यो महिना कवि तथा पत्रकार कृष्ण सेन इच्छुकले सहादत प्राप्त गरेको महिना हो । शिक्षित र विकसित देशहरूमा कवि लेखकहरू आजीवन र मृत्युपर्यन्त पुजिएका छन्, तर बिडम्वना हाम्रो देशमा उनीहरू मारिन्छन् अझ जनताको सुरक्षाको जिम्मा लिएको राज्यको निकायबाटै । इच्छुकका हत्यारा विक्रम थापालाई ‘पुलिस अफ दि इयर’को उपाधि दिइएको थियो । कलमसित डराएर थर्कमान बनेका काठमाडौंका तत्कालीन डिआईजी अमरसिंह शाह ‘हामीले मजाक मात्रै गरेका थियौँ तर सेन त साँच्चै पो म¥यो’ भन्ने खालको अत्यन्तै घृणित वक्तव्य दिँदै शान्ति स्थापनार्थ कोशोभो पुगेका थिए । तर इतिहासले ती खलपात्रहरूलाई सधैं तिरस्कृत गरिरहनेछ । कृष्ण सेन इच्छुकहरू भने जनताका मनभित्र बाँचिरहनेछन् । पत्रकार सेन निडर र साहसी पत्रकारहरूको आदर्शबिम्ब हुनुहुन्छ । जसले सत्यको बदलामा कुनै सम्झौता गर्दैनन् उनीहरू सबैका लागि सेन एक उदाहरणीय र अनुकरणीय अगुवा हुनुहुन्छ । कृष्ण सेन इच्छुकसित अप्रत्यक्ष जोडिएका केही सम्झनाको शाब्दिक चित्र—
जेबी दर्लामी
मान्छेलाई जतिसुकै एक्लो तुल्याए पनि
सचेत मान्छेका सुन्दर विचारहरू कहाँ एक्लिन्छन र ?
एकलासको रोबेनद्वीप जस्तै
मान्छेलाई जुनसुकै निर्जन टापूमा पु¥याए पनि
आफूले आफैलाई नअलग्याएसम्म
प्रियजनसित मान्छेका मनहरू कहाँ अलग्गिन्छन र ?
.......
(बन्दी र चन्द्रागिरि, इच्छुक)
समय कति चाँडै बितेछ । कवि एवम् पत्रकार कृष्ण सेन ‘इच्छुक’लाई शाही सत्ताले मारेको पनि आज सोह्र वर्ष पुगिसकेछ । सोह्र वर्षको लामो समयावधिभर रापतीमा कति पानी बग्यो होला ? तर जब म कवि सहिद इच्छुकलाई सम्झन्छु, समय कतै स्थीर भएझैँ लाग्छ । त्यही सँकटग्रस्त समय । त्यही डरमर्नु समय । त्यही कालो घाम उदाउने समय ।
इच्छुकसित कुनै दिन भेट भएन तर उनको सम्झना गर्दा मलाई धेरै धेरै कुराको सम्झना आउँछ । धेरै धेरै मानिसहरूको सम्झना आउँछ । आफ्नो बालापनको याद आउँछ । थाहै नपाइ हुर्केको आफ्नो उमेरको याद आउँछ । अनि बितेका पलहरूले भावुक बनाउँछन् ।
२०५९ सालको जेठ १३ गते तत्कालीन सत्ताले कवि इच्छुकलाई निर्ममतापूर्वक हत्या गरेको थियो । कथित कवि राजा जी. शाहले शासन गरेको देशमा कवि भनाउँदो राजा स्वयम् कवितासित नराम्ररी तर्सेको थियो । त्यही हतोत्साही मनस्थितिमा उसले एउटा कविलाई यातना दिएर मारेको थियो । ज्ञानेन्द्रलाई भलै आजको सत्ताले माफी दिएको होला तर आम जनताका निम्ति लेखिइने कविताहरूले कहिल्यै क्षमा दिने छैनन् ।
