दूस्वप्नजस्तो एउटा विपना



जेबी दर्लामी

No farewell words were spoken
No time to say Good-Bye
You were gone before we knew it
And only God knows why ?
-Anonymous 


‘सुमनको बाबा मेरो कान किन यस्तरी दुखीरा’छ ?’ 
बिहानै उसले फोनमा भनेकी थिई । रातभर निदाउन नसकेकोजस्तो स्वर थियो । हुन पनि हो रहेछ । त्यो बिहानको अघिल्लो साँझ उसले भिडियो च्याटमा कुरा गर्न खोजेकी थिई । सधैं कुरा हुन्थ्यो तर त्यो साँझ खै’ के मिलेन, ईमोमा सम्पर्क हुनै सकेन ।
फोनमा कुरा भएको थियो तर उसले आफूलाई निको नभएको कुरो सुनाएकी थिइन । परदेशमा लोग्नेलाई तनाव नदिने उसको मनशाय थियो होला । त्यसैपनि ऊ निकै सहनशील क्षमता भएकी नारी थिई । सानोतिनो शारीरिक समस्या उसले कसैलाई भन्दिनथी ।

त्यो बिहान उसले कान दुखेको कुरो सुनाएपछि मैले त्यसलाई वेवास्ता गर्नै सकिनँ । सानो दुखाइ भएको भए पक्कै उसले एकाबिहानै त्यसरी बताउने नै थिइन । अनि उसैले भनेकी थिई, ‘दिउँसो सरकारी अस्पतालमा गएर जँचाउन जाने भनेर सोच्दैछु ।’
मैले उसलाई सरकारी अस्पतालमा नभएर नीजि क्लिनकमा गइ जँचाउन सल्लाह दिएको थिएँ । तिनको उपचार गर्ने तौरतरिका के कस्ता छन त्यो त मलाई धेरै थाहा थिएन तर सन्धिखर्कका गल्लीगल्लीमा नीजि अस्पतालहरु खोलिएका छन भन्नेचाहिँ मलाई थाहा थियो । 

ऊ दिदीसँग सरकारी अस्पताल गइछ । डाक्टरले सामान्य सँक्रमण हो भन्दै कानमा लगाउने र खाने औषधि दिएर पठाएछन । त्यो दिन केही सुधार पनि भएछ तर अर्को दिन दुखाइ उस्तै धेरै भएपछि ऊ फेरि त्यही डाक्टरलाई भेट्न गइछे । डाक्टरले हिजैको कुरा भनेर फर्काएछन । तर दुखाइको चाप निरन्तर बढिरहेपछि उसलाई दिदीहरुले नीजि अस्पतालमा लिएर जानुभएको रहेछ । त्यहाँको डाक्टरले जन्डिस देखा परेको भन्दै सामान्य उपचार गरेछन् अनि मुख बार्नेदेखि लिएर घरेलु औषधोपचार गर्ने सल्लाह दिएर फर्काइदिएछन ।

त्यो साँझ पनि नियमितजस्तै ऊसँग कुरा गर्न खोेजेको थिएँ । औषधिले होला, सँसाँझै ऊ निदाइसकेकी थिई । भाइसँग कुरा भएको थियो । केही घरेलु औषधि र अस्पतालले दिएको औषधिले बिरामीलाई धेरै नै सुधार भएको खबर पाएँ । भाइले यो सब जानकारी गराइसकेपछि म ढुक्कले निदाएको थिएँ ।

अर्को दिन पनि पक्कै निको लाग्दै होला भन्ने विश्वासका साथ बिहान अलि ढिलोगरी फोन गरेको थिएँ । तर मेरो आशा र विश्वासको ठिक विपरित उसलाई रातभरि डायरिया भएको रहेछ । लखतरान अवस्थामा उसलाई आफन्तहरुले हिजो लगेकै अस्पतालमा लगेर गएको खबर सुनेँ । मेरो मन बेस्सरी आत्तियो । हतप्र्रभ नै बनेँ म । त्यस हप्ता दिनको काम थियो । ड्यूटीमा यताउता नसोँची बस्नु पर्ने । तर मन कहाँ मान्थ्यो र ? घरिघरि चर्पीमा लुक्दै फोन गरिरहेँ । सन्धिखर्कको नीजि अस्पतालले भिडियो एक्सरेआदि गरिसकेपछि बिरामीलाई तुरुन्तै भैरहवा लैजानू भनेछ । बाबा र दिदी भएर ट्याक्सीमा राखेर उसलाई भैरहवा मेडिकल कलेजमा ल्याउनुभएको रहेछ ।

फोन निरन्तर गरिरहेँ । यही गर्न सक्थेँ म । अरु केही गर्न नसक्ने लाचार मानिस थिएँ । म होस्टेलमा फर्कन पनि सकिनँ । दिनभरि ड्यूटीमा उभिएँ अनि रातभरि बाथरुममा बसेर रोएँ । भैरहवाबाट दिदी र बाबाले बिरामीको अवस्थाकोबारेमा जानकारी गराइरहनुभयो । त्यहाँ लगिएको दिन नै उसलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । पहिलो दिन केही सुधार भएको छ भन्ने सुन्न पाउँदा मेरो मन अलि हलुका भएको थियो । उसलाई रगत दिनुपर्ने भएछ । बिरामीलाई टिठ्याएर मेडिकल कलेजकै एकजना डाक्टरले रगत दिएको भनेर सुनेँ । एकजना प्रहरीले पनि रगत दिनुभएको थियो रे । तर रक्तचाप एकदमै कम भएको हुँदा तत्काल रगत दिन सकिएनछ । त्यसको अर्को दिन हिजो तयार पारिएका रगतहरु काम नलाग्ने भइसकेका रहेछन् । बाबा र दिदीको धपेडी मैले परदेशबाटै महसुस गरिरहेको थिएँ । बिरामीको त के कुरा गर्नु ? ऊ बिरामी हैन मेरी अद्र्धाँगिनी थिई । मेरो जीवन थिई ऊ । ऊ मेरी सरिता थिई । उसको हाँसो, उसको खुसी सबै मेरो थियो । उसको दुःख मेरो कसरी हुन्नथ्यो र ? म ऊसँगै अस्पतालमा थिएँ । उसको छेउमा बसेर लगातार रोइरहेको थिएँ । मेरो शरीर मात्रै थियो परदेशमा । मेरो मनप्राण ऊसँगै छट्पटाइरहेको थियो ।

दोस्रो दिन अर्थात् २०७३ मंसिर ८ गते मैले फेसबुकमा सूचना राखेँ । सामाजिक सञ्जालमा जोडिनुभएका धेरै साथीहरुले चासो मात्रै दिनुभएन बरु आआफ्नो ठाउँबाट सक्नेसम्मको सहयोग गर्नुभयो । साथी विष्णुमणि अधिकारीमार्फत् धेरैजना रगत दिनका लागि तयार हुुनुभयो । तीनचारजनाले आएर रगत दान गर्नुभयो पनि । जतिखेर फोन गरेर सोध्दापनि बाबा र दिदीको जवाफ एकै हुन्थ्यो,
‘बिरामीको अवस्था सुधारोन्मुख छ । ठिक होला । चिन्ता नगर्नू ।’
सरितालाई एक पिन्टजति रगत दिइसकेको पनि सुनेँ । अब ऊ निको हुनेछ भन्ने कल्पनाले मनमा केही ढाडस भइरहेको थियो । 
तर तेस्रो दिनको साँझ उसलाई एक्कासी श्वासप्रश्वासमा कष्ट भएछ । उसलाई आईसीयूबाट निकालेर भेन्टिलेटरमा राखिएछ । त्यो सघन उपचारकक्षमा पनि उसको स्वास्थ्यअवस्थामा कुनै सुधार भएनछ । अनि मंसिर १० गतेको बिहानीपख डाक्टरहरुले उसलाई मृत घोषणा गरिदिएछन् । बाबा र दिदीको फोनमा सम्पर्क हुनै सकेन । मलाई शँका लाग्यो । साथी भक्त सारुपनि जानुभएको थियो अस्पतालमा । मैले उहाँसँग सोधेँ । भावुक बोलीमा उहाँले सबै कुराको अवगत गराउनुभयो । हातखुट्टा लल्याकलुलुक त हिजै भएको थियो । काम गर्न नसकेपछि म होस्टेलमा आएर बसेको थिएँ । खबर सुनेपछि मेरो शरीर चीसो बन्यो । मैले आफ्नो आधा प्राण सकिएको महसुस गरेँ । 

मैले सरितालाई गुमाउँछु कि भनेर सधैँ चिन्ता गर्थेँ । मेरोभन्दा उसको आयु लामो होस् भनेर मनमनै कामना गर्थेँ । तर उसलाई आफूभन्दा अघि अझ यति कलिलै उमेरमा विदा गर्नुपर्ला भनेर त मैले कहिल्यै कल्पनासम्म गरेको थिइनँ । 

