Friday, 28 October 2016

कुकुरका कुरा

जेबी दर्लामी

— 

आज त कुकुर तिहार रे । यसको ऐतिहासिकता या धार्मिक महत्वकाबारेमा मलाई खासै केही पनि थाहा छैन तर जबजब कुकुरको प्रसङ्ग मानिसहरूले निकाल्छन् तबतब मलाई कुकुरसँग जोडिएर आउने धेरै सम्झनाहरूले लछप्पै भिजाउन थाल्छन् ।
आज पनि बिहानैदेखि कुकुर शब्दले सामाजिक सञ्जाल भरिएको छ । खुसीखुसी कुकुरको बारेमा लेख्ने र कुकुर तिहारको शुभकामना बाँड्नेहरूले घरमा साँच्चैको कुकुर पालेका होलान् या नहोलान् ? अधिकाँशले नेटबाट तानिएका कुकुरका फोटाहरू देखाउँदै शुभकामना दिएका छन् । कमसेकम घरमा हुने साथीहरूले यदि कुकुर पालेका भए आफ्नै कुकुरको फोटो राखेर कुकुर तिहार मनाए कति जाती हुने थियो होला । फोटोमै सही कुकुर मलाई पनि औधी मन पर्छ ।
हाम्रो घरमा पनि कुकुर प्रायः नपालिएको समय कहिल्यै भएन । बाजेले, बाबाले कुकुर बिरालाहरूलाई अत्यन्तै माया गर्ने । बाजे छँदैको कुरा हो । म सानै थिएँ, सायद त्यतिबेला आठ वर्षजतिको हुँदो हो । यो घटनाको सम्झना मधुरो गरी मेरो स्मृतिमा अझै छ जसले मलाई बेलाबेलामा छोएर जान्छ । रुवाएर जान्छ ।
हाम्रो घरमा एउटा कुकुर थियो । छाउरी । उसको नाम काली थियो । केही पटक आमा बनिसकेकी । मोटीघाटी थिई । एक दिनको कुरा हो । बाजे कतै गएर फर्किरहनु भएको थियो । साँझपख । बारीको पुछारमा बाजेलाई देखेपछि त्यो छाउरी हतार हतार घरको छानामा गएर बाजेतिर हेर्दै भुक्न थाली । लगातार भुकिरही । बाजे घरमा आइपुग्नुभयो । कुकुर त्यसरी छानामा गएर भुक्यो भने घरमा अनिष्ट हुन्छ भन्ने विश्वास मानिसहरूले गर्दा रहेछन् । बाजेको रीस नियन्त्रण नै भएन । आवेगमा आएर उहाँले त्यस छाउरीको घाँटीमा मोटो डोरीले बाँध्नुभयो । आफुमाथि के आइलाग्दैछ भन्ने कुराबाट बेखबर त्यस छाउरीले घाँटीमा डोरी बाँधिदासम्म पनि लुट्पुटिँदै माया देखाइरही । तर बाजेको मनमा त मानौँ शैतान पसिसकेको रहेछ । उहाँले त्यस छाउरीलाई डो¥याउँदै पर लैजानुभयो । त्यहाँ एउटा अम्बाको रुख थियो । बूढो रुख । हाँगाहरू जताततै फैलिएका । कोही भूइँतिर झरेका । बाजे रुखमाथि चढ्नुभयो अनि हातमा समातिराखेको डोरी एउटा हाँगामा अड्काएर तल झर्नुभयो । अनि जोडसँग डोरीलाई आफुतिर तान्नुभयो । केही पलमै त्यो छाउरी हावामा तुर्लुङ्ग झुण्डिएकी थिई ।
हामी केटाकेटीहरूको त सातै गयो । त्यो छाउरी लगातार कहालिँदै चिच्याउन थाली । बाजेको मनशाय त त्यसलाई मार्ने नै थियो होला तर आमाले गएर डोरी काटिदिनुभयो । घाँटीमा पासो परेर अत्तालिएकी त्यो छाउरी काँतर भावमा आमाको काखमा थर्थर काँपिरही ।
कुकुरलाई त्यतिबिध्न माया गर्ने बाजेको त्यस कालीप्रतिको त्यस्तो निर्मम व्यवहार सम्झँदा अहिले धर्मसँग जोडिएर आउने हरेक प्रकारका विश्वास सम्झन मन लागिहाल्छ । छानामा गएर कुकुर भुके घरमा नराम्रो हुन्छ भन्ने बाजेको मनमा कसैले नराखिदिएको भए उहाँ सायद त्यति क्रूर बन्नु हुने थिएन होला ।
तर यो कुरा त प्रमाणित नै छ कि कुकुर अत्यन्तै सम्वेदनशील प्राणी हो । घरमा हुन गइरहेको केही अपशकुनको कुरा मान्छेलाई पहिल्यै थाहा हुँदैन तर कुकुरलाई हुन्छ । त्यो दिन पनि हाम्रो घरको छाउरीले त्यस्तो केही देखेकी थिई होली र त छानामा गएर बाजेलाई नै हेरेर भुकी । कुकुरको पनि हाम्रो जस्तो मन हुन्छ कि हुन्न खै ? तर त्यो छाउरीको त्यस भुकाईमा आफुलाई माया गर्ने मालिकप्रति माया र चासो थियो होला । तिमीलाई केही नराम्रो हुँदैछ, ख्याल गर भन्नका लागि आफ्नो स्वर राम्ररी ध्यान दिएर मालिकले सुनोस् भनेर नै ऊ त्यसरी छानामाथि सबैले देख्ने ठाउँमा गएर भुकी होली । 
घाँटीमा पासो लागेको त्यस घटनाको एक दुईदिनपछि त्यो छाउरी अचानक हराई । कहाँ गई ? कसको घरमा गएर बसी ? हामी कसैलाई थाहा थिएन । आजजस्तो सञ्चारको सुविधा भएको भए सोधखोज हुन्थ्यो होला । उसले घर छाडी, घरमा एक दुई दिन उसको कुरा भयो होला अनि फेरि सबैकुराले आफ्नो नियमितता समात्यो । उसलाई हामीले भुल्दै गयौँ । 
केही समयपछि बाजे अचानक थलिन थाल्नुभयो । थलिन थालेको केही समयपछि उहाँ बित्नु नै भयो ।
तीज आएको थियो । आमाको पछि लागेर म पनि मावल गएँ । त्यस समय मेरो अगाडिको एउटा दाँत झर्नलाई हल्लिरहेको थियो । अलिअलि दुखिरहेको थियो । अझ पहिलोपटक दाँत फाल्न गइरहेको हुनाले के हुने होला, भन्ने कौतूहलता मेरो मनभरि थियो । त्यतिबेला म कत्रो थिएँ भन्ने कुरा यो एउटा सम्झनाले पनि प्रष्ट पार्छ । 
मावल पुग्न करिब चारपाँच घण्टाको पैदल दूरी हिँड्नुपथ्र्यो । साँझपख जब हामी मावल पुग्यौँ, एउटा कुकुरले आमा र मलाई मामाको घरभन्दा निकै वर गोरेटोमै स्वागत गर्न आइपुग्यो । साँझ झमक्क भइसकेको थियो । त्यो कुकुर आमा र मेरो खुट्टामा झुण्डियो, लुटपुट ग¥यो । हल्का स्वर निकालेर भुक्यो पनि । हामीलाई अँगालो हाल्न पटकपटक ऊ पछाडिका खुट्टाले टेकेर उभ्भियो । मेरा गालामा चाटचुट पा¥यो । खुसीले ऊ झुमिरहेको थियो । उसले आफ्नो खुसी लुकाउनै सकिरहेको थिएन । मुखबाट सुस्तरी स्वर निकाल्दै ऊ हामीसँग रमाइरह्यो । 
आमाको करुणाले भरिएको आवाज पनि मैले अझै बिर्सेको छैनँ । आमाको स्वरमा पनि खुसीको कम्पन थियो साथमा आँसुका केही कणहरू पनि मिसिएका हुँदा हुन् । त्यो कुकुर हाम्रै घरकी त्यही छाउरी थिई, त्यही काली जसको घाँटीमा एक दिन पासो लगाइएको थियो ।
जतिञ्जेल हामी मामाघर बस्यौँ त्यस छाउरीले हामीमाथि परिवारकै सदस्यझैँ बनेर अपनत्व देखाइरही । त्यहाँबाट फर्कने बेला उसलाई घरमा लैजान आमा र मैले खुब कोशिस ग¥यौँ तर त्यसले मानिन । उदास आँखाले हामी घरतिर फर्केको हेरीरही । पछि त्यहीँ ऊ मरी भन्ने सुन्यौँ । त्यो छाउरीको अनुहार ठ्याक्कै सम्झनामा छैन तरपनि उसको बारेमा कल्पिँदा मेरा आँखामा आज पनि आँसु रसाउँछन् ।
००
एउटा कथा पढेको थिएँ । लोकनाथ मनेनले लेख्नुभएको । त्यो कथाका पात्रहरू कुकुरहरू हुन् र त्यो स्वैरकाल्पनिक रुपमा लेखिएको कथा हो । कथाको शीर्षक पनि भुलेँ तर प्रमुख पात्र सेतीको कथा अझै यो मनमा उस्तै गाढा छ । 
जीवन बाँच्नका लागि कुकुरहरूले सडकमा गरिरहनुपरेको सँघर्षका दूर्दान्त पीडा छ कथामा । सेती जो एउटा घरमा आश्रित छे र जसले एउटा कुकुरलाई मन पराउँछे । उसले त्यसलाई आफुले पालिएको घर रहेको गल्लीमा लिएर जान्छे । नयाँ कुकुर आएको देखेर टोलका रैथाने कुकुरहरूले उसलाई आक्रमण गर्छन् । सेती त्यही हुलदँगामा परेर घाइते हुन्छे । तर ऊ आफ्नो प्रिय साथीलाई आफुले आश्रय लिएको घरमा लिएर जान सफल हुन्छे । त्यो छोटो बाटोमा उसले नराम्ररी छियाछिया बनेको खुट्टाका साथ चालेका पाइलाहरूमा सँघर्षको लामो र अतुलनीय कथा छ । आफु घाइते भएर पनि साथीलाई उसले हरेश नखान र नडराउन निरन्तर हौसला र साहस दिन्छे । अनि साथीलाई सुरक्षित ठाउँमा पु¥याएर उसले आफ्नो प्राण त्याग्छे । 
यो सेतीको कथा पढिरहँदा मैले कालीलाई धेरैपटक सम्झेँ । पढ्दै जाँदा आँखाहरूमा कतिपटक आँसु भरिए, पत्तै पाइनँ ।
०० 
अर्को एउटा पुस्तक पनि मैले पढेको थिएँ जहाँ कुकुरको प्रसङ्ग छ । भारतीय लेखक फणिश्वर नाथ रेणूको आत्मकथा । त्यहाँ उनले नेपाललाई आफ्नी सानीआमा भनेर सम्बोधन गरेका छन् । तर यो प्रसङ्ग यहाँ उल्लेख गर्न उपयुक्त नहोला । कुरा छ कुकुरको । आफ्नो आत्मकथामा रेणूले आफुले पालेको कुकुरको बारेमा अत्यन्तै मर्मस्पर्शी ढँगले वर्णन गरेका छन् । 
एकदिन उनी आफ्नी पत्नीका साथ बनारस घुम्न गएका हुन्छन् । साथमा कुकुर पनि हुन्छ । बनारसका धार्मिक गल्लीहरूमा उनकी पत्नीको हातबाट कतिबेला उनीहरूको कुकुर फुत्केर हराउँछ । खोज्दै जाँदा गल्लीका कुकुरहरूले उसलाई मरणासन्न हुनेगरि लुछिरहेको भेट्याउँछन् ।
त्यस आक्रमणबाट बल्लतल्ल छुटाएर आफ्नो कुकुरलाई पत्नीचाहिँले अँगालोमा टाँस्छिन् । यहाँनिर रेणूले आफ्नोभन्दा पनि आफ्नी पत्नीको मनोदशाको बारेमा सारै मर्मस्पर्शी ढँगले लेखेका छन् । रगताम्य कुकुरलाई छातीमा टाँसेर अत्तालिँदै बौलाहीको जस्तो हाउभाउमा आफ्नी पत्नी बनारसको गल्लीहरूमा दौडिएको घटनालाई उनले जीवन्त र मार्मिक शैलीमा लेखेका छन् । 
यो प्रसँग पनि जतिपटक पढ्छु मेरा आँखामा आँसु छचल्किहाल्छ ।
००
अब अन्तिममा कुरो आउँछ हाचीकोको । हाचिकोलाई कसले चिन्दैन होला र ? सिनेमामा सामान्य चासो राख्नेहरूका लागि हाचिको कुनै अपरिचित पात्र नै होइन । हेर्नका लागि अलिकति शास्त्रीय प्रकारका फिल्महरूका बारेमा मैले एक वर्ष अघि फेसबुकमा साथीहरूसँग सुझाव मागेको थिएँ । थुप्रै जनाले अनेक खाले सिनेमाहरूको नाम दिनुभएको थियो । अनि यही मेसोमा कसैले मलाई ‘हाचिको ः अ डग्स स्टोरी’ नाम गरेको फिल्म हेर्न सुझाउनुभएको थियो । सँयोगले यो फिल्म युट्यूबमा रहेछ र हेर्ने मौका मिलेको थियो । यो फिल्म हेरिसकेपछि कैयौँ दिनसम्म म लगभग विक्षिप्त नै बनेँ । एउटा कुकुरले कुन तहसम्म पुगेर आफ्नो मालिकको बारेमा सोच्न सक्छ ? भन्ने कथा यो फिल्ममा छ । अझ यो फिल्मको कथा सत्य घटनामा आधारित हो र यसको मुख्य पात्र हाचिको नाम गरेको कुकुर वास्तविक रुपमै थियो र फिल्ममा देखाइएको चरित्र त्यस कुकुरले रील हैन रियल लाईफमै निभाएको थियो भनेर थाहा पाएपछि मेरा आँखा कसरी ओभाना हुन मान्थे र ? आजपनि सित्तिमित्ति हेर्न मन लाग्दैन, मन भारी हुन्छ भन्ने डरले । तर एकान्त पाएँ भने र मन र आँखा भिजाउन मन लाग्दा हाचिकोको कथालाई फिल्ममा हेर्छु र धीत मर्ने गरी रुन्छु ।
०००
कुकुर तिहार, २०७३
मलेसिया

