Wednesday, 27 July 2016

मनका केही कुरा


- सिरुखर्के जेठा

आजभन्दा करिब ५० दिन अघि मेरो फोनलगायतका केही सामानहरु लुटिएको थियो । जीवनमै सबैभन्दा महँगो फोन किनेको थिएँ, सामसङको ‘जे—टू’ । किनेको एक महिना नपुग्दै लुटियो । त्यो लुटिनुमा मेरो पनि हात थियो, चोरलाई मात्रै निरपेक्ष दोष दिन म चाहन्नँ । मिड–भ्यालीमा बसबाट झरेर काम गर्ने ठाउँसम्म पुग्न सधैँ करिब १० मिनेट पैदल यात्रा गर्नुपर्छ । बिहान सात बजेदेखि ड्यूटी सुरु हुन्छ अनि त्यस दिन बिहान म अलि अँध्यारैमा त्यहाँ पुगेको थिएँ । बीचमा एउटा तीसचालीस मिटरको सुरुङ पर्छ । दुईजना इण्डियन समुदायका लुटेराहरुले मलाई त्यहीँ समाते । केपी ओलीको स्टाइलमा भन्दा छापामार शैलीमा, झ्याप्पै । 
सुरुङभित्र नपस्दै उनीहरुसँग साक्षात्कार भइसकेको थियो । अलिकति सजग बनेको भए अर्को बाटो थियो । जोगिन सकिन्थ्यो । सुरुङभित्रचाहिँ धेरै ढिलो भइसकेको थियो । खसी ढाल्नेजस्तो खुँडा निकालेर घाँटीमा तेस्र्याइदिएपछि मेरो गोर्खाली रगत त्यसै सुक्यो । परिस्थितिले त यसैपनि खसी बनाइरहेकै थियो । यिनका हातमा परेर बली नै त के हुने भन्ने सोँचेँ । तिनले खुँडा निकाले, त्यसको बदलामा मैलेचाहिँ फोन, पर्स, झोला सबै निकालेँ र तिनको हातमा खुरुक्क राखिदिएँ । पर्समा भिजिट पास (Jalan Card), बैँक कार्डलगायतका केही सामाग्रीहरु थिए भने झोलाभित्र केही थान पेनड्राइभहरु थिए जहाँ मेरा केही अमूल्य सम्पत्तिहरु थिए । छाता थियो । केही थान कलमहरु, जाँगर लाग्दा कोरिएको नत्र धेरै पाना खाली नै छाडिएको एउटा डायरी पनि थियो । अनि दिउँसोको खाना दुईओटा रोटी चेनाई थियो र थियो पढिरहेको एउटा पुस्तक प्रज्वल पराजुलीको— गोर्खाज डटर । 
सबै लुटियो ।

त्यस दिन दिउँसो रिपोर्ट गर्न ब्रिकफिल्ड प्रहरी कार्यालयमा गएको थिएँ । एउटा विदेशी अझ कामदार हुनुको अर्थ मैले त्यहाँ पनि राम्ररी बुझ्ने मौका पाएँ । काममा, अस्पतालमा, सार्वजनिक सवारी साधनहरुमा आखिर कहाँ कहाँ हामीमाथि अपमान हुन बाँकी छ र ? प्रहरी कार्यालयमा पनि त्यो क्रम दोहोरियो । अल्छी मान्दै उनीहरुले मेरा लागि एउटा रिपोर्ट बनाइदिए । छानबिनको आशा र हराएको सामान पाइएला भनेर विश्वास त शून्य प्रतिशत पनि थिएन तर तिनले बनाइदिएको रिपोर्टले बैँककार्ड बनाउन, पुरानै सीमकार्ड निकाल्न र यात्रामा केही सहज हुने भएको हुनाले मात्रै म त्यहाँ गएको थिएँ । तर त्यहाँ गएपछि एउटा सान्त्वनाचाहिँ मलाई मिलेको थियो । त्यो कसरी भने त्यहाँ रिपोर्ट लेखाउन आएकाहरुमध्ये धेरैजसो घर फोरिएका, पसल लुटिएका कार चोरिएकाहरु थिए । हुन त स्तर मापन गरेर हेर्दा उनीहरुको कार चोरिनु र मेरो फोन चोरिनु सायद एउटै कुरो हुँदो हो । मैले माथि नै लेखिसकेको छु, त्यो फोन मेरो जीवनकै पहिलो महँगो फोन थियो । चानचुन छ सय रिँगेटको ।