शुक्रबारको दिन थियो तर मेरो लागि, हाम्रो परिवारका लागि त्यो दिन दुःखद बनेर आयो । सरितालाई भैरहवा लगेदेखि नै कम्पनीमा मेरोबारेमा सबैकुरा भनेको थिएँ । चार वर्ष पुग्न एक महिना मात्रै बाँकी थियो । मैले कि छुट्टी दे कि त नफर्कनेगरी घर जान दे भनेर सुपरवाइजर, म्यानेजर र एमडीसँग पनि पटकपटक हात जोडेको थिएँ । तर उनीहरुले बाँकी रहेको एक महिना पूरै काम गरेर मात्र घर जान पाउने भन्दै आए । मेरो आँसुले मेरो बिन्तीले उनीहरुको कठोर मन पगाल्न सकेन । 
पुराना चिनजानका साथीहरुलाई भनेँ । साहित्यकार जीवन देवान गाउँले र पत्रकार रवि भट्टले निकै ठूलो गुन लगाउनुभयो । उहाँहरुले दूतावासमा जाने सल्लाह दिनुभयो । अब मेरो अगाडि दूतावासको शरणवाहेक अरु विकल्प थिएन । त्यही शुक्रबारको दिन दिउँसो मैले होस्टेल छाडेँ ।

अझैपनि मलाई सरिताको मृत्युको खबर पत्याउन गाह्रो भइरहेको थियो । दिउँसो भैरहवा अस्पतालले बनाइदिएको उसको मृत्युको प्रमाणपत्र मेरो ईमेलमा आयो । त्यसलाई प्रिन्ट गरेर निकाल्दा सरिता नै मेरो छेउमा ढल्न आएको महसुस गरेँ । कुनै समय सोचेको थिएँ, कमाउन सकियो भने उसलाई आफूले दुःख गरेको देशमा घुमाउन ल्याउँछु । त्यो दिन कहिल्यै आएन । उसको साटोमा उसको मृत्युको सर्टिफिकेट मेरो अगाडि थियो । त्यसलाई हातमा समातेर म कोतारायाको भीडमा उभिएर खुब रोएँ । 

सबै कुरा सपनाजस्तै लागिरहेको थियो । जम्मा चारदिनको अस्पताल बसाईँमै सरिताले हामीलाई छाडेर गएकी थिई । ऊसँग बितेका डेढ दशाब्दीको एकएक सम्झना छ मसँग । ती सबै यहाँ उल्लेख गरेर पनि साध्य छैन । 
त्यही सपनाझैँ मनोदशामा म मलेसियाको नेपाली दूतावासमा शरणागत हुन पुगेको थिएँ ।

आम श्रमिकमाझ दूतावासको छवि राम्रो थिएन । कम्पनीहरुले टेबुलमुनिबाट दिने पैसामा सिँगो दूतावास बिकेको छ भन्ने चर्चा पनि राम्रै सुनिन्थ्यो । यिनै आरोपहरुको खण्डन गर्नका लागि दूतावासले करिब एक हप्ताअघि मात्रै एउटा अन्तक्र्रिया कार्यक्रम राखेको थियो जहाँ मैले पनि उपस्थिति जनाएको थिएँ । त्यसअघि दूतावासप्रतिको मेरो धारणा पनि आम श्रमिकहरुकोजस्तै नै थियो । त्यस दिन महामहिम राजदूत डा. निरञ्जनमानसिँह बस्न्यातका कुरा सुनिसकेपछि मलाई यस्तो लागेको थियो, केही परिबन्द र सीमाहरु दूतावासमा निश्चय नै छन् तर नियतवश यसले श्रमिकहरुको अहितमा काम पक्कै गरेको छैन । बरु केही मानवतस्करहरुले दूतावासलाई बद्नाम गराउन प्रत्यक्ष या परोक्ष रुपमा काम गरिरहेका छन् । 