Saturday, 6 August 2016

डाक्टर चित्रको सम्झनामा


- जेबी दर्लामी

श्रावण २२, २०७३- डाक्टर चित्रप्रसाद वाग्ले मेरो पनि डाक्टर हुनुहुन्थ्यो । उहाँका हातले मलाई पनि धेरै पटक स्पर्श गरेका थिए । उहाँको आलाले मेरो छातीको धडकन थुप्रै पटक जाँचेको थियो । उहाँले सिफारिस गरेको औषधिहरूले म निको पनि भएको थिएँ । निश्चय नै, अर्घाखाँची जिल्लाको बासिन्दा हुनुको नाताले पनि डाक्टर चित्रलाई भुल्नु मेरो कृतघ्नता हुनेछ ।
करिब पाँच वर्षको सन्धिखर्क बसाइलाई बिट मार्दै म २०६४ सालमा आफ्नै घर सिद्धारा फर्केको थिएँ । त्यसयता चाहिँ उहाँसँग खासै भेट भएन । एक दिन सन्धिखर्कमा उहाँका बारेमा कसैले मलाई सुनाएको थियो, “डाक्टर चित्रलाई क्यान्सर भएको छ । अहिले काठमाडौँतिर हुनुहुन्छ ।” यो सुनेर मेरो हृदय दग्ध बनेको थियो । मेरो मन बेस्सरी हल्लिएको थियो । अझ सुनाउनेले यो पनि जोडेको थियो, “अब उहाँ बाँच्ने सम्भावना नै छैन रे ।”

मन निमोठिएको थियो । उहाँसँग नजिक भएर बस्ने या कुराकानी गर्ने मौका त कहिल्यै पाइनँ, तर उहाँले मलाई मौका पर्दा बोल्ने र हाँस्ने नै नहुने गरी टाढा पनि कहिल्यै सोच्नुभएन । भेट हुन्थ्यो । बाटोमा, क्लिनिकमा, अस्पतालमा । सधैँ हतारमा देख्थेँ । सधैँ बिरामीहरूको चिन्ता हुन्थ्यो उहाँलाई ।
उहाँको स्वास्थ्यका बारेमा थाहा पाएपछि अर्घाखाँचीमा उहाँको उपचारका लागि भनेर चन्दा उठाउने अभियान पनि सुरु भइसकेको थियो । पछि सुनियो, उहाँको सम्पूर्ण उपचार सरकारले गरिदिने भयो रे । चन्दा अभियान रोकियो । यतिसम्म कि, उठाइसकेको पैसा पनि उहाँले फर्काउन लगाउनुभएको समाचार सुनियो ।
पछि म विदेश आएँ, मलेसिया । उहाँका बारेमा विभिन्न समाचारमा सुनिरहन्थेँ । पढिरहन्थेँ । नरमाइलो लाग्थ्यो । मनले कामना गथ्र्यो, उहाँलाई निको भइदिए हुन्थ्यो ।
अनि एक दिन थाहा पाएँ, भारतमा लामो उपचारपछि उहाँलाई घर ल्याइएको छ । अमेरिका या क्यानाडा लगेर उपचार गर्ने हो भने उहाँलाई ठीक पनि हुन सक्छ, तर त्यसका लागि दुई–चार करोड रुपैयाँ लाग्न सक्छ । अनि सुनेको थिएँ, सरकारले उहाँको उपचार गर्ने भनेर पनि गरेन । नेताहरूलाई रुघा लाग्दा विदेशका महँगा अस्पतालमा लैजाने हाम्रो देशको सरकारलाई सायद उहाँ जस्ता जनताका सेवकहरूप्रति सधैँ नै आफुभन्दा असल भएकामा डाह हुन्छ ।
त्यस्तैमा एक दिन मेरो मुखमा पनि एउटा सानो घाउ देखियो । त्यो घाउ बिस्तारै ठूलो हुँदै गयो र एउटा आकारमा पुगेर रोकियो । माथिल्लो बंगाराको छेउमा आएको यो घाउले मलाई चिन्तामा धकेल्यो । सुरुसुरुमा बाक्लो र्‍याल आउने गरेको थियो । त्यसपछि मुख सुक्खा हुन थाल्यो । घाउ लगातार त दुख्दैनथ्यो, तर निको पनि भएन । अझै पनि यो त्यस्तै छ । कहिलेकाहीँ दुख्छ । थुप्रै अस्पतालमा देखाएँ, तर आजसम्म निको भएको छैन ।
यही घाउ हेरेपछि अनि मेरो कुरा विस्तारमा सुनेपछि एउटा निजी क्लिनिकको डाक्टरले मलाई भनेको थियो, “म शतप्रतिशत ठोकुवा गरेर भन्न सक्छु, यो क्यान्सर नै हो ।”
यसरी मेरा दुर्दिन सुरु भएका थिए, मलेसियामा । उता डाक्टर चित्र मृत्यु पर्खेर घरमा बस्नुभएको थियो । यता मेरो पनि अवस्था त्यस्तै थियो । म पनि अब मर्छु नै होला भनेर मानसिक रूपमा तयार हुने कोसिसमा थिएँ । साथीहरूले मेरा लागि भनेर चन्दा संकलनको कुरा पनि ल्याए, तर मैले तत्काल त्यसबारेमा अगाडि नबढ्न भनेँ । यस्तो बेलामा आफ्नो माया बिस्तारै हराउँदै जाँदो रहेछ, तर आफ्ना मान्छेहरूको माया झनै बढी लाग्दो रहेछ । अझ परदेशमा भएको अवस्थामा यो पीडा सायद लेखेर साध्य पनि छैन ।

मैले पनि खुब सम्झेँ बाबाआमालाई । उहाँहरूका लागि केही गर्न सकिनँ भन्ने ग्लानिले मलाई समातिरह्यो । श्रीमतीलाई सम्झेँ बारम्बार अनि दुई छोराहरूलाई पनि । अब यत्तिकैमा मरेँ भने उनीहरूले कति दु:ख पाउलान् भनेर कल्पिँदा रातभरि निद्रा लाग्दैनथ्यो । कमाउन भनेर आएको मान्छे, ऋण तिरिनसक्दै यति नराम्रो भुमरीमा परेको थिएँ । मैले पनि मृत्युको छायालाई देखेँ । मैले पनि मृत्युको आभास राम्रैसँग पाएँ ।

अनि एक दिन टेलिभिजनमा डाक्टर चित्रसँग दिलभूषण पाठकले गरेको कुराकानी हेरेँ/सुनेँ । आफ्नो रोग र कष्टका बारे हाँसीहाँसी कुरा गरिरहेका डाक्टर चित्र छोराछोरीको प्रसंग आउनेबित्तिकै बेस्सरी भक्कानिनुभयो । त्यो अनुभूति आफैँले पनि गर्नुपरेकाले हुन सक्छ, मैले उहाँको ठाउँमा आफूलाई राखेर हेरेँ । मेरो पनि आँसु थामिन सकेन । आँसुका थोपा परेलीको डिल भत्काएर बग्दै गए । अप्रत्यक्ष रूपमै भए पनि म डाक्टर चित्रसँग थिएँ । उता टेलिभिजनको पर्दामा उहाँले आँसु पुछ्नुभयो, यता मैले सिरानीमा मुख जोतेर आँसु लुकाउने कोसिस गरेँ ।
आखिर एक दिन उहाँले हामीलाई छाडेर जानुभयो । यो खबर सुनेर मलाई आफू पनि त्यही बाटोमा पालो कुरेर बसिरहेको मान्छे हुँ जस्तो लागिरह्यो । जीवनको क्षणभंगुरताका बारेमा मलाई राम्रैसँग थाहा छ, तर एकएक पाइला गर्दै, थकाइ मार्दै अनि अट्टहास गर्दै आफूतिर लम्किँदै आइरहेको मृत्युको सामना गर्नुपर्दाको अनुभव शब्दमा लेखिनसक्नु छ ।
सन्धिखर्कमा रहँदाबस्दाका सम्झनाहरू समेटेर कुनै दिन संस्मरणात्मक निबन्धहरूको सँगालो तयार पार्नुपर्ला भन्ने सोचेको थिएँ, धेरै अगाडिदेखि । केही शीर्षक छानेको पनि थिएँ । त्यहाँ डाक्टर चित्रका बारेमा पनि केही लेख्नेबारे सोचेको थिएँ । उहाँका बारेमा कुनै दिन यसरी यहाँ केही लेख्नुपर्ला भनेर चाहिँ मैले कहिल्यै सोचेको थिइनँ ।
मलाई अझै पनि एउटा प्रश्नले बारम्बार हिर्काइरहन्छ । त्यो के भने, सामान्य मजदुरहरू परेका बेलामा एकअर्कालाई सहायता गर्न दिलोज्यानले लागेका हुन्छन् । देशकै शिक्षित वर्ग भनेर चिनिने डाक्टरहरूमा त्यति गुण या ज्ञान छैन होला र ? मानवताको सेवामा लागिपरेका डाक्टरहरू किन आफ्नै सहकर्मीको दुर्दशामा रमिते बनेर बसे होलान् ? हुन त यसको जवाफ पनि छ । डाक्टर चित्रले चाकडी र चाप्लुसीमा जिन्दगी बिताउनुभएको भए सायद सरकारका मान्छेहरू उहाँका लागि अगाडि सर्थे, उहाँका साथीहरू उहाँलाई हौसला दिन तत्पर हुन्थे । व्यक्तिगत रूपमा त धेरैले उहाँका लागि गरे होलान्, तर संस्थागत हिसाबले गरेको भए उहाँका लागि धेरै अर्थपूर्ण हुने थियो र सायद सम्भावनाहरूमा अनेक फेरबदल पनि हुन सक्ने थियो ।
डाक्टर चित्रके बारेमा यति लेखिरहँदा, उहाँका कमीकमजोरी नै थिएनन् त भन्ने प्रश्न जरुर उठ्ला । थिए उहाँका पनि कमजोरीहरू । किनकि उहाँ पनि कुनै देवता हुनुहुन्थेन । उहाँ पनि मान्छे नै हुनुुहुन्थ्यो । अर्घाखाँचीमा विशेष गरीकन औषधि माफियाहरूलाई उहाँले चाहेको भए रोक्न सक्नुहुन्थ्यो भन्ने गुनासो सुनिन्छ । निजी क्लिनिक चलाइरहेकाहरू जनस्वास्थ्यसँग खेलबाड गर्दै पैसा कमाउने होडबाजीमा लागेको उहाँले पनि देख्नुभएको हुँदो हो । जनरल मेडिकल, प्याथोलोजी र एक्सरे सेन्टरहरूले एउटा बिरामीलाई अनावश्यक रूपमा एकअर्काको क्लिनिकमा सिफारिस गरेर पालैपालो लुटिरहेको पनि उहाँलाई अवगत थियो होला । उहाँले तिनीहरूको जालो तोड्न सक्नुभएन भन्ने कुरा पनि गर्छन् कतिपय मानिसहरू । तर सबभन्दा ठूलो उहाँको कमजोरी उहाँ स्वयं अनि उहाँको आफ्नो कर्तव्य नै थियो । किनकि उहाँले अरूको स्वास्थ्यका बारेमा ख्याल गरिरहँदा आफ्नै स्वास्थ्यको ख्याल कहिल्यै गर्नुभएनछ । यदि त्यस्तो हुन सकेको भए उहाँलाई लागेको रोग एकै पटक शरीरभरि संक्रमण भएर उहाँलाई सिध्याउने चरणमा सायद पुग्दैनथ्यो ।
कहिलेकाहीँ कुनै बिरामीसँग या कुनै बिरामीलाई भेट्न जिल्ला अस्पताल गएका बेला मध्यरातमा पनि डाक्टर चित्रलाई वार्डहरूमा घुमिरहेको देख्थ्यौँ हामी । चस्मा शिरमा अड्याएर, निद्राले सताएका राताराता आँखा लिएर उहाँ बिरामीहरूलाई छुँदै हिँडेको मैले धेरै पटक देखेको थिएँ । सबैसँग मीठो स्वरमा बोल्दै, सबैलाई समय दिँदै अनि बिरामीका कुरुवाहरूसँग पनि अत्यन्तै आत्मीयता देखाउँदै उहाँ अस्पतालभरि घुम्नुहुन्थ्यो ।
अहिले त सबै सपना जस्तै लागिरहन्छ ।
प्रकाशित: श्रावण २२, २०७३


