Tuesday, 13 February 2018

यात्री - अंश


धेरै दिनपछि बस्तीमा पारुहाङको पुनरागमन भयो । सतीदेवीको मृत्युपछि त उनी सर्वथा एक्ला बने । लाज, पश्चात्ताप र दुःखको आहालमा चुर्लुम्म डुबेका थिए उनी । आएर  सरासर आफ्ना आसेपासेहरूकहाँ गएनन्, हामीकहाँ नै आए । 

ओतगोन्बा बाजेकहाँ आए, जो उनले थाहा नपाउनेगरी हाम्रो माङ्गोल समुदायको गुरुबा बन्नुभएको थियो, राजा बन्नुभएको थियो । उहाँको चरणमा घोप्टिएर पारुहाङ ग्वाँग्वाँ स्वर खोलेर रोए । 
धेरै बेर आँसु बगाइसकेपछि उनले भने, 
‘गुरुबा, मेरा आफन्त भन्नु, मेरा सबैथोक भन्नु तपाईंहरू नै हो । म भ्रममा परेको रहेछु । मैले बाटो बिराएको रहेछु । कुहिएर जाने लासको मोहमा डुबेको रहेछु । तर अब मैले मृत्युलाई देखेँ । त्यसको क्रूरतालाई बुझेँ । जीवनको महत्व चिनेँ । मलाई समुदायबाट क्षमा दिलाइदिनुहोस् । म तपाईंहरूबाट अलग्गिएर बाँच्न सक्दिनँ । मलाई माफ गरिदिनुहोस् ।’
पारुहाङको विलाप सुनेर अनि उनको पश्चात्ताप देखेर गुरुबा पनि धुरुधुरु रोएका थिए । हाम्रो समुदायले हत्यारा पारुहाङलाई सहजै क्षमा दियो ।
पारुहाङ दिनदिनै पहाडतिर उक्लन्थे । कहिलेकाहीँ हप्ता दिनसम्म पनि फर्कंदैनथे ।
एकपटक हिँड्न लाग्दा मैले सोधेकी थिएँ, ‘कता जान लाग्नुभएको ?’
‘बरम्हाजीलाई भेट्न चाहन्छु । मैले गुरुबालाई त गुमाएँ तर बरम्हाजीलाई फर्काएर ल्याउन चाहन्छु । उहाँको खुट्टा चुमेर क्षमा माग्न चाहन्छु ।’  भनेका थिए ।
तर उनले बरम्हाजीलाई कहिल्यै भेटाउन सकेनन् । प्रत्येक दिन बरम्हाजीलाई सम्झन्थे पारुहाङ । विरहमा डमरु बजाएर मन बहलाउने कोसिस गर्थे । उनको मनमा सतीदेवीको मृत्युको आघातमात्रै थिएन । मुख खोलेर नभने पनि निर्दोष मानिसहरूको हत्या गरेको सम्झेर उनी घोर पश्चात्तापमा डुबेका थिए ।
बरम्हाजी कता जानुभयो ? कहाँ बस्नुभयो तपस्यामा ? जिउँदो हुनुहुन्छ कि मरिसक्नुभयो होला ? यी यावत् प्रश्नहरूको जवाफ हामीसँग पनि थिएन ।


                                  ———
अनि एक दिन ।
ओतगोन्बा बाजेको कान्छी छोरी सुम्निमासित पारुहाङको बिहे भयो । 
सुम्निमा दिदीको एकपटक बिहे भइसकेको थियो । उनको लोग्ने पनि पारुहाङ र इन्द्रको षड्यन्त्रमा परेर मारिनेमध्ये एक थिए । उनको नाम चेघान थियो । सुम्निमा र पारुहाङको बिहेलाई धेरैले स्वीकार गरेका थिएनन् । तर मुख खोलेर विरोध गर्न पनि सकेनौं । गुरुबाको निर्णय थियो । सुम्निमालाई पनि कसैले करमा पारेको थिएन । उनीहरू राजीखुुसी थिए भने हामीले मन दुखाउनुको पनि कुनै तुक थिएन ।
पारुहाङको प्रशंसा गर्ने हाम्रो समुदायका मानिसहरू उनको सुध्रिएको जीवनको उदाहरण दिने गर्दथे र मान्छेलाई एकपल्ट सुध्रने मौका दिनुपर्दछ भन्थे । मलाई भने यस्तो लाग्थ्यो, पारुहाङले आफूले गरेको अपराधका लागि टाउकै काटेर दिए पनि कम हुन्छ । मेरो मनले पारुहाङलाई कहिल्यै क्षमा दिन सकेन । जब उनलाई क्षमा दिनुपर्छ भनी सोच्थेँ मेरा आँखामा बाजेको रक्ताम्य छाती देखा पर्न आउँथ्यो । पीडाले छटपटाइरहेका मेरो बाजे, मेरो भाइ र समुदायका सारा मानिसहरूको अनुहार देखा पर्न आउँथ्यो, जो यिनै पारुहाङका कारणले मारिएका थिए । गल्ती त सबैले गर्छन् तर पारुहाङको एउटै गल्ती हजार गल्तीभन्दा ज्यादा थियो ।
ओतगोन्बा बाजेलाई सम्झँदा रिस उठ्थ्यो मलाई । सुम्निमाले गरेको निर्णय सम्झँदा मन दुखेझैं हुन्थ्यो । आफ्नै दाजुभाइ र लोग्नेको हत्यारालाई लोग्ने भनी स्वीकार गर्न उसको कुनचाहिँ मनले मान्यो होला ? 
सुम्निमासँग बिहे गरेपछि पारुहाङको जीवनमा केही सुधार आइरहेको थियो । उनकै अगुवाइमा थानडाँडामा फेरि देवीदेउताका थानहरू निर्माण गरिए । त्यहीँ एकछेउमा हाम्रो बाजे र बरम्हाजीको नाममा एकएक वटा थान बनाइए । इन्द्रका मानिसहरू क्रुद्ध बनेका थिए । उनीहरू इन्द्रले अह्राएझैं नै पारुहाङलाई शिव भन्दथे र सुम्निमालाई पनि उनीहरूले नयाँ नाम दिएका थिए— पार्वती ।
हामी त्यस जोडीलाई सुम्निमा–पारुहाङ भन्थ्यौं । इन्द्रका मूर्तिपूजक मानिसहरू तिनलाई शिव–पार्वती भन्दथे ।

Wednesday, 7 February 2018

‘यात्री’को रचनागर्भ


जेबी दर्लामी 

(गज्जब साप्ताहिकमा प्रकाशित)

नेपालमा गणतन्त्रको उदयसँगै हामीले मुखर बनेर बोल्ने अधिकार पायौं । तर आफ्नो हक र अधिकारका लागि बोल्दा हामीले आफ्नो कर्तव्यचाहिं भुल्यौं कि भन्ने लागिरहन्थ्यो । विशेषगरी विभिन्न जातिविशेषका राज्य र संरक्षित ईलाकाको बारेमा बहस भैरहँदा देशमा जातीय भावना अत्यन्तै तीतो बन्यो । शासकहरूले जातैपिच्छे राज्यको ललिपप बाँडिरहने र जनता एकापसमा वैरी बनेर गालीगलौज र मारकाटमा उत्रने विचित्रको समय थियो त्यो । त्यही समयमा मैले यो उपन्यास लेख्ने योजना बनाएको थिएँ ।
२०७० सालको मध्यतिर (जतिबेला म मलेसियामा थिएँ, एउटा मजदुरको रुपमा) यो उपन्यासको सुरुको हरफ लेखेको थिएँ । होस्टेलमा जनजाति र खसआर्य दुवै समुदायका कामदार थियौं । तर राज्यलाई गाली गर्ने समयमा जनजाति साथीहरूले क्षेत्रीबाहुनलाई पनि भद्दा गाली गर्नेगर्थे । यसैमा मेरो उनीहरूसित सदैव असहमति रह्यो । मेरो स्पष्ट दृष्टिकोण के थियो भने राज्यसञ्चालनका निकायहरूमा खसआर्य समुदायकै मानिसहरूको सँख्या बढी रहेको हुँदा निश्चय नै देशको अवस्था बिग्रनुमा उनीहरूको हात छ तर कुनै सिंगो जाति या समुदाय यसको दोषी छैन । यही कुरालाई मेरा समुदायका साथीहरूले गलत तरिकाले बुझे । र मलाईसमेत गर्नुसम्म गाली गरेका थिए । 
म देख्थें, एउटै होस्टेलमा बस्ने, एउटै काम गर्ने साथीहरू नेपालका प्रायः सबै समुदायका प्रतिनिधि थियौं । जुन दुःख मगरको छोरोले पाइरहेको छ, त्यही दुःख बाहुनको छोरोले पनि पाइरहेको थियो । जुन पीडा एउटा राई युवकले भोग्नुपरेको छ, त्यही पीडा अर्को क्षेत्री युवकले पनि भोगिरहेको थियो । अर्थात् परदेशले हाम्रो नाकनक्शा या अनुहार हेरेर व्यवहार गरेन । उसको नजरमा हामी सबै नेपाली थियौं । आफ्नो देशमा बेरोजगार भएर काम खोज्न हिंडेका मजदुर मात्र थियौं हामी ।

हो, यस्तै समयमा मैले यो उपन्यास लेख्न सुरु गरें । परदेशमा । यसको पहिलो खेस्रा सत्तरी सालभित्रै लेखेको थिएँ, कागजमा । ड्यूटीपोष्टमै । पछि नाइट ड्यूटी परेको समयमा ल्यापटपमा लेखें । लेख्ने क्रममा असजिलो अवस्थामा नै कलमको बेग बढी हुँदोरहेछ भन्ने पनि थाहा पाएँ । म्यानेजर र सीसीटीभी क्यामेराको आँखा छल्दै लेख्ने काम गाह्रो थियो तर मनले आँटेपछि असम्भव भन्ने पनि केही रहेनछ भन्ने थाहा पाएँ ।
हामी सबै यात्री मात्रै हौं भन्ने मुख्य थीममा म लेख्न गैरहेको थिएँ । कुनै जाति या समुदायप्रति लचिलो या कठोर नबनुँ भन्नेमा म लेखनअवधिभरि नै सचेत थिएँ । देशमा जातीय समस्या त अझैपनि छ । तर त्यो समस्या कुनै प्रदेशलाई कुनै जातिको नाममा नामाकरण गर्दैमा समाधान हुन्छ भन्नेमा हिजोजस्तै मलाई आजपनि विश्वास छैन । र यो उपन्यासले देशको जातीय समस्या समाधान गर्ने दाबी पनि गर्दैन । यत्ति हो, खराबी राज्यशक्तिमा हुन्छ र त्यसको विरोधमा सबै जाति समुदायका मानिसले एक भएर बोल्नुपर्छ भन्ने सन्देश कसैले पाएछ भने मात्रैपनि म आफ्नो उपन्यास लेखनको पहिलो पाईला सफल भएको ठान्नेछु ।

उपन्यास तीन अध्यायमा विस्तारित छ । पहिलो अध्यायको भावभूमि नेपाल, तिब्बत र मंगोलिया छ । दोस्रो अध्याय स्वेरकाल्पनिक हो, कतिपय सत्यलाई छाडेर । तेस्रो अध्यायमा पनि मंगोलिया र नेपालको भावभूमि समेटिएको छ ।
मिथकहरू छोइएको स्वेरकाल्पनिक कथा आफूलाई पनि पढ्न असाध्यै रुची लाग्ने हुँदा जानीनजानी यो उपन्यासको दोस्रो अध्यायमा त्यो प्रयोग गर्ने कोशिस गरेको छु । त्यसो गर्दा पात्रहरू कुनै समयसीमाभित्र बाँधिएका छैनन् । कति पाठकले रुचाएको प्रतिक्रिया दिएका छन् भने केही पाठकले विभिन्न धर्मशास्त्रहरूमा वर्णित देवीदेउताहरूको नाम हुबहु नराखेको भए हुन्थ्यो भनेका छन् । उपन्यास लेखिरहँदा म कुनै जातिसमुदाय, धर्म या विश्वासप्रति पूर्वाग्रही थिइनँ । तर सबै जातिमा असल मानिस पनि छन् र खराब पनि छन् भन्ने देखाउनकै लागि मैले यो कथा बुनेको थिएँ । कत्तिको सफल भएँ या भइनँ, मभन्दा जान्नेबुझ्ने त पाठक नै छन् ।

पात्रहरूलाई सकेसम्म यथार्थ बनाउने कोशिस गरेको छु । पात्रहरूका बारेमा छुट्टै सन्दर्भमा लेख्न सकिएला । उपन्यास लेख्ने क्रममा पात्रहरूसित म अत्यन्तै नजिक बनेको थिएँ । विशेषगरी कर्मा र नेर्जुईसित । तिब्बती युवक कर्मा जसको चरित्र मैले तिब्बती शरणार्थीहरूबाट टिपेको थिएँ । र मंगोलियन युवती नेर्जुई जसलाई मैले उपन्यासलाई कोमल बनाउने उद्देश्यले समातेको थिएँ । तर पछि ऊ वास्तवमै मैले सशरीर भेटेको थिएँ कि भन्ने हदसम्म मभित्र प्रवेश गरी । भूगोलको अध्ययनमा इन्टरनेटको सहयोग लिएको छु । ठाउँहरू, सन्दर्भ र घटनाहरू, सँस्कार र भाषा यथार्थ हुन् । तर कथामा काल्पनिकी नै धेरै छ ।

यो उपन्यास करिब चारपटक पुनर्लेखन भएको छ । एकपटक चोरले झोला नै खोसेर लग्यो । हार्ड डिस्कमा सेभ गर्न नभ्याइएका पेनड्राइभका सामग्री चोरिँदा केही दिन म विक्षिप्त नै बनेको थिएँ । त्यो सामग्रीमा यो उपन्यास पनि थियो । पछि केही महिना लगाएर पुनः टङ्कण गरें ।
यो उपन्यासको पहिलो खेस्रा एक लाख शब्दको थियो । त्यसलाई साथी फणीन्द्र संगमले काटछाँट गरिदिएर चिटिक्कको बनाइदिए । प्रकाशकलाई बुझाउनुअघि धेरै साथीहरूलाई पाण्डुलिपि पढ्न दिएको थिएँ । धेरैले धेरैप्रकारका सुझाव दिएर गुन लगाएका छन् । तर यसको प्रकाशनक्रममा धेरै असल साथीहरू टाढिएका पनि छन् । यसको कथा पनि बेग्लै छ । यहाँ उल्लेख गर्न असान्दर्भिक ठान्दछु । विशेषगरी नयाँ लेखकलाई उठ्न नदिन विभिन्न अवतारका पुस्तक माफियाहरूबाट परिचित बन्ने मौका पनि यो उपन्यासले मलाई दिएको छ । यसको बारेमा कतै न कतै पक्कै लेख्नेछु ।

लेखनको अनुभवले यो मेरो दोस्रो उपन्यास हो । पहिलो उपन्यास मलेसियाली नेपालीहरूको कथामा छ । त्यो लेख्न थालेको धेरै भयो । अझैपनि सम्पादन गरिरहेको छु । तर प्रकाशनको हिसाबमा यात्री मेरो पहिलो उपन्यास हो । र उपन्यास प्रकाशनको पहिलो अनुभव मेरो जीवनमा निश्चय नै अविस्मरणीय रहनेछ । 

यात्री बजारमा छ । नयाँ लेखक हुनुको कारण उपन्यासले धेरैको ध्यान तान्न सकिरहेको छैन होला । जतिले पढेका छन्, उनीहरूले अत्यन्तै उत्साहप्रद प्रतिक्रिया दिएका छन् । बजारशास्त्र या बजारको मनोविज्ञान थाहा छैन तर मलाई गम्भीर पाठकप्रति सदैव भरोसा छ । 
अर्घाखाँची
२०७४ माघ १



Monday, 29 January 2018

यात्री उपन्यासबाट

‘दुःख छ तर हरेश नखानू । कहिल्यै विचलित नहुनू । उदास नहुनू, हिम्मत नहार्नू । तिम्ले ल्याएर आएको पुस्तक म उलानबटोर लिएर जाँदैछु । मेरा गुरुहरूलाई देखाउँछु । केही रहस्य त अवश्य पत्ता लाग्नेछ,’  धेरै बेरको मौनतापछि नेर्जुईले भनी । 
म केही नबोली घोडामाथि बसिरहेँ । रुञ्चे स्वरमा नेर्जुई नै बोलीरही,
‘पाँच महिनापछि म आइहाल्छु । ढिलो गरेँ भने पनि अप्रिलको अन्तिम हप्तासम्म जसरी भएपनि आइपुग्छु । जुलाईमा त हाम्रो राष्ट्रिय पर्व हो । नादाम । कति रमाइलो हुन्छ,’ मनमा बिछोडिनुको पीडा दबाएर ऊ हाँस्ने कोसिसमा थिई । 
‘तिमी साथमा भए मलाई कुनै चाडपर्व चाहिन्न नेर्जुई ।’
मेरो कुरा सुनेर उसको अनुहार अँध्यारो भयो । हत्तपत्त हत्केलासम्मै झरेको ओभरकोटको बाहुलाले आँसु पुछी । 
‘मैले खुब याद गर्नेछु तिमीलाई,’ उसले रुँदै भनेकी यी वाक्यहरुले मेरो मुटु स्पर्श गरे । तीन घन्टाको घोडसवारीपछि हामी एउटा सानो डाँडोमा पुग्यौं । हामी त्यही डाँडामा घोडाबाट ओर्लियौँ । केही पर होचा र स–साना घरहरू भएको एउटा बजार देखाप¥यो ।
‘यही हो झाङ्नु बजार । हाम्रो क्षेत्रको सरकारी अड्डाहरू सबै यहीँ छन् । यहाँबाट सिधै उलानबटोरका लागि सवारीसाधनहरू पाइन्छन् । उलानबटोर पुग्न बसमा झन्डै नौ घन्टा लाग्छ,’ उसले मेरो हात समात्दै भनी, ‘नादाममा हामी सँगै आउनेछौं यो बजारमा । खुब रमाइलो हुनेछ ।’
उसलाई छोड्न मन थिएन । तर नछोडी सुख थिएन । जाँदै थिई ऊ मेरा लागि अपरिचित, विरानो सहरमा । 
‘अब तिमी फर्क यात्री ।’
‘किन फर्कने म ? तिमीलाई गाडी चढाएर मात्रै फर्कन्छु,’ मैले आत्तिँदै भनेँ । 
‘मोटरहरू देखेर यी घोडा तर्सेर भाग्लान् । एउटा भए त तिम्लाई सजिलै हुन्थ्यो । दुई वटालाई कसरी सम्हाल्न सक्छौ ? मेरो चिन्ता नगर, आफ्नो ख्याल राख । भोकै नबस । म फर्कंदाखेरि तिम्ले मलाई यहीँ लिन आउनुपर्छ है ?’
धेरै बेरसम्म हामी अलग हुन सकेनौं । एक–अर्काको अँगालोमा बाँधियौँ । मनले छुट्टिन मान्दै मानेको थिएन । कुन आसक्ति थियो कुन्नि त्यो ? यति चाँडै हाम्रो मन यस्तरी जोडिएको रहेछ । एक–अर्काको मुटुको धड्कन सुन्न सक्ने भएका रहेछौं हामी ।
मेरो अँगालोबाट भारी मनले मुक्त भएर उसले छिटोछिटो पाइला सारी । हिँक्कहिँक्क गर्दै रोइरहेकी थिई ऊ । पछाडि फर्केर हेर्नै सकिन । उसका खुट्टा लरबराइरहेका थिए । सायद, हिँडाइको सन्तुलन गुमाइसकेकी थिई । पर पुगेर हरियो चौरमा ऊ घुँडा टेकेर बसी । आफूभन्दा अग्लो झोलाले उसलाई थिच्यो ।
म दौडँदै उसको नजिक गएँ । भित्रैदेखि हिक्का छाडिरहेकी थिई ऊ । अगाडि गएर उसलाई हात दिएँ । मेरो हातमा झुन्डिँदै उठी ऊ र छातीमा टाँस्सिएर गला खोलेरै रुन थाली ।

मैले चुपचाप उसको कपाल मुसारिरहेँ । भन्नुपर्ने कुरा त कति थिए कति मनमा । तर यो बेला कुनै अर्थ थिएन ती कुराको । मैले उसलाई रुन दिएँ ।
केही बेरपछि ऊ आफंै सम्हालिई । रुन्चे बोलीमा निरन्तर ‘म तिमीलाई माया गर्छु’ भनिरहेकी थिई । हिजोसम्म मेरो निम्ति मायाप्रेम भन्ने शब्द नै झुटो थियो । बकवास थियो । बेकामको थियो र भ्रम थियो । आज मैले पनि बुझ्दै थिएँ, मायाको अर्थ । प्रेमको गहिराई म पनि अनुभूत गरिरहेको थिएँ ।

नेर्जुई त्यहाँबाट पनि अगाडि बढी । पटक–पटक फर्केर हेरी । हात हल्लाई उसरी नै पटक–पटक । ऊ मेरो पोल्टामा परेको मैले थाम्न नसक्ने खुसी थिई । मैले नमागेरै पाएको सौभाग्य थिई । संसारलाई नयाँ तरिकाले हेर्न सिकाएकी थिई उसले मलाई । जीवनको अर्थ सम्झाइदिएकी थिई । मेरो रुखो र निस्सार जीवनमा उसले बहार बोकेर आएकी थिई । बदलामा मैले उसलाई आँसु दिएर बिदा गरिरहेको थिएँ । 
हेर्दाहेर्दै उसको आकृति सानो हुँदै गयो । मैले एकटकले हेरिरहेँ त्यो बिन्दुलाई । अन्ततः बिन्दु पनि शून्यमा बिलाइगयो । 

यात्री उपन्यासबाट ।

Friday, 15 December 2017

युद्धको घाउ बोकेर बाँचेका मानिस


जेबी दर्लामी । 

२०६१ सालको मङ्सिरको कुनै पाहारिलो दिन थियो त्यो । मगर समुदायको बाक्लो वस्ती रहेको सिलिङखोलाका युवाहरू एउटा चौरमा बसेर तिहारको भैलो खाइरहेका थिए । यो उनीहरूको वर्षेनीको परम्परा थियो । तिनै युवाहरूमा एक थिए समानसिंह पुनमगर ।
अचानक त्यहाँ कम्ब्याट पोशाक लगाएका मानिसहरूको एक हूल देखा प¥यो । ती थिए यूनिफाईड कमाण्डका सिपाहीहरू । सिपाहीहरूले भैलो खेलिरहेका युवाहरूलाई घेरा हाले । अरुलाई छाडियो तर समानसिंहलाई छाडिएन । उनको गठिलो ज्यान देखेर उनीहरूले माओवादी हो भन्ने ठोकुवा गरे । जन्मँदै उनको जिब्रोको रङ कालो थियो । सिपाहीहरूले जिब्रो देखाउन भने । कालो जिब्रो देखेर उनीहरूले अट्टहास गर्दै बन्दुकको बलमा पुष्टि गरे, ‘यो मान्छे माओवादी नै हो ।’ 
त्यसपछि सुरु भयो एउटा निर्दोष युवकमाथि उनीहरूको कायरतापूर्ण अत्याचार । 





                                                           (समानसिंह पुनमगर)

सिपाहीहरूले उनका हात पछाडि लगेर बाँधे । आँखामा पट्टि लगाइदिए । राम्ररी बस्न पनि दिएनन् । त्यो कालो दिन सम्झँदै पुन भन्छन्–
‘दिनभर टुक्रुक्क बस्नुप¥यो । त्यसमाथि पालैपालो बूटले हिर्काउँथे । एकपटक त कोखामा बेस्सरी हान्यो । आँखाभरि पहेँलपुर देखियो । म त बेहोश नै भएछु ।’ 

बिहानदेखि साँझसम्म उनलाई चरम यातना दिइयो । खानेकुरा त परै जाओस् पिउने पानीसम्म दिइएन । उनी आफ्नै आँगनमा त्यसरी आततायीहरूको शिकार बन्नुप¥यो । 
त्यही यातनाकै कारण उनको मानसिक अवस्था दिनदिनै कमजोर बन्दै गयो । कमाउने समयमा उनको शारीरिक र मानसिक क्षयका कारण घरको अवस्था झनपछि झन जर्जर बन्दै गयो । 
उनकी आमा भन्नुहुन्छ–
‘जाँडरक्सीको अम्मली भएको छ ।’ 
निर्दोष हुँदाहुँदै खप्नुपरेको असह्य यातनाका कारण समानसिंह पुनमगरलाई डिप्रेसनले सताएको छ । जाँडरक्सीको अम्मल त त्यही तनावको परिणाम मात्रै हो । 


माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति मन्त्रालय बन्यो । शान्ति समितिहरू बने र स्थानीय स्तरमै काम गर्न थाले । सत्य निरुपण र मेलमिलाप आयोग पनि बन्यो । समिति र आयोगमा नमिलेका मुद्दाहरू हेर्ने अदालत पनि छँदैछ तर समानसिंह पुनमगरमाथि परेको अन्याय कसैको नजरमा परेन । यतिसम्म कि जिल्लामा स्थापना भएको स्थानीय शान्ति समितिले प्रकाशन गरेको पुस्तिकामा राज्य र विद्रोही पक्षबाट अन्यायमा परेका मानिसहरूको नामावलीमा उनको नाम छैन । सामान्य अपमानका घटनाहरूलाई समेत लिपिबद्ध गरिएको ऐतिहासिक पुस्तिकामा थिल्थिलो बन्नेगरी कुटाई खाएका समानसिंहजस्ताको नाम छुटेको छ । राज्य त उनको पहुँचभन्दा धेरै टाढा नै छ तर जसको नाममा उनले त्यसरी यातना भोग्नुप¥यो उसको नजरमा पनि उनी परेनन् । हुन त हजारौँ ज्यूँदा सहिद र युद्धमा अपाङ्ग बनेका जनतालाई बिर्सिइएको देशमा उनको पीडा कसैको चासोमा परेन होला ।

तनाव पनि कहिल्यै घटेन उनको जीवनमा । एकपछि अर्को हुँदै दुःखका श्रृङखला उनको परिवारमा दोहोरियो । घर जल्यो । एउटी १३ वर्षकी छोरी उनकै काखमा बितिन् । उनी भन्छन्–
‘छोरीको सम्झना आउँदा मनमा अझैपनि गाँठो पर्छ । अन्तिम क्षणसम्म पनि ‘बाबा मलाई बचाउनुस्’ भन्दैथी । मेरै काखमा तड्पँदै मरी । गाउँमा अस्पताल भएको भए सायद ऊ बाँच्थी ।’

यसपटक उनको घरमै गएर मैले उनलाई भेटेको थिएँ । दिउँसोको समयमा भुईँमा लम्पसार सुतिरहेका थिए । शारीरिक र मानसिक रुपमा कमजोर देखिन्थे । उनको अनुहारभरि मैले राज्यको उपेक्षा सहेर बाँचिरहेका करोडौँ सीमान्तकृत जनताको अनुहार देखें । 
अब त सिद्धारा पनि शितगंगा नगरपालिका बनेको छ । यसपाली जिल्लाका सबै नगरपालिका र गाउँपालिकामाभन्दा यस नगरपालिकामा तुलनात्मक रुपमा धेरै बजेट बिनियोजन गरिएको छ । अब राज्यको नजरमा समानसिंह  पुनमगरहरू पनि परुन् र देश निर्माणको महान अभियानमा उनीहरूको समान सहभागिता रहोस् । 

published @Tarangga

Tuesday, 29 August 2017

महिलालाई लगाइयो पाखा


जेबी दर्लामी

चेतनाको हिसाबले अर्घाखाँची जिल्लालाई अग्रणी जिल्लाकै रुपमा हेर्ने गरिन्छ । अझ राजनीतिक चेतना यहाँ महिला पुरुषमा बराबरी नै देखिन्छ । तर यहाँको पुरुषवादी सामन्ती समाजले महिलालाई अधिकार दिने मामिलामा सधैं नै केही न केही षडयन्त्र गर्ने गरेको छ । त्यो षडयन्त्रको सिलसिला भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि राम्ररी देखिएको छ ।

स्थानीय तहको निर्वाचनको घोषणालगत्तै यस जिल्लामा पनि राजनीतिक दलहरूले धमाधम उम्मेदवारका नाम बाहिर ल्याए । नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख या उपाध्यक्षमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने नियमलाई केही समय सबै दलहरूले आत्मसात गरेजस्तो पनि गरे । तर जब तालमेलको समय आयो, सबैले महिलालाई बिर्सिए । 
 photo adopt : google

जिल्लाको दक्षिणी भूगोलमा अवस्थित शितगंगा नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसले मीना पौडेल र माओवादी केन्द्रले सीता अधिकारीको नाम अगाडि सा¥यो । असारको तीन गते अर्थात् उम्मेदवारी दर्ता गरिने अघिल्लो दिनसम्म पनि नगरपालिकाको उपप्रमुखमा यी दुई महिलाको नाम प्रचार भइरहेको थियो । तर जब तीन गते यी दुई पार्टीबीच चुनावी तालमेलको छिनोफानो भयो तब यी दुई नामहरू कतै इतिहासमा सिमित भइदिए । आखिर तालमेल अपेक्षाकृत सफल पनि भयो र नगरपालिकाका मेयर र उपमेयर दुवै पदमा पुरुषहरूले कब्जा गरे ।

त्यही अवस्था भुमेकास्थान नगरपालिकामा पनि भयो । यस नगरपालिकाका उपप्रमुखहरूमा माओवादी केन्द्रले छमकुमारी थापालाई रोजेको थियो भने काँग्रेसले श्रृजना थापालाई । छमकुमारी थापा जनयुद्धकालदेखि नै पार्टीमा आबद्ध थिइन् र सम्भावना बोकेकी नेतृ थिइन् । तर यहाँ पनि जब काँग्रेस माओवादीबीच तालमेल भयो, निर्वाचनको मुखैमा आएर यी दुईलाई पनि पाखा लगाइयो । फलस्वरुप नगरपालिकाका प्रमुख र उपप्रमुखका दुवै कुर्सीमा पुरुषहरू बस्न पुगे । 
त्यसैगरि नै चुनावी तालमेलको नाममा मालारानी गाउँपालिकाबाट नेपाली काँग्रेसले उपाध्यक्षका उम्मेदवार शान्ता खनाललाई हटायो । तर यहाँ चुनावी तालमेल असफल भयो र परिणाम नेकपा एमालेको पोल्टामा आयो ।

