@PRAVASEE SANDESH WEEKLY
- जेबी दर्लामी
म हिन्दी पढ्न र बुझ्न सक्छु । मलाई हिन्दीप्रति एकप्रकारको मोह बसाउनमा ‘निर्मला’को ठूलो हात छ । हिन्दी साहित्यका उपन्यासगुरु प्रेमचन्दले लेखेको एउटा सानो तर अत्यन्तै भावप्रवल र हिन्दी भाषाको महत्वपूर्ण उपन्यास हो– निर्मला । त्यो बेलामा पनि अत्यन्तै नराम्ररी जरा गाडिसकेको दाइजोप्रथा र त्यसको कुप्रभावमाथि प्रेमचन्दले यस उपन्यासमा यति सुक्ष्म तरिकाले प्रकाश दिएका छन् कि मलाई अझै पनि दोहो¥याएर पढ्न मन लाग्छ ।
पछिल्लो समयमा म फणिश्वरनाथ ‘रेणू’को आत्मकथा पढ्दैथिएँ जहाँ उनले ‘नेपाल मेरी सानी आमा’ भन्ने शीर्षकमा एउटा संस्मरण लेखेका छन् । राणाशासन विरुद्धको क्रान्ति, कोइराला परिवार र तिनको पृष्ठभूमिमाथि उनले लेखेका छन् । यो पुस्तकले पनि मलाई बेस्सरी स्पर्श गरेको थियो । त, संक्षिप्तमा मैले लेख्न खोजेको मलाई हिन्दी भाषा मन पर्छ । यो मेरो मात्र हैन, जो जति नेपालीले हिन्दी पढ्न रुचाउँछन्, सबैको मनको कुरा हो । र यो पनि सत्य हो कि हामी नेपाली अधिकांशले हिन्दी पढ्न या बुझ्न सक्दछौँ । यति हुँदाहुँदै पनि नेपालमा हिन्दी भाषाप्रति एकप्रकारको वितृष्णा र विरोध हुर्कँदै गइरहेको छ, किन ?
यसको अपजस राजनीति गर्नेहरूले नै लिनुपर्छ र विशेषगरि मधेशवादी दलहरूले । अहिले आएर त्यसइतरका दलहरूले पनि हिन्दी भाषालाई नेपालभित्र बोलिने अन्य भाषालाई जस्तै मान्यता दिइनुपर्छ भन्दै उफ्रिरहेछन् । त्यो उफ्राइमा नेपालका आदिवासीहरूलाई जनजाति भन्ने मोहनविक्रमदेखि लिएर आफूलाई जनजाति, मूलवासी र आफूइतरका जातिलाई विदेशी, भगुवा, कायर भन्दै कुर्लने गोपाल गुरुङ्गसम्म देखा पर्छन् । कुन स्वार्थले प्रेरित गर्दैछ यी राजनैतिक दलहरूलाई र त्यसका कथित नाईकेहरूलाई यसरी ख्यालै नगरि बोल्न ??