http://bit.ly/2aQkXtI

http://bit.ly/2aQkXtI

Wednesday, 27 July 2016

मनका केही कुरा


- सिरुखर्के जेठा

आजभन्दा करिब ५० दिन अघि मेरो फोनलगायतका केही सामानहरु लुटिएको थियो । जीवनमै सबैभन्दा महँगो फोन किनेको थिएँ, सामसङको ‘जे—टू’ । किनेको एक महिना नपुग्दै लुटियो । त्यो लुटिनुमा मेरो पनि हात थियो, चोरलाई मात्रै निरपेक्ष दोष दिन म चाहन्नँ । मिड–भ्यालीमा बसबाट झरेर काम गर्ने ठाउँसम्म पुग्न सधैँ करिब १० मिनेट पैदल यात्रा गर्नुपर्छ । बिहान सात बजेदेखि ड्यूटी सुरु हुन्छ अनि त्यस दिन बिहान म अलि अँध्यारैमा त्यहाँ पुगेको थिएँ । बीचमा एउटा तीसचालीस मिटरको सुरुङ पर्छ । दुईजना इण्डियन समुदायका लुटेराहरुले मलाई त्यहीँ समाते । केपी ओलीको स्टाइलमा भन्दा छापामार शैलीमा, झ्याप्पै । 
सुरुङभित्र नपस्दै उनीहरुसँग साक्षात्कार भइसकेको थियो । अलिकति सजग बनेको भए अर्को बाटो थियो । जोगिन सकिन्थ्यो । सुरुङभित्रचाहिँ धेरै ढिलो भइसकेको थियो । खसी ढाल्नेजस्तो खुँडा निकालेर घाँटीमा तेस्र्याइदिएपछि मेरो गोर्खाली रगत त्यसै सुक्यो । परिस्थितिले त यसैपनि खसी बनाइरहेकै थियो । यिनका हातमा परेर बली नै त के हुने भन्ने सोँचेँ । तिनले खुँडा निकाले, त्यसको बदलामा मैलेचाहिँ फोन, पर्स, झोला सबै निकालेँ र तिनको हातमा खुरुक्क राखिदिएँ । पर्समा भिजिट पास (Jalan Card), बैँक कार्डलगायतका केही सामाग्रीहरु थिए भने झोलाभित्र केही थान पेनड्राइभहरु थिए जहाँ मेरा केही अमूल्य सम्पत्तिहरु थिए । छाता थियो । केही थान कलमहरु, जाँगर लाग्दा कोरिएको नत्र धेरै पाना खाली नै छाडिएको एउटा डायरी पनि थियो । अनि दिउँसोको खाना दुईओटा रोटी चेनाई थियो र थियो पढिरहेको एउटा पुस्तक प्रज्वल पराजुलीको— गोर्खाज डटर । 
सबै लुटियो ।

त्यस दिन दिउँसो रिपोर्ट गर्न ब्रिकफिल्ड प्रहरी कार्यालयमा गएको थिएँ । एउटा विदेशी अझ कामदार हुनुको अर्थ मैले त्यहाँ पनि राम्ररी बुझ्ने मौका पाएँ । काममा, अस्पतालमा, सार्वजनिक सवारी साधनहरुमा आखिर कहाँ कहाँ हामीमाथि अपमान हुन बाँकी छ र ? प्रहरी कार्यालयमा पनि त्यो क्रम दोहोरियो । अल्छी मान्दै उनीहरुले मेरा लागि एउटा रिपोर्ट बनाइदिए । छानबिनको आशा र हराएको सामान पाइएला भनेर विश्वास त शून्य प्रतिशत पनि थिएन तर तिनले बनाइदिएको रिपोर्टले बैँककार्ड बनाउन, पुरानै सीमकार्ड निकाल्न र यात्रामा केही सहज हुने भएको हुनाले मात्रै म त्यहाँ गएको थिएँ । तर त्यहाँ गएपछि एउटा सान्त्वनाचाहिँ मलाई मिलेको थियो । त्यो कसरी भने त्यहाँ रिपोर्ट लेखाउन आएकाहरुमध्ये धेरैजसो घर फोरिएका, पसल लुटिएका कार चोरिएकाहरु थिए । हुन त स्तर मापन गरेर हेर्दा उनीहरुको कार चोरिनु र मेरो फोन चोरिनु सायद एउटै कुरो हुँदो हो । मैले माथि नै लेखिसकेको छु, त्यो फोन मेरो जीवनकै पहिलो महँगो फोन थियो । चानचुन छ सय रिँगेटको ।

यो घटनाको एकदुई हप्तासम्म त यस्तो लाग्यो, मानिसहरुले मलाई नाँगै पारेर क्वालालम्पुरको अत्यन्तै व्यस्त ठाउँहरु सेन्ट्रल मार्केट, चाइना टाउन, जालान सिलाङ र पासार मेडानतिर घुमाइरहेछन् । अनि यस्तो पनि लाग्यो, मेरो चारपाटा मुडेर मलाई फेडरल हाई—वेमा दौडाइएको छ । ब्लडप्रेसर कम हुँदै गयो । आत्मविश्वास घट्दै गयो । मान्छेहरुसँग आँखा जुधाएर बोल्न पनि नसकिने अवस्था भोगेँ । अलिकति मानसिक विचलन पनि झेलेँ । सेक्युरिटी–गार्ड बनेर दुनियाको सुरक्षाको ठेक्का लिएको मान्छे आफै त्यसरी लुटिँदा कस्तो महसुस हुन्छ, अब उप्रान्त मलाई कसैले बताइरहन नपर्ने भयो ।
त्यसै दिन सँगै काम गर्ने साथी सरोज भण्डारीले मेरो बारेमा आफ्नो फेसबुक वालमा लेखिदिनुभयो । तुरुन्तै फोन किन्न सकिने कुरो पनि थिएन । राजेन्द्र भाइले आफ्नो जगेडामा राखेको फोन चलाउन दिनुभयो । आजसम्म चलाएँ । एकदिनपछि आफ्नै अकाउण्टबाट आफुमाथि आइपरेको घटनाको बारेमा लेखेँ । मेरो कुरा थाहा पाएर होस्टेलका साथीहरु दुःखी भए । सशरीर भेट हुन नसकिने साथीहरुमध्ये एकजना सागर अपवादजीले मात्रै मेरो बारेमा सोधीखोजी गर्नुभयो । उहाँले नै यसबारेमा केही कुरा लेख्न भन्नुभएको थियो । अरु साथीहरुले सायद थाहा पाउनुभएन होला भन्ने सोँचेको छु । थाहा पाएर पनि कतिलाई चासो राख्ने फुर्सद भएन होला । थाहा पाउनैपथ्र्यो भन्ने मेरो आग्रह हैन र थाहा पाएर ममाथि सहानूभुति देखाउनैपथ्र्यो भन्ने पनि हैन । किनकी सहानूभुतिले कसैलाई बलियो बनाउँदैन । तर सधैँ अनेकअनेक ट्याग गरेर हँसाउने÷ रुवाउने साथीहरुले पनि ममाथि आइलागेको अवस्थाबारेमा केही कुरै नगर्दा भने अलिकति कस्तोकस्तो लागेकै हो । किन ढाँट्नु ?

त्यही भावशून्य अवस्थाबाट उम्कन नभ्याएकै बेलामा मलाई अत्यन्तै माया गर्ने एकजना दाइको म्यासेज हान्निएर आइपुग्यो । उहाँले लेख्नुभएको थियो—
“भाइ, अलि राम्रो र बलियो सामसङको फोन यस्सो यता ..... ..... ”

मेरो मन झनै शून्य बन्यो । चार वर्ष हुन लाग्यो लगातार मलेसियामा बसेको पनि । मेरा पनि बाबाआमा हुनुहुन्छ जो बूढेशकालमा अझैपनि दुःख गरिरहनुभएको छ । मेरा पनि भाइबहिनीहरु छन् जसलाई एउटा दाजुको उपस्थितिको अभाव पक्कै पनि महसुस हुन्छ होला । मेरो पनि जीवनभर सँगै यात्रा गर्ने कसम खाएर सहयात्रामा हेलिन आएकी सहयात्री छिन जसका आँखाहरुले मलाई खोजिरहन्छन् । अनि ती छोराहरु जसले आफ्नो बालापन आफ्नो बाबाको काखमा बिताउन पाएनन् र तिनका कोमल हातहरु समातेर हिँड्न अब म लाख चाहेर पनि सक्तिनँ । कुनै बाध्यताविना कुनै विवशताविना न म परदेशमा बसेको छु न अरु कोही नै बसेको होला । तर किन परदेशमा हुनेहरुलाई सधैभरि एउटा हुँदोपुग्दो मान्छेको रुपमा सम्झने गरिन्छ ? के हामीसँग दुःख छैन ? के हामीसँग पीडा छैन ? के हामीलाई परदेशमा अरुको नोकर बनेर बस्ने रहर छ ? 
मेरो आदरणीय दाइलाई यी कुरा सोध्ने मन थियो तर सोधिनँ । घाँटीमा खुँडा राखेर लुटिएको दुई हप्ता पनि बितेको थिएन । अझ दिनदिनै त्यही बाटो भएर हिँड्नुपर्ने । खुट्टाहरु काँप्न छाडेकै थिएनन् । अनि त्यस्तो अवस्थामा हुँदा मेरो बारेमा कुनै चासो नराखेर आफ्नो मात्रै सोँच्ने दाइप्रतिको आदर स्वाट्टै घट्यो । त्यही कारण हो, मैले उहाँको आग्रहको कुनै जवाफ दिइनँ । दिन जरुरी पनि देखिनँ । मेरो पनि मन छ । आफ्ना आदरणीयहरुका लागि केही उपहार लगेर जान पाए हुन्थ्यो भन्ने मलाई पनि लागिरहन्छ । आफुलाई माया गर्नेहरुका लागि आफुले केही गर्न नसकेकोमा ग्लानी महसुस हुन्छ । तर हुँदै हुन्न त के गरौँ यार ?
त्यसको केही दिनपछि दाइले ‘गुड–लक’को साइन पठाउनुभयो । केहीवेरपछि त मलाई ब्लक नै गर्नुभएछ । अहिले उहाँ मेरो लागि केवल 'फेसबुक यूजर' हुनुहुन्छ । उहाँको गुन ममाथि अथाह छ । उहाँको मायाको म ऋणी नै हुँ । मेरो पनि उहाँप्रतिको आदर कहिल्यै तलमाथि भएको थिएन । मन दुखेर मात्रै जवाफ फर्काएको थिइनँ तर उहाँले राम्रैसँग सोँचेर नै मलाई ब्लक गर्नुभयो होला । भौतिक रुपमा टाढा बनेपछि एकअर्कासँग नजिक भइरहने माध्यम निश्चय नै यतिखेर सामाजिक सञ्जाल नै हो । अब यसैमा पनि तगारो हालेर बसेपछि सायद अब हाम्रो सम्बन्ध सधैँका लागि सकियो । 

यसको केही दिनपछि मलेसियामा कार्यरत एकजना पत्रकार साथीको अचम्मको म्यासेज पनि मैले प्राप्त गरेँ । उहाँले पनि बडो व्यावसायिक बन्दै लेख्नुभएको रहेछ । उहाँको भाषा जस्ताको तस्तै राख्दैछु—
“मलेसियाको रोजगारीमा हुनुहुन्छ । सुरक्षा क्षेत्रमा कार्यरत तपाईँ चैँ कत्तिको सुरक्षित हुनुहुन्छ त ? सेक्युरिटी गार्डका समस्या के छन् ? यिनै विषयमा यसपटक मलेसियाको लोकप्रिय मासिक ..... मा रिपोर्ट बनाउने प्रयासमा छु । तपाईँका अनुभव शेयर गरिदिनुहोला । कस्तो छ मलेसियामा सेक्युरिटीको काम तपाईँको नजरमा ?”