यो घटनाको एकदुई हप्तासम्म त यस्तो लाग्यो, मानिसहरुले मलाई नाँगै पारेर क्वालालम्पुरको अत्यन्तै व्यस्त ठाउँहरु सेन्ट्रल मार्केट, चाइना टाउन, जालान सिलाङ र पासार मेडानतिर घुमाइरहेछन् । अनि यस्तो पनि लाग्यो, मेरो चारपाटा मुडेर मलाई फेडरल हाई—वेमा दौडाइएको छ । ब्लडप्रेसर कम हुँदै गयो । आत्मविश्वास घट्दै गयो । मान्छेहरुसँग आँखा जुधाएर बोल्न पनि नसकिने अवस्था भोगेँ । अलिकति मानसिक विचलन पनि झेलेँ । सेक्युरिटी–गार्ड बनेर दुनियाको सुरक्षाको ठेक्का लिएको मान्छे आफै त्यसरी लुटिँदा कस्तो महसुस हुन्छ, अब उप्रान्त मलाई कसैले बताइरहन नपर्ने भयो ।
त्यसै दिन सँगै काम गर्ने साथी सरोज भण्डारीले मेरो बारेमा आफ्नो फेसबुक वालमा लेखिदिनुभयो । तुरुन्तै फोन किन्न सकिने कुरो पनि थिएन । राजेन्द्र भाइले आफ्नो जगेडामा राखेको फोन चलाउन दिनुभयो । आजसम्म चलाएँ । एकदिनपछि आफ्नै अकाउण्टबाट आफुमाथि आइपरेको घटनाको बारेमा लेखेँ । मेरो कुरा थाहा पाएर होस्टेलका साथीहरु दुःखी भए । सशरीर भेट हुन नसकिने साथीहरुमध्ये एकजना सागर अपवादजीले मात्रै मेरो बारेमा सोधीखोजी गर्नुभयो । उहाँले नै यसबारेमा केही कुरा लेख्न भन्नुभएको थियो । अरु साथीहरुले सायद थाहा पाउनुभएन होला भन्ने सोँचेको छु । थाहा पाएर पनि कतिलाई चासो राख्ने फुर्सद भएन होला । थाहा पाउनैपथ्र्यो भन्ने मेरो आग्रह हैन र थाहा पाएर ममाथि सहानूभुति देखाउनैपथ्र्यो भन्ने पनि हैन । किनकी सहानूभुतिले कसैलाई बलियो बनाउँदैन । तर सधैँ अनेकअनेक ट्याग गरेर हँसाउने÷ रुवाउने साथीहरुले पनि ममाथि आइलागेको अवस्थाबारेमा केही कुरै नगर्दा भने अलिकति कस्तोकस्तो लागेकै हो । किन ढाँट्नु ?

त्यही भावशून्य अवस्थाबाट उम्कन नभ्याएकै बेलामा मलाई अत्यन्तै माया गर्ने एकजना दाइको म्यासेज हान्निएर आइपुग्यो । उहाँले लेख्नुभएको थियो—
“भाइ, अलि राम्रो र बलियो सामसङको फोन यस्सो यता ..... ..... ”