यो चुनावमा महिलालाई यतिसम्म प्रयोग गरिएको छ कि उदाहरणका लागि जिल्लाको आजसम्म केन्द्र रहँदै आएको सन्धिखर्क नगरपालिकामा नेपाली काँग्रेसले लामो समयसम्म उपप्रमुखको नाम सार्वजनिक गरेको थिएन । काँग्रेसको यो रणनीतिलाई कतिपयले तालमेलको विकल्प बचाएको भनेर विश्लेषण गरिरहेका थिए । माओवादी केन्द्रले भने कमला भुसाल भण्डारीको नाम अगाडि सारेको थियो । तर उम्मेदवारी दर्ताको हप्तादिन अघि मात्रै अचानक नेपाली काँग्रेस अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाको उपमेयरमा कमला आचार्यको नाम ल्याएर आयो । तर त्यो सब काँग्रेसको चाल थियो । असार तीन गते उसले माओवादी केन्द्रसित तालमेल ग¥यो र आचार्यलाई पाखा लगाउँदै आफूले मेयर पदमा वार्गेनिङ ग¥यो । माओवादी केन्द्रले पनि कमला भुसाल भण्डारीलाई मिल्क्याउँदै उपमेयरमा पुरुष उम्मेदवारलाई सुरक्षित ग¥यो । यसरी सन्धिखर्कमा पनि दुई महिलालाई बलि चढाइयो र पुरुषहरूले आफूलाई नगरपालिकाका दुई महत्वपूर्ण स्थानमा स्थापित गराए । 

लामो समयसम्म हिन्दू वर्णव्यवस्थाको चपेटामा परेर पशुको जीवन बाँच्न विवश यस जिल्लाका महिलाहरूले आफू पनि मानव भएको प्रमाण दिन पटकपटक प्रतिरोधमा उत्रनु परेको थियो । माओवादीले सञ्चालन गरेको दसवर्षे युद्धमा जिल्लाका सयौँ महिलाहरूले घरबाट बाहिर निस्केर राज्यसत्तालाई चुनौती दिएका थिए । तीमध्ये कयौँ मारिए पनि । अर्घाखाँचीका महिलाहरू पनि कुनै पुरुषभन्दा कम छैनन् भन्ने गतिलो उदाहरण उनीहरूले दोस्रो जनआन्दोलनमा पनि देखाएका थिए । हजारौंहजार मानिसहरू सडकमा निस्केको त्यो समयमा महिलाहरू पनि पुरुष बराबरकै सँख्यामा थिए । तर स्थानीय सरकारलाई चुस्त दुरुस्त बनाउन भनेर गरिएको स्थानीय निर्वाचनमा आएर जिल्लाका महिलाहरूलाई फेरि एकपटक असक्षम, नालायक र पुरुषको छत्रछायामा आश्रित देखाउने कुचेष्टा गरिएको छ । 

Monday, 28 August 2017

तीजको फेरिँदो स्वरूप

जेबी दर्लामी  



नेपालमा तीजको मौलिकता त्यहीबेला समाप्त भएको थियो जुनबेलादेखि लोक गायक कहलिएका प्रजापति पराजुली, खुमन अधिकारी र पशुपति शर्माहरूले तीजका नाममा रत्यौली गाउन सुरु गरे । साठीको दशकपछि तीजको यो दूर्दशा बढेको हो । यसो हुनुमा समयको माग थियो कि संगीतकर्ममा लागेकाहरूको स्वार्थ ? या विवशता ? के थियो ? यस विषयले निश्चय नै खोजअनुसन्धानको गहन मार्गको अपेक्षा राखेको छ । 

तीजको चलन आर्य समाजको उपज हो भनिन्छ । मनुले बसालेको वर्णव्यवस्थाको जगलाई भत्काउनका लागि तात्कालिक समयमा संघर्षशील नारीहरूको सांगठानिक विद्रोह नै थियो होला तीज । या त कुनै शासकले दयावश वर्षको एक दिन महिलाको नाममा छुट्याइदिएको चाड थियो होला तीज । श्रृषि मनुले पुरुष अहमताका साथ हुँकार गरेका थिए, ‘ढोल, शुद्र, पशु, नारी ये सब ताडन के अधिकारी ।’ अर्थात् नारी भनेका पिटिन, प्रताडिन हुन र सताइनलायक प्राणी हुन् । उतिबेलाको समाजमा नारी र कथित शुद्र जातिको मूल्य पशुबराबर थियो । मनुलाई आदर्श मानेर फैलँदै आएको हिन्दु वर्णवादी समाजले अहिलेसम्म पनि यही श्लोकलाई पछ्याएको छ । संविधानमा जेजस्तो खालको व्यवस्था बनाइएपनि हाम्रो समाजको स्थायी चारित्रिक गुण त अझैपनि उस्तै छ । आजपनि समाजमा मान्छेमान्छेबीचमा  छुवाछुत छ । आजपनि देशमा महिला र पुरुषबीचमा भेदभाव छ । 
पुरानो समयमा यो छुवाछुत र भेदभावको परिमाण कुन मात्रामा थियो होला ? कल्पना गर्दा पनि मन थर्थराउँछ ।

त्यही अन्धकार समयमा आफ्नो मनको गुम्फन, पीडा र बहलाई नारी समुदायकै बीचमा प्रस्तुत गर्ने माध्यम बनेको थियो तीज । तीजसित नाचगानको सम्बन्धबारे दुईटा कारण हुन सक्छन् ।
एक, गेयात्मक शब्दलाई भाका हालेर सुनाउँदा त्यसले श्रोताको मनलाई राम्रो स्पर्श गर्न सक्थ्यो । त्यसले वातावरणमा एकप्रकारको भावनात्मक तरंग ल्याउँथ्यो । दिदीबहिनी समुदायमा एकअर्काप्रति प्रेम र माया बढाउन मद्दत गथ्र्याे । अझ गीतमार्फत् कहिएका कथाव्यथा अति नै मर्मस्पर्शी छ भने उनीहरूको मनमा विद्रोहको भावना पनि जाग्थ्यो । र पुरुष सत्ताले थोपरेको अन्याय अत्याचारउपर एकजुट भएर धावा बोल्ने संकल्प पनि मनमा पल्हाउँथ्यो । एक दुईपुस्ताअघिसम्मका तीजका गीतहरूमा लोग्ने र सासुबाट प्रताडित हुनुपरेका कथाहरू नै हुन्थे । उनीहरूमाथि कठोर शब्द प्रहार गर्न नसकेपनि अनेक आलँकारिक र व्यँग्यात्मक शब्दहरूमार्फत् उनीहरूसित बदला लिने काम हुन्थ्यो । 
दोस्रो कारण यो पनि हुन सक्थ्यो, राम्ररी हाँस्नसमेत नपाइने सामाजिक र धार्मिक बन्धनभित्र बसिरहनुपर्दा आफ्नो मनभित्र दमित इच्छालाई नाचेर उफ्रेर सार्वजनिक रुपमा प्रदर्शन गर्ने यो पर्व एक राम्रो माध्यम बन्न सकेको थियो । अहिले त्यो सब हराइसकेको छ ।

हाम्रा बज्यैहरूको समयमा गाइने तीजका केही गीत यस्ता थिए–
‘उँधोबाट पण्डित आए कति छन् नि जजमान
मलाई पनि पुत्र वरदान देऊ न भगवान
......’

‘कहाँमा जान्छौ रानी चरी बगाल
बरी लै भगवानलाई भेटन
......’

त्यसपछिको समयमा धार्मिक शब्दावलीहरू घट्दै गए र त्यसका ठाउँमा सामाजिक मूल्य र महत्वका गीतहरू गाइए । जस्तो–
‘सुन्नुहोला दिदीबैनी यति मन नरुनी
जति मन रोएपनि भन्न नहुनी
कल्ले बुझ्छ कल्ले सुन्छ यो छोरीको मरिम (मर्म)
काँ’ छ कुटो कोदालो भन्ने करिम (कर्म)
......... ’

‘शीरमा लाउने शीरफूल छैन मेरो राजै
प्याउली फूल टिपेर लाउँछु टपक्कै
हातमा लाउने सुनबाला छैन मेरो राजै
रेशमी चुरी लाउँछु टमक्कै
जीवनदेखि गुनासो छैन मेरो राजै
त्रिशुली बगेझैँ बग्छु सलल
औँसीजस्तै यो मन छैन मेरो राजै
प्रीतिको बत्ती बाल्छु झलल
........ ’


त्यसपछि केही हँस्यौलीठट्यौलीका शब्दहरू तीज गीतमा भित्रिए, सुनिए ।
‘आइथी नि साली लाइथी नि कुरा
है मेरो लालुमाई नभन्दिनू है
...... ’
जस्ता ।

त्यसपछि दोहोरी गीत बन्न थाले तीजको भाकामा, तीजका नाममा । तिनले तीजका गीतलाई अचानक विकृत बनाउन थाले । अचेलका गीतहरू त सुनिसाध्य नै छैनन् । आधुनिकताका नाउँमा नेपाली समाज र सँस्कृतिलाई नसुहाउने शब्द र भाका रचना हुन थाले र संचारक्षेत्रमा पनि तिनैको दबदबा बढ्यो । अब त यस्तो लाग्छ यो विकृत बाटोबाट तीजलाई फर्काउन कहिल्यै सकिने छैन । अब तीज नितान्त वासनामय मनोरञ्जनमा फेरिएको छ । 
अचेलका यी गीतहरूमा सामाजिक भाव कहाँ छ ?

‘साडी लाउँदा हेर्छन् केटा आँखा तानीतानी
फेसबुकमा अपलोड गर्छन् सेल्फी हानीहानी
कुर्ता नि सुहाउँछ मलाई
साडीमा झन् सेक्सी देखियो
....... ’

‘ट्वीटर, भाईबर बिर्सिएँ फेसबुक नि चलाउन
छोटा लुगा लगाइ दुनिया जलाउन
पोहोरको तीजमा गाइयो र नचाइयो
अरू सबै त्याग्छु म एउटा वर माग्छु म
ए शिव यो तीजमा पोई चाहियो
.... ’
(दोहोरी शैलीमा बनेको यो गीतको केटा स्वरमा जोई चाहियो भन्ने छ ।)

मानिसले निर्माण गरेको परम्परा सायद कुनैपनि सिद्ध हुँदैन होला । र त समयक्रममा धेरै परम्पराहरू नष्ट भएर गएका छन् । त्यसरी परम्परा नष्ट हुनुमा प्रत्यक्ष मानिसको हात हुन्छ या त समयको माग हुन्छ । नेपालमा विशेषगरी खसआर्य नेपाली समुदायमा प्रचलित एउटा परम्परा तीज पनि यही नियतिको शिकार बन्ने क्रममा छ । आज तीजको स्वरुप पूरै फेरिएको छ । समयमुताबिक हरेक कुरामा परिवर्तन आवश्यक त छ नै तर साँस्कृतिक परिवर्तन कम्तीमा आफ्नो मौलिक स्वरुपलाई नभत्काइकन हुनुपर्ने हो । तीजको मामिलामा त्यसो हुन सकेन । 

व्यँग्य या कुनै नरम शब्दको बलमा लोग्ने या सासुको विरोध गर्ने त्यो समयमा तीजको दिन पुरुषहरू मादल बजाउने र पिङ तान्ने काममा मात्रै उपयोग हुन्थे । अहिले त दोहोरी गीत नै तीजका भाकामा गाउन थालियो । त्यतिमात्रै कहाँ र ? गीतका शब्दहरू त झनै मुखमा ल्याउन पनि नसकिने भए ।

हुन त अब सापेक्षिक रुपमा भन्दा पुरुषको एकोहोरो दमनमा महिलाहरू पर्ने दिन बाँकी रहेनन् । लोग्नेले आफूमाथि गरेको अत्याचारको बदला लिन आजको महिलाले कानुनी बाटो रोज्न सक्छे । एकवर्षसम्म कुरेर उसले तीज मान्ने योजना बनाउने छैन । आज प्रहरी प्रशासन या न्याय अदालत भन्ने निकाय महिलाको पहुँचभन्दा धेरै टाढा रहेन । साक्षरता र चेतनाका कारणले पुरुषले गरेको अन्यायको विरुद्धमा आजको नारी अवश्यै बोल्न सक्छे । कराउन सक्छे । या त भनौं तत्कालै प्रतिरोध गर्न सक्छे । यस्तो समयमा तीजको पुरानो शैली या परम्परा कायम राख्नुपथ्र्यो भन्ने पनि रहेन ।
तर परम्परा र सँस्कृतिलाई माया गर्ने या यो क्षेत्रमा चिन्तन मनन गर्नेहरूले गीतका भाकाहरूमा परिवर्तन ल्याएपनि तीजसित सम्बन्धित मुख्य दर्शनलाई बचाइराख्न सक्नुपथ्र्यो । आजको सन्दर्भमा महिलाको समस्या लोग्ने या सासुसित सम्बन्धित नहोला । हिजोका ‘कचकचे’ सासु आज नहोलान् । हिजोका अहंकारी लोग्ने आज नभेटिएलान् । तर महिलाका अनेक दुःखहरू त आजपनि छन् नि । आजपनि महिलाहरू छाउगोठमा मारिइरहेका छन् । आजपनि महिलामाथि बलात्कार भै नै रहेका छन् । आजपनि महिला यो देशमा असुरक्षित नै छन् । के यी समस्याहरूलाई गीत बनाउन सकिँदैन ? जनचेतना फैलाउनुपर्ने अनेक आयामहरू बाँकी नै छन् समाजमा । के ती ठाउँमा तीजका गीतलाई माध्यम बनाउन सकिँदैन ? हिजो हाम्री बज्यैहरूले मनभित्रै लेखेर गाउने गरेका कोमल र लयालु गीतका भाव कता हराए ? हाम्री आमाहरूले गाएका प्रतिरोधी चेत भएका गीतका मर्म कता बिलाए ? हाम्रा दिदीहरूले बहिनीहरूले यता सोच्ने कहिले हो ?


समाजको चेतनाले परिवर्तन अवश्यै चाहेको थियो । हाम्रा विचारले परिष्कार पनि खोजेकै थिए । तर थातथलो नै बिर्सने सँस्कार हामीले रोजेका होइनौं । यो हामीमाथि बलात् लादिएको हो । तीजका नाममा चोकमा, गल्लीमा, सार्वजनिक सवारीसाधनहरूमा घन्कने सुन्दै बान्ता होलाजस्ता कथित तीजका गीतहरू पनि हामीमाथि व्यापारिक उद्देश्यले थोपरिएका उत्पादन हुन् । माल हुन् । परम्परा र सँस्कृतिसँग यसको कुनै साईनो छैन । यसका पछाडि व्यापारीहरूको लगानी छ । उनीहरूको नाफा र स्वार्थसित गाँसिएको व्यापार छ । केही टपरटुइँयाहरू जो दृष्य दुनियामा छिटै चर्चा कमाउन लालायित छन् उनीहरूको हुटहुटीले काम गरेको छ । हाम्रो देशमा छाडा सँस्कृति अरू कुनै अमूक देशबाट भित्रिएको छैन । कतिपयले भन्ने गरेजस्तो यो देशको परम्परा सिध्याउने इसाईहरू होइनन् बरु हिन्दुहरू नै हुन् । यो हाम्रै समाजका कीराहरूले उब्जाएको समस्या हो । आजका तीजका भनिने गीतहरू सगोल परिवारमा बसेर सुन्न नमिल्ने खालका छन् । यसलाई समाजको अग्रगमन मान्ने कि पश्चगमन ?