भन्न मन लागेको थियो, ‘लोहा गरम है और मारो’ भन्याजस्तो तिम्लाई पनि रिपोर्ट बनाउने चटारो यसैबेला परेछ हगि ? तर भनिनँ । यो म्यासेजको जवाफ पनि नदिइ बसेको छु । दिन मन नलागेर हैन, दिएर साध्य नै नहुने भएर ।
यी पत्रकार साथीलाई पनि म नजिकको मित्र ठान्थेँ ।  अझैपनि ठान्छु । दुई वर्षअघि मेरो मुखमा आएको घाऊलाई एकजना डाक्टरले ठोकुवा गरेरै क्यान्सर भनिदिएको थियो । त्यो समयमा मेरो नराम्रो खबर सुन्ने साथी उनी नै हुन् । सुन्ने मात्रै हैन, मलेसियाभरि सहयोग जुटाउन लागि परेका पनि हुन् । तर मलाई त्यसको जरुरत भएन अर्कै कुरा । हामीबीच यति धेरै औपचारिकता निभाइरहनुपर्ने कुनै कारण नै थिएन । यस्तो बेलामा उनले ममाथि आइलागेको अवस्थाको बारेमा एकै शब्द सोधेको भएपनि मलाई सान्त्वना मिलेझैँ हुने थियो । म्यासेज त आयो तर यस्तो समयमा आएको त्यस म्यासेजले मलाई पूरै उपहास ग¥यो र खाटा बसिसकेको घाउलाई फेरि बल्झाइदियो । लडेकाे मान्छेलाई साेध्ने उपयुक्त प्रश्न मेराे विचारमा "के भयाे ?" अथवा "किन यस्ताे भयाे ?" नै हाे । लडेर दुखेकाे घाउ मुसारिरहेकाे मान्छेलाई "कस्ताे लागिराछ त ?" भनेर साेधेजस्तै थियाे साथीकाे प्रश्न मेरा लागि ।

यी त पछिल्ला समयका कुरा हुन् । खासमा मेरो लागि फेसबुक भनेको साथीहरुले मलाई बुझ्न नसक्ने या उल्टो बुझ्ने ठाउँ बनेको महसुस मैले धेरैपटक गरेको छु । यसमा मेरै कमजोरी पनि होला । सकेसम्म आँसुका कुरा नलेख्ने जस्तोसुकै परिस्थितिमा पनि हाँसोमजाक गरिरहन मन लाग्ने भएका कारण सायद मानिसहरुले मलाई एउटा सम्पन्न मारवाडीजस्तो ठान्छन् कि जस्तो लागिरहेको छ । हाँसो, खुसी र ठट्टा भन्ने कुरा धनसम्पत्तिले कहाँ दिन्छ र भन्ने नबुझेकाहरुले मलाई असाध्यै सम्पन्न र सुखी देख्दा रहेछन् । तर मैले अघि नै लेखिसकेको छु, मेरो जीवनकै सबैभन्दा महँगो फोन सामसङ कम्पनीको जे–टू थियो, जो लुटियो ।

मैले धेरै सोँचेँ । फेसबुक धेरै चलाएर, होहल्ला गरेर, हाँसेर जिस्केर, व्यर्थै अरुलाई भ्रममा पारेर प्रिय ठानिएका साथीभाइहरुलाई गुमाउँदै जानुभन्दा बरु यो चीजलाई कमै प्रयोग गर्दा राम्रो हुने निष्कर्षमा म पुगेँ । त्यसपछि अब केही समयका लागि थ्रीजी फोन नै नचलाउने विचार गरेर यस्तो फोन किनेको छु । २०६१ तिर होला, अर्घाखाँचीमा भर्खर पोष्टपेयड फोन चल्न थालेको थियो । जोकोहीले चलाउन त के छुन पनि पाउने कुरो थिएन । मपनि तिनै ‘जोकोही’ भित्र पर्थेँ । केही व्यापारीहरुले यस्तो फोन बोकेर हिँडेको देख्दा साह्रै लोभ लागेर आउँथ्यो । खै, त्यही कारण मेरो अवचेतन मनले अह्रायो कि के भयो, आखिर यस्तो फोन किनियो । हुन त मेरो दिमाग नै डिसेन्डिङ टाइपको छ । बढ्ने हैन घट्ने खालको । खाली पछाडि फर्कन्छ अतीततिर । पुराना कुराहरुको असाध्यै माया लाग्छ । सामानहरु मात्रै हैन गीतसङ्गीत लगायत अरु कुराको पनि । यही कारण पनि होला मैले यो फोन रोजेको ।
जेजस्तो भएपनि अब फेसबुकलाई कम समय दिने मेरो बहाना हो । हरेक हप्ता कामको नियमिततामा परिवर्तन हुन्छ । रातिको काम पर्दा भने म केही हल्ला गर्न पक्कै उपस्थित हुनेछु । मलाई थाहा छ, बानी पार्न केही गाह्रो पक्कै छ तर कोशिस गर्नेछु । साथीभाइहरुले नबिर्सनुहोला र बिर्सियो भनेर पनि नसोँच्नुहोला । खासमा फूलटाइम फेसबुक यूजरबाट पार्टटाइममा झरेको मात्र हो । हाम्रो माया, हाम्रो साथ र सद्भाव त सधैँ उस्तै रहनेछ ।
०००

Saturday, 23 July 2016

दस महिनापछि

Gantavya monthly

— डा. फङ चान ओन

त्यो दिन थियो, २५ अप्रिल २०१५को जुन दिन ७.८ म्याग्नेच्यूडको शक्तिशाली महाभूकम्पको कहर नेपालमाथि बज्रिएको थियो । त्यतिखेर म नेपालको राजधानी काठमाण्डूमा थिएँ । जुन समयमा धरती हल्लिन सुरु गरेको थियो त्यो समय म नेपालकै पुरातन राजधानी भक्तपुरमा थिएँ अनि एउटा मन्दिरमा एकजना साधुको तस्वीर क्यामेरामा उतारिरहेको थिएँ । त्यहाँ रहेका स्तूपा र गजुरहरु मभन्दा जम्माजम्मी छः मिटर पर हुँदा हुन ।
त्यही समय धरती काम्न थाल्यो । हामीले हेर्दाहेर्दै मन्दिरका गजुरहरु ढले र हाम्रा वरिपरि थुप्रो लागे । एकैक्षणमा हामी ढलेका मन्दिर र घरहरुको धूलो र अँध्यारो आँधीमा परेर निसास्सियौँ । घटनाहरु यति छिटो घटित भएका थिए कि हामी रनभूल्लमा परेका थियौँ ।
भूकम्पको पहिलो धक्का थामिएपछि पथप्रदर्शकहरुको सहयोगमा हामी खुला ठाउँको खोजीमा निस्क्यौँ । दरबार स्क्वायर क्षेत्रका साँगुरा गल्लीहरु ढलेका घरहरुको भग्नावशेषले भरिएका थिए । सौभाग्य नै होला, हामी बाँचेका थियौँ र कुनै चोटपटक पनि लागेको थिएन । भूकम्पका पराकम्पनहरु बारम्बार आइरहेका थिए । त्यसपछि अरु दुई रात मात्र त्योपनि हयात रेजेन्सीको खुला बरण्डामा बिताएर हामी आफ्नो घर मलेसिया फक्र्यौँ ।

नेपालमा रहँदाबस्दा मलाई धेरै कुराले प्रभावित बनाए । अझ हामीसँग रहेका नेपाली पथप्रदर्शकहरुको सहयोगी मन र समर्पणताको भावनाले मेरो मनलाई बेस्सरी स्पर्श गरेको थियो । उनीहरुले हाम्रा गह्रुँगा क्यामेरा र झोलाहरु बोकिदिएका थिए अनि भूकम्पका कारणले आफ्ना प्रियजनहरु झनै बढी दुःखमा परेका छन् भनेर जान्दाजान्दै पनि उनीहरुले हामीलाई छाडेर गएनन् । फर्कने समयमा मैले मनमनै आफैसित वाचा गरेको थिएँ, यिनीहरुलाई धन्यवाद भन्न म पुनः नेपाल आउनेछु । तर साल २०१५ सकिँदासम्मपनि नेपाल जाने मेसो मिलाउनै सकिनँ । यसपालीको बाँदर वर्ष (चाइनीज नयाँ वर्ष) सकिनासाथ मैले मेरी श्रीमतीसँग भनेँ, ‘म नेपाल जान चाहन्छु ।’ त्यसपछि २०१६ फेब्रुअरीको ११ तारिखका दिन म अत्यन्तै व्यग्र र उत्साहित हुँदै काठमाण्डूका लागि उडेँ ।
यसपाली मसँग थिए, डेन्नी ओङ, एक फोटोग्राफर जो भूकम्पको त्यस दिनपनि काठमाण्डूमा मसँगै थिए । अनि यिप लूङ, जो भूकम्पको एक दिनअघि मात्र हामीसित विदा भएर मलेसिया फर्केका थिए । उतिबेला मसँग भएकाहरुमध्ये अन्य दुईजना (दातु डा. सारिफुद्दिन वाहाब र तानश्री कुआ सियान कूइ) आआफ्ना व्यक्तिगत र पारिवारिक कारणले गर्दा यसपटक नेपाल जान पाएनन् ।

जब हामी तीनजना काठमाण्डू पुग्यौँ, चिनेका नेपाली पथप्रदर्शक हेमराज मल्ल भेटिए । हामी धेरैवेरसम्म कुरा गरेर बस्यौँ । दसमहिनाअघिको सम्झना मनमा फेरि ताजा भइदिएको थियो ।

भोलिपल्ट बिहानै हामी होटेलबाट निस्केर हिँड्यौँ । होटेलभन्दा केही पर मात्र मूख्य सडकको छेउछाउ टाँगिएका सयौँ अस्थायी शिविरहरु देखेपछि म अत्यन्तै स्तब्ध भएँ । त्यहाँ सयौँ हैन हजारौँको सँख्यामा त्यस्ता पालहरु हुँदा हुन ।

महिलाहरुले पालबाहिर खुला आकाशमुनि खाना पकाइरहेका देख्यौँ । युवतीहरुले खुला ठाउँमै आफ्ना लामा कपालहरुमा स्याम्पू हो या साबुन दलेर नुहाइरहेका देख्यौँ । पुरुषहरुले दाँत माझिरहेका अनि बालबालिकाहरु पालबाहिर धूलाम्य भूइँमा यता र उता कुदिरहेका र खेलिरहेका पनि देख्यौँ । ती छाप्राहरुमा बिजुलीबत्ती थिएन तै धन्यवादी हुनुपथ्र्यो कि त्यहाँ सार्वजनिक शौचालय भने रहेछ ।
हामी देख्नेलाई पनि त्यहाँको परिस्थिति अत्यन्तै भयानक थियो । ती भोग्नेहरुले यो सकस कसरी भोगिरहेका हुँदा हुन ? तरपनि ती खेलिरहेका नानीहरु आनन्दित थिए र आइमाईमान्छेहरु अत्यन्तै शान्त देखिन्थे । मैले हेमराजलाई सोधेँ, ‘यिनीहरुलाई आफ्नै खुट्टामा उभिने बनाउनका लागि कसैले केही सहयोग गरेको छैन ?’ हेमराजले मलाई बताए, ‘घर निर्माणका लागि सरकारले सहुलियत ऋण प्रदान गरिरहेको छ तर अत्यन्तै गरिब परिवार त्यो ऋण लिन पनि असमर्थ छ, तिर्न सकिन्न कि भन्ने पीरले ।’

