Tuesday, 13 February 2018

यात्री - अंश


धेरै दिनपछि बस्तीमा पारुहाङको पुनरागमन भयो । सतीदेवीको मृत्युपछि त उनी सर्वथा एक्ला बने । लाज, पश्चात्ताप र दुःखको आहालमा चुर्लुम्म डुबेका थिए उनी । आएर  सरासर आफ्ना आसेपासेहरूकहाँ गएनन्, हामीकहाँ नै आए । 

ओतगोन्बा बाजेकहाँ आए, जो उनले थाहा नपाउनेगरी हाम्रो माङ्गोल समुदायको गुरुबा बन्नुभएको थियो, राजा बन्नुभएको थियो । उहाँको चरणमा घोप्टिएर पारुहाङ ग्वाँग्वाँ स्वर खोलेर रोए । 
धेरै बेर आँसु बगाइसकेपछि उनले भने, 
‘गुरुबा, मेरा आफन्त भन्नु, मेरा सबैथोक भन्नु तपाईंहरू नै हो । म भ्रममा परेको रहेछु । मैले बाटो बिराएको रहेछु । कुहिएर जाने लासको मोहमा डुबेको रहेछु । तर अब मैले मृत्युलाई देखेँ । त्यसको क्रूरतालाई बुझेँ । जीवनको महत्व चिनेँ । मलाई समुदायबाट क्षमा दिलाइदिनुहोस् । म तपाईंहरूबाट अलग्गिएर बाँच्न सक्दिनँ । मलाई माफ गरिदिनुहोस् ।’
पारुहाङको विलाप सुनेर अनि उनको पश्चात्ताप देखेर गुरुबा पनि धुरुधुरु रोएका थिए । हाम्रो समुदायले हत्यारा पारुहाङलाई सहजै क्षमा दियो ।
पारुहाङ दिनदिनै पहाडतिर उक्लन्थे । कहिलेकाहीँ हप्ता दिनसम्म पनि फर्कंदैनथे ।
एकपटक हिँड्न लाग्दा मैले सोधेकी थिएँ, ‘कता जान लाग्नुभएको ?’
‘बरम्हाजीलाई भेट्न चाहन्छु । मैले गुरुबालाई त गुमाएँ तर बरम्हाजीलाई फर्काएर ल्याउन चाहन्छु । उहाँको खुट्टा चुमेर क्षमा माग्न चाहन्छु ।’  भनेका थिए ।
तर उनले बरम्हाजीलाई कहिल्यै भेटाउन सकेनन् । प्रत्येक दिन बरम्हाजीलाई सम्झन्थे पारुहाङ । विरहमा डमरु बजाएर मन बहलाउने कोसिस गर्थे । उनको मनमा सतीदेवीको मृत्युको आघातमात्रै थिएन । मुख खोलेर नभने पनि निर्दोष मानिसहरूको हत्या गरेको सम्झेर उनी घोर पश्चात्तापमा डुबेका थिए ।
बरम्हाजी कता जानुभयो ? कहाँ बस्नुभयो तपस्यामा ? जिउँदो हुनुहुन्छ कि मरिसक्नुभयो होला ? यी यावत् प्रश्नहरूको जवाफ हामीसँग पनि थिएन ।


                                  ———
अनि एक दिन ।
ओतगोन्बा बाजेको कान्छी छोरी सुम्निमासित पारुहाङको बिहे भयो । 
सुम्निमा दिदीको एकपटक बिहे भइसकेको थियो । उनको लोग्ने पनि पारुहाङ र इन्द्रको षड्यन्त्रमा परेर मारिनेमध्ये एक थिए । उनको नाम चेघान थियो । सुम्निमा र पारुहाङको बिहेलाई धेरैले स्वीकार गरेका थिएनन् । तर मुख खोलेर विरोध गर्न पनि सकेनौं । गुरुबाको निर्णय थियो । सुम्निमालाई पनि कसैले करमा पारेको थिएन । उनीहरू राजीखुुसी थिए भने हामीले मन दुखाउनुको पनि कुनै तुक थिएन ।
पारुहाङको प्रशंसा गर्ने हाम्रो समुदायका मानिसहरू उनको सुध्रिएको जीवनको उदाहरण दिने गर्दथे र मान्छेलाई एकपल्ट सुध्रने मौका दिनुपर्दछ भन्थे । मलाई भने यस्तो लाग्थ्यो, पारुहाङले आफूले गरेको अपराधका लागि टाउकै काटेर दिए पनि कम हुन्छ । मेरो मनले पारुहाङलाई कहिल्यै क्षमा दिन सकेन । जब उनलाई क्षमा दिनुपर्छ भनी सोच्थेँ मेरा आँखामा बाजेको रक्ताम्य छाती देखा पर्न आउँथ्यो । पीडाले छटपटाइरहेका मेरो बाजे, मेरो भाइ र समुदायका सारा मानिसहरूको अनुहार देखा पर्न आउँथ्यो, जो यिनै पारुहाङका कारणले मारिएका थिए । गल्ती त सबैले गर्छन् तर पारुहाङको एउटै गल्ती हजार गल्तीभन्दा ज्यादा थियो ।
ओतगोन्बा बाजेलाई सम्झँदा रिस उठ्थ्यो मलाई । सुम्निमाले गरेको निर्णय सम्झँदा मन दुखेझैं हुन्थ्यो । आफ्नै दाजुभाइ र लोग्नेको हत्यारालाई लोग्ने भनी स्वीकार गर्न उसको कुनचाहिँ मनले मान्यो होला ? 
सुम्निमासँग बिहे गरेपछि पारुहाङको जीवनमा केही सुधार आइरहेको थियो । उनकै अगुवाइमा थानडाँडामा फेरि देवीदेउताका थानहरू निर्माण गरिए । त्यहीँ एकछेउमा हाम्रो बाजे र बरम्हाजीको नाममा एकएक वटा थान बनाइए । इन्द्रका मानिसहरू क्रुद्ध बनेका थिए । उनीहरू इन्द्रले अह्राएझैं नै पारुहाङलाई शिव भन्दथे र सुम्निमालाई पनि उनीहरूले नयाँ नाम दिएका थिए— पार्वती ।
हामी त्यस जोडीलाई सुम्निमा–पारुहाङ भन्थ्यौं । इन्द्रका मूर्तिपूजक मानिसहरू तिनलाई शिव–पार्वती भन्दथे ।

No comments:

Post a Comment

Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...