तीजसँगै जोडिएको अर्को एक दिन उल्लेख्य छ । दर खाने दिन । अर्थात् तीजको अघिल्लो दिन । थपी थपी खाने दिन । दरमा विशेष केही हुँदैन । घ्यू र भातवाहेक । पुरानो समयमा घ्यूभात खानुलाई यति धेरै महत्व किन दिइएको हुँदो हो ? 
केही अनुमानहरू यस्ता हुन सक्छन्, 
त्यो समयमा चामल अत्यन्तै दूर्लभ अन्न थियो होला । जोकोहीले र जहिले भन्यो तहिले खान नपाइने भएका कारण यस्तो चलन ल्याइएको हुँदो हो । फेरि यस्तो नहुन सक्ने अर्को तर्क के हुन सक्छ भने तीज विशेषगरी खसआर्य समुदायको पर्व भएका कारण उनीहरूले घ्यूभात खान पाएनन् भनेर पनि कसरी भन्न सकिन्छ ? अर्को तर्क गर्नेले यो पनि भन्न सक्छन् कि, दर खाने दिन विशेषतः महिलालाई नै केन्द्रमा राखिने परिपेक्षलाई हेर्दा वर्षभरि लाज या धार्मिक सँस्कारका कारण कम खान पाउने÷पर्ने महिलाहरूले वर्षमा एक दिन भएपनि पेटभरि खाऊन् भन्नाका खातिर यो चलन बसालिएको हो । कतिपयले त तीजलाई महिलाको वर्षभरिको मानसिक मुक्ति र दर खाने दिनलाई शारीरिक मुक्तिको  भनेर व्याख्या पनि गर्ने गरेका छन् । जे जस्तो भएतापनि परम्परामा बाँचेका राम्रा पक्षहरूको जगेर्ना र नराम्रा पक्षको परिमार्जन गर्दै जानुपर्ने हो । तर परिमार्जनको नाउँमा जरै उखेलेर अर्को परम्पराको भद्दा सुरुआत गर्नु सायद राम्रो हैन होला । 

हाम्रो समाज र सँस्कारमा केही अघिसम्म जीवित रहेको रत्यौली चलन अब लुप्तप्रायः भैसकेको परिदृष्यमा त्यसको ठाउँ ओगट्न आएका अहिलेका दोहोरी तीज गीतहरू पनि कतै निकट भविष्यमै लोप भएर जाने हुन् कि ? यो प्रश्नको जवाफ कसले दिनुपर्ला ? 
यदि यसो भयो भने मौलाउँदै गएको छाडा र विकृत पक्ष त लोप होला तर त्यससँगै नेपालमा लामो समयदेखि चलिआएको तीजको मौलिकता पनि सिद्धिने खतरा बढ्दै गइरहेछ ।


Thursday, 13 July 2017

‘मिनी कर्णाली’को घाउ


जेबी दर्लामी



धेरै वर्षपछि गाउँ फर्किरहेको थिएँ । हातमुख जोर्ने बाध्यताले करिब चार वर्ष त लगातारजसो नै विदेशमा बस्नुप¥यो । जहाँ बसेपनि गाउँको सम्झना नआएको कुनै दिन थिएन । सधैं नै मनमा लागिरहन्थ्यो, गाउँका लागि केही गरौं । तर आफ्नो अस्तित्व नै सङ्कटमा परेको समयमा अरुका लागि सोचेर पनि केही गर्न नसकिँदो रहेछ । त्यही विवश मानिस बनेर धेरै वर्ष म गाउँ छाडेर भौँतारिएँ ।

यसपाली गाउँ जाने मौका मिल्यो । अर्घाखाँची जिल्लाको सुदूर विकट गाविस भनेर चिनिएको सिद्धाराको पनि अति नै सिमान्त गाउँ सिलिङखोला मेरो गाउँ हो । राज्यले उपलब्ध गराउनैपर्ने आधारभूत आवश्यकताबाट आजसम्म पनि बञ्चित मेरो गाउँ । माओवादी युद्धको समयमा राज्यले यस ठाउँलाई मिनी रोल्पा नामाकरण गरेर यहाँको सुरक्षा सम्वेदनशीलता देखाउन चाहन्थ्यो भने विद्रोही पक्षले यो ठाउँको नाम मिनी कर्णाली राखेका थिए । यसरी उनीहरूलेचाहिँ यो ठाउँको दयनीय अवस्था देखाउन चाहन्थे सायद । 
अहिले समय फेरिएको छ । व्यवस्था फेरिएको छ । तर यो गाउँको दूरावस्था अझैपनि उस्तै छ । अझ बढेको छ । आजपनि सिलिङखोला मिनी कर्णालीकै रुपमा छ । आजपनि यो ठाउँमा राज्यको उपस्थिति शून्यजस्तै छ ।

जेठको दोस्रो साता म आफ्नो गाउँमा पुगेको थिएँ । गाउँ सुनसान थियो । युवकहरू थिएनन् । साना बालबालिकाहरूका ओठमा प्राकृतिक रुपमै फक्रनुपर्ने हाँसो कतै सुनिएन । जताततै बाँझो खेतबारी देखिए । काखमा बच्चा च्याँपेर महिलाहरूले हलो समातेको दृष्य जताततै थियो । बृद्धबृद्धाहरू आँखामा तिर्खालु प्रतीक्षा बोकेर पिँढि कुरिरहेका थिए । लोकतन्त्र आएको भनिएको दशक बितिसक्दा पनि मेरो गाउँको दूर्दशा उस्तै रहेछ ।

पशुपति प्रा.वि.का हेडसर लक्ष्मण अधिकारीले यो गाउँमा बसेर अध्यापन गर्न थालेको २६ वर्ष पुग्यो । यतिका लामो समयसम्म एउटै विद्यालयमा पढाउनुको अनुभव सुनाउँदा उहाँ आफै चकित हुनुहुन्छ । कसरी बिताएँ हुँला यतिका वर्ष ? आफैसँग प्रश्न गर्नुहुन्छ । हुनपनि आजसम्म यातायातको कुनै सुविधा नभएको ठाउँ २६ वर्षअघि कस्तो हुँदो हो ? कोशौँ टाढा घरबाट हप्तैपिच्छे आउजाउ गर्नुको पीडा लक्ष्मण सरवाहेक अरु कसलाई थाहा होला र ? 
आजपनि न यातायात छ, न राम्रो पैदल मार्ग नै छ । न त पिउने पानीको उचित व्यवस्था छ न शिक्षा र स्वास्थ्यको । गाउँमा आजसम्म एउटा सानो क्लिनिकसम्म छैन । स्कूलमा बस्दाबस्दै दिउँसो कसैको फोन आउँछ, फलानो ठाउँमा फलानो मान्छे सिकिस्त बिरामी छ, तुरुन्त आइदिनुप¥यो । विद्यालयलाई दुई नबज्दै बन्द गरेर लक्ष्मण सर र म त्यता लाग्छौँ । बाटाभरि कल्पना गर्छु, एउटा स्वास्थ्यचौकीको व्यवस्था गाउँमै भइदिएको भए एउटा शिक्षकलाई यसरी असमयमै विद्यालय बन्द गरेर दौडनु पर्दैनथ्यो । एउटा स्वास्थ्यकर्मीलाई आउने फोनकल शिक्षकलाई आएको थियो ।
बिरामीको छटपटीको कुरा के गर्नु ? गाउँमै स्वास्थ्यचौकी भएको भए कमसेकम पेनकीलरको व्यवस्था हुँदो हो र तत्कालका लागि बिरामीको दुखाईमा राहत हुँदो हो । यी सबै यो गाउँको लागि अहिलेसम्म कल्पनामा मात्रै सिमित रहेको छ । 

गाउँमा स्वच्छ पिउने पानीको व्यवस्था छैन । करिब दुई दशकअघि फिनलैण्ड सरकारको सहयोगमा निर्माण गरिएका केही पानी धाराहरूको आज कुनै निशान छैन । खोल्साखोल्सीमा पाइने भेल पानी या त खोलाको पानीको सहारामा यहाँका मानिसहरू बाँचिरहेका छन् । खोलाको मुहानमा केही वर्ष अघि गएको विशाल पहिरोका कारण पर्याप्त मात्रामा पिउने पानी पनि छैन । धमिलो र दूषित पानीका कारण लाग्ने पत्थरीलगायतका रोगहरूको जोखिम उत्तिकै  छ । 

जताततै बाँझो खेतबारी देखा पर्छ । बजार र बिक्रीस्थलको असुविधाका कारण उत्पादनप्रति मानिसहरूको जाँगर कम भएको एउटा पक्ष हो भने अर्को पक्ष भनेको बलिया युवाहरू गाउँमा बस्न नपाउनुको नतीजा पनि हो यो । सिँचाईको सुविधा नभएको खेतबारीमा वैकल्पिक खेतीबालीको बारेमा मानिसहरूलाई सिकाउने हो भने गाउँको स्तरमा अपेक्षाकृत सुधार आउने देखिन्छ । 

घना बनजँगलको उपलब्धताका कारण यो ठाउँ पशुपालनका लागि योग्य त छ तर पोषिलो घाँसको अभाव पनि उत्तिकै छ । कृषि कार्यालय र यससम्बन्धि काम गरिरहेका विभिन्न गैरसरकारी संस्थाहरूको ध्यान यता पुग्न सके र यहाँका कृषकहरूको खरबारीमा मात्रै पोषिला घाँस खेती लगाउन सके पशुपालनका निम्ति यो ठाउँ जिल्लामै नमुना बन्नेछ । दाङमा प्रादेशिक राजधानीको सम्भावना बढ्दै गइरहेको अवस्थामा यो ठाउँको महत्व झन दिनानुदिन बढ्दै गइरहेको छ ।

यसपटक गाउँमा चुनावको चहलपहल पनि खासै देखिएन । वाईसीएलका केटाहरू राता टिसर्ट लगाएर हिँडेका चाहिँ भेटिए । गाउँमा अरु दलका प्रतिनिधिहरू पुगेको खबर सुन्नासाथ उनीहरू हान्निएर बाटो छेक्न आइपुग्दा रहेछन् । प्रत्यक्ष धम्की या गालीगलौज त उनीहरूले गर्दैनन् तर विभिन्नखाले मनोवैज्ञानिक त्रास देखाएर गाउँका जनतामा आफ्नो प्रभाव कायम गरिरहेका देखियो । र यो पनि देखियो, उनीहरू दिनभरि गाउँ चाहार्ने अनि रातभरि रक्सीको तालमा झुम्ने गर्दा रहेछन् । मसँग पनि केही युवकहरूको भेट भएको थियो । भारतबाट काम गरेर फर्केकाहरूलाई माओवादीका स्थानीय नेताहरूले भेट्नै नहुने रहेछ । वाईसीएल लेखेको टिशर्ट भिराइहाल्दा रहेछन् । यसरी उनीहरूले सिँगो गाउँ आफ्नो कब्जामा रहेको सन्देश दिन खोज्दारहेछन् । उता अल्लारे केटाहरू सित्तैको टिशर्ट पाएर मख्खै । उनीहरूलाई देश त के आफ्नो गाउँको अवस्थासम्म थाहा छैन । कुराकानीको क्रममा उनीहरूले यदि चुनावमा जितेर पनि आफूहरूलाई फर्केर हेरेनन् भने आफ्नै पार्टीका प्रतिनिधिको पनि घर फुटाउने कुरा गरे । पाईप बम बनाउन जानेको कुरा पनि सुनाए । गाउँको दूर्दशालाई कसरी सम्बोधन गर्ने ? गाउँको कसरी स्तरोन्नति गर्ने ? यी कुराहरूमा उनीहरूलाई कुनै चासो र चिन्ता छैन, ज्ञान पनि छैन । धेरैजसो युवकहरू अझै पनि लहैलहैमा राजनीतिक स्वार्थका गोटी बनेका रहेछन् । उनीहरूलाई यथार्थसँग साक्षात्कार नगराएसम्म गाउँको उन्नतिको सम्भावना पनि खेर गइरहने छ ।

गाउँमा धेरै कुराको अभाव छ तर मुख्यगरि बाटो, खानेपानी, स्वास्थ्यचौकी र सुलभ शिक्षाका बारेमा तत्काल सम्बोधन गरिनैपर्छ । बाटो र यातायातको सुविधा भएमा गाउँको उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुनेछ । स्वच्छ पिउने पानीको व्यवस्था भयो भने गाउँका जनतालाई लाग्ने विभिन्न रोगहरूमा कमी आउनेछ । त्यसैगरि यति ठूलो गाउँमा आजसम्म एउटा स्वास्थ्यचौकी नहुनु राज्यको पक्षपातपूर्ण व्यवहारको एउटा गतिलो उदाहरण हो । अब निर्वाचित हुने वडाका प्रतिनिधिहरूले आफ्नो गाउँठाउँका लागि यिनै समस्याहरूसित लड्नुपर्ने छ ।








Wednesday, 14 June 2017

इच्छुक, तिम्रो सपना अधूरै छ

यो महिना कवि तथा पत्रकार कृष्ण सेन इच्छुकले सहादत प्राप्त गरेको महिना हो । शिक्षित र विकसित देशहरूमा कवि लेखकहरू आजीवन र मृत्युपर्यन्त पुजिएका छन्, तर बिडम्वना हाम्रो देशमा उनीहरू मारिन्छन् अझ जनताको सुरक्षाको जिम्मा लिएको राज्यको निकायबाटै । इच्छुकका हत्यारा विक्रम थापालाई ‘पुलिस अफ दि इयर’को उपाधि दिइएको थियो । कलमसित डराएर थर्कमान बनेका काठमाडौंका तत्कालीन डिआईजी अमरसिंह शाह ‘हामीले मजाक मात्रै गरेका थियौँ तर सेन त साँच्चै पो म¥यो’ भन्ने खालको अत्यन्तै घृणित वक्तव्य दिँदै शान्ति स्थापनार्थ कोशोभो पुगेका थिए । तर इतिहासले ती खलपात्रहरूलाई सधैं तिरस्कृत गरिरहनेछ । कृष्ण सेन इच्छुकहरू भने जनताका मनभित्र बाँचिरहनेछन् । पत्रकार सेन निडर र साहसी पत्रकारहरूको आदर्शबिम्ब हुनुहुन्छ । जसले सत्यको बदलामा कुनै सम्झौता गर्दैनन् उनीहरू सबैका लागि सेन एक उदाहरणीय र अनुकरणीय अगुवा हुनुहुन्छ । कृष्ण सेन इच्छुकसित अप्रत्यक्ष जोडिएका केही सम्झनाको शाब्दिक चित्र—

   


इच्छुक, तिम्रो सपना अधूरै छ 


जेबी दर्लामी 


मान्छेलाई जतिसुकै एक्लो तुल्याए पनि
सचेत मान्छेका सुन्दर विचारहरू कहाँ एक्लिन्छन र ?
एकलासको रोबेनद्वीप जस्तै
मान्छेलाई जुनसुकै निर्जन टापूमा पु¥याए पनि
आफूले आफैलाई नअलग्याएसम्म
प्रियजनसित मान्छेका मनहरू कहाँ अलग्गिन्छन र ? 
.......
(बन्दी र चन्द्रागिरि, इच्छुक) 