ग्राउण्ड जीरोमा फर्केर

हाम्रो अर्को गन्तव्य थियो स्वयम्भूनाथ जो बाँदर मन्दिरको नामले पनि प्रसिद्ध छ । तिब्बती शैलीमा निर्माण गरिएको यस मन्दिरको मूख्य भाग उस्तै रहेपनि गजुरहरु भने यसका पनि ढलेछन् भूकम्पमा । भूकम्पमा परेर तीनओटै दरबार स्क्वायरहरु काठमाण्डू, पाटन र भक्तपुर तहसनहस बनेको रहेछ ।
केही पर्यटकहरु देखिए त्यहाँ । प्रकृतिले ल्याएको कहरमा परेर थुप्र्रै सँरचनाहरु धूलीसात भएपनि केही रङ्गीन र फोटोजेनिक दृष्यहरु बाँकी थिए । पर्यटकहरुले तिनै दृष्यहरुलाई आआफ्ना क्यामेरामा कैद गरिरहेका थिए ।

म भक्तपुर दरबार स्क्वायरको त्यही ठाउँमा उभिन आएँ जहाँ पोहोर साल पनि यसरी नै उभिएर एकजना साधुको तस्वीर लिइरहेको थिएँ । जहाँ भूकम्पको धक्काले पहिलोपटक मलाई बेस्सरी तर्साएको थियो । मन्दिर छेउका पसलेहरुले मलाई बताए कि ती साधुलाई पनि केही नराम्रो भएनछ र अहिले उनी अर्कै मन्दिरमा गएर बसेका रहेछन ।

हेमराजले त्यसदिन हामीले भोगेको त्रासदीको क्षण सम्झाए अनि त्यो ठाउँ पनि देखाए जहाँ हामी आफ्नो ज्यान जोगाउनका खातिर झण्डै एक किलोमिटर जति दौडिएका थियौँ । त्यो सम्झनाले मलाई भावुक बनायो ।

हामी एउटा भत्किएको घरभित्र पस्यौँ । ढलेको खाँबोमा ठोकिएको काँटीमा अल्झेको एउटा क्यामेरा देख्यौँ । डेन्नीले त्यसलाई हातमा लिए र स्टार्ट बटन थिँचे । अचम्म, त्यस क्यामेराले त काम पो ग¥यो । दसमहिनासम्म पनि त्यो क्यामेरा नबिग्रेको देख्दा हामीलाई अचम्मै लाग्यो ।

काठमाण्डू घुम्ने क्रममा हामीले सडकमा ठूला गाडीहरु, कारहरु र मोटरसाइकलहरु भरिभराउ देख्यौँ । उनीहरु आफ्नो भागमा परेको ईन्धन लिन त्यसरी पेट्र«ोल पम्पमा पालो पर्खेर उभिएका रहेछन । भारतसँगको लामो सम्बन्धमा केही दरार पैदा भएका कारण ईन्धन आपूत्र्तिमा समस्या आइलागेको रहेछ । एउटा मोटरसाइकलले एक दिनमा जम्मा पाँच लिटर ईन्धन पाउँदो रहेछ ।

महाभूकम्पको त्रासदीको दस महिनापछि पनि काठमाण्डू तँग्रिन सकेको रहेनछ । सहर विरानो अनि सुनसानजस्तो लाग्यो । भूकम्पले केन्द्रविन्दू बनाएको क्षेत्रमा हामी जान सकेनौँ । त्यहाँका मानिसहरुको दैनिक जीवनको दूरुहता सहजै अनुमान लगाउन सकिन्थ्यो ।

फर्कने दिनको बिहानै हामीले म्यानचेष्टर यूनाईटेडको लोगो भएको एउटा फूटबल किन्यौँ, अनि थुपैै्र पेन्सिल र क्याण्डीहरु किन्यौँ र अस्थायी शिविरमा खेलिरहेका बालबालिकाहरुलाई लगेर दियौँ । उनीहरु खुसी भए । थोरै समयकै लागि भएपनि उनीहरुको अनुहारमा खुसी देख्न पाउँदा हाम्रो मन पनि रमायो । जब हामी त्यहाँबाट फर्कने सुरसार गरिरहेका थियौँ, ती साना नानीहरु हामीले दिएको बल खेलेर रमाइरहेका थिए ।

नेपालको पुनःनिर्माणको अलमल देखेर मेरो मन साह्रै दुख्यो । मलाई लाग्यो, नेपालको पुनःनिर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग अझै केन्द्रित हुनुपर्छ । दुनियाका शक्तिराष्ट्रहरुले सिरिया र आइएस मुद्दाबाट सिर्जित शरणार्थी समस्यालाई वेवास्ता गरिरहेको यस समयमा नेपालमा पनि मानवीय सङ्कट मडारिइरहेको छ । तर म नेपालीहरुको शान्तिप्रिय चरित्र देखेर अत्यन्तै प्रभावित भएको छु । यी मानिसहरु अत्यन्तै सहनशील र सकारात्मक स्वभावका छन् । हेमराज जो हाम्रा पथप्रदर्शक थिए, उनले हामीलाई बताए कि चीन र भारतजस्ता विशाल देशहरुको बीचमा रहेको भौगोलिक रुपमा सानो देश नेपाल हजारौँ वर्षदेखि स्वतन्त्र रही आएको छ र भविष्यमा पनि यो देश यसरी नै बाँचिरहनेछ ।

यही भ्रमणकै समयमा जतिखेर हामी जीवित देवी कुमारीलाई हेर्न गएका थियौँ, हामीले झ्यालबाट बाहिर मानिसहरुलाई नियालीरहेका कुमारीका निर्दोष आँखाहरु देखेका थियौँ । मानिसहरु आइरहेका थिए अनि आशिष माग्दै गइरहेका थिए । मैले पनि ‘सिँगो नेपालमाथि निरन्तर आशिषको वर्षा भइरहोस् ।’ भन्दै जीवित देवी कुमारीसँग मनमनै आशिर्वाद मागेँ ।
०००
तानश्री डा. ओन मलेसियाका पूर्व मानव सँशाधन मन्त्री हुन । उनको यो सँस्मरण २७ फेब्रुअरीको द स्टार अँग्रेजी दैनिकमा प्रकाशित भएको थियो । त्यसै सँस्मरणको नेपालीमा यो भावानुवाद सिरुखर्के जेठाले गरेका हुन । —सम्पादक

Saturday, 16 July 2016

सानाे सुरुआत : लामो यात्रा



- सेलिना अङ

“म अहिले ९० वर्षकी भएँ । मैले यस्ता ज्यानमारा भूकम्पहरु दुईओटा

भोगेँ । दुईपटक नै म बाँचेँ । के म भाग्यमानी हुँ ? मलाई थाहा छैन । दुईदुईपटक नै ईश्वरले मलाई बचाउनुभयो तर मैले दुईदुईपटक नै सबैथोक गुमाएँ ।” दिलमाया तामाङले यसो भनेकी थिइन् ।
सन् १९३४ जनवरी र २०१५ अप्रिलको भयानक र ज्यानमारा भूकम्पहरुको सम्झना बटुलिरहँदा उनका आँखामा लछप्पै आँसु थियो । उनलाई हामीले नुवाकोट जिल्लाको बगुवा गाउँमा उनकै भत्किएको घरवाहिर भेटेका थियौँ ।
गत वर्ष नेपालमा आएको भूकम्पमा ९००० मानिसहरुको ज्यान गयो र हजारौँ मानिसहरु घाईते भए । यो पीडाबाट तँग्रिन नेपालले अझै सँघर्ष गरिरहनु परेको छ ।
भर्खरै जारी नयाँ सम्विधानको विरोधमा भएको ईन्धनलगायतका समस्याका कारण यो भूपरिवेष्ठित मूलुकले थप दूर्दान्त अप्ठेरो झेल्नुप¥यो । हामी राहत सामाग्री लिएर नेपाल जाँदा राजधानी काठमाडौँमै पनि जनजीवन सामान्य थिएन ।
“ग्याँसको एउटा सिलिण्डरको मूल्य लगभग एकहजार नेपाली रुपैयाँ हो । तर अहिले मैले कालोबजारीहरुबाट नौहजार रुपैयाँमा किनेर ल्याएको छु । बजारमा पाइँदै पाइन्न । धन्न यति धेरै पैसा तिरेर भएपनि पाएँ भनुँ ।”
राजधानी काठमाडौँ उपत्यकाको क्षेत्रपाटी नाम गरेको ठाउँमा सानो चियापसल चलाइरहेका निरोज तामाङले हामीलाई आफ्नो दुःख यसरी सुनाएका थिए ।

यही कारण नै म नेपाल गइरहेकी थिएँ । मनले खप्नै नसकेर आफुले सकेको सहायता गर्ने उद्धेश्यले म एकै वर्षमा ती–तीन पटक नेपाल पुगेकी थिएँ ।
अपरिचितहरुको माया
यो सब एउटा फेसबुकको सन्देशबाट सुरुआत भएको थियो । मेरो ५० दिने नेपाल बसाइँमा मैले गर्न सक्ने सहायता जुटाउन ममाथि धेरैजनाले विश्वास गरेर आफ्ना मुट्ठी खोलेका थिए । तिनै दाताहरुको बलमा मैले थप विश्वास आर्जेकी थिएँ । यतिउति जुटाउने भन्ने कुनै लक्ष्य थिएन । मेरो योजना थियो, मानिसहरुले जेसुकै दान गरुन्, तिनलाई जम्मा पारेर नेपाल लैजाने । सहयोग सङ्कलनको दुई हप्तामा हामीले १५००० रिँगेट जम्मा पार्न सक्यौँ । म नेपाल जान केही हतोत्साही र व्यग्र दुवै भइरहकी थिएँ । झण्डै दुई हप्ता नेपालका सीमान्तकृत भूभागहरुमा पुग्दा त्यहाँका मानिसहरुको खाँचोबारे मलाई राम्ररी जानकारी भएको थियो ।
हामी स्वयँसेवक बनेर भूकम्पप्रभावित गाउँहरुमा जहाँ–जहाँ पुग्यौँ त्यहाँ मानिसहरु आफ्ना भत्केका÷ढलेका घरहरुको पुनर्निमाणका लागि कठोर श्रम गरिरहेका देख्यौँ ।
“हामीले आफ्ना घरहरुको पुनर्निर्माणका लागि थप मेहनत र दुःख गर्न सक्छौँ तर ईन्धन समस्या र भूकम्पका कारण पर्यटनमा परेको नराम्रो प्रभावले झन पिरोलेको छ ।” मेरो नेपाली साथी कालु तामाङले मसित भनेका थिए । कालु तामाङले काठमाडौँमा एउटा ट्रेकिङ कम्पनी चलाइरहेका थिए र भूकम्पपछि उनको कम्पनी एकदमै घाटामा गइरहेको थियो ।
सहयोगका लागि उठेको रकम कसरी कहाँ प्रयोग गर्ने भनेर अन्यौलमा परिरहेका बेला स्थानीय साथीहरुले हामीलाई सक्दो व्यवहारिक बन्ने सुझाव दिएका थिए । हामीले नुवाकोट जिल्लाको बगुवा नाम गरेको गाउँ जहाँ ५८ घरपरिवारहरु बस्दारहेछन् त्यहीँबाट आफ्नो कामको सुरुआत गरेका थियौँ । चर्किएका पर्खालहरु, प्वाल परेका भित्ताहरु र भत्किएका छानाहरु मात्रै हामीले जताततै देखेका थियौँ । भूकम्पको कहरबाट कुनैपनि घर जोगिएको थिएन ।
एउटा स्थानीय दम्पत्ति जो धाराप्रवाह रुपमा मले भाषा बोल्न जानेको थियो, उनीहरुको सहायता लिएर हामीले ती ५८ घरपरिवारका लागि केही प्रबन्धहरु गरिदियौँ । चामल, दाल, अण्डाहरु, आलु अनि खाने तेल लगायत हरेक घरका लागि चौधप्रकारका सामाग्रीहरु हामीले त्यो गाउँमा बाँडेका थियौँ । त्यो दिन गाउँमा मेला लागेजस्तै भएको थियो । बूढापाका, केटाकेटी, जवानहरु, अपाङ्गहरु र छिमेकी गाउँका मानिसहरु पनि त्यस दिन बगुवामा भेला भएका थिए ।
कागजमा टिपिएका सुनिता लामा, राजु प्रजापति, कृष्ण पौडेल आदि नामहरु बोलाउँदै हामीले ती सामाग्रीहरु हस्तान्तरण गरेका थियौँ ।

