जेबी दर्लामी
२०७३ पौष २८ देखि माघ १० गतेसम्म चलेको अर्घाखाँची महोत्सवको उद्घाटनका दिन अतिथि बनेर निम्त्याइएका जिल्लाकै पूर्व साँसद तथा एमाओवादी केन्द्रका नेता डिलाराम आचार्यमाथि युवाहरुको एक समूहले ढुँगामुढा ग¥यो । मञ्चमा वर्तमान सरकारका मन्त्री जनार्दन शर्मा पनि थिए । यो घटनाले महोत्सवका आयोजक पक्षलाई मात्र हैन सिँगो जिल्लाका विवेकशील जनतालाई लज्जित बनाएको छ ।
घटनापछि यसका पक्ष विपक्षमा धेरै कुराहरु भइसकेका छन् । धमिलो पानीमा माछा मार्न पल्केकाहरुले अतिरञ्जित प्रकारले घटनालाई उछाल्ने प्रयास पनि गरे । अझ सामाजिक सञ्जालहरुमा आएका अभिव्यक्तिहरुमा गैरजिम्मेवारीपनको पराकाष्ठा नै थियो । माओवादी केन्द्रसमर्थितहरुले मन्त्री शर्मामाथि नै हातपात भएजस्तो मन्त्रीको रक्ताम्य फाइल फोटो देखाएर प्रचार गरे भने ढुँगामुढाको समर्थनमा रहेकाहरुले राष्ट्रवादको मीठो शब्दलाई कवच बनाएर लुक्ने र उम्कने प्रयास गरे ।
जसले जे भनेपनि त्यो निन्दनीय घटना थियो । जसले जसरी व्याख्या गरेपनि त्यो केवल अपराध नै थियो । बहालवाला मन्त्रीकै सामु एक पूर्व साँसदमाथि आक्रमण हुनु भनेको मन्त्रीको पनि उपहास हो । त्यसैकारण पनि होला, मन्त्री शर्माले सम्बोधन गरिरहन जरुरी ठानेनन् र चुपचाप यहाँबाट हिँडे ।
के भएको थियो त्यो दिन ?
त्यस घटनाको अघिल्लो दिन सन्धिखर्ककै होटल पद्मिनीमा ऊर्जा मन्त्री जनार्दन शर्माले पत्रकारहरुलाई भेटेका थिए । उनले त्यस साँझ स्पष्ट शब्दमा सरकारको धारणा राखेका थिए । सरकारले पाँच नम्बर प्रदेशलाई पुनः सिमाङ्कन गर्दा लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरुलाई प्रदेश नम्बर चारमा राख्ने निर्णय गरेको र त्यसलाई अनुमोदनका लागि सँसदमा पठाइसकेको थियो र त्यसैको विरोधमा गुल्मी, पाल्पा र अर्घाखाँचीमा झण्डै एक महिनाको आन्दोलन चलिसकेको थियो । एक्काइस दिनसम्म ठप्प बनेको जिल्लालाई थोरै सास भरिदिने उद्देश्यले पनि आयोजकले यो महोत्सवको आयोजना गरेका हुँदा हुन् । आन्दोलनको राप र ताप सेलाइसकेको थिएन । आम जनतालाई यस खालका आन्दोलनसँग कुनै सरोकार नभएपनि राजनीतिक पार्टीका नेता कार्यकर्ता एवम सदरमुकाममा रहेका ठूला व्यवसायीहरु जसको घरजग्गा तराईमा छ, उनीहरुका लागि त्यो आन्दोलनले निकै ठूलो अर्थ र महत्व राखेको थियो । आन्दोलनसँग उनीहरुको प्रतिष्ठा जोडिएको थियो र आन्दोलनलाई सरकारले कुनै चासो या सम्बोधन नगरेका कारण उनीहरुमा सरकार र सरकारसमर्थित केही नेताहरुप्रति तीब्र आक्रोश थियो । डिलाराम आचार्य यही मनोविज्ञानको शिकार हुन पुगेका हुन् । किनभने अखण्ड लुम्बिनीको आन्दोलनमा आचार्यको उपस्थिति थिएन जबकि अर्का साँसद तथा माओवादी केन्द्रकै नेता टोपबहादुर रायमाझीले आन्दोलनको क्रममा पटकपटक जिल्लामा आएर आन्दोलनकारीहरुको मन जित्ने प्रयत्न गरेका थिए ।
देशलाई चाहिएको विकास हो र त्यो जसले गरेपनि हुन्छ भनी निरपेक्ष विश्वास राख्ने मानिसहरुलाई त्यस दिनको घटनाले निश्चय नै आश्चर्यमा पारेको छ । डिलाराम आचार्यले नबोल्नुपर्ने कुनै त्यस्तो बोलेकै थिएनन् जसका कