईथरी लेखक भनिनेहरूलाई
यी कुनै पनि घटनाले छुँदैन । एकथरी लेखक हुन् स्वघोषित नै सही ती सिकारु गजलकार जो
आफ्नै अगाडि मान्छे मारिँदा पनि प्रेमिकाको आँखा, नाक, च्युँडो र नितम्बको बयान गर्दै
गजल लेखिरहेका छन् र अर्कोथरि लेखकको समूह ‘ठूला’ भनिनेहरूको हो । केही लेखकहरू
छन् जसलाई म आँखा चिम्लेर पछ्याइरहेको छु । तिनका किताब सबै पठनयोग्य छैनन् ।
तिनका सबै किताब मलाई मन पर्दैन पनि । तर जब बजारमा तिनका किताब आउँछन् म अघिपछि
नसोची किन्ने गर्दछु । अनि कुनै घटनाले या कुनै बहसले जब सिंगो देश तरंगित हुन्छ
तब म तिनको धारणा सुन्न आतुर हुन्छु । योबारेमा मेरा ती आदर्श लेखकले के भन्दा हुन्
भनी जान्न व्यग्र हुने गर्छु । तर ती हिउँजस्तो चिसो बनेर यसरी बसिरहन्छन् मानौं
केही भएकै छैन । तिनको लेखनको आदर्श र व्यवहारमा म आकाश–जमिनको अन्तर पाउँछु ।
अरू
पाठकलाई पनि त मलाईजस्तै महसुस हुँदो हो । त्यसैले मलाई समाजका बोल्नैपर्ने
मुद्दामा पनि मौन बस्ने तथाकथित ठूला लेखक र सिकारु गजलकारको झुन्ड एउटै लाग्छ ।
राजनीतिक त कुरै छाडौं, सामाजिक
मुद्दामा समेत हाम्रा लेखकहरू मुखमा पानी हालेर बसेका हुन्छन् । आखिर केले रोक्छ
हातमा कलम भएका र कामै लेख्ने भएका लेखकलाई बोल्न र टिप्पणी गर्न ? संग्रौलाको भाषामा भन्नुपर्दा हातमा
लाठो हुनेहरू यसरी कोसित डराउँछन् ? स्पष्ट छ, उनीहरू आफैंसित डराउँछन् ।
आफ्नो पेटसित डराउँछन् । हरेक कुरामा पक्ष या विपक्षमा बहस हुन्छ । हाम्रा लेखकलाई
के डर छ भने कुनै पनि मुद्दामा टिप्पणी गर्दा एक पक्षलाई चित्त नबुझ्न सक्छ ।
चित्त नबुझेको समूहमा रहेका पाठकले आफ्नो किताब नपढीदिन सक्छ ।
पाठकले
नै नपढिदिएपछि किताबको बिक्रीमा ह्रास आउला । किताब नै बिक्री भइदिएन भने फूल टाइम
मात्र नभै नेपालकै ठूलो लेखक बन्ने आफ्नो सपना पनि भत्कन सक्छ । आखिर आफ्नै सपनाको
मलामी जान कसलाई रहर हुन्छ र, लेखकलाई होओस् ? नेपाली लेखकहरूको डर यति नै हो
र यति मात्रै हो । अर्थात् आफूले दुई–अढाई वर्ष गुफा पसेर लेखेको
किताबको बिचल्ली होला भन्ने डरले नेपाली लेखक आफ्नै अस्तित्व जोडिएको समाजको
मुद्दामा बहस गर्न राजी छैन । योभन्दा ठूलो विडम्बना अरू के होला ? समाजसित अलग्गिएर भुँडी भर्ने
पेसा त अरू पनि होलान् । किन तिनले लेखन नै अँगाल्नुपथ्र्यो र ? विदेशी लेखकको नाउँ धेरैको लिन
सकिएला ।
तर नेपालकै लेखकहरूको नाउँ
लिँदा मात्रै पनि धेरै हुनेछ । बिपी कोइरालाले आख्यान मात्रै लेखेर बसेनन् । न त