इच्छुकलाई मैले पहिलोपटक जनादेश साप्ताहिकको सम्पादकको रुपमा चिनेको हुँ । जनादेश तत्कालीन नेकपा माओवादीको मुखपत्र थियो । २०५१ सालमा म लापे निमाविको छात्र थिएँ । हाम्रो अँग्रेजी सर हुनुहुन्थ्यो, गङ्गाबहादुर सेन । उहाँ त्यतिबेला त्यस स्कूलको प्रधानाध्यापक पनि हुनुहुन्थ्यो ।
सेन सरको परिवार देहरादूनमा बसेर आएको थियो । अँग्रेजीमा गङ्गा सरको राम्रो दख्खल थियो । दुईटी श्रीमती बिहे गर्नुभएको भन्ने थाहा थियो । तीनचार बहिनी छोरीहरू तत्कालीन लापे निमावि (हाल मावि) मा अध्ययन गर्थे । उनीहरूको नाम वन्दना, श्रृजना आदि थियो । श्रृजनाले हामीसितै पढ्थी पाँच कक्षामा । आफ्नो बुबाकोजस्तै खस्रो स्वर थियो । हामी केटाहरूसित खुब झगडा गर्थी । एकपटक खै’ के कारणले हो, उसको कपाल खौरिएको थियो । पूरै मुडुली बनाएर । कानसम्म ढाक्ने टोपी लगाएर आएकी थिई तर हामीले पत्तो लगाइहाल्यौँ । अनि के थियो र ? केटाहरू ‘मुडुली माऊ माखा छोपी खाऊ’ भन्दै कराउन थालिहाले ।
श्रृजनाको रिस खुब देख्न पाइएको थियो त्यो दिन । अहिले सम्झँदा स्मृतिदँशले बेस्सरी सताउँछ ।
केहीसमयपछि मैले लापेको स्कूल छाडेँ र आफ्नै गाविसमा पर्ने लौरी भन्ने ठाउँको निमाविमा भर्ना भएँ । गङ्गा सरले पढाउन छाड्नुभएको खबर सुनेँ । केही समयपछि सुनेँ, उहाँलाई क्षयरोग लागेको छ । सजिलै निको हुने रोग नै लागेको थियो तर उहाँलाई निको भएन । खै’ के कारणले हो ? मानिसहरूले सुनाउँथे, औषधिउपचारमा लापर्वाही गर्नुहुन्छ रे । उहाँ थला पर्दै जानुभएछ । अनि एकदिन मुटु नै चिरिदिने अशुभ समाचार पनि हामीले सुन्यौँ, गङ्गा सर बित्नुभयो रे । धेरै नै नरमाइलो लागेको थियो मलाई । गङ्गा सरको चश्मा लगाउनुपर्ने आँखाहरू अझैपनि सम्झनामा आउँछन् ।
एकदिन हामीलाई गङ्गा सरले सधैंझैँ गृहकार्य दिनुभएको थियो । चार बजे छुट्टी हुने समयमा केही अँग्रेजी वाक्यहरूलाई नेपाली अक्षरमा आआफ्नो कापीमा लेख्न लगाउनुभयो । अँग्रेजी पढाउने सरले किन नेपाली अक्षर लेखाउँदै हुनुहुन्छ भनेर आश्चर्य लागेको थियो । पछि हाम्रो आश्चर्य भयानक डरमा परिणत भइदियो । लेखिएका नेपाली अक्षरहरूलाई अँग्रेजी बनाएर ल्याउने सरको हुकुम सुनियो । हामीलाई त्यतिसारो डर लाग्नुको कारण थियो, धेरै वाक्य हामीले पढ्ने किताबमै थिएनन् । र झनै अर्को डरलाग्दो कुरा के थियो भने एउटा शब्दार्थ बिगारेको बदलामा एक लठ्ठी पुरस्कारको व्यवस्था गरिएको थियो ।