समय कति चाँडै बितेछ । कवि एवम् पत्रकार कृष्ण सेन ‘इच्छुक’लाई शाही सत्ताले मारेको पनि आज सोह्र वर्ष पुगिसकेछ । सोह्र वर्षको लामो समयावधिभर रापतीमा कति पानी बग्यो होला ? तर जब म कवि सहिद इच्छुकलाई सम्झन्छु, समय कतै स्थीर भएझैँ लाग्छ । त्यही सँकटग्रस्त समय । त्यही डरमर्नु समय । त्यही कालो घाम उदाउने समय । 

इच्छुकसित कुनै दिन भेट भएन तर उनको सम्झना गर्दा मलाई धेरै धेरै कुराको सम्झना आउँछ । धेरै धेरै मानिसहरूको सम्झना आउँछ । आफ्नो बालापनको याद आउँछ । थाहै नपाइ हुर्केको आफ्नो उमेरको याद आउँछ । अनि बितेका पलहरूले भावुक बनाउँछन् ।
२०५९ सालको जेठ १३ गते तत्कालीन सत्ताले कवि इच्छुकलाई निर्ममतापूर्वक हत्या गरेको थियो । कथित कवि राजा जी. शाहले शासन गरेको देशमा कवि भनाउँदो राजा स्वयम् कवितासित नराम्ररी तर्सेको थियो । त्यही हतोत्साही मनस्थितिमा उसले एउटा कविलाई यातना दिएर मारेको थियो । ज्ञानेन्द्रलाई भलै आजको सत्ताले माफी दिएको होला तर आम जनताका निम्ति लेखिइने कविताहरूले कहिल्यै क्षमा दिने छैनन् । 

इच्छुकलाई मैले पहिलोपटक जनादेश साप्ताहिकको सम्पादकको रुपमा चिनेको हुँ । जनादेश तत्कालीन नेकपा माओवादीको मुखपत्र थियो । २०५१ सालमा म लापे निमाविको छात्र थिएँ । हाम्रो अँग्रेजी सर हुनुहुन्थ्यो, गङ्गाबहादुर सेन । उहाँ त्यतिबेला त्यस स्कूलको प्रधानाध्यापक पनि हुनुहुन्थ्यो । 
सेन सरको परिवार देहरादूनमा बसेर आएको थियो । अँग्रेजीमा गङ्गा सरको राम्रो दख्खल थियो । दुईटी श्रीमती बिहे गर्नुभएको भन्ने थाहा थियो । तीनचार बहिनी छोरीहरू तत्कालीन लापे निमावि (हाल मावि) मा अध्ययन गर्थे । उनीहरूको नाम वन्दना, श्रृजना आदि थियो । श्रृजनाले हामीसितै पढ्थी पाँच कक्षामा । आफ्नो बुबाकोजस्तै खस्रो स्वर थियो । हामी केटाहरूसित खुब झगडा गर्थी । एकपटक खै’ के कारणले हो, उसको कपाल खौरिएको थियो । पूरै मुडुली बनाएर । कानसम्म ढाक्ने टोपी लगाएर आएकी थिई तर हामीले पत्तो लगाइहाल्यौँ । अनि के थियो र ? केटाहरू ‘मुडुली माऊ माखा छोपी खाऊ’ भन्दै कराउन थालिहाले । 
श्रृजनाको रिस खुब देख्न पाइएको थियो त्यो दिन । अहिले सम्झँदा स्मृतिदँशले बेस्सरी सताउँछ ।

केहीसमयपछि मैले लापेको स्कूल छाडेँ र आफ्नै गाविसमा पर्ने लौरी भन्ने ठाउँको निमाविमा भर्ना भएँ । गङ्गा सरले पढाउन छाड्नुभएको खबर सुनेँ । केही समयपछि सुनेँ, उहाँलाई क्षयरोग लागेको छ । सजिलै निको हुने रोग नै लागेको थियो तर उहाँलाई निको भएन । खै’ के कारणले हो ? मानिसहरूले सुनाउँथे, औषधिउपचारमा लापर्वाही गर्नुहुन्छ रे । उहाँ थला पर्दै जानुभएछ । अनि एकदिन मुटु नै चिरिदिने अशुभ समाचार पनि हामीले सुन्यौँ, गङ्गा सर बित्नुभयो रे । धेरै नै नरमाइलो लागेको थियो मलाई । गङ्गा सरको चश्मा लगाउनुपर्ने आँखाहरू अझैपनि सम्झनामा आउँछन् ।

एकदिन हामीलाई गङ्गा सरले सधैंझैँ गृहकार्य दिनुभएको थियो । चार बजे छुट्टी हुने समयमा केही अँग्रेजी वाक्यहरूलाई नेपाली अक्षरमा आआफ्नो कापीमा लेख्न लगाउनुभयो । अँग्रेजी पढाउने सरले किन नेपाली अक्षर लेखाउँदै हुनुहुन्छ भनेर आश्चर्य लागेको थियो । पछि हाम्रो आश्चर्य भयानक डरमा परिणत भइदियो । लेखिएका नेपाली अक्षरहरूलाई अँग्रेजी बनाएर ल्याउने सरको हुकुम सुनियो । हामीलाई त्यतिसारो डर लाग्नुको कारण थियो, धेरै वाक्य हामीले पढ्ने किताबमै थिएनन् । र झनै अर्को डरलाग्दो कुरा के थियो भने एउटा शब्दार्थ बिगारेको बदलामा एक लठ्ठी  पुरस्कारको व्यवस्था गरिएको थियो । 

भोलिपल्ट हामीले ‘राते’ भनेर बोलाउने टेकबहादुर बिक नामको साथीले १५ लठ्ठीसम्मको पुरस्कार पाए । सरकै छोरी श्रृजनाले पनि ५÷६ लठ्ठी भेट्याई । सरको नजरमा ‘रुल ईज रुल’ । यसैबाट उहाँको निष्पक्ष व्यवहार छर्लङ्ग हुन आउँछ । मैले त सबै मिलाएको छु भनेर मख्ख परेको थिएँ तर एउटा शब्द बिगारेको रहेछु । मैले ‘अन्टी’ लेख्न नजानेको रहेछु । मेरो कापी जाँचिरहँदा गङ्गा सरले चश्माभित्रबाट मलाई एकछिन टुलुटुलु हेर्नुभयो । त्यसपछि मलाई अगाडि बोलाउनुभयो । उहाँका आँखाहरू हाँसिरहेका थिए । त्यही भावमा उहाँले मेरो गल्ती देखाउनुभयो । मैले एक लठ्ठी पाउनुपर्ने भयो । सरका अगाडि आफ्नो हात पसारेँ र पुरस्कारको पर्खाईमा उभिएँ । सरले लौरो उज्याउनुभयो तर पिट्नुभएन । यसपाली उहाँका ओँठहरू पनि हाँसे । हाँस्दै उहाँले स्नेह भरिएको खस्रो स्वरमा भन्नुभयो,
‘जा, मिनाहा भयो ।’

लठ्ठी खान तयार भएको मन फुरुङ्ग बन्यो । खुसीले नाक फुल्याउँदै म आफ्नो बेञ्चमा गएर बसेँ । केही साथीहरूले डाहले हेरे । केहीले कुरा पनि काटे । गङ्गा सर र गणित सर सीताराम सुवेदीले प्रायः विद्यार्थीहरूलाई पिटेको देख्थेँ । सायद केही विद्यार्थीहरू पिटाई खानका लायक नै थिए होलान् भन्छु । तर मलाई उहाँहरूले कहिल्यै पनि पिटेको या अरु कुनै सजाय दिएको मलाई सम्झना छैन । अझ टङ्क न्यौपाने सर त कहिल्यै अलिकति चर्को बोलेको पनि मैले सुनिनँ । माथि नै लेखिसकेको छु, कवि इच्छुकको सम्झना गर्दैजाँदा मेरो मनमा धेरै असल मानिसहरूको सम्झना आइहाल्छ । मेरा यी गुरुहरूको पनि स्मरण हुन आउँछ । पानीले धोएर नजाने यी यादहरू ।
एक दिन चौरमा खेल्दैगर्दा एकजना विद्यार्थीको तिघ्रामा बिच्छीले टोक्यो । अब के गर्ने ? सबै डरायौँ । गङ्गा सर आउनुभयो र त्यस विद्यार्थीको तिघ्रा जहाँ बिच्छीले टोकेको थियो त्यो ठाउँमा आफ्नो खाली मुखले चुस्न थाल्नुभयो । चुस्दै निस्केको विषमिश्रित रगत थुक्दै गर्नुभयो । उहाँको यस्तो सरल र प्रेमिलो स्वभाव देखेर हामी सबै हेरेको हे¥यै भएका थियौँ ।

गङ्गा सर बित्नुभएपछि के के भयो के के । मपनि हण्डरठक्कर खाँदैखाँदै कहाँ कहाँ पुगेँ । सरको परिवारले घरबारी बेचेर कता बसाईँ स¥यो, यो पनि मलाई थाहा भएन । अर्घाखाँची जिल्लाको साविकको जलुके गाविसमा पर्ने सातमारा भन्ने गाउँमा थियो उहाँको घर । रापती नदीको किनारामा । दाङ जिल्लामा पर्ने भालुबाङ बजारको वारिपट्टि । पुलको छेवैँमा थियो गङ्गा सरको घर । रापती तरेर अर्घाखाँचीको माटोलाई छुँदा पहिलो घर पनि उहाँकै पथ्र्यो । अहिले कहिलेकाहीँ त्यो बाटो भएर हिँड्नुपर्दा जब म त्यो ठाउँलाई हेर्छु नचाहेर पनि आँखा रसाउँछन् । उहाँहरूको घरबारी अरु कसैले भोगचलन गरिरहेको देख्दा मन अमिलो हुन्छ । गङ्गा सरको जीवन, उहाँको बोली, व्यवहार, विद्यार्थीहरूलाई सधैं हौसला दिने उहाँको मन, अनि उहाँको मृत्यु र परिवारको पलायन कुनै नराम्रो सपना हो कि जस्तै लागिरहन्छ ।

मैले धेरैपछि थाहा पाएको थिएँ कवि कृष्ण सेन ‘इच्छुक’ त गङ्गा सरका दाजु हुनुहुँदो रहेछ । तर जतिबेला मैले यो कुरा थाहा पाएँ, त्यो समयमा न म गङ्गा सरको विद्यार्थी थिएँ न गङ्गा सर सशरीर हाम्रोमाझ हुनुहुन्थ्यो ।

इच्छुक आफ्नो त्यस घरमा आएर बसेको मलाई थाहा छैन । २०५८ सालको कुरा । इच्छुकलाई तत्कालीन सत्ताले गिरफ्तार गरेको थियो । त्यही जेल बसाईकै क्रममा उनले एउटा काव्य कृतिको रचना गरेका थिए । लामा कविताहरूको सङ्कलन थियो त्यो, ‘बन्दी र चन्द्रागिरि’ शीर्षकको । त्यसमा डा. श्रृषिराज बरालले भूमिका लेखेका थिए । भालुबाङको खनाल पुस्तक पसलबाट किनेर घर लगेको थिएँ मैले त्यो काव्यकृति । पसलका साहू खनालजीले ‘इच्छुक अस्ति मात्रै यहाँ आउनुभएको थियो’ भनेर सुनाउँदा मलाई कम पछुतो लागेको थिएन, उनलाई भेट्न नपाएकोमा । 
त्यही समय केही महिना चलेको युद्धविराम अचानक भङ्ग भयो । देशैभरि सैनिक परिचालन भयो ।  मेरा गाउँलेहरूका घरमा लाइसेन्सविनाका बन्दूकहरू उल्लेख्य मात्रामा थिए । उनीहरूलाई त्यो लुकाउन हम्मे प¥यो । कसैले मलखादमा लुकाए । कसैले खरबारीमा लगेर राखे । कसैले माटोमुनि पुरे । हाम्रो घरमा बन्दूक त थिएन तर राज्यको नजरमा गैरकानूनी बन्न सक्ने थुप्रै पुस्तकहरू थिए । मैले आफूसित भएका ती किताबहरू च्यात्न जलाउन सकिनँ । युवाहरूको गीत, अग्निदीक्षा, आमा, मई दिवसलगायतका पुस्तकसँगै बन्दी र चन्द्रागिरिलाई पनि बाक्लो प्लाष्टिकमा बेरेर एक डाँडा कटाएँ र एउटा ठूलो रुखको धोद्रामा लुकाएर राखेँ । घरमा अरु किताबहरू पनि थिए तर लुकाएर आएका ती किताबहरूको यादमा बितेका दिनहरू सारै नरमाइला थिए । अहिले सम्झँदा पनि कस्तो कस्तो लाग्छ ।

सङ्कटकाल केही खुकुलो बनेपछि मैले ती किताबहरूलाई घरमा ल्याएर आएँ । कुनै सग्ला थिएनन् । सबैमाथि धमिरा लागेका थिए । बन्दी र चन्द्रागिरिका पनि केही अक्षरहरू पढ्न नमिल्नेगरी धमिराले खाइदिएका थिए ।

२०५९ मा सिद्धाराबाट म सन्धिखर्क आएँ । पछि सुनें, इच्छुकले जनादेश छाडेर जनदिशाको सम्पादन गर्न सुरु गरे । पटकपटक पक्राउ परे । पटकपटक जेल गए । असिमित यातना सहनुप¥यो । तर उनले आत्मा बेचेर कहिल्यै सम्झौताको बाटो हिँड्न चाहेनन् । उनका पनि आफन्तहरू थिए । उनको पनि परिवार थियो । श्रीमती र छोरी थिए । व्यक्तिगत इच्छा र आकाङ्क्षाहरू पनि थिए होलान् तर व्यक्तिगत फाइदा र स्वार्थलाई उनले सधैं पछाडि राखेर हिँडे । सधैं देश र मुक्तिकामी जनताको लहरमा आफूलाई उभ्याए । त्यही आस्थाका खातिर उनी राज्यद्वारा सताइए, कुटिए पिटिए र अन्तमा मारिए पनि । तर उनको आस्था मृत्युको क्षणसम्मै धर्मराएन । सत्तासँग झुकेको भए उनले पनि माफी पाउने थिए ।

पछिल्लोपटक उनलाई पक्राउ गरेर छाडिएन । जेलभित्रै कुटीकुटी मारियो । उनलाई आफ्नो जिन्दगी सङ्गीनको निशानामा छ भन्ने कुरा राम्ररी थाहा थियो । विचलित भएर पलायन भएको भए सायद उनको जीवन बाँच्नेथियो तर उनले त्यो बाटो रोजेनन् । उनले हजारौँ सहयात्रीहरूसितै महासमरको यात्रा नछाड्ने सँकल्प गरे । उनले लेखेको यो कविताँश उनको आफ्नै जीवनमा पूरा हुन आयो ।

सायद यो खुसीको प्रफुल्लित क्षण
दिनप्रतिदिन गिरफ्तार भएर
हराइरहेका आफन्तहरूको उदास स्मृतिजस्तै
भोलि विस्मृतिको धूमिल बिम्ब पनि हुन सक्छ
विजयको अन्तिम दिनसम्म
सबै रहौँला नरहौँला पछि हामी
र सायद यो खुसीको हर्षित क्षण
हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ
र म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेखिँदालेखिँदै
भोलि अपूर्ण रहन सक्छ
......
(बन्दी र चन्द्रागिरि)


इच्छुकले डा. श्रृषिराज बराललाई नजिकको साथी मान्दथे । बरालले पनि इच्छुकलाई आफूलाई जत्तिकै प्रेम गर्दथे । अहिलेजस्तो सञ्चारको कुनै सुविधा नभएको युद्धको त्यो गजमौरोमा पनि हामीले यो कुरा सहजै अनुभूत गर्न सक्थ्यौँ ।  माओवादी युद्धको पछिल्लो कालखण्डमा, इच्छुकको हत्या भइसकेपछि बराल आफ्नो शिक्षण पेशालाई नै छाडेर पूर्णकालीन रुपमा युद्धमा होमिएका थिए । त्यो सब इच्छुकको निष्ठा, आदर्श र समर्पणको लगानी हो भन्ने मलाई लाग्दछ । इच्छुक बाँचिरहेका भए अहिलेको निष्ठाविहिन राजनीति देखेर के सोच्दाहुन् ? के बोल्दाहुन् ? या के लेख्दाहुन् ? भनेर अनुमान गर्न दुनियालाई सोध्नु पर्दैन, डा. बरालको पछिल्लो जीवन दैनिकी नियाले पुग्छ । जनताको जीवनमा कायापलट ल्याउने भनेर युद्धमा होमिएकाहरू आज एकसय असी डिग्री कोणमा बद्लिएर आफ्नो व्यक्तिगत स्वार्थमा रुमल्लिरहेको देख्दा यदि इच्छुक बाँचिरहेका भए आफू सहिद बन्न नपाएकोमा पछुताउने थिए होलान् । अनि डा. श्रृषिराज बरालझैं गुमनामजस्तै बसेर मौन जीवन बिताउने थिए होलान् । तर चुप लाग्ने स्वभाव त इच्छुकको थिएन । उनी आफ्नै सहयात्रीहरूमाथि जाइलाग्ने थिए होलान् । त्योभन्दा बिडम्वना अरु के हुन्थ्यो होला र ? 