परम्परागत नेपाली पहिरनमा सजिएका मानिसहरु सकेसम्म आँखा जुधाउन लजाउने स्वभावका थिए । उनीहरुको आँखामा लज्जालु मुस्कान नाचिरहेको हुन्थ्यो । तर केही मानिसहरुले हामीलाई स्वर खोलेर धन्यवाद भनिरहेका थिए ।
न्यानो बाँड्दै परसम्म
थप केही सहायता सामाग्रीहरु लिएर म काभ्रे जिल्लाको ठूलो पर्सेल नाम गरेको गाउँमा पुगेकी थिएँ । त्यस ठाउँमा पुग्नका लागि काठमाडौबाट चारघण्टाको जीप यात्रा गर्नुपरेको थियो । त्यस गाउँ रोजेका थिए मेरा पथप्रदर्शकहरुले जो सगरमाथा र अन्नपूर्ण आधार शिविरमा जाँदा मेरा साथी बनेका थिए ।
ठूलो पर्सेलको वडा नम्बर ५ मा ९४ घर रहेछन् र लगभग ४७० मानिसहरु त्यहाँ बस्दा रहेछन् । केही स्वास्नीमानिसहरु र बूढापाका मानिसहरु बारीहरुमा काम गरिरहेका देखिए । तन्नेरी मानिसहरु कामको खोजीमा काठमाडौ सहर अनि विदेश पसेका हुँदाहुन् । 
मैले मेरो पथप्रदर्शक कालु तामाङलाई पछ्याउँदै त्यो गाउँको सेरोफेरो परिक्रमा गरेँ ।
“सबै मानिसहरु बाँसका अस्थायी घरहरुमा बसिरहेका छन् कारण हाम्रा घरहरु बस्नका लागि सुरक्षित छैनन् । अझैपनि भूकम्पका झट्काहरु आउने क्रम जारी छ ।” कालुले एउटा अस्थायी आश्रयघरमा पस्दै मलाई बताएका थिए ।
जाडोको महिना थियो । तापक्रम १० डिग्री सेल्सियसभन्दा पनि तल हुन्थ्यो । यस्तो समयमा गाउँलेहरुलाई न्यानो बाँड्ने कुरामा हाम्रो सल्लाह मिलेको थियो । राम्रो स्तरको कम्बलहरु बाँड्न पाए मानिसहरु हिउँदका यी चीसा रातहरुमा अलि राम्ररी सुत्न पाउने थिए । हामीले केहीथान कम्बलहरु काठमाडौबाट लगेर गयौँ । गाउँका मानिसहरुले हाम्रो सानो सहायताको बदलामा हामीलाई पनि न्यानो स्वागत गरे ।
“नमस्ते । तपाईँहरुलाई घरमा बनाइएको चीया मन पर्छ ? कृपया हाम्रो घरमा खाना खान आउनुहोस् ।” मानिसहरुले हामीलाई यस्तै यस्तै शब्दले स्वागत गरेका थिए ।

राहत बितरण गर्ने दिन मानिसहरु चौरमा भेला भएर उत्सुकतापूर्वक आ–आफ्ना नाम बोलाइने समयको प्रतीक्षा गरिरहेका थिए । राहत बितरणको कार्यक्रमपछि एकजना अद्धैवैँशे मानिस जुरुक्क उठे र आफ्नो साधारण अँग्रेजीमा हामीलाई पटक–पटक धन्यवाद दिँदै भने—
“भूकम्पपछि हामीले असहाय र निराश महसुस गरिरहेका थियौँ । हामी आज मलेसियाबाट आएको यो राहत देखेर खुसी भएका छौँ । तपाईँहरुलाई हाम्रो यो गाउँमा सदैव स्वागत छ ।”

जब हामी उनीहरुसँग सामूहिक तस्वीर लिन उभियौँ मानिसहरु आफ्ना गलबन्दीहरु हातमा लिएर प्रार्थना गर्न लागे ।
यो अवधिभर कठोर सँघर्षका वावजूद पनि नेपालीहरुको अनुहारमा सधैँ मुस्कान देखेँ । उनीहरुको नम्र र शान्तिप्रिय चरित्र साँच्ची नै उत्कृष्ट छ । तर दूर्भाग्य शान्तिका लागि जति नै लचिलो बनेपनि त्यसबाट समस्याको समाधान नहुँदो रहेछ ।
हामी फेरि नेपाल गयौँ भने हाम्रो यात्राको सूचीमा सहरको दृष्यावलोकन, प्रसिद्ध पदयात्राहरुको परिक्षण तथा स्थानीय सँस्कृतिहरुको अन्वेषण साथै ती मानिसहरुलाई पुनः आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु अर्को उद्धेश्य हुनेछ ।

म ५० दिन नेपालमा थिएँ अनि त्यस सुन्दर देशमा यो मेरो अन्तिम भ्रमण कदाचित हुने छैन ।
०००

(Selina NG नेपालको भूकम्पबाट प्रभावितहरुलाई मलेसियामा सहयोग जुटाउन लागिपरेकी थिइन् । उनी आफैले पनि नेपालमा गएर भूकम्प प्रभावित मानिसहरुलाई भेटेकी थिइन् साथै आफै सहभागी भएर पुनर्निर्माणमा जुटेकी थिइन् । नेपालमा धेरैले आफुलाई नेपाली युवती भनेका थिए भन्दै फुरुङ्ग हुने सेलिनाको हरेक वर्ष नेपालको एउटा हिमाली पदयात्रा पूरा गर्ने उद्देश्य छ । उनको यो लेख 29 April 2016 को the Star daily दैनिकमा छापिएको थियो । त्यसको भावानुवाद सिरुखर्के जेठाले गरेका हुन् । –सम्पादक)
गन्तव्य मासिक JULY 2016 मा प्रकाशित

Tuesday, 12 July 2016

मलेसियामा नेपाली साहित्य

@samakalinsahitya 


जेबी दर्लामी  


अनेकन विवशताहरुले मातृभूमिलाई पिठ्यूँ फर्काएर हिँड्नुपरे पनि नेपालीहरुले आफ्नो नेपाली मनलाई सँगै लिएर आएका छन् । समयले हरेक क्षण तिनका हातहरुमा हत्कडी लगाउन खोजे ता पनि श्रृजनाको फूलवारी सजाउन छाडेका छैनन् उनीहरु । सिर्जन–शक्ति कहिल्यै पनि विफल नहुँदो रै’छ साँच्ची नै । त्यसैले त रात–दिन मेशिनको दास बन्नुपर्ने परदेशी जीवनको बाध्यतालाई पन्छाउँदै रचनात्मक कार्यमा जुटिरहेछन् नेपाली लेखक, कवि कलाकारहरु । खेलाडी, समाजसेवी र पत्रकारहरु । 


मलेसियामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील भई आफ्नो देश, जाति र समाजलाई अमूल्य योगदान दिइरहेका ती ठूला मन हुनेहरुको मूल्याङ्कन एकदिन अवश्य नै हुनेछ, मेरो विश्वास यही छ । मेरो कलम चाहीँ यतिबेला त्यहाँ बसेर विभिन्न कठिनाई र प्रतिकुलताका बावजुद पनि लेखन कार्यलाई निरन्तरता दिँदै नेपाली समाजलाई आफ्ना अमूल्य कृति सुम्पने लेखकहरु र तिनका पुस्तकको बारेमा संक्षिप्त (जानकारी अभावका कारण) परिचय दिन हतारिएको छ । पहिल्यै स्पष्टीकरण दिन मन लाग्यो– यो पंक्तिकार कुनै समीक्षक हैन र यो सानो लेख कुनै समीक्षा हैन । सानो टिप्पणी मात्र गर्न तम्सेको छु । 



केही कृति र कृतिकारहरुः–



मनि राई ‘गोठाले’

इ.सं.२०१० मा एउटा कथासङ्ग्रहको मलेसियामा विमोचन भयो– युद्ध समाधि । यसका लेखक हुन्– मनि राई ‘गोठाले’ । विभिन्न पत्र–पत्रिकाहरुमा चोटिला कार्टुनचित्र कोरेर प्रवासमा ख्याति कमाएका लेखक हुन्– मनि राई ‘गोठाले’ । परदेशबाटै भएपनि नेपाली साहित्यलाई महत्वपूर्ण योगदान दिएका उनी यहाँका साहित्यिक अगुवा नै हुन् । उनको चर्चा विना मलेसियाको नेपाली साहित्य अपूरै रहनेछ । 


ईन्द्र नारथुङ्गे

अर्का साहित्यिक व्यक्तित्वको नाम हो– ईन्द्र नारथुङ्गे । उनका अत्यन्तै उत्कृष्ट कविताहरुको सङ्ग्रह सिम्माको नाममा नयाँ चिठी पनि इ.सं.२०१० मै प्रकाशित भयो । यो कवितासङ्ग्रह प्रकाशित साहित्यिक पुस्तकहरुमा नम्बर एकमै पर्दछ । विशेष गरि कवितामा राम्रो दख्खल राख्ने नारथुङ्गे मलेसियामा अब्बल दर्जाका लेखक हुन् । प्रवासी समाज ब्रुनाई÷बेलायतले आयोजना गरेको ‘विश्वव्यापी अनलाइन गजल प्रतियोगिता’मा पर्यवेक्षक मूल्याङ्कनकर्ता बनेर उनले आफ्नो साहित्यिक क्षमता राम्ररी प्रदर्शन गरेका छन् । उनको कुरा नगर्ने हो भने पनि यहाँको साहित्यिक इतिहास पूरा हुन सक्दैन । 


श्रीजनश्री

मलेसियामै रहेर दुईवटा गजलकृति– माटो हाँस्छ र माटो भन्नु मुटु रै’छ प्रकाशन गर्न भ्याएका श्रीजनश्री विशेषतः गजल लेखनमा यहाँका गजल शिक्षक नै हुन् भनी लेख्दा अर्घेल्याई हुने छैन । गजल विधाका राम्रा जानकार उनी बहरमा गजल लेख्न र गाउन उत्तिकै सिपालु छन् । ‘दीपाञ्जली’ गजल– पत्रिका प्रकाशन गरेर यिनले मलेसिया भरि विभिन्न ठाउँमा छरिएर रहेका गजलकर्मीहरुलाई एकै ठाउँमा ल्याउने काम गरेका छन् । धेरैजना त उनकै प्रेरणा र हौसला पाएर गजल लेख्नेहरु छन् मलेसियामा । उनको यस योगदानलाई थोरै आँक्न मिल्दैन । मलेसियाबाटै प्रकाशित ‘बिम्ब’ र ‘सृजनाका स्वरहरु’ संयुक्त गजलसंग्रहमा पनि यिनका गजल समावेश छन् । 


गनिन्द्र ‘विवश’ लिम्बु

पिरतीको घर गनिन्द्र ‘विवश’ लिम्बुको मौलिक उपन्यास हो । साहित्यका विभिन्न बिधामा क्रियाशील लिम्बु गजल पनि राम्रो लेख्छन् । प्रवासी समाजले आयोजना गरेको विश्वव्यापी अनलाइन गजल प्रतियोगितामा ‘उत्कृष्ट बीस’ भित्र पर्न सफल उनी आशा गर्न लायकका साहित्यिक प्रतिभा हुन । ‘बिम्ब’ र ‘सृजनाका स्वरहरु’ संयुक्त गजलसंग्रह भित्र विवशका पनि गजल प्रकाशित छन् । 


दिनेश भारती

त्यसैगरी मलेसियामा बसेर साहित्यकर्ममा क्रियाशील दिनेश भारतीले यहीँबाटै एउटा उपन्यास प्रकाशित गरेका छन्– गरिबको सपना । 


रुबेन पुन मगर ‘रन’