भोलिपल्ट हामीले ‘राते’ भनेर बोलाउने टेकबहादुर बिक नामको साथीले १५ लठ्ठीसम्मको पुरस्कार पाए । सरकै छोरी श्रृजनाले पनि ५÷६ लठ्ठी भेट्याई । सरको नजरमा ‘रुल ईज रुल’ । यसैबाट उहाँको निष्पक्ष व्यवहार छर्लङ्ग हुन आउँछ । मैले त सबै मिलाएको छु भनेर मख्ख परेको थिएँ तर एउटा शब्द बिगारेको रहेछु । मैले ‘अन्टी’ लेख्न नजानेको रहेछु । मेरो कापी जाँचिरहँदा गङ्गा सरले चश्माभित्रबाट मलाई एकछिन टुलुटुलु हेर्नुभयो । त्यसपछि मलाई अगाडि बोलाउनुभयो । उहाँका आँखाहरू हाँसिरहेका थिए । त्यही भावमा उहाँले मेरो गल्ती देखाउनुभयो । मैले एक लठ्ठी पाउनुपर्ने भयो । सरका अगाडि आफ्नो हात पसारेँ र पुरस्कारको पर्खाईमा उभिएँ । सरले लौरो उज्याउनुभयो तर पिट्नुभएन । यसपाली उहाँका ओँठहरू पनि हाँसे । हाँस्दै उहाँले स्नेह भरिएको खस्रो स्वरमा भन्नुभयो,
‘जा, मिनाहा भयो ।’
लठ्ठी खान तयार भएको मन फुरुङ्ग बन्यो । खुसीले नाक फुल्याउँदै म आफ्नो बेञ्चमा गएर बसेँ । केही साथीहरूले डाहले हेरे । केहीले कुरा पनि काटे । गङ्गा सर र गणित सर सीताराम सुवेदीले प्रायः विद्यार्थीहरूलाई पिटेको देख्थेँ । सायद केही विद्यार्थीहरू पिटाई खानका लायक नै थिए होलान् भन्छु । तर मलाई उहाँहरूले कहिल्यै पनि पिटेको या अरु कुनै सजाय दिएको मलाई सम्झना छैन । अझ टङ्क न्यौपाने सर त कहिल्यै अलिकति चर्को बोलेको पनि मैले सुनिनँ । माथि नै लेखिसकेको छु, कवि इच्छुकको सम्झना गर्दैजाँदा मेरो मनमा धेरै असल मानिसहरूको सम्झना आइहाल्छ । मेरा यी गुरुहरूको पनि स्मरण हुन आउँछ । पानीले धोएर नजाने यी यादहरू ।
एक दिन चौरमा खेल्दैगर्दा एकजना विद्यार्थीको तिघ्रामा बिच्छीले टोक्यो । अब के गर्ने ? सबै डरायौँ । गङ्गा सर आउनुभयो र त्यस विद्यार्थीको तिघ्रा जहाँ बिच्छीले टोकेको थियो त्यो ठाउँमा आफ्नो खाली मुखले चुस्न थाल्नुभयो । चुस्दै निस्केको विषमिश्रित रगत थुक्दै गर्नुभयो । उहाँको यस्तो सरल र प्रेमिलो स्वभाव देखेर हामी सबै हेरेको हे¥यै भएका थियौँ ।
गङ्गा सर बित्नुभएपछि के के भयो के के । मपनि हण्डरठक्कर खाँदैखाँदै कहाँ कहाँ पुगेँ । सरको परिवारले घरबारी बेचेर कता बसाईँ स¥यो, यो पनि मलाई थाहा भएन । अर्घाखाँची जिल्लाको साविकको जलुके गाविसमा पर्ने सातमारा भन्ने गाउँमा थियो उहाँको घर । रापती नदीको किनारामा । दाङ जिल्लामा पर्ने भालुबाङ बजारको वारिपट्टि । पुलको छेवैँमा थियो गङ्गा सरको घर । रापती तरेर अर्घाखाँचीको माटोलाई छुँदा पहिलो घर पनि उहाँकै पथ्र्यो । अहिले कहिलेकाहीँ त्यो बाटो भएर हिँड्नुपर्दा जब म त्यो ठाउँलाई हेर्छु नचाहेर पनि आँखा रसाउँछन् । उहाँहरूको घरबारी अरु कसैले भोगचलन गरिरहेको देख्दा मन अमिलो हुन्छ । गङ्गा सरको जीवन, उहाँको बोली, व्यवहार, विद्यार्थीहरूलाई सधैं हौसला दिने उहाँको मन, अनि उहाँको मृत्यु र परिवारको पलायन कुनै नराम्रो सपना हो कि जस्तै लागिरहन्छ ।