अहिले इच्छुकलाई आफ्नै पेवाजस्तै बनाएर भाषण र भत्ता बजाउनेहरूको भीड देख्दा मलाई लाज लाग्छ । अझ इच्छुकको भावना, विचार र उद्देश्यलाई पाँचतारे होटलहरूमा स्कच र ह्वीस्कीका बोतलहरूसित साट्ने राता मण्डलेहरूको बिगबिगी देख्दा कता कता डर लागेर आउँछ र मन कल्पन्छ, सर्वहारा जनताका निम्ति प्राण अर्पेका कविलाई कतै यी नवधनाढ्यहरूले आफ्ना खोपीका देउता बनाउने हुन् कि ? यदि इच्छुक भौतिक शरीरमा बाँचिरहेका भए यी नयाँ रुपाकारका कथित क्रान्तिकारीहरू उनका सबैभन्दा ठूला वर्गदुश्मन हुनेथिए ।
इच्छुक कसैका हैनन् तर तिनहरू सबैका हुन् इच्छुक, जसले निष्ठा मरेको यो समयमा पनि कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्दछन् । जसले आफूसित थोरै भएपनि नैतिकता बचाइराखेका छन् ती सबैका हुन् इच्छुक । अर्थात् यो देशमा अझैपनि जो जो रगतको आँसु रुन विवश छन् ती सबैका हुन् इच्छुक । तर इच्छुकको विचारलाई टुकुचाको हिलोमा सेलाएर दरबार पसेका नयाँ रुपका नयाँ शासकहरूका लागि इच्छुक कुनै साईनोमा पर्दैनन् । उनीहरू त इच्छुकका वैरी हुन् ।

दाङ जिल्लाकै सिमानामा घर भएको र अधिकाँश समय अर्घाखाँचीमाभन्दा दाङतिरै बिताएकाले पनि होला कतिपय समीक्षकहरूले इच्छुकलाई दाङ जिल्लाका साहित्यकारको सूचिमा राखिदिएका छन् । मलाई लाग्छ, उनी त सिङ्गो देशका कवि हुन्, लेखक हुन्, पत्रकार हुन् । उनलाई कुनै सीमा या भूगोलमा बाँध्न सकिन्न । तरपनि उनको पारिवारिक बसोबासलाई ध्यानमा राखेर सातमारा गाउँलाई उनको स्मृतिकेन्द्रको रुपमा विकास गर्न सकिन्छ र साहित्यिक तीर्थस्थल बनाउन सकिन्छ । 
अन्तमा, सम्पूर्ण साहसी पत्रकार र जोदाहा कविहरूका आदर्श, क्रान्तिकारी कविता लेख्दालेख्दै सहिद बनेका क्रान्तिका बिम्ब र निष्ठाका प्रतीक इच्छुकलाई उनकै कविताबाट श्रद्धासुमन ।

यसबेला केही निस्तेज शीरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शीरलाई झन् ठाडो देख्न चाहिरहेछु
यसबेला केही दूर्बल मुठ्ठीहरू फुक्केर
विनित भावले जम्ले हात जोडिरहेछन्
म तिम्रो बज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु
यसबेला केही थकित पाईलाहरू गलेर
माझ बिसौनीमा बास मागिरहेछन्
म तिम्रा जब्बर पाईलाहरू झन् अग्रसर देख्न चाहिरहेछु
यसबेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ती वाचन गरिरहेछन्
म तिम्रो प्रखरवाणीमा युगको हुँकार सुन्न चाहिरहेछु

व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखुँ नलेखुँ केही फरक पर्दैन
तर तिम्रो आँधीबेहरीमय महायात्रा रोकिनु हुन्न
इतिहासको यस सँक्रमणशील घडीमा
भोको पेटका उर्जश्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ भद्र पुरुष
तिमी भने झुँक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेँदीमा रातै लाली गुराँस
तिमी भने यो फेँदीमा अल्मलिनु हुन्न ।

(इतिहासको यस घडीमा, इच्छुक)

Friday, 19 May 2017

नेपाल : मेरी सानीआमा


 फणीश्वरनाथ रेणु 




‘छोटी माँ’ अर्थात् सानीआमा । ....
नेपालमा मेरी सानीआमा बस्नुहुन्छ । हरेक वर्ष विजयादशमीमा म उहाँलाई प्रणाम पठाउँछु अनि आशिर्वाद ग्रहण गर्दछु । म जहिलेपनि जब नेपालको धर्तीमा आफ्ना पाउ टेक्छु तब एक चिम्टी त्यहाँको माटो लिएर शिरमा राख्दछु । मेरा स्मृतिहरू जाग्दछन् अनि म रोमाञ्चित हुने गर्दछु । 
जय नेपाल ! नेपाल मेरी सानीआमा ।

गर्मीविदाका अन्तिम दिनहरू चलिरहेका थिए । त्यसैका बाँकी दुईचार दिन बिताउन भनेर म एक आफन्तको घरमा पाहुना लाग्न गएको थिएँ । घर फर्कने दिन बिहानैदेखि मुसल्धारे वर्षा भइरहेको थियो । गढबनैलीको सानो रेलस्टेशन जहाँ ती दिनहरूमा रेलगाडी बडो अनिच्छापूर्वक रोकिन्थे । हाम्रो रेलगाडी अर्थात् जोगबनीतिर जाने रेल जब त्यो स्टेशनमा आइपुग्यो तब घनघोर वर्षाको साथमा पुर्बी बतास पनि चलिरहेको थियो । बतास जोडले चलिरहेका कारण हातमा छाताछतरी भइकन पनि मानिसहरू दौडँदैभिज्दै रेलमा सवार भइरहेका थिए । रेलका सबै झ्यालहरू बन्द थिए अनि ढोकाहरूमा मानिसहरूको भीड लागेको थियो ।
गार्डसाहेबले बजाएको सिठीको तिखो आवाजसँगै रेलगाडीको इञ्जिनको मोटो आवाज पनि सुनिएको थियो । म त्यतिञ्जेलसम्म यताउता दौडिरहेको थिएँ । रेलगाडी आफ्नो लिकमा हिँड्न थालिसकेको थियो ।

हिँडिरहेको रेलको जुन डिब्बा आफ्नो नजिकबाट भएर गइरहेको मलाई लाग्यो म त्यसैको हैण्डिल समातेर झुण्डिएँ । एकजना ग्रामिण मानिसले छुटेको आफ्नो साथीलाई चिच्याइचिच्याइ भनिरहेको थियो, ‘हत्था समात् हत्था ।’ ढोकानिरको हैण्डिललाई त्यसले हत्था भनेको थियो । मलाई उसको कुराले प्रेरणा मिल्यो, हत्थामा समातेँ अनि झुण्डिएँ ।
खुट्टा राख्ने ठाउँसम्म पुग्नुअगावै मेरो काँधमा झुण्डिरहेको छाता भुईँमा खस्यो । त्यससमय प्लेटफार्ममा जेजति होहल्ला भइरहेको थियो त्यो सब मेरो कारणले नै थियो । गढबनैलीको अद्र्धपागलको बोली आजपनि मेरो कानमा गुञ्जिरहेको छ, ‘ए छोटे मियाँ, आँ आँ अब तँ मर्छस् साला !’

‘छोटे मियाँ’ उसले मलाई नै भनेको थियो अनि गाली पनि मलाई नै गरेको थियो । खासमा कुरा मेरो पहिरनको थियो । मैले कुर्ता पाइजामा लगाएको थिएँ अनि त्यस समयसम्म पाइजामा हाम्रो इलाकामा आम पहिरन बनिसकेको थिएन । यसलाई मुसलमानहरूको पोशाक भन्ने ठानिन्थ्यो । 
‘छोटे मियाँ अब तँ मर्छस् । बतास र पानीले मिलेर हिर्काइरहेको थप्पडलाई कतिञ्जेल सहन सक्लास् तँ ? जलालगढ पुग्नुभन्दा अगाडि नै तँ रेलगाडीबाट खस्छस् अनि मर्छस् ।’ यस्तै कल्पना गरेर छोटे मियाँ थर्थर काँप्न थाल्यो । दौडेर अघि हत्था समात्ने बेलामा नै उसले ढोकामा फस्र्ट क्लासको रोमन अङ्क देखिसकेको थियो । ‘भित्र कोही अँगे्रज या एँग्लो बसेको होला । अनुनय विनय गरेपछि त्यसले ढोका त खोलिदेला तर मेरो आङमा खादीको कुर्तापाइजामा देखेपछि त्यसले मलाई लात्ताले हानेर तल खसालिदिनेछ ।’ कल्पनाले छोटे मियाँको कलेजो मुखमा आउलाजस्तो भयो । छोटे मियाँको मुखबाट बडो मुश्किलले बोली निस्कियो, ‘ओपेन सर । प्लीज, ... आइ एम डाइङ .... ओपेन !’

फस्र्ट क्लास डिब्बाको ढोका खुल्यो । एउटा गोरो घाँटी, एउटा गोरो अनुहार देखा प¥यो । छोटे मियाँले आँखा बन्द ग¥यो, ‘अब ज्यानले खाने भयो बूट !’
हत्थाबाट कतिखेर हात छुट्यो अनि कतिखेर म त्यो डिब्बाभित्र प्रवेश गरेँ त्यो कुरा मलाई न आज सम्झना छ न त त्यो दिन नै थियो ।
गोरो वर्णका ती मानिस कुनै गोरा या एँग्लो थिएनन् । उनी त शुद्ध खादीधारी थिए । उनको ओठमा  स्वजनोचित मुस्कान थियो अनि उनले शुद्ध हिन्दी भाषामा मलाई सोधे,
‘किन ? चलिरहेको रेलमा किन चढ्नुभयो ?’
‘हजुर । यो स्टेशनमा रेल रोकिनै मान्दैन ।’ मैले भनेँ ।
‘यो स्टेशनको नाम के थियो ?’
‘गढबनैली ।’
‘जानेचाहिँ कहाँ नि ?’
‘सिमराहा स्टेशन ।’
म लाजले पानीपानी भइसकेको थिएँ किनकी बर्थमा बसिरहेकी एउटी केटी अघिदेखि नै मलाई हेर्दै एउटै तालमा मुस्कुराइरहेकी थिई । मसँग केके सोधिरहेका मानिसले त्यस केटीसँग केही भने । उनले बोलेको भाषा न अँग्रेजी थियो, न हिन्दी, न बाङला न त मैथिली । तर त्यो भाषा ग्रीक या चीनिया लवजको पनि थिएन । मैले जति बुझ्न सकेको थिएँ, त्यति कुरा छर्लङ्ग बुझेको रहेछु । उनले भनेका थिए, ‘यो केटो कसो खसेर मरेन !’ 
लूगा ? कपडालाई हाम्रो गाउँमा पनि लूगा नै भन्थे । उनले पनि यही वाक्य बोलेका थिए । लूगा भन्ने शब्द सुन्नासाथ माथि बर्थमा बसेर मुस्कुराइरहेकी केटी उठी । लेदरको झोलाबाट खादीको धोती निकाल्दै भनी, ‘धोती त छ तर कुर्ता ?’
मैले भनेँ, ‘त्यसको जरूरत छैन । एकछिनमा यो सुकिहाल्छ ।’ 
ती भद्र मानिसले मेरो हातमा धोती थम्याइदिँदै बाथरूमको ढोका देखाइदिए । सहरमा धोइएको खादीको मसिनो धोती पहिरिएर जब म बाथरूमबाट बाहिर आएँ तब देखेँ, एउटा सफा हाफ–शर्ट मेरो लागि उनीहरुले निकालेर राखिदिएका थिए । त्यसलाई पनि लगाएर हेरेँ, ठ्याक्कै मेरो ज्यानमा मिल्यो । त्यो कमिजको भित्रपट्टि घाँटीनिरको भागमा रातो रङको मोनोग्राम अङ्कित थियो जहाँ लेखिएको थियो, ‘टी पी के ।’
रेलगाडी जलालगढको स्टेशनमा आएर रोकियो । टिकट–चेकरले मलाई गढबनैलीको स्टेशनमै देखेको थियो । रेल रोकिनासाथ ऊ कराउँदै आयो, ‘कहाँ गयो त्यो केटा ?’ त्यसपछि ममा दृष्टि पर्नासाथ ऊ चिच्यायो, ‘निस्कीहाल् यहाँबाट ।’
ती भद्र मानिसले चेकरलाई रोक्दै भने, ‘सिमराहासम्मको लागि यसले थर्ड क्लासको टिकट लिएको छ । अब त्यसलाई फस्र्ट क्लासको बनाइदेऊ ।’
अघि धोती कमिज लिने समयमा मैले थोरै आनाकानी गरेको थिएँ तर यसपटक म बोल्नै सकिनँ । उता त्यो केटी जो मेरै उमेरकीजस्ती थिई, निरन्तर मुस्कुराइरहेकी थिई ।
त्यसपछि ती गोरो वर्णका भद्र मानिसले मलाई आफ्नो छेउमा बसाले । नाम, काम, पढाईलेखाईको बारेमा सोधपुछ गरे । मैले देखेँ, त्यो मुस्कानवाली केटीले ‘चाँद’ मासिक पत्रिकाको खोलले आफ्नो अनुहार छोपेर हाँसोलाई लुकाउने प्रयत्न गरिरहेकी थिई ।
मैले भनेँ, ‘गाउँका स्कूलहरूमा पढ्न मेरो मनले मान्दैन । पहिला गुरूकुल काँगडीमा जान चाहेको थिएँ तर बाबाले मान्नुभएन । अहिले शान्ति निकेतनमा जान्छु भन्छु तर आमाले मान्नुहुन्न ।’
युवतीले ‘चाँद’का पृष्ठहरू बन्द गरी । यसपटक त मेरो कुरा सुनेर ती भद्र मानिस पनि मुस्कुराउन सुरू गरेका थिए । मैले त्यस पत्रिकालाई हातमा लिँदै सोधेँ, ‘नयाँ अङ्क हो ?’ अनि दूबेजीको पत्र निकालेर पढ्न थालेँ । फेरि कुरा यसरी अगाडि बढ्यो कि मैले भारत–भारती पनि सस्वर वाचन गर्न लागेँ, ‘.... भगवान, भारतवर्षमा गुञ्जोस् हाम्रो भारती । ......’
भद्र मानिस मेरो वाचन सुनेर मन्त्रमुग्ध भए कि भएनन् कुन्नि ? तर उनको मुस्कानले मलाई उत्साहित बनाइरहेको थियो । अनि त्यस युवतीको मुस्कानलेचाहिँ उत्तेजित । त्यसपछि मैले रवीन्द्रनाथ ठाकुरका केही कविताहरू पनि वाचन गरेर सुनाएँ,
‘दिनेर शेषे घुमेर देश घोमता परा ए छाया .... 
भूलाल रे भूलाल मोर प्राण
नव वत्सरे करिलाम पन लबँ स्वदेशेर दीक्षा
....’
अनि मैले सोधेँ ती भद्र मानिसलाई,
‘तपाईँको नाम के हो ? कहाँ जानुहुन्छ ? कहाँबाट आउँदै हुनुहुन्छ ? घर कहाँ ?’
नाम सुनेर केही चमत्कृत बनेको थिएँ, ‘कोइलावाला ?’
उनले आफ्नो घर विराटनगर बताएपछि मैले अचानक मेरो मीतबुबालाई सम्झेँ । विराटनगरका ‘खरदार साहेब’ भन्थे, तर मैले उनलाई देखेको थिइनँ । आमा अनि बाबाको मुखबाट सुनेको थिएँ, मीतबाको कथा ।
‘मेरा मीतबा अर्थात् मेरो पिताजीको साथी पनि विराटनगरमै बस्नुहुन्छ ।’ मैले भनेँ ।
‘के नाम हो उनको ?’ सोधनी भयो ।
‘खरदार साहेब ।’
मेरो जवाफ सुनेर त्यो रूपवतीको हाँसो झन् छचल्कियो । विनाकारणको यो कस्तो हाँसो हो ?
‘कुन खरदार साहेब ? त्यहाँ त धेरै खरदारहरू छन् । खरदार कुनै नाम हैन । यो त जस्तो कि तपाईँकोतिर भन्छन् नि, मुन्सी, डिप्टी कलक्टर .... । यस्तै हो ।’
छोटे मियाँको मुख सानो भयो । त्यसोभए खरदार साहेब कुनै नाम हैन ? ऊ रन्थनियो, नाम हैन ? ‘जसले टेढीमा आश्रम बनाएका थिए । अनि उनले स्कूल पनि चलाएका छन् । ......’
‘ठिक छ । तपाईँ कहिल्यै विराटनगर जानुभएको छैन ?’ 
‘छैन ?’ 
‘त्यसोभए आउनुस् कुनैसमय । तपाईँका पिताजीको मित्र पहिलेदेखि नै रहेछन् अब तपाईँ पनि मेरो मीत बनेमा .... ।’
यसपटक त्यो सौभाग्यवती, जसको स्यूँदोमा सिन्दूर भर्खरै देखेको थिएँ, हाँस्दाहाँस्दा झण्डै मरिन ।
मैले भनेँ, ‘आउने मन त धेरै दिनअघिदेखि नै छ । तर ...’