२०६६ साल बैशाखमा आफ्नो गीतिसंग्रह आँसुले भिजेको चिठी पाठकको हातमा थम्याइदिएका छन् – रुबेन पुन मगर ‘रन’ले । विछोडको पीडा जो लाखौँ नेपालीहरुको साझा पीडा हो, मार्मिक ढङ्गले व्यक्त गरेका छन् उनले यो संग्रहभरि । (यो भन्दा धेरै व्याख्या गर्ने छैनँ म, कारण यो कुनै समीक्षा हैन, बरु सानो परिचय दिन मात्र खोजेको छु, यी कृति र कृतिकारहरुको बारेमा । तर मलेसियामा रहेर कलम चलाउने यी सबै कलमधर्मीहरु र यिनका लेखन्का बारेमा कसैले शोध–खोज गर्न चाह्यो भने धेरै ठूलो र फराकिलो क्षेत्र तिनका अघि उभिएको छ र तिनलाई स्वागत गरिरहेको छ भनी यहाँ म लेख्न चाहन्छु ।)


जहरसिं तामाङ्ग 

यिनको गजलसंग्रह संघर्षका अनिँदा रातहरु पनि सन् २००९ मै प्रकाशित भएको छ । विभिन्न साहित्यिक तथा सामाजिक संघ–संस्थाहरुमा आबद्व तामाङ्गको गजलसंग्रहले अवश्य नै मलेसियाको नेपाली साहित्यलाई गुन लगाएको छ र समग्रमा नेपाली साहित्यलाई नै भनी लेख्दा अनुपयुक्त नहोला । 


राजु क्षेत्री ‘अपूरो’

इ.सं.२००९ मा मलेसियामा नेपाली साहित्य फाँटमा थुप्रै पुस्तकहरु झुल्केको देखियो, जसमा राजु क्षेत्री ‘अपूरो’को मेरो प्रवासको भोगाई र अनुभवहरु पनि एक थियो । यो लेखकको संस्मरणात्मक कृति हो । 


दीप दर्शन

इ.सं.२०१० को आरम्भमा मलेसियाको भूमिमा नेपालीभाषीहरुले एउटा गजलसंग्रह देख्ने, पढ्ने मौका पाए । नाम थियो– कालो बादलभित्रको चन्द्रमा । र यसका लेखक थिए युवा साहित्यकार दीप दर्शन । मलेसियाको नेपाली साहित्यमा अत्यधिक मात्रामा लेखिने र छापिने विधा नै गजल हो । (कहिलेकाहीँ गजलको नाममा पजल र फजल पनि ।)


अरुण ‘ठूलेदोभान’

यहाँको नेपाली साहित्याकाशमा अत्यन्तै कम मात्रामा प्रकाशित भएको बिधा नाटक हो । (अप्रकाशित अन्य बिधाहरुलाई छाडेर।) तर अरुण ठूलेदोभान एक्लो बृहस्पति बनेर चम्किन पुगेका छन् आफूद्वारा लिखित नाटक– क्रान्तिनायक लिएर । 


युवराज साम्पाङ्ग ‘जेठा’

विदेशी भूमिमा रहेर व्यापारकर्ममा व्यस्त जेठा उत्तिकै व्यस्त छन् साहित्यकर्ममा पनि । उनीद्वारा लिखित कवितासंग्रहको नाम हो– भोगाईका श्रृङ्खलाहरु । ‘जेठा’का केही गजलहरु ‘सृजनाका स्वरहरु’ संयुक्त गजल संग्रहभित्र संग्रहीत छन् । 


रुसाहाङ चेम्जोङ्ग

मलेसियाको नेपाली पत्रकारितामा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल व्यक्तिको नाम हो– रुसाहाङ चेम्जोङ्ग । ‘नेपाली खबर’को मलेसिया संयोजक तथा ‘नेपाल मलाया खबर डट कम’का सम्पादक पनि हुन् उनी । उनको एउटा उपन्यासकृति प्रकाशित भएको छ– विवशताको पिंजडा ।


यहाँबाट विभिन्न विधाका कृतिहरुको प्रकाशन हुने क्रममा सबैभन्दा बढी प्रकाशित भएको बिधा हो उपन्यास । उल्लेख गरिन लागिएका यी सबै उपन्यास र उपन्यासकारहरुको बारेमा विस्तृतमा लेख्न पूर्ण जानकारीको अभाव रह्यो । तसर्थ छोटकरीमा लेख्ने प्रयास गरिरहेछु 

हरि रानाभाट –ममताको पछ्यौरी
वीरेन्द्र राई –भाग्यले जुरायो
चन्द्र ढकाल –दुश्मन
मिलन भण्डारी –सरिता
डी.आर.‘निश्चल’ –आकाश रोयो 
गणेश ‘विवश’ लिम्बु –परदेशी मायाप्रेम
यहाँबाट निपोलो नामको उपन्यास पनि प्रकाशित भएको देखिन्छ । तर यसका रचनाकार को हुन् थाहा हुन सकेन । त्यसैगरि मलेसियामा कार्यरत नेपाली सर्जकहरुको संयुक्त गजलसंग्रहको रुपमा ‘बिम्ब’ (२०६४) र ‘सृजनाका स्वरहरु’ (२०६७) पाठक सामु आएका छन् । नमूना साहित्यिक सँगालो पनि त्यहाँका रचनाकाहरुको संयुक्त संकलन हो, बिविध साहित्यिक सँगालो । 
०००



पुस्तक प्रकाशन नै साहित्यिक श्रृजनधर्मिताको परिचय हैन । कसैले ठेलीका ठेली पुस्तक छापेर पनि समाजलाई केही दिन सकेका हुँदैनन् त कसैले पुस्तक नै प्रकाशन नगरेर एकै टुक्रा रचनाले पनि समाजलाई महत्वपूर्ण योगदान दिइरहेका छन् । प्रवासमा पुस्तकाकार कृति प्रकाशन गर्न विभिन्न कारणवश नसके पनि विभिन्न पत्र–पत्रिकाहरुमा आफ्ना उत्कृष्ट लेख रचनाहरु द्वारा साहित्यमा आफ्नो गतिलो उपस्थिति देखाउने साहित्यकर्मीहरुको नाम यहाँ म उल्लेख गर्न चाहन्छु । हुनसक्छ, यी मध्ये कतिपयले नेपालमा छँदा कुनै न कुनै पुस्तककृति प्रकाशन गरेका छन् या मैले यो सामाग्री तयार पार्दा–पार्दै पनि उनीहरुबाट यो महत्कार्य भएको या भइरहेको हुन सक्छ । त्यसमा अञ्जान हुनुको गल्तीको सजाय मलाई स्वीकार्य छ । 



विष्णु सापकोटा ‘शिशिर’ 

नेपालमै छँदा पनि विभिन्न साहित्यिक पत्रिकाहरुमा आफ्ना गहकिला रचना प्रकाशित गरिसकेका ‘शिशिर’ प्रमुखतः गजल र कथाकार हुन् । साथै निबन्धमा पनि यिनको कलम निर्बन्ध चलेको देखिन्छ । नेपाली पत्रिकाहरुमा यिनका रचनाले पाठकहरुमा गहिरो छाप पारेका छन् । मलेसियाबाट प्रकाशन भएको संयुक्त गजलसंग्रह सृजनाका स्वरहरु भित्र यिनका रचनाहरु पनि समावेश छन् । यिनी चितवनका प्रतिभा हुन् ।


कृष एडिक 

यहाँबाट प्रकाशित नेपाली पत्रिकाहरुमा ब्यंग्यपूर्ण कविताहरु लेखेर चर्चित बनेका यिनी मोरङ्ग जिल्लाका बासिन्दा हुन् । यिनको प्रमुख रचनाशिल्प कविता र निबन्धमा बेजोड देखिन्छ । 


मौलश्री लिम्बु 

झापा स्थायी ठेगाना भएका लिम्बु कथाकार हुन् । विशेषतः लघुकथाका यिनी राम्रा जानकार मानिन्छन् र प्रवासमा रहेर पनि थुप्रै र चोटिला लघुकथाहरुको रचना गरेका छन् । सृजनाका स्वरहरु संयुक्त गजल संग्रहमा यिनका गजलहरु पनि समावेश छन् । 


दिलिप राई ‘सगर’

मोरङ्ग जिल्ला घर भएका ‘सगर’ गीत, गजल, कविता लगायत साहित्यका अन्य विधामा पनि कलम चलाउन सक्छन् । 


अरविन तुलाचन ‘विष्फोट’

गजल क्षेत्रका आशा लाग्दा प्रतिभा हुन् ‘विष्फोट’ । यिनको घर म्याग्दी पर्छ । सृजनाका स्वरहरु भित्र यिनका गजल समावेश छन् । 


दिलदुःखी जन्तरे

वास्तविक नाम पेशल माबुहाङ्ग । घर तेह्रथुम जिल्ला भएका यी साहित्यकर्मी राम्रा गीत, गजल र कविता लेख्ने भित्र दरिन्छन् । साहित्यमा यौन–बिम्ब प्रयोग गर्न रुचाउने यिनी प्रवासी समाज ब्रुनाइ÷बेलायतले आयोजना गरेको विश्वव्यापी अनलाइन गजल प्रतियोगितामा ‘उत्कृष्ट बीस’मा पर्न सफल भएका थिए । 


दावा साङ्गे शेर्पा

संखुवासभाका यि प्रतिभा मूलतः लघुकथाकार हुन् । गद्य विधा अङ्गालेका कारण भविष्यमा यिनबाट नेपाली साहित्य जगतले राम्रा कथा, निबन्ध र उपन्यासको पनि आशा राख्न सक्दछ । 


विवेश विश्वकर्मा 

थोरै लेख्ने तर राम्रो लेख्ने लेखकमा पर्छन्, रुपन्देही जिल्ला घर भएका विवेक विश्वर्मा । निबन्धमा यिनको दख्खल राम्रो छ । 


पदम ‘दुःखी’ सम्बाहाम्फे

पाँचथर जिल्ला निवासी ‘दुःखी’ गजलकार हुन् र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसियाका वर्तमान अध्यक्ष पनि हुन् । बिम्ब र सृजनाका स्वरहरु यिनको संयुक्त गजलसंग्रहका पुस्तक हुन् । 


टंक चन्द

गीत, गजल र कथा लेखन्मा कलम चलाउने यिनी अनेसास, मलेसियाका निवर्तमान अध्यक्ष हुन् । र यिनको घर दाङ्ग जिल्लामा पर्दछ । सृजनाका स्वरहरु संयुक्त गजलसंग्रह यिनको पछिल्लो कृति हो । 


मचिन्द्र तुम्बापो

पाँचथरका यि कलमधर्मीले गजल र कवितामा आफ्नो उल्लेखनीय उपस्थिति देखाएका छन् । पछिल्लो समयमा प्रकाशित संयुक्त गजलसंग्रह सृजनाका स्वरहरु भित्र यिनका गजल परेका छन् । 


भोगेन्द्र ‘प्रियदर्शी’

पाँचथरकै यि साहित्यकर्मी गजल र निबन्ध रचना गर्दछन् । 


नवराज बुढामगर ‘मिलन’ 

जनयुद्धको उद्गमस्थल मानिने रोल्पा जिल्लाका बुढामगर कवितामा आफ्नो प्रतिभालाई राम्ररी प्रस्फुटन गर्दछन् । 


मनोज विराली 

मोरङ्ग जिल्ला निवासी लेखनकर्मी विराली राम्रा गजल र कविता लेख्ने समूह भित्र पर्दछन् । उनको रचनामा युगसापेक्षता सधैं पर्दछ र रचना बिधागत सचेतता पनि उति नै राम्ररी अप्नाइएको पाइन्छ । 


बी.बी.शेर्पा लिम्बु

राम्रा लघुकथाका रचनाकार लिम्बु पाँचथर निवासी हुन् । 


विवश परदेशी 

उदयपुरका यि स्रष्टाले कथामा राम्ररी कलम चलाउन सक्दछन् ।


भूपेन्द्र खपाङ्गी मगर ‘छुच्चा’

कवितामा आफ्नो उपस्थिति जनाएर साहित्यकर्ममा क्रियाशील ‘छुच्चा’ दोलखा निवासी हुन् । 


राकेश हरियाली ‘वसन्त’

स्वदेशमै छँदा पनि विभिन्न साहित्यिक संस्थाहरुमा आबद्ध यि दङ्गाली स्रष्टाले मूलतः कविता लेख्छन् । 


अञ्जना लामा 

औँलामा गन्न सकिने क्रियाशील नेपाली चेलीहरुमा अञ्जना लामा एक हुन् । आफ्ना रचनामा भावप्रबलता र मार्मिकता सिर्जना गर्न सक्ने लामाको प्रमुख बिधा कविता हो । 


सूर्यप्रकाश भुसाल 

गैंडाकोट नवरपरासीका यि युवा स्रष्टाको मुख्य लेखन् बिधा गजल र निबन्ध हो । 


पुन बी.बी.बेदाग 

स्थायी ठेगाना कास्की जिल्ला भएका पुन गजल र लघुकथाका राम्रा शिल्पी हुन् । 


अस्तु बगर 

गोरखा जिल्ला निवासी ‘बगर’ प्रायः लघुकथा र गजलमा देखा परेका छन् । 


विपल 

खोटाङ्ग जिल्लाका यि स्रष्टा गजलकार हुन् । 


आनन्दराज जोशी ‘साम’ 

प्रवासमै पनि विभिन्न संघ–संस्थाका आवद्ध रहेर क्रियाशील ‘साम’को प्रमुख लेखन् क्षेत्र निबन्ध हो । 


अमर अधिकारी 

बेला–बेलामा आफ्नो रचना विभिन्न पत्रिकाहरु मार्फत् सार्वजनिक गरिरहने अधिकारी अर्घाखाँची निवासी हुन् र यिनको लेखन् बिधा कविता हो । 


नेत्र राई

सोलुखुम्बु घर भएका यि स्रष्टाले गजलमा कलम चलाएका छन् । 


सुमन के.सी. 