मैले धेरैपछि थाहा पाएको थिएँ कवि कृष्ण सेन ‘इच्छुक’ त गङ्गा सरका दाजु हुनुहुँदो रहेछ । तर जतिबेला मैले यो कुरा थाहा पाएँ, त्यो समयमा न म गङ्गा सरको विद्यार्थी थिएँ न गङ्गा सर सशरीर हाम्रोमाझ हुनुहुन्थ्यो ।
इच्छुक आफ्नो त्यस घरमा आएर बसेको मलाई थाहा छैन । २०५८ सालको कुरा । इच्छुकलाई तत्कालीन सत्ताले गिरफ्तार गरेको थियो । त्यही जेल बसाईकै क्रममा उनले एउटा काव्य कृतिको रचना गरेका थिए । लामा कविताहरूको सङ्कलन थियो त्यो, ‘बन्दी र चन्द्रागिरि’ शीर्षकको । त्यसमा डा. श्रृषिराज बरालले भूमिका लेखेका थिए । भालुबाङको खनाल पुस्तक पसलबाट किनेर घर लगेको थिएँ मैले त्यो काव्यकृति । पसलका साहू खनालजीले ‘इच्छुक अस्ति मात्रै यहाँ आउनुभएको थियो’ भनेर सुनाउँदा मलाई कम पछुतो लागेको थिएन, उनलाई भेट्न नपाएकोमा ।
त्यही समय केही महिना चलेको युद्धविराम अचानक भङ्ग भयो । देशैभरि सैनिक परिचालन भयो । मेरा गाउँलेहरूका घरमा लाइसेन्सविनाका बन्दूकहरू उल्लेख्य मात्रामा थिए । उनीहरूलाई त्यो लुकाउन हम्मे प¥यो । कसैले मलखादमा लुकाए । कसैले खरबारीमा लगेर राखे । कसैले माटोमुनि पुरे । हाम्रो घरमा बन्दूक त थिएन तर राज्यको नजरमा गैरकानूनी बन्न सक्ने थुप्रै पुस्तकहरू थिए । मैले आफूसित भएका ती किताबहरू च्यात्न जलाउन सकिनँ । युवाहरूको गीत, अग्निदीक्षा, आमा, मई दिवसलगायतका पुस्तकसँगै बन्दी र चन्द्रागिरिलाई पनि बाक्लो प्लाष्टिकमा बेरेर एक डाँडा कटाएँ र एउटा ठूलो रुखको धोद्रामा लुकाएर राखेँ । घरमा अरु किताबहरू पनि थिए तर लुकाएर आएका ती किताबहरूको यादमा बितेका दिनहरू सारै नरमाइला थिए । अहिले सम्झँदा पनि कस्तो कस्तो लाग्छ ।
सङ्कटकाल केही खुकुलो बनेपछि मैले ती किताबहरूलाई घरमा ल्याएर आएँ । कुनै सग्ला थिएनन् । सबैमाथि धमिरा लागेका थिए । बन्दी र चन्द्रागिरिका पनि केही अक्षरहरू पढ्न नमिल्नेगरी धमिराले खाइदिएका थिए ।