मेरो मन झनै शून्य बन्यो । चार वर्ष हुन लाग्यो लगातार मलेसियामा बसेको पनि । मेरा पनि बाबाआमा हुनुहुन्छ जो बूढेशकालमा अझैपनि दुःख गरिरहनुभएको छ । मेरा पनि भाइबहिनीहरु छन् जसलाई एउटा दाजुको उपस्थितिको अभाव पक्कै पनि महसुस हुन्छ होला । मेरो पनि जीवनभर सँगै यात्रा गर्ने कसम खाएर सहयात्रामा हेलिन आएकी सहयात्री छिन जसका आँखाहरुले मलाई खोजिरहन्छन् । अनि ती छोराहरु जसले आफ्नो बालापन आफ्नो बाबाको काखमा बिताउन पाएनन् र तिनका कोमल हातहरु समातेर हिँड्न अब म लाख चाहेर पनि सक्तिनँ । कुनै बाध्यताविना कुनै विवशताविना न म परदेशमा बसेको छु न अरु कोही नै बसेको होला । तर किन परदेशमा हुनेहरुलाई सधैभरि एउटा हुँदोपुग्दो मान्छेको रुपमा सम्झने गरिन्छ ? के हामीसँग दुःख छैन ? के हामीसँग पीडा छैन ? के हामीलाई परदेशमा अरुको नोकर बनेर बस्ने रहर छ ? 
मेरो आदरणीय दाइलाई यी कुरा सोध्ने मन थियो तर सोधिनँ । घाँटीमा खुँडा राखेर लुटिएको दुई हप्ता पनि बितेको थिएन । अझ दिनदिनै त्यही बाटो भएर हिँड्नुपर्ने । खुट्टाहरु काँप्न छाडेकै थिएनन् । अनि त्यस्तो अवस्थामा हुँदा मेरो बारेमा कुनै चासो नराखेर आफ्नो मात्रै सोँच्ने दाइप्रतिको आदर स्वाट्टै घट्यो । त्यही कारण हो, मैले उहाँको आग्रहको कुनै जवाफ दिइनँ । दिन जरुरी पनि देखिनँ । मेरो पनि मन छ । आफ्ना आदरणीयहरुका लागि केही उपहार लगेर जान पाए हुन्थ्यो भन्ने मलाई पनि लागिरहन्छ । आफुलाई माया गर्नेहरुका लागि आफुले केही गर्न नसकेकोमा ग्लानी महसुस हुन्छ । तर हुँदै हुन्न त के गरौँ यार ?
त्यसको केही दिनपछि दाइले ‘गुड–लक’को साइन पठाउनुभयो । केहीवेरपछि त मलाई ब्लक नै गर्नुभएछ । अहिले उहाँ मेरो लागि केवल 'फेसबुक यूजर' हुनुहुन्छ । उहाँको गुन ममाथि अथाह छ । उहाँको मायाको म ऋणी नै हुँ । मेरो पनि उहाँप्रतिको आदर कहिल्यै तलमाथि भएको थिएन । मन दुखेर मात्रै जवाफ फर्काएको थिइनँ तर उहाँले राम्रैसँग सोँचेर नै मलाई ब्लक गर्नुभयो होला । भौतिक रुपमा टाढा बनेपछि एकअर्कासँग नजिक भइरहने माध्यम निश्चय नै यतिखेर सामाजिक सञ्जाल नै हो । अब यसैमा पनि तगारो हालेर बसेपछि सायद अब हाम्रो सम्बन्ध सधैँका लागि सकियो । 

यसको केही दिनपछि मलेसियामा कार्यरत एकजना पत्रकार साथीको अचम्मको म्यासेज पनि मैले प्राप्त गरेँ । उहाँले पनि बडो व्यावसायिक बन्दै लेख्नुभएको रहेछ । उहाँको भाषा जस्ताको तस्तै राख्दैछु—
“मलेसियाको रोजगारीमा हुनुहुन्छ । सुरक्षा क्षेत्रमा कार्यरत तपाईँ चैँ कत्तिको सुरक्षित हुनुहुन्छ त ? सेक्युरिटी गार्डका समस्या के छन् ? यिनै विषयमा यसपटक मलेसियाको लोकप्रिय मासिक ..... मा रिपोर्ट बनाउने प्रयासमा छु । तपाईँका अनुभव शेयर गरिदिनुहोला । कस्तो छ मलेसियामा सेक्युरिटीको काम तपाईँको नजरमा ?”

भन्न मन लागेको थियो, ‘लोहा गरम है और मारो’ भन्याजस्तो तिम्लाई पनि रिपोर्ट बनाउने चटारो यसैबेला परेछ हगि ? तर भनिनँ । यो म्यासेजको जवाफ पनि नदिइ बसेको छु । दिन मन नलागेर हैन, दिएर साध्य नै नहुने भएर ।
यी पत्रकार साथीलाई पनि म नजिकको मित्र ठान्थेँ ।  अझैपनि ठान्छु । दुई वर्षअघि मेरो मुखमा आएको घाऊलाई एकजना डाक्टरले ठोकुवा गरेरै क्यान्सर भनिदिएको थियो । त्यो समयमा मेरो नराम्रो खबर सुन्ने साथी उनी नै हुन् । सुन्ने मात्रै हैन, मलेसियाभरि सहयोग जुटाउन लागि परेका पनि हुन् । तर मलाई त्यसको जरुरत भएन अर्कै कुरा । हामीबीच यति धेरै औपचारिकता निभाइरहनुपर्ने कुनै कारण नै थिएन । यस्तो बेलामा उनले ममाथि आइलागेको अवस्थाको बारेमा एकै शब्द सोधेको भएपनि मलाई सान्त्वना मिलेझैँ हुने थियो । म्यासेज त आयो तर यस्तो समयमा आएको त्यस म्यासेजले मलाई पूरै उपहास ग¥यो र खाटा बसिसकेको घाउलाई फेरि बल्झाइदियो । लडेकाे मान्छेलाई साेध्ने उपयुक्त प्रश्न मेराे विचारमा "के भयाे ?" अथवा "किन यस्ताे भयाे ?" नै हाे । लडेर दुखेकाे घाउ मुसारिरहेकाे मान्छेलाई "कस्ताे लागिराछ त ?" भनेर साेधेजस्तै थियाे साथीकाे प्रश्न मेरा लागि ।