क्षेत्री समाज, मलेसियामा आबद्ध यिनी कास्की जिल्लाका हुन् । ‘श्रम’ साप्ताहिकको क्षेत्रिय संयोजकमा रहेर पनि यिनले आफ्नो सिर्जनक्षमताको राम्रो प्रदर्शन गर्न भ्याएका छन् । केसी निबन्ध र कथाका राम्रा रचनाकार हुन् । 


ईलामेली कान्छो 

इलाम जिल्लाका प्रतिभा यिनी कविता र गजल लेख्दछन् । 


रुद्र रसाइली ‘बिवश’ 

म्याग्दी घर भएका ‘बिवश’ कथा र निबन्धका रचनाकार हुन् ।


तुलसी खड्का 

कथामा राम्रो क्षमता देखाउँदै आएका खड्का दाङ्ग जिल्ला निवासी हुन् । 


राज मादेन ‘दीनदुःखी’

पाँचथरका आशा लाग्दा प्रतिभा ‘दीनदुःखी’को कलम विशेष गरि गजलमा चलेको देखिन्छ । 


के.बी.बम्जन ‘अभागी’ 

कवितामा विशेष क्षमता उजागर गर्दै आएका ‘अभागी’ सिन्धुलीका हुन् । 


रविन्द्र राई ‘अधुरो’ 

खोटाङ्ग जिल्ला घर भएका ‘अधुरो’को मनको बिधा कविता हो ।


तुला गुरुङ्ग 

गजल लेख्नेहरुको भीडमा आफ्नो छुट्टै स्थान सुरक्षित बनाइसकेका गुरुङ्गको स्थायी ठेगाना थाहा पाउन सकिएन । 


सजिना राई ‘अमृता’ 

कविता लेखन्मा कलम चलाउने ‘अमृता’ ईलाम जिल्ला निवासी हुन् । 


सन्तोष माबुहाङ्ग

नेपालमै छँदा गजल लेख्न थालेका सन्तोष माबुहाङ्ग गजल बिधाका आशा गरिन लायकका प्रतिभा हुन् । यिनको घर तेह्रथुम जिल्लामा पर्दछ । 


सन्तोष लिङ्देन

ताप्लेजुङ्गका यि स्रष्टा गजलकार हुन् । मलेसियामा पछिल्लो समयमा अत्यन्तै क्रियाशील यिनका थुप्रै गजल प्रकाशित छन् । 


रुपा राई 

भोजपुर जिल्ला स्थायी ठेगाना भएकी राईका विभिन्न पत्रिकाहरुमा रचना प्रकाशित भएको देखिन्छ । यिनको रचना बिधा मुख्यतः कविता हो । 


ईन्द्रकला लिम्बु 

गजल बिधा अङ्गालेर साहित्यमा अघि बढेकी यि स्रष्टाको थातथलो तेह्रथुम जिल्ला हो । 


सञ्जय राई ‘छुच्चा’ 

गीत, गजल र कवितामा कलम चलाउने छुच्चाको स्थायी ठेगाना सुनसरी जिल्ला हो । 


अशोककुमार ‘प्यासी’ राई

गजलमा विशेष अनुभवी राई ओखलढुङ्गा जिल्ला निवासी हुन् । 


धनबहादुर छन्त्याल 

बाग्लुङ्ग जिल्ला स्थायी बसोबास भएका छन्त्यालले निबन्ध तथा गजलमा कलम चलाएको देखिन्छ । 


देउकला ‘परा’ लिङदेन 

ताप्लेजुङ्ग स्थायी ठेगाना भएकी यी स्रष्टा मुख्यतः कविता र गजल लेखन्मा क्रियाशील देखा पर्छिन् । 


जीतमान राई ‘सविन’

ईलाम जिल्ला स्थायी ठेगाना भएका यी उत्साही स्रष्टाले गीत, गजल र कविता बिधामा कलम चलाएको देखिन्छ । नेपालमै छँदा विभिन्न संघ–संस्थाहरुमा आबद्ध यिनले आधा दर्जन साहित्यिक पत्रिकाहरुको सम्पादक भएर अनुभव बटुलिसकेका छन् । मलेसियामा रहेर पनि सृजनाका स्वरहरु संयुक्त गजलसंग्रह र पुञ्ज साहित्य सँगालोमा सम्पादकको भूमिका निभाएका ‘सविन’ले उदाउँदो तारा साहित्य समाज, पेनाङ् मलेसियाका सचिव तथा विश्व नेपाली साहित्य महासंघको संस्थापक केन्द्रीय सदस्य बनेर पनि साहित्यको उत्थानमा सक्रिय सहभागिता जनाएका छन् । मलेसियाबाट प्रकाशित सृजनाका स्वरहरु संयुक्त गजलसंग्रहमा यिनका पनि गजल समावेश छन् । 


गणेश महतारा ‘हिमाली’

विभिन्न बिधामा आफ्नो लेखनी प्रस्तुत गर्ने ‘हिमाली’को स्थायी ठेगाना संखुवासभा हो । सृजनाका स्वरहरु संयुक्त गजलसंग्रहमा यिनका गजल प्रकाशित छन् । 


नरेन बी मगर

‘उदाउँदो तारा साहित्य समाज’ मलेसियाको सहसचिवको पदमा रहेर आफ्नो खुबी प्रदर्शन गरिसकेका मगरको स्थायी बसोबास ईलाम जिल्लामा छ । नेपालमै पनि विभिन्न साहित्यिक संघ–संस्थाहरुको जिम्मेवार स्थानमा रहेर साहित्य साधनामा लागेका यिनको प्रकाशित कृति पनि सृजनाका स्वरहरु संयुक्त गजलसंग्रह हो । 


राजेश प्रवाह लिम्बु

नेपालमै छँदा २०६३ सालमा घायल मुटु गीतिसंग्रह प्रकाशित गरिसकेका प्रवाहको पछिल्लो कृति संयुक्त गजलसंग्रह सृजनाका स्वरहरु हो । ताप्लेजुङ्ग जिल्ला स्थायी ठेगाना भएका राजेश प्रवाहको प्रमुख लेखनबिधा गीत, गजल र कविता हो । 


थलिन्द्रबहादुर भुजेल ‘उदय’

रामेछाप जिल्ला स्थायी ठेगाना भएका उदयको लेखनबिधा कविता, गजल र कथा हो । पुञ्ज साहित्यिक सँंगालोको सम्पादन समूहमा रहेर यिनले आफ्नो प्रतिभा उजागर गरेका छन् । सृजनाका स्वरहरु भित्र यिनका गजलहरु पनि संग्रहीत छन् । 


रमेश ‘रोदीत’ लामा 

झापा जिल्ला स्थायी ठेगाना भएका रोदीत गजल श्रृजनामा अब्बल छन् भन्दा फरक नपर्ला । सृजनाका स्वरहरुमा आफ्ना मधुर गजलहरु समेटेर पाठक सामु देखा परेका यि युवा स्रष्टाको गजलको भविष्य उज्यालो छ । 


श्यामु गुञ्जन 

पाँचथरका यी युवा सर्जकको यात्रारत पाइला गजलसंग्रह (२०६४) प्रकाशित छ भने सृजनाका स्वरहरुमा पनि यिनका गजलहरुले स्थान ओगेटेका छन् । शब्द र लय संयोजनमा विशेष सतर्कता प्रदर्शन गर्ने गुञ्जनको गजलमा भविष्यको राम्रो सम्भावना देखा पर्छ । 


रसिक शर्मा ‘निश्चल’ 

म्याग्दी जिल्ला स्थायी ठेगाना भएका ‘निश्चल’ पनि गजलमा आफ्नो आगत पहिल्याउँदैछन् । यिनका केही गजलहरु पनि सृजनाका स्वरहरुमा संंग्रहीत छन् । 


टुकेन्द्र ‘पौरखी’

मलेसियाबाट प्रकाशित मेचीकाली र सृजनाका स्वरहरु संयुक्त गजलसंंग्रहमा आफ्ना गजल प्रविष्ट गराएर पाठकको मन जित्न सफल युवा गजलकार पौरखीको स्थायी बसोबास इलाम जिल्लामा छ । 


रुद्र मिश्र

पाँचथरका यी स्रष्टा मुलतः गजलकार हुन् । मलेसियाबाटै प्रकाशित बिम्ब संयुक्त गजलसंग्रह तथा सृजनाका स्वरहरु संयुक्त गजलसंग्रह भित्र यिनका गजलहरु समावेश छन् । 


अर्जुन ‘उजाड’ घिमिरे

खोटाङ्ग जिल्ला स्थायी ठेगाना भएका ‘उजाड’ गजलमा राम्रो सम्भावना बोकेका स्रष्टा हुन् । सृजनाका स्वरहरु संयुक्त गजलसंग्रहमा यिनका पाँच थान गजल समावेश छन् । 


राज ‘सहयात्री’ सुब्बा

पाँचथर स्थायी बसोबास भएका सुब्बा गजलमा कलम चलाउँछन् । सृजनाका स्वरहरु मार्फत यिनले पनि आफ्नो गजल लेखन्को परीक्षा दिएका छन् । 


सन्तोष सागर

पर्वत जिल्लाका ‘सागर’ गजलमा आफ्नो भविष्य खोजिरहेछन् । पछिल्लो समय मलेसियामा प्रकाशित सृजनाका स्वरहरु संयुक्त गजलसंग्रहभित्र यिनका गजलहरु पनि पढ्न पाइन्छ । 


जनक शाही ‘जीवन्त’

राम्रा गजल लेख्ने ‘जीवन्त’ राम्रा गजलकार हुन् । दैलेख जिल्ला घर भएका यी गजलकारका केही गजल सृजनाका स्वरहरुमा समावेश छन् । 


सृजनाका स्वरहरु संयुक्त गजलसंग्रहभित्र आफ्ना गजल प्रकाशित गरेका अन्य गजलकारहरुको नाम यस प्रकार छः 



विनो कार्की ‘आँशु’/संखुवासभा 

कृष्ण आलोक/बाग्लुङ्ग 
झुनसिं/दार्चुला
सन्तोष गैरे/ गोरखा 
रमेश राई/झापा
अल्पकालीन श्रीस थमन/बाग्लुङ्ग
केशव भट्टराई ‘प्रकृतिप्रेमी’/अर्घाखाँची
डेनी गुरुङ्ग ‘अस्वीकृत’/स्याङ्गजा
तारा थापा मगर/स्याङ्गजा 
हिरा बिवश ‘निश्चल’/खोटाङ्ग
कुमार बुढाथोकी ‘आयुष’/दोलखा 
एस.डी.आचार्य ‘शंकर’/स्याङ्गजा
शिषम भेषराज नेपाल ‘टु मच’/संखुवासभा
विजय महतारा ‘बिवश’/प्यूठान
रीना बम्जन/काभ्रेपलान्चोक
दिपेन्द्र शर्मा ‘दीप’/बर्दिया
रमेश घिमिरे/मकवानपुर
थाकुहाङ मेरिङ/ईलाम
लक्ष्मीमाङ चेम्जोङ/पाँचथर
पुरण कटुञ्जेली राई ‘प्रेमी’/ईलाम

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 29 आश्वीन, 2068  (वर्षात दर्लामीकाे नामबाट प्रकाशित)

Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...