२०५९ मा सिद्धाराबाट म सन्धिखर्क आएँ । पछि सुनें, इच्छुकले जनादेश छाडेर जनदिशाको सम्पादन गर्न सुरु गरे । पटकपटक पक्राउ परे । पटकपटक जेल गए । असिमित यातना सहनुप¥यो । तर उनले आत्मा बेचेर कहिल्यै सम्झौताको बाटो हिँड्न चाहेनन् । उनका पनि आफन्तहरू थिए । उनको पनि परिवार थियो । श्रीमती र छोरी थिए । व्यक्तिगत इच्छा र आकाङ्क्षाहरू पनि थिए होलान् तर व्यक्तिगत फाइदा र स्वार्थलाई उनले सधैं पछाडि राखेर हिँडे । सधैं देश र मुक्तिकामी जनताको लहरमा आफूलाई उभ्याए । त्यही आस्थाका खातिर उनी राज्यद्वारा सताइए, कुटिए पिटिए र अन्तमा मारिए पनि । तर उनको आस्था मृत्युको क्षणसम्मै धर्मराएन । सत्तासँग झुकेको भए उनले पनि माफी पाउने थिए ।
पछिल्लोपटक उनलाई पक्राउ गरेर छाडिएन । जेलभित्रै कुटीकुटी मारियो । उनलाई आफ्नो जिन्दगी सङ्गीनको निशानामा छ भन्ने कुरा राम्ररी थाहा थियो । विचलित भएर पलायन भएको भए सायद उनको जीवन बाँच्नेथियो तर उनले त्यो बाटो रोजेनन् । उनले हजारौँ सहयात्रीहरूसितै महासमरको यात्रा नछाड्ने सँकल्प गरे । उनले लेखेको यो कविताँश उनको आफ्नै जीवनमा पूरा हुन आयो ।
सायद यो खुसीको प्रफुल्लित क्षण
दिनप्रतिदिन गिरफ्तार भएर
हराइरहेका आफन्तहरूको उदास स्मृतिजस्तै
भोलि विस्मृतिको धूमिल बिम्ब पनि हुन सक्छ
विजयको अन्तिम दिनसम्म
सबै रहौँला नरहौँला पछि हामी
र सायद यो खुसीको हर्षित क्षण
हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ
र म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेखिँदालेखिँदै
भोलि अपूर्ण रहन सक्छ
......
(बन्दी र चन्द्रागिरि)
इच्छुकले डा. श्रृषिराज बराललाई नजिकको साथी मान्दथे । बरालले पनि इच्छुकलाई आफूलाई जत्तिकै प्रेम गर्दथे । अहिलेजस्तो सञ्चारको कुनै सुविधा नभएको युद्धको त्यो गजमौरोमा पनि हामीले यो कुरा सहजै अनुभूत गर्न सक्थ्यौँ । माओवादी युद्धको पछिल्लो कालखण्डमा, इच्छुकको हत्या भइसकेपछि बराल आफ्नो शिक्षण पेशालाई नै छाडेर पूर्णकालीन रुपमा युद्धमा होमिएका थिए । त्यो सब इच्छुकको निष्ठा, आदर्श र समर्पणको लगानी हो भन्ने मलाई लाग्दछ । इच्छुक बाँचिरहेका भए अहिलेको निष्ठाविहिन राजनीति देखेर के सोच्दाहुन् ? के बोल्दाहुन् ? या के लेख्दाहुन् ? भनेर अनुमान गर्न दुनियालाई सोध्नु पर्दैन, डा. बरालको पछिल्लो जीवन दैनिकी नियाले पुग्छ । जनताको जीवनमा कायापलट ल्याउने भनेर युद्धमा होमिएकाहरू आज एकसय असी डिग्री कोणमा बद्लिएर आफ्नो व्यक्तिगत स्वार्थमा रुमल्लिरहेको देख्दा यदि इच्छुक बाँचिरहेका भए आफू सहिद बन्न नपाएकोमा पछुताउने थिए होलान् । अनि डा. श्रृषिराज बरालझैं गुमनामजस्तै बसेर मौन जीवन बिताउने थिए होलान् । तर चुप लाग्ने स्वभाव त इच्छुकको थिएन । उनी आफ्नै सहयात्रीहरूमाथि जाइलाग्ने थिए होलान् । त्योभन्दा बिडम्वना अरु के हुन्थ्यो होला र ?