श्रम सहचारी श्री बाबुलाल रेग्मीलाई भेटेर सबै कुराको जानकारी गराएँ । उहाँले मेरो नाम ठेगाना सोध्नुभयो । कम्पनीकोबारेमा पनि सोध्नुभयो । कम्पनीको नाम ९ख्क्ष् क्भअगचष्तथ० ‘भीआई सेक्युरिटी’ थियो । म्यानेजिङ डाइरेक्टरको नाम विभिषेणा थियो । 
कम्पनी आफ्ना कामदारप्रति अत्यन्तै क्रूर छ । दूतावासले पनि केही गर्न सक्दैन भन्ने लागेर कसैले उसको विरुद्धमा कुरा गर्न सकेका छैनन् । मैले सबैसबै बताएँ । मेरो कथाव्यथा सुनेर उहाँ पनि अत्यन्तै भावुक हुनुभयो । मेरै अगाडि कम्पनीको म्यानेजर र म्यानेजिङ डाइरेक्टरलाई फोन र म्यासेज गर्दै कडा रुपमा प्रस्तुत हुनुभयो । यस्तै रवैया हो भने तेरो कम्पनी कालोसूचीमा राखिदिन्छु पनि भन्नुभयो । उहाँको बोली र व्यवहार सुनेर देखेर मलाई हाम्रो दूतावास बाहिर हल्ला भएजस्तो कायर र निरिह छैन भन्ने कुराको निश्चयता भयो ।

रेग्मी सरको कुराले पनि केहीबेर कम्पनी गलेको थिएन । उसले सुपरवाइजरमार्फत् ‘तँ अब कम्पनी छाडेर हिँडिस् त्यसकारण हामीसँग तेरो कुनै सम्बन्ध छैन । तँ अवैधानिक बनिस् अब जसरी सक्छस् जा’ भन्ने धम्की पनि दिएको थियो तर पछि उपाय नलागेर कम्पनी लत्रियो । 
मैले रुँदै कहालिँदै आफूमाथि आइलागेको बज्रपातको बारेमा बताउँदा नपत्याउने, जाने भए एकमहिना अरु काम गरेर मात्रै जा भन्ने, हवाईटिकट आफै काटेर जा, अझ महिनाभरि काम गरेको तलब पनि पाउँदैनस् भनेर आँसुमाथि आँसु थपिदिने कम्पनी अब झुकिसकेको थियो । उसले मलाई हवाई टिकट दिने भन्यो । त्योपनि आइतबार बिहान नै जान पाउनेगरि । यी सबै कुराका लागि म बाबुलाल रेग्मीलाई जति धन्यवाद दिए पनि कम देख्तछु ।

आइतबार बिहान कम्पनीका सुपरवाइजर र ड्राइवर आएका थिए, विमास्थलसम्म मलाई पु¥याउन । आधी बाटोमा पुग्दैगर्दा उनीहरुले जे कुरा भने त्यो सुनेर मलाई लाग्यो, म त यतिका वर्षसम्म  मान्छेको देशमा हैन हूँडारहरुको जँगलमा रहेछु । म त्यसरी दूतावासमा गएकोमा कम्पनीको एमडी र उसको बाउ रीसले आगो बनेका रहेछन् । मैले गरेको त्यस ‘अपराध’का लागि मलाई बेस्सरी चुट्नू, फोन खोस्नू र मात्र हातमा टिकट दिनू भनेर सुपरवाइजरलाई पठाएका रहेछन् । त्यतिमात्रै हैन त्यसरी ममाथि हातपात गरेको फोटो पनि खिच्नू अनि मलाई देखाउनू भनेर सम्झाएका रहेछन्  । उनीहरुले रुञ्चे बोलीमा भने,
‘तँलाई परेको दुःख हामीले महसुस गर्न सक्छौँ तर बोसले भनेजस्तो गरेनौँ भने उसले हामीलाई आजै कामबाट निकाल्छ । तसर्थ एउटा मात्रै उपाय छ, हामीले एकछिन अभिनय गर्नुपर्ने भयो । हामीमध्ये एकजनाले पिटेजस्तो हात बनाउने । एकजनाले फोटो खिच्ने । तँचाहिँ अनुहार लुकाएर  उता फर्कने ।’
उनीहरुको लागि पनि मैले यो कुरा नमानी भएन । एउटा एकान्तजस्तो ठाउँमा हामीले यो नाटक पनि मञ्चन ग¥यौँ । आफूमाथि आइपरेको बज्रपातको मापन गर्ने यन्त्र यो दुनियामै थिएन । असह्य दुःखले त मानिसलाई अवाक् नै बनाउँदो रहेछ । मेरो ओँठको मुस्कान, गलाको बोली सबैसबै हराइसकेको थियो । जिन्दगी नै चुँडिएर कतै गएकोजस्तो अनुभव गरिरहेको थिएँ । त्योबेला सिँगै रेल आफूमाथि भएर गुडेपनि सहने मानसिकतामा थिएँ । बिचरा उनीहरुले त हात पनि लगाएनन् । अहिले पनि अनलाइनमा ती सुपरवाइजरहरुसँग कुराकानी हुन्छ । उनीहरु ‘मलेसिया आउने भए अरु कम्पनीमा आइज । यो कम्पनीमा झुँक्किएर पनि नआइज’ भन्छन् । त्यो कम्पनीमा झुण्डिएर बस्नुपरेको आफूहरुको विवशता सुनाउँछन् ।