यी त पछिल्ला समयका कुरा हुन् । खासमा मेरो लागि फेसबुक भनेको साथीहरुले मलाई बुझ्न नसक्ने या उल्टो बुझ्ने ठाउँ बनेको महसुस मैले धेरैपटक गरेको छु । यसमा मेरै कमजोरी पनि होला । सकेसम्म आँसुका कुरा नलेख्ने जस्तोसुकै परिस्थितिमा पनि हाँसोमजाक गरिरहन मन लाग्ने भएका कारण सायद मानिसहरुले मलाई एउटा सम्पन्न मारवाडीजस्तो ठान्छन् कि जस्तो लागिरहेको छ । हाँसो, खुसी र ठट्टा भन्ने कुरा धनसम्पत्तिले कहाँ दिन्छ र भन्ने नबुझेकाहरुले मलाई असाध्यै सम्पन्न र सुखी देख्दा रहेछन् । तर मैले अघि नै लेखिसकेको छु, मेरो जीवनकै सबैभन्दा महँगो फोन सामसङ कम्पनीको जे–टू थियो, जो लुटियो ।

मैले धेरै सोँचेँ । फेसबुक धेरै चलाएर, होहल्ला गरेर, हाँसेर जिस्केर, व्यर्थै अरुलाई भ्रममा पारेर प्रिय ठानिएका साथीभाइहरुलाई गुमाउँदै जानुभन्दा बरु यो चीजलाई कमै प्रयोग गर्दा राम्रो हुने निष्कर्षमा म पुगेँ । त्यसपछि अब केही समयका लागि थ्रीजी फोन नै नचलाउने विचार गरेर यस्तो फोन किनेको छु । २०६१ तिर होला, अर्घाखाँचीमा भर्खर पोष्टपेयड फोन चल्न थालेको थियो । जोकोहीले चलाउन त के छुन पनि पाउने कुरो थिएन । मपनि तिनै ‘जोकोही’ भित्र पर्थेँ । केही व्यापारीहरुले यस्तो फोन बोकेर हिँडेको देख्दा साह्रै लोभ लागेर आउँथ्यो । खै, त्यही कारण मेरो अवचेतन मनले अह्रायो कि के भयो, आखिर यस्तो फोन किनियो । हुन त मेरो दिमाग नै डिसेन्डिङ टाइपको छ । बढ्ने हैन घट्ने खालको । खाली पछाडि फर्कन्छ अतीततिर । पुराना कुराहरुको असाध्यै माया लाग्छ । सामानहरु मात्रै हैन गीतसङ्गीत लगायत अरु कुराको पनि । यही कारण पनि होला मैले यो फोन रोजेको ।
जेजस्तो भएपनि अब फेसबुकलाई कम समय दिने मेरो बहाना हो । हरेक हप्ता कामको नियमिततामा परिवर्तन हुन्छ । रातिको काम पर्दा भने म केही हल्ला गर्न पक्कै उपस्थित हुनेछु । मलाई थाहा छ, बानी पार्न केही गाह्रो पक्कै छ तर कोशिस गर्नेछु । साथीभाइहरुले नबिर्सनुहोला र बिर्सियो भनेर पनि नसोँच्नुहोला । खासमा फूलटाइम फेसबुक यूजरबाट पार्टटाइममा झरेको मात्र हो । हाम्रो माया, हाम्रो साथ र सद्भाव त सधैँ उस्तै रहनेछ ।
०००

No comments:

Post a Comment

Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...