हिन्दी संसारमा धेरै बोलिने र बुझिने भाषाहरूमध्ये एक हो । भारत, नेपाल, फिजी, मारिसस, दुबई, पाकिस्तान आदि देशहरूका मान्छे हिन्दी बोल्न जान्दछन् । तर यसको आदिस्थल भारतमै पनि विभिन्न क्षेत्रीय भाषा बोल्नेहरू एकातिर र हिन्दी भाषा बोल्नेहरू अर्कोतिर राखेर तौलने हो भने हिन्दीभाषी भारतीयहरू एकदमै हलुका देखा पर्नेछन् ।
नेपालका परमानन्द झाले उपराष्ट्रपति बन्दा आफ्नै मातृभाषामा शपथ खाएको भए कति सुहाउँथ्यो होला । तर हिन्दीमा जो कुनै पनि नेपालीको मातृभाषा हैन, शपथ खाएर उनी अनावश्यक विवादमा मुछिए । नेपाललाई माया गर्नेहरूले यसको विरोध गर्नुपनि स्वभाविक नै हो । किनकि भारतीय विस्तारवादी नीतिले सिँगै नेपाल निल्ने अभियान सञ्चालन गरिरहेछ । त्यसमा एउटा बलियो माध्यम भाषा पनि बनेको छ । सामाजिक, आर्थिक, भौगोलिक र भाषिक रुपमा भारतले नेपालमाथि नग्न हस्तक्षेप गरिरहेछ, त्यो सबै नेपालीलाई अवगत नै छ । त्यसकारण, हिन्दी भाषालाई देशको प्रतिनिधिसंस्थामा त्यसरी प्रयोग गरेको देख्दा, सुन्दा देशभक्त नेपालीको रगत उम्लनु अत्यन्तै जायज छ ।
नेपाल, जहाँ आफ्नै मौलिक राष्ट्रभाषा छ, त्यहाँको उपराष्ट्रपतिले राष्ट्रभाषामा त कुरै छाडौँ, आफ्नो मातृभाषालाईसमेत एकातिर राखेर विदेशी भाषा हिन्दीमा शपथ खान लालायित बनिरहेको बेला र नेपाली जनताका ‘प्रतिनिधि’हरूले टेबुल ठोकेर त्यसलाई अनुमोदन गरिरहेका बेला भारतको महाराष्ट्र प्रदेशमा एकजना सांसद हिन्दीमा शपथ खाएको आरोपमा संसदभित्रै पिटिएका थिए । धन्य छन् नेपाली जनता, जसको सहिष्णु मनलाई पुज्नैपर्छ । नत्र त यी परमानन्द झा को थिए र ?
संसारको कुनै पनि भाषालाई अवहेलना गर्ने अधिकार हामीसँग छैन । कुनै पनि भाषा त्यस्सै जन्मिएका हुँदैनन् । मानवजातिको अथक प्रयास र परिश्रमका उपज हुन् भाषा र लिपिहरू । त्यसो भन्दैमा राष्ट्रिय स्वाभिमानलाई नै बिर्सिएर हामीले कसैकोे भाषा अँगाल्नु ठीक हैन । उदाहरणका लागि सिंगापुरमा ९५ प्रतिशत जनताले अँग्रेजीमा राम्रै दख्खल राख्छन् तर त्यहाँको राष्ट्रभाषाचाहिँ मले हो ।
हो, नेपाली भाषा पनि सबै नेपालीको मातृभाषा हैन । सुदूर विकट गाउँहरू धेरै छन् नेपालमा, जहाँका मगर, गुरुङ्ग, तामाङ, राई, लिम्बू, शेर्पाहरूले नेपाली भाषा नै बुझ्दैनन् । त्यसरी नै मधेशका धेरै–धेरै गाउँहरू छन् जहाँका अवधी, मैथिली, भोजपुरी, थारुभाषीहरूले नेपाली बुझ्दैनन् । एउटा अवधीभाषी जसले नेपाली बोल्न जान्दैन र ऊ आफ्नो मातृभाषामा बोल्यो भने मैले बुझ्न सक्दिनँ । उसले आफ्नो कुरा बुझाउन हिन्दी भाषाको सहायता लिन्छ भने यसलाई के भन्ने ? यो बाध्यता हो, रहर हैन ।
२६ जनवरी २०१०, मंगलबार
आफ्नो साप्ताहिक बिदाका दिन साइबरक्याफेमा पुगेँ । अहिले जस्तो इन्टरनेटको सर्वसुलभता थिएन उतिबेला । आफ्ना ब्यथाहरूलाई एकातिर पन्छाएर छातीभरि देशको पीर बोकेर हिँडेका मनोज पण्डितको वृत्तचित्र ‘द ग्रेटर नेपाल’ हेर्न पाएँ । त्यस वृत्तचित्रको एउटा दृष्य यस्तो छ–
भारतले जबर्जस्ती आफ्नो बनाइरहेको सुस्ताका ती मधेशी नेपालीहरूको एउटा समूह छ । एकजना अलि पाको उमेरका व्यक्ति अगाडि देखा पर्छन् र भन्छन् हिन्दीमा–
“बिहारका एसएसपी हम से बोलता है, सुस्ता को मैं मिटा के रहूँगा, लेकिन हम जानते हंै सुस्ता नेपालका है, और नेपाल का ही रहेगा ।”
त्यसैक्षण एकजना मधेशी युवा हात उठाउँदै जोस्सिछन् र भन्छन् उनले पनि हिन्दीमै–
“वो एसएसपी हम से बोलता है– ‘कह दो कि ‘सुस्ता भारत का है । बिहार का है ।’ बोल दो ‘हम भारत के हैं’ । तुम को बैंक से कर्जा मिलेगा । दो–चार बिगाह जमीन देंगें । लोन में टै«क्टर निकालोगे । अपने जमीन में जोतोगे, खाओगे ।’ लेकिन हम नेपाली हैं । हम लडेंगें नेपाल के लिए और मरेंगें मिटेंगें नेपाल के लिए ।.....”