घर आएँ । आँसुको कथा अब त लेखेर के फाइदा छ र ? दुई नाबालक छोराहरुको अनुहार हेर्दा मेरा आँखा अझैपनि ओभाउन सकेका छैनन् । एउटा त केही हुर्केको छ । कान्छोचाहिँ सानै छ । हरेक रात ऊ मेरो पाखुरामा शीर राखेर निदाउँछ र बिहान ब्यूँझन्छ । जति नै माया गरेपनि आमाको मायाको क्षतिपूर्ति मैले कसरी गर्न सक्छु र ? यही सोचाईले मलाई ऐठन पारिरहन्छ । सरितासँगै देखेका कैयन सपनाहरु अधूरै रहे । उसको अन्तिम साससम्म भेट्न सकिनँ । अस्पतालको ओछ्यानमा पनि फोनमा कुरा गर्दा उसको एउटै प्रश्न हुन्थ्यो, बाबा तपाईँ कहिले आउने ? आउन त आएँ तर सर्वस्व गुमाइसकेपछि आएँ । भैरहवा अस्पतालको लासघरमा राखिएको उसको अचल शरीरको झझल्को मलाई आजसम्मै पनि एउटा दूस्वप्नजस्तो लागिरहेको छ ।


म आउनु केही अघिदेखि कम्पनीको व्यवहार अत्यन्तै क्रूर बनिरहेको थियो । तीन वर्ष काम गरेर फर्कनेहरुलाई पनि सम्झौताबमोजिम हवाईटिकट नदिएर पठाइरहेको थियो । मैले श्रम सहचारी बाबुलाल रेग्मीज्यूलाई कम्पनीका सबै कामकारवाहीकाबारेमा जानकारी गराएको थिएँ । त्यहाँ काम गरिरहेका साथीहरुको फोननम्बर पनि दिएको थिएँ । रेग्मी सरले अत्यन्तै गम्भीरताका साथ छानबिन गर्नुभएछ । अहिले थुप्रै साथीहरुले मलाई फोन र म्यासेजमा मप्रति आभारका शब्दहरु प्रकट गर्ने गर्छन् । तैँले गर्दा धेरैको कल्याण भयो भन्छन् । खुसी लाग्छ तर मैले उनीहरुसँग यी सबै सकारात्मक परिणामहरुको जस बाबुलाल रेग्मी सरलाई दिनू भन्दै आएको छु । हुनपनि हो, यदि बाहिर हल्ला भएजस्तो उहाँलगायत दूतावास विदेशीको चार पैसामा बिकेको भए यी सबै सुखद समाचारहरु सुन्न पाइने नै थिएन ।
यतिबेला रेग्मी सरसँगै मलेसियामा रहेका मेरा सबै प्रिय मित्रहरुलाई पनि सम्झन चाहन्छु । जीवन देवान, रवि भट्ट, अर्जुन काफ्ले, रमेशप्रसाद आचार्य, दिपक सुनाखरी मगर, विनोद खड्का, विपेन उलुङ्गे मगर, पासाङ तामाङ, सन्दिप सँग्रौला जसले मलाई मेरो दुःखमा हरसम्भव साथ र सहयोग गर्न तत्परता देखाउनुभयो । तपाईँहरुको माया सधैँ मनमा साँचेर राख्नेछु । अनि नेपालमा रहेर मेरो दुःखलाई आफ्नै सम्झेर निरन्तर खट्नुभएका साथी विष्णुमणी अधिकारीसाथै ती सबैसबै अपरिचित रक्तदाताहरुलाई पनि मेरो जिन्दगीभरि भुल्नेछैनँ ।
साथै संसारका थुप्रै देशहरुबाट मेरो वेदनालाई भाग गर्न चाहने सबै चीरपरिचित साथी र आफन्तहरुलाई पनि सधै सम्झनेछु ।
२०७३÷ १० ÷२२
०००


Comments