आख्यानकार बन्ने मोहले राजनीति नै छाडे । उनले समाजको बारेमा सोच्न र बोल्न
कहिल्यै छाडेनन् । राजनीतिक छविले उनको साहित्यिक अनुहारमा कहिल्यै दाग लगाउन सकेन
। उनका कृति सबै क्षेत्रका पाठकले पढे, अद्यापि पढिरहेछन् । पाठक
घट्लान् या आफ्नो किताबको बिक्री कम होला भनेर उनी डराएनन् । पारिजात, जसले आफ्नो जीवनलाई लेखनमा
मात्र समर्पित गरिनन्, जीवनभरि
समाजकै लागि बोलिन् ।
समाजकै
मुद्दामा आफूलाई एकाकार बनाइन् । उनको यस्तो कर्मले उनका पाठक घटेनन् । सुब्बा
कृष्णलाल अधिकारी र कृष्ण सेन ‘इच्छुक’सम्म सत्ताको नजरमा आतंककारी बनेका अन्य थुप्रै लेखकको नाउँ
हामी लिन सक्छौं । त्यो प्रतिरोध हाम्रो परम्परा हो । स्वभावैले नेपाली जातिको
स्वाभिमान अतुलनीय त छँदै छ तर समाजको प्रतिनिधि बनेर चिनिने लेखकको समूहले सत्ता
र परम्परामाथि प्रश्न गर्न सक्तैन भने त्यो कसको प्रतिनिधि हो र त्यसले लेख्ने
भनेको साहित्य कुन समाजको ऐना हो ? भावी पुस्ताले यो प्रश्न
निश्चित रुपमा सोध्नेछ ।
नेपालका
प्रायः सबै लेखक सामाजिक सञ्जाल प्रयोग गर्छन् । तर कमै मात्रले ताजा घटनामाथि
टिप्पणी गर्ने साहस गर्दछन् । उनीहरू आफूलाई यस्ता कुरामा तटस्थ राख्न मन पराउँछन्
। उनीहरू न्यू मिडियाको रुपमा परिचित फेसबुक, टिटर लगायतको शक्तिबारे राम्रै
जानकार छन् । यिनै सामाजिक सञ्जालको प्रयोगले राज्यसत्तासम्म परिवर्तन हुन सक्छ
भन्ने संसारका केही उदाहरण पनि तिनलाई थाहा छैन होला भन्न सकिँदैन । यति
हुँदाहुँदै पनि उनीहरूको मौनताको अर्थ आफूलाई विवादरहित लेखकको रुपमा परिचय दिने
ध्येय नै हो भन्नेमा स्पष्ट हुन सकिन्छ ।
आखिर
तिनको मौनताले सहयोग पु¥याउने
भनेको यथास्थितिलाई नै हो । परम्परालाई नै हो । दुनियाँमा राम, कृष्ण, जिजस, बुद्ध त सबैका प्रिय हुन सकेका
छैनन् भने लेखकको कत्रो महत्वाकांक्षा कि ऊ सबैको प्रिय बन्न चाहन्छ । नेपाली लेखक
आफ्नो किताबको बजार नघटोस् भन्ने कुरामा बडो चनाखो छ तर यही चनाखोपनले उसलाई ‘बाठो लड्छ तीन बल्ड्याङ’ भन्ने उखानको पात्र बनाइदिएको छ
। उसलाई समाजप्रति कुनै जिम्मेवारीबोध नभएको असभ्य प्राणी बनाउँदै लगेको छ ।
लेखक पनि
समाजकै अंग हो भने समाजको दुखाइमा ऊ उपन्यासमा रोएर मात्र हुँदैन । कवितामा
संवेदनाको खेती गरेर मात्र हुँदैन । ऊ समाजसितै रुन र हाँस्न सक्नुपर्छ । नत्र
मान्छे हुनुको अर्थ नै के रह्यो र ? मान्छे बन्न नसके लेखक कसरी
बन्न सकिन्छ र ?
https://www.farakdhar.com/story/6259/
No comments:
Post a Comment