रेलगाडीले मेरो गन्तव्यको निकटतम सीमारेखा पार गरिसकेको देखेपछि म आत्तिएँ, 
‘यी लूगा, कमिज धोती ...’
भद्र मानिस बोले, ‘ठिकै छ नि त । तपाईँ आउँदै हुनुहुन्छ पछि ।’
आफ्नो गाउँको स्टेशन सिमराहा स्टेशन यति छिटो पुग्नुको दुःख जीवनमा पहिलोपटक भइरहेको थियो । योभन्दा अघिअघिका यात्राहरूमा रेलमा चढ्नेबित्तिकै म यही सोच्ने गर्थेँ, बीचका स्टेशनहरूमा नरोकिएर यो रेलगाडी एकैचोटि हाम्रै स्टेशनमा आएर रोकिए हुन्थ्यो ।
———

गाउँको सीमाभन्दा बाहिर आइपुग्दा नै थाहा भयो कि घरको वातावरण असाधारण किसिमले तातिएको छ । बाबा हिजोदेखि नै आगो भएर मेरो ढाड आइपुग्ने समयको पर्खाईमा हुनुहुँदोरहेछ । खराऊको एक नयाँ जोडी मेरो ढाडको लागि तयार भएर बसेको छ भन्ने पनि थाहा पाएँ ।
बाबा भर्खरै आर्यसमाजी बन्नुभएको थियो । जबदेखि आर्यसमाजको चर्चा हुन थाल्यो मेरो बाबाको तामस तेज हुनथाल्यो । हामी अर्थात् उहाँका सन्तानहरूमाथि नै उहाँले आर्यसमाजको आर्षवाक्यको पहिलो प्रयोग सुरू गर्नुभयो । हामीलाई पिटपाट पार्नुभन्दाअघि उहाँ नियमपूर्वक केही श्लोकहरूको पाठ गर्नुहुन्थ्यो । ती श्लोकहरूको अर्थ हुन्थ्यो, ‘पाँचवर्षको उमेरसम्म लालन, दसवर्षपछि सम्भवतः सोह्रवर्षसम्म ताडन, त्यसपछि पुत्रसित मित्रको व्यवहार गर्नुपर्दछ ।’ मित्रताको गन्तव्य त अझ धेरै टाढा थियो । अनि यसपटक बाबालाई आफ्नो आर्यत्व देखाउने अपूर्व अवसर जुरेको थियो ।
गृह सम्वाददाताबाट योपनि जानकारी भयो कि बाबालाई मेरो छुट्टीकोबारेमा सबैकुरा थाहा भइसकेको छ । स्कूलका लामा छुट्टीहरूमा एक हप्ता अरू थपेर मैले घरमा सुनाउने गर्थेँ । एकपटक त डेढ महिनाभन्दा बढी छुट्टी त्यसरी नै मिलाएको थिएँ । र अझ यसपटक आफ्नो नीजि छुट्टीवाहेक तीन दिन अरू उडाएको थिएँ । छाता पनि रेल चढ्ने बेलामा खसेर हराएको थियो । त्योपनि बाबाकै थियो । नयाँ नै थियो त्यो । होस्टेलको बाँकी रकम छुट्टीअघि नै घरबाट असुलेको थिएँ तर होस्टेलमा अझै चुक्ता गरेको थिइनँ । बाबालाई योबारेमा पनि थाहा भइसकेको थियो ।
‘चलिरहेको रेलमा किन चढिस् ?’ यही एउटा प्रश्नमा बेतको लौरो पाँचपटक पर्ने पक्कापक्की थियो । ऊफ् ! यसपटक त बेसार र चूनाको न्यानो लेप लगाएपनि शरीरको दुखाइ जाँदैन होला । पिट्दापिट्दा मलाई बाबाले आज पक्कैपनि सत्यार्थ प्रकाश नै बनाउनुहुन्छ होला भनेर मनमनै सोचेँ ।
त्यो गृह सम्वाददातालाई एकन्नी पैसा दिएर नीजि सम्वाददाता बनाएँ । गाउँको सीमाभित्र खुट्टै राखिनँ । त्यहाँबाट पैदलै आठ माईल हिँडेर फारबिसगञ्ज गएर बसेँ । 

गाजीरामको दोकानबाहिर बेञ्चमा रातभरि पल्टिएर स्टेशनकोछेउ चौबाटोमा हुने रासलीलाका गीतहरू सुनेँ । हाम्रो गाउँमा रामलीला र रासलीलाका मानिसहरू पछिल्लो चारपाँच वर्षदेखि आउजाउ गर्न बन्द गरेका थिए । कारण, त्यस ईलाकाका धेरै मानिसहरू आर्यसमाजी बनेका थिए । हाम्रो गाउँका  मानिसहरू तिनलाई राम तथा कृष्ण अथवा राधाको रूपमा केटाहरूलाई नचाउने धूर्तहरूको मण्डली भन्दथे । 
..... बाबाका साथी पनि कतै आर्यसमाजी त हैनन् ? सोचेको थिएँ ।

आमाको मुखबाट सुनेका केही कथाहरूका पछिल्ला पङ्क्ति अझै पनि सम्झनामा थियो । आमा भन्नुहुन्थ्यो, ‘तेरो जन्मको के कुरा ? त्यो वर्ष मगनीपछि पहिलोपटक म ससुराल आएकी थिएँ । लोग्नेको घरमा । चौथो दिनको साँझ एक देउताजस्तो पुरूष अनि देवी दुर्गाजस्ती स्त्री हाम्रो घरमा आएका थिए । तेरो बाले आफ्नी आमासँग भन्नुभएको थियो, ‘आमा, सायद यी देवता नै हुन् ।’
तर उनी थिए खरदार साहेब । शिक्षाकोबारेमा प्रचार गरेको अभियोगमा उनलाई पिञ्जडामा कैद गरेर सपरिवार काठमान्डू पठाउने हुकुम भएको थियो । तर बडा हाकिमहरूको सहायताले गर्दा ती दुईजना सीमापार गरेर यता आएका थिए । टाढा जाने हो भनेका थिए, कलकत्ता, प्रयागतिर । पुलिसले थाहा नपाउने ठाउँमा । खरदार साहेबकी पत्नी मलेरियाले ग्रस्त थिइन् । माटो र फूसले बनेको हाम्रो झोपडीमा पन्ध्र दिनसम्म ती देवी र देवताले बास गरे । जाने बेलामा भन्दै गएका थिए, ‘यी दिन र यो मित्रता कहिल्यै बिर्सनेछैनौँ ।’

त्यो घटनाको धेरै वर्षपछि बाबाले गएको वर्ष सुनाउनुभएको थियो, ‘खरदार साहेबलाई नयाँ तीन सरकार (प्रधानमन्त्री) ले फीर्ता बोलाएका छन् । शिक्षाप्रचार गर्ने शाही हुकुम मिलेको छ । विराटनगरमा एउटा आदर्श विद्यालय खोलेका छन् जहाँ टेढी आश्रमका सबै शिक्षकहरूले काम गरेका छन् ।

‘अहँ, म अब बेतको लौरो खानका लागि घर जाँदिनँ । बरू म त्यो साथीको घरमा जान्छु जो रेलमा भेटिएका थिए ।’ यही निर्णयपछि बिहानको पहिलो गाडी चढेर म जीवनमा पहिलोपटक भारतको एक कुनामा रहेको जोगबनी पुगेको थिएँ ।
जोगबनी !
आजभन्दा पच्चिस वर्षअगाडिको जोगबनी । उत्तरतिर घना कालो तराई, हिमालका टाकुराहरूमा चम्किरहने घाम । तराईमा जहाँसम्म दृष्टि पर्छ त्यहाँसम्म कुहिरो र तुँवालोको बर्को । जताततै काठपातहरू । यतापट्टि भारतमा धान कुट्ने एउटा मिल थियो, उतापट्टि नेपालमा पहिलो जूट मिल बनिरहेको थियो ।
त्योभन्दा अघि जबजब म घरबाट भागेर हिँड्थेँ सधंै पुर्बोत्तरतिर जान्थेँ । कलकत्ता, भागलपुर, गोहाटीतिर । तर उत्तराञ्चलतिरको यो मेरो यात्रा पहिलो थियो । त्यतिबेला म चौध वर्षको थिएँ ।
उतिबेला जोगबनी स्टेशनको चीयास्टलहरूमा जस्तोखालको चीया पिउन पाइन्थ्यो त्यस्तो चीया त अचेल पटनाका ठूलाभन्दा ठूला होटेलहरूमा पनि पाइन्न । कटिहार— जोगबनी लाइनमा पूर्णियाभन्दा पछि जोगबनीको रेलस्टेशनमा मात्रै चीयाका स्टलहरू थिए । आजपनि छन् तर बाह्रतेह्रवर्षअघि पाइनेजस्ता चीया आजभोलि पाइन्न ।
स्टेशनको पुर्बतिर नेपाल—भारत सीमाको नजिक अन्य यात्रीहरूसँगै उभिएर मोटरगाडीको प्रतीक्षा गरिरहँदा थाहा भयो कि कसैले बिडीचुरोट राखेको छ र त्यो पक्राउ प¥यो भने त्यसलाई जेल पठाइनेछ । यो ती दिनहरूको कुरा हो जब नेपालका महाराजाधिराज अर्थात् पाँच सरकारको जन्मोत्सवमा एकाध दीयो बालिन्थ्यो अनि तीन सरकार अर्थात् राणा प्रधानमन्त्रीको जन्मदिनको अवसरमा विराटनगरमा होली र दीपावली एकसाथ मनाइन्थ्यो । सानो–सानो कुरामा पनि थुनामा परिने खतरा थियो । यस्तो राजनैतिक चेतना ऊबेलामा पनि थियो ।
मोटरको नाउँमा एउटा ट्रक आयो । आजपनि यातायातमा धेरै सुधार भएको छैन । ट्रक त के भन्ने, जँगली भैँसी मानौँ कम्मरसम्मको हिलोमा कर्दमक्रीडा गरेर आएको होस् । ट्रकमा खचाखच पहाडी नेपाली तथा गैरनेपालीहरू पनि भरिएका थिए । कुदाकुद गर्दै केही मानिस त्यहाँ झरे, केही उस्तै कलाबाजी देखाउँदै चढे पनि ।

हातमा खादीको झोला झुण्ड्याएर मैले ड्राइभरसित बिन्ती गरेँ । ड्राइभरको छेउमा बसेका एकजना पण्डितले मलाई आफ्नो नजिक बसाले । उनको छेउमा बस्नेबित्तिकै एकप्रकारको सुगन्धले मेरो प्राण भरियो । पण्डितजीको निधारमा चन्दनको लेपसँगै चामलका केही दानाहरू टाँसिएका थिए । देखेँ, यताका मानिसहरूले पनि खादीका पोशाक लगाउँदारहेछन् । कसले भन्छ नेपालीहरू फोहोरी हुन्छन् ? त्यो त बिचरा पहाडतिर ÷हिमालतिरका मानिसहरू हुन् जहाँ पानी छुनसम्म गाह्रो हुन्छ ।
पण्डितजीले सोधे, ‘कहाँ जाने हो ?’
‘साथीको घरमा ।’
‘साथीको नाउँ के हो ?’
‘नाम ! अस्पतालदेखि पश्चिमतिरको घर भन्थे । ..... कोइलवरवाला .... खुबै गोरा ... हाँसिरहन्छन् । खादी लगाउँछन् ।’
जोगबनीदेखि विराटनगरसम्मको सडक । हिलोमा फसेको गाडी चारपाँच दिनसम्म पनि ननिस्कँदो रहेछ । हामी चढेको ट्रक पनि कच्ची सडकको हिलोलाई मथ्दै बजारमा आइपुग्यो । चुङ्गी कार्यालयमा ।

पण्डितजीले भने, ‘हिँड म पु¥याइदिन्छु । मेरो घरपनि अस्पतालदेखि पश्चिममै पर्छ । तर कोइलवरवाला भन्ने त त्यता मेरो घरको छेउछाउ कोही छैन ।’
मैले सोधेँ, ‘कोइलावाला भन्ने कोही ...... ?’
हिलोमा मलाई सावधान गराउँदै उनी हाँसे । बाटोमा मैले सोधेँ, ‘यहाँ नगरपालिका या कुनै स्थानीय चिन्ह राखिएका कुनै सूचनापाटी छैनन् ?’
उनले भने, ‘आफ्नै साथीलाई सोध्नू गएर । यो बाटोमा हिँड्ने मान्छे हिलोधूलोसँग जोगिनुपर्छ । बोल्नु हुँदैन ।’

एउटा काठले बनेको घरनजिक गएर म उभिएँ । उनले सोधे, ‘के हो ?’ 
मलाई लागेको थियो, हिजो रेलमा भेटिएकी मुस्कुराइरहने युवतीले एउटा झ्यालमा बसेर यता हेरिरहेकी छे । त्यसोभए यही हो मेरो साथीको घर । मैले भनेँ,
‘यहाँ सोधौँ है त ?’
हाँस्दै पण्डितजीले भने, ‘यही हो तिम्रो साथीको घर । काठको दुईतले घर ।’

देखेँ, मेरो मित्र पनि कम रहेनछन् । दुनियाभरको सजावट घर वरिपरि थियो । हँ ? घोडामा चढिरहेको को हो ? यो त केटी हो ।
‘विशुको काल आएको छ ।’ पण्डितजी तलैबाट कराए । 
मैले उनलाई भनेँ, ‘धेरैधेरै धन्यवाद पण्डितजी ।’
उनले भने, ‘पहिला हातखुट्टा धोऊ ।’
मैले हातखुट्टा धोईवरी माथि हेरेँ । दुईतले त्यो घरको बरण्डामा रेलिङ समातेर एक दर्जनभन्दा बढी मानिसहरू मलाई नै हेरेर मुस्कुराइरहेका थिए । त्यहाँ मेरा साथी पनि थिए । रेलमा मुस्कुराइरहने त्यो विवाहित युवती पनि त्यहीँ थिई ।
देखेँ, खै’ के कुरामा परिवारका सबैजना हाँसिरहेका थिए !
देखेँ, पण्डितजी त्यही घरको आसनमा जमेर बसेका थिए ।
हिजोमात्र परिचित मेरो साथीले पण्डितजीतिर देखाउँदै परिचय गराए, ‘उहाँ मेरो पिताजी ।’
‘हँ ? यी पण्डितजी यिनको पिताजी ??’ म छक्क परेर हेरिरहेँ ।
साथीले भने, ‘तपाईँको मीतबा पनि उहाँ नै हो । अर्थात् खरदार साहेब ।’
मैले मीतबा अर्थात् पण्डितजीको चरण छोएर ढोग गरेँ ।
पिताजीले भन्नुभयो, ‘उता तिनीहरू किन हाँसिरहेछन्, थाहा छ तिमीलाई ?’

हाँसिरहेकी बुनू (विजयालक्ष्मी)ले तोतेबोलीमा भनी, ‘कस्तो अचम्मको कुरा ! कमिज लगाइदिने तारिणी दाज्यूको अनि साथी भन्ने सान्दाजुलाई ?’
मुस्कुराइरहने युवतीले भनिन्, ‘म त रेलमै झण्डै मरेकीथिएँ हाँस्दाहाँस्दा ।’
मेरो साथी अर्थात् बीपीले भने, ‘अब तपाईँ र मपनि मीत भयौँ । हिहिहिहि ।’

त्यो परिवारको सान्दाजु अर्थात् मेरो साथीले मुस्कुराउने युवतीको परिचय दिए, ‘यिनी सुशिला हुन् । तपाईँकै दर्जामा पढ्छिन् तर भारत–भारती सस्वर पाठ गर्न सक्दिनन् ।’
त्यतिञ्जेल मैले हिजो रेलबाट लगाउँदै आएको हाफ–शर्टको मालिक आइपुग्यो । आउनेबित्तिकै मलाई जोडसँग अङ्कमाल ग¥यो र उता फर्केर भन्यो, ‘देख्नुभो भाउजु ? मैले भनेको थिएँ नि, मेरो हराएको कमिजले केही खोजेरै फीर्ता आउनेछ । एउटा ‘मुसल्लम मितर’ भेटियो ।’
(तारिणीले पनि मलाई मुसलमान ठान्यो ।)
तुरून्तै मित्रतामा फेरबदल भयो । तारिणीले मलाई जित्यो । मुस्कुराइरहने सौभाग्यवती सुशिला भाउजुलाई भक्तिपूर्वक झुकेर प्रणाम गरेँ । भाउजुले कुनै आशिर्वाद दिनुभएन, हाँसिरहनुभयो ।

सान्दाजु, विश्वेश्वरप्रसाद कोइराला ।
ठूलो दाजु, श्री मातृकाप्रसाद कोइराला । उहाँ काठमान्डूमा हुनुहुन्थ्यो र उहाँको तस्वीर सबै भाइबहिनीहरूको कोठामा झुण्डिएको थियो । सान्दाजुले गर्व र आदरकासाथ भन्नुभएको थियो, ‘हाम्रो ठूलो दाज्यू । यो फोटोचाहिँ पटनाको सदाकत आश्रममा छँदाको हो ।’
माहिलाचाहिँको नाम कोशु दाज्यू । केशवप्रसाद कोइराला । कलकत्तामा पढ्नुहुन्थ्यो । उहाँको चिठी आएको थियो । पार्सलमा रसबरी मिठाई आउँदै थियो ।
सबैभन्दा कान्छो गिरिजाप्रसाद कोइराला जो त्यतिबेला सातआठ वर्षको थियो, उसले यामानको पहाडी घोडालाई नचाइरहेको थियो । त्यत्रो ठूलो घोडा अनि त्यसमा सवार मान्छेचाहिँ यति सानो ?

श्री कृष्णप्रसाद कोइराला समस्त विराटनगरका, समस्त मोरङ जिल्लाका अनि समस्त नेपाल देशका पिताजी थिए । पिताजी, कोइराला निवास, आदर्श विद्यालय ।
गाइगोठजस्तो घाँस र सिठाले बारेको घरमा आदर्श विद्यालयको कक्षा चल्थ्यो । एकपटक कक्षामा बसिसकेपछि मैले निर्णय गरेँ, ‘म यहीँ पढ्छु ।’
पिताजीले मेरो बाबालाई पत्र लेख्नुभयो, ‘रेणुले यहीँ पढ्नेछ ।’
रेणु नाम पनि पिताजीले नै दिनुभएको हो ।

एक दिन उहाँले मलाई सोध्नुभयो, ‘घरमा तिमीलाई के नामले बोलाउँछन् ?’
मैले के भन्नु ? जुन वर्ष मेरो जन्म भएको थियो त्यही वर्ष एउटा ठूलो फौजदारी मुद्दाका कारणले हाम्रो परिवारमा पहिलोपटक रीन लागेको रहेछ । त्यसैकारण मेरी बज्यैले मलाई प्रेमसाथ रिनवाँ (ऋणवाँ) भनेर बोलाउँथिन् । रिसाएको बेलामा बाबाले पनि यही नामले बोलाउनुहुन्थ्यो । गाउँका मानिसहरूलेचाहिँ यही नामलाई यथासक्य मधुर बनाउँदै रनवाँ, रूनु, रूनुक, रीनू भनेर बोलाउँथे । यदि त्यो मुद्दा पहिलो फौजदारी भएको भए मेरो नाम निश्चय नै फौजदार हुनेथियो होला ।

मैले माथिका नामहरूलाई सक्दो सुधारेर भनेँ, ‘राणा भनेर बोलाउँछन् ।’
मेरो कुरा सुनेर वरिपरि भएकाहरू सबै गलल्ल हाँसे । मेरो साथी तारिणीले भन्यो, ‘यो राणाशाही यहाँ चल्नेछैन ।’
पिताजीले भन्नुभयो, ‘ल यसको नाम अब रेणु भयो ।’
यही नाम रह्यो । यो नाम र लामो कपाल भएको बेलामा धेरैपटक म लज्जित पनि बन्नुपरेको थियो ।

त्यस समयपछि लगातार तीन महिनासम्म म आफ्नो गाउँमा आजसम्म बसेको छैनँ ।
१९३५ देखि १९४२ सम्म पिताजीको सहज स्नेहको अधिकाँश मलाई मिलिरह्यो । आश्रमजस्तो कोइराला निवासमा मेरा सारा महत्वाकाँक्षालाई सहारा मिल्यो । साहित्य, राजनीति र कलाको त्रिवेणी कोइराला निवास । जहाँ गएपनि मेरो मन विराटनगरमै हुन्थ्यो । बाहिर कतैबाट फर्केर म सिधै विराटनगर पुग्थेँ । मेरो यस्तो व्यवहारले मेरा बाआमाले कहिलेकाहीँ दुःख पनि मान्नुहुन्थ्यो ।
मैले देखेको छु, कोइराला निवासको एउटा साँघुरो कोठामा नेपालको मुक्तिको परिकल्पना नयाँ ढँगबाट गरिएको थियो । शहीद शुक्रराज जोशीआदिको हत्याको आवाज यही कोठाबाट निस्केर भारतीय पत्रहरूमा छापिएका थिए । ‘जनता’मा नेपालको चिठी छाप्ने योजना पनि बनाइएको थियो । अनि विश्वेश्वरप्रसाद कोइरालाका उम्दा कथाहरूको रचना पनि त्यही सानो कोठामा भएको थियो । मैले दुनियाका सबै राम्रा र प्रसिद्ध लेखकहरूको सम्बन्धबारेका चर्चा पनि त्यहीँ सुनेको हुँ । ती लेखकहरूको पुस्तक पनि त्यही कोइराला निवासमै पढ्ने अवसर पाएको हुँ । ती दिनहरूमा विजया जसको उमेर पाँच वर्षको हुँदो हो, एउटा किताबको नाम खुब रट्ने गर्थी, ‘नो पासाराँ, नो बागाराँ ।’
सानीआमा श्रीमती दिव्या कोइराला सबैसँग भन्नुहुन्थ्यो, ‘मेरा पाँच हैन छः छोराहरू छन् ।’

सन् १९५० को तिहारको झिलीमिली रात । 
जय नेपाल ! 
मुक्ति सँग्रामका सिपाहीहरूले बन्दुकको ट्रिगर दबाए । फस्र्ट राउण्ड गोली थ्रीनटथ्रीबाट निस्केको थियो । मैले देखेको थिएँ, मलाई देखेर नेपाल मेरी सानीआमा स्वर खोलेर हाँसेकी थिइन्,
‘तिमी पनि आएको ? तिमी पनि ? यो फौजी बर्दीमा ?’
‘सान्दाजुलाई हेर्नुहोला । मलाई के हेर्नुहुन्छ ?’
पुर्बको कमाण्ड बीपी कोइरालाको । कलम हैन उहाँको हातमा दामी बन्दुक थियो । एकसाथ डेढसय गोली निकाल्ने बन्दुक ।
टट्टठायँ ...... टट्टठायँ .....
‘बिकू ? सुतेर भाइ सुतेर ।’
राणाशाहीले स्टेनगनले जवाफ दिइरहेको थियो, ट–ट–ट–ट–ट टटटटट ट–ट–टट 
‘बिकू ? तिमीसँग गोलीहरू छन् ? गिरिजालाई देऊ ।’
कोइराला निवासमै हुर्केबढेको बीपीको छेमाको छोरा बिकूलाई गोली लाग्यो । उसको साथमा म थिएँ । गिरिजा पनि थियो ।
‘टटठायँ .... टटठायँ .... ।’
‘जय नेपाल ! जय नेपाल !!’
राणाशाही स्टेनगन चुप लाग्यो ।

बाग्मतीको किनारमा एउटा फोहोर धर्मशालाको कालकोठरीमा नेपालका पिताजीले बन्दी अवस्थामै मृत्युलाई अँगाल्नुपरेको थियो । भारतका बापू आगा खाँको राजभवनमा बन्दी थिए । अनि नेपालका पिताजी त्यस्तै  अत्याचार भोग्दै नेपालमा नजरबन्दी थिए । भारतीय मुक्तिसँग्रामका लागि आफ्नो देशमा यसरी शहीद हुने दोस्रो उदाहरण मैले आजसम्म थाहा पाएको छैनँ ।
मेरो छेउमा ढल्केर राणाशाहीको विरूद्धमा फायरिङ गरिरहेको त्यस सुकुमारको अनुहारमा मैले पिताजीको आत्माको झलक देखेको थिएँ । गिरिजाको अनुहारमा । पिताजीको सबैभन्दा कान्छो छोरा, हाम्रो प्यारो कान्छो भाइ .... । 
‘रेणु दाज्यू, जेलमाथि विजय । मालअड्डा बजारमाथि विजय । अमिनी .... सबैमाथि विजय ।’ गिरिजाले सुनाउँदैथियो । उता बिकूले भनिरहेको थियो, ‘रगत थामिएन । केही लुगा छ भने दिनोस् घाऊमा बाँध्नका लागि ।’
राणाशाही स्टेनगनले फेरि आगो ओकल्न थाल्यो । मुक्ति सँग्रामका सिपाहीहरूले त्यसको जवाफ दिएनन् ।  गोरिल्ला लडाइँको नियम नै खास अलग हुन्छ ।

विराटनगरका प्रत्येक घरमा क्रान्तिको झण्डा फर्फराउन लाग्यो । बडाहाकिम उत्तमविक्रम राणाले आफ्नो घरलाई नै युद्धको किल्ला बनाएका थिए । मुक्ति सेनाले विराटनगरका मिलहरूमाथि कब्जा गरिसकेको थियो । दुईओटा जूट मिल, एउटा सुती कपडाको मिल अनि एउटा सलाईको फ्याक्ट्री र हाईड्रो ... । शहर खाली गर्ने योजना पनि चलिसकेको थियो ।
मैले काशीमा गएर बस्नुभएकी सानीआमालाई चिठी लेखेँ, ‘बिकूलाई हवाईजहाजबाट पटना लगिएको छ । चोट सामान्य छ ।’

यसपाली विजयादशमीमा विशेष प्रणाम पठाउने समयमा मैले सानीआमाको तस्वीरलाई गहिरो ध्यानले हेरेँ । यस्तो लाग्यो, मानौँ उहाँले सोधिरहनुभएको छ, ‘हो कि हैन ? तिमीले नै त भनेको थियौ महाराजा कवि अनि प्रधानमन्त्री कथाकार ...। सँसारमा यसखालको जोडी अत्यन्तै कम पाइएको छ । साहित्यिकहरूको हातमा एउटा देशको जिम्मेदारी छ । आफ्नी सानीआमा र नेपालको सम्झना तिमीलाई अझैपनि आउँछ ?’
कुनै जवाफ मनमा फुरेन । 

(‘ज्योत्स्ना’ नोभेम्बर १९६१ मा प्रकाशित तथा रेणुको आत्मकथाको पुस्तक ‘आत्म—परिचय’मा सङ्कलित)

अनुवाद : जेबी दर्लामी
०००
published : Tarangga, Jestha 1, 2074

Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...