जेबी दर्लामी
चेतनाको हिसाबले अर्घाखाँची जिल्लालाई अग्रणी जिल्लाकै रुपमा हेर्ने गरिन्छ । अझ राजनीतिक चेतना यहाँ महिला पुरुषमा बराबरी नै देखिन्छ । तर यहाँको पुरुषवादी सामन्ती समाजले महिलालाई अधिकार दिने मामिलामा सधैं नै केही न केही षडयन्त्र गर्ने गरेको छ । त्यो षडयन्त्रको सिलसिला भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि राम्ररी देखिएको छ ।
स्थानीय तहको निर्वाचनको घोषणालगत्तै यस जिल्लामा पनि राजनीतिक दलहरूले धमाधम उम्मेदवारका नाम बाहिर ल्याए । नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख या उपाध्यक्षमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने नियमलाई केही समय सबै दलहरूले आत्मसात गरेजस्तो पनि गरे । तर जब तालमेलको समय आयो, सबैले महिलालाई बिर्सिए ।
जिल्लाको दक्षिणी भूगोलमा अवस्थित शितगंगा नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसले मीना पौडेल र माओवादी केन्द्रले सीता अधिकारीको नाम अगाडि सा¥यो । असारको तीन गते अर्थात् उम्मेदवारी दर्ता गरिने अघिल्लो दिनसम्म पनि नगरपालिकाको उपप्रमुखमा यी दुई महिलाको नाम प्रचार भइरहेको थियो । तर जब तीन गते यी दुई पार्टीबीच चुनावी तालमेलको छिनोफानो भयो तब यी दुई नामहरू कतै इतिहासमा सिमित भइदिए । आखिर तालमेल अपेक्षाकृत सफल पनि भयो र नगरपालिकाका मेयर र उपमेयर दुवै पदमा पुरुषहरूले कब्जा गरे ।
त्यही अवस्था भुमेकास्थान नगरपालिकामा पनि भयो । यस नगरपालिकाका उपप्रमुखहरूमा माओवादी केन्द्रले छमकुमारी थापालाई रोजेको थियो भने काँग्रेसले श्रृजना थापालाई । छमकुमारी थापा जनयुद्धकालदेखि नै पार्टीमा आबद्ध थिइन् र सम्भावना बोकेकी नेतृ थिइन् । तर यहाँ पनि जब काँग्रेस माओवादीबीच तालमेल भयो, निर्वाचनको मुखैमा आएर यी दुईलाई पनि पाखा लगाइयो । फलस्वरुप नगरपालिकाका प्रमुख र उपप्रमुखका दुवै कुर्सीमा पुरुषहरू बस्न पुगे ।
त्यसैगरि नै चुनावी तालमेलको नाममा मालारानी गाउँपालिकाबाट नेपाली काँग्रेसले उपाध्यक्षका उम्मेदवार शान्ता खनाललाई हटायो । तर यहाँ चुनावी तालमेल असफल भयो र परिणाम नेकपा एमालेको पोल्टामा आयो ।
यो चुनावमा महिलालाई यतिसम्म प्रयोग गरिएको छ कि उदाहरणका लागि जिल्लाको आजसम्म केन्द्र रहँदै आएको सन्धिखर्क नगरपालिकामा नेपाली काँग्रेसले लामो समयसम्म उपप्रमुखको नाम सार्वजनिक गरेको थिएन । काँग्रेसको यो रणनीतिलाई कतिपयले तालमेलको विकल्प बचाएको भनेर विश्लेषण गरिरहेका थिए । माओवादी केन्द्रले भने कमला भुसाल भण्डारीको नाम अगाडि सारेको थियो । तर उम्मेदवारी दर्ताको हप्तादिन अघि मात्रै अचानक नेपाली काँग्रेस अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाको उपमेयरमा कमला आचार्यको नाम ल्याएर आयो । तर त्यो सब काँग्रेसको चाल थियो । असार तीन गते उसले माओवादी केन्द्रसित तालमेल ग¥यो र आचार्यलाई पाखा लगाउँदै आफूले मेयर पदमा वार्गेनिङ ग¥यो । माओवादी केन्द्रले पनि कमला भुसाल भण्डारीलाई मिल्क्याउँदै उपमेयरमा पुरुष उम्मेदवारलाई सुरक्षित ग¥यो । यसरी सन्धिखर्कमा पनि दुई महिलालाई बलि चढाइयो र पुरुषहरूले आफूलाई नगरपालिकाका दुई महत्वपूर्ण स्थानमा स्थापित गराए ।
लामो समयसम्म हिन्दू वर्णव्यवस्थाको चपेटामा परेर पशुको जीवन बाँच्न विवश यस जिल्लाका महिलाहरूले आफू पनि मानव भएको प्रमाण दिन पटकपटक प्रतिरोधमा उत्रनु परेको थियो । माओवादीले सञ्चालन गरेको दसवर्षे युद्धमा जिल्लाका सयौँ महिलाहरूले घरबाट बाहिर निस्केर राज्यसत्तालाई चुनौती दिएका थिए । तीमध्ये कयौँ मारिए पनि । अर्घाखाँचीका महिलाहरू पनि कुनै पुरुषभन्दा कम छैनन् भन्ने गतिलो उदाहरण उनीहरूले दोस्रो जनआन्दोलनमा पनि देखाएका थिए । हजारौंहजार मानिसहरू सडकमा निस्केको त्यो समयमा महिलाहरू पनि पुरुष बराबरकै सँख्यामा थिए । तर स्थानीय सरकारलाई चुस्त दुरुस्त बनाउन भनेर गरिएको स्थानीय निर्वाचनमा आएर जिल्लाका महिलाहरूलाई फेरि एकपटक असक्षम, नालायक र पुरुषको छत्रछायामा आश्रित देखाउने कुचेष्टा गरिएको छ ।
०
No comments:
Post a Comment