ती युवाको उन्मुक्त गलाले यो भनिरहँदा मैले एकछिन उनको अुनहारको भावमा नजर राखेँ । कुनै स्वार्थ छैन उनको अनुहारमा । कुनै बेइमानी देखा पर्दैन आफूलाई नेपाली भन्नमा । कुनै लाजको रेखा छैन उनको आँखामा, आफू नेपाली बन्नमा ।
मेरो मानसपटलभरि एकैसाथ देखा परे– बिदेशी भाषालाई आफ्नो ठानेर अहम्ले पूर्ण भएर बसेका परमानन्द र उनीजस्तै केही मधेशी अगुवा भनाउँदाहरू, संसदमा हिन्दीभाषाको घोरविरोध गर्ने तर बीबीसीलाई हिन्दीमा अन्तर्वार्ता दिने ती दोगला नेताहरू, सत्तामा छँदा भारतको प्रशंसा गरेर नथाक्ने सत्ताबाट बाहिर आउनासाथ भारतको कुरा काटेर आफूलाई राष्ट्रभक्त भनी देखाउन चाहने घटिया राजनीतिज्ञहरू र यी सुस्तावासी नेपालीहरू, जसले नेपाली भाषा बोल्न पनि जान्दैनन् तर नेपालको लागि मर्ने शपथ खान्छन् ।
देशको प्रतिनिधिसंस्थामा हिन्दी बोल्ने परमानन्द झाभन्दा सुस्ताको धुलोमा उभिएर हिन्दी बोल्ने ती नेपालीहरू कति–कति धेरै प्रिय छन्, महान् छन् ।
परमानन्दको हिन्दीमा र यी सुस्तावासीहरूको हिन्दीमा केही फरक छैन । केही पनि फरक छैन । फरक छ त तिनका आशय, तिनका नियत र तिनका स्वार्थमा । एकथरि हिन्दी बोलेर नेपाललाई भारत बनाउन चाहन्छ, भारतलाई खुसी पार्न चाहन्छ । अर्कोचाहिँ हिन्दी नै बोलेर नेपालको, आफ्नो माटोको अस्मिता बचाउन चाहन्छ । भारतीय विस्तारवादी नीतिलाई खबर्दारी गर्न चाहन्छ । आफ्नो गौरवपूर्ण इतिहास कायम राखेर नेपाली भएर गर्वले बाँच्न चाहन्छ । नेपालको संसदमा बोलेको हिन्दी र सुस्तामा बोलिने हिन्दी भाषामा यही फरक देखेँ मैले ।
हो, यही फरकलाई हामीले छुट्याउने दिन जानै लाग्यो । हिन्दी होस् या कुनै पनि भाषालाई सम्मान गर्नु ठीक छ तर त्यसलाई देशको स्वाभिमान नै बन्धकी राख्ने काममा प्रयोग गर्नु अक्षम्य अपराध हो ।
०००