अहिले इच्छुकलाई आफ्नै पेवाजस्तै बनाएर भाषण र भत्ता बजाउनेहरूको भीड देख्दा मलाई लाज लाग्छ । अझ इच्छुकको भावना, विचार र उद्देश्यलाई पाँचतारे होटलहरूमा स्कच र ह्वीस्कीका बोतलहरूसित साट्ने राता मण्डलेहरूको बिगबिगी देख्दा कता कता डर लागेर आउँछ र मन कल्पन्छ, सर्वहारा जनताका निम्ति प्राण अर्पेका कविलाई कतै यी नवधनाढ्यहरूले आफ्ना खोपीका देउता बनाउने हुन् कि ? यदि इच्छुक भौतिक शरीरमा बाँचिरहेका भए यी नयाँ रुपाकारका कथित क्रान्तिकारीहरू उनका सबैभन्दा ठूला वर्गदुश्मन हुनेथिए ।
इच्छुक कसैका हैनन् तर तिनहरू सबैका हुन् इच्छुक, जसले निष्ठा मरेको यो समयमा पनि कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्दछन् । जसले आफूसित थोरै भएपनि नैतिकता बचाइराखेका छन् ती सबैका हुन् इच्छुक । अर्थात् यो देशमा अझैपनि जो जो रगतको आँसु रुन विवश छन् ती सबैका हुन् इच्छुक । तर इच्छुकको विचारलाई टुकुचाको हिलोमा सेलाएर दरबार पसेका नयाँ रुपका नयाँ शासकहरूका लागि इच्छुक कुनै साईनोमा पर्दैनन् । उनीहरू त इच्छुकका वैरी हुन् ।
दाङ जिल्लाकै सिमानामा घर भएको र अधिकाँश समय अर्घाखाँचीमाभन्दा दाङतिरै बिताएकाले पनि होला कतिपय समीक्षकहरूले इच्छुकलाई दाङ जिल्लाका साहित्यकारको सूचिमा राखिदिएका छन् । मलाई लाग्छ, उनी त सिङ्गो देशका कवि हुन्, लेखक हुन्, पत्रकार हुन् । उनलाई कुनै सीमा या भूगोलमा बाँध्न सकिन्न । तरपनि उनको पारिवारिक बसोबासलाई ध्यानमा राखेर सातमारा गाउँलाई उनको स्मृतिकेन्द्रको रुपमा विकास गर्न सकिन्छ र साहित्यिक तीर्थस्थल बनाउन सकिन्छ ।
अन्तमा, सम्पूर्ण साहसी पत्रकार र जोदाहा कविहरूका आदर्श, क्रान्तिकारी कविता लेख्दालेख्दै सहिद बनेका क्रान्तिका बिम्ब र निष्ठाका प्रतीक इच्छुकलाई उनकै कविताबाट श्रद्धासुमन ।
यसबेला केही निस्तेज शीरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शीरलाई झन् ठाडो देख्न चाहिरहेछु
यसबेला केही दूर्बल मुठ्ठीहरू फुक्केर
विनित भावले जम्ले हात जोडिरहेछन्
म तिम्रो बज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु
यसबेला केही थकित पाईलाहरू गलेर
माझ बिसौनीमा बास मागिरहेछन्
म तिम्रा जब्बर पाईलाहरू झन् अग्रसर देख्न चाहिरहेछु
यसबेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ती वाचन गरिरहेछन्
म तिम्रो प्रखरवाणीमा युगको हुँकार सुन्न चाहिरहेछु
व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखुँ नलेखुँ केही फरक पर्दैन
तर तिम्रो आँधीबेहरीमय महायात्रा रोकिनु हुन्न
इतिहासको यस सँक्रमणशील घडीमा
भोको पेटका उर्जश्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ भद्र पुरुष
तिमी भने झुँक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेँदीमा रातै लाली गुराँस
तिमी भने यो फेँदीमा अल्मलिनु हुन्न ।
(इतिहासको यस घडीमा, इच्छुक)
०
हजुरलाइ पनि धेरै धन्यवाद
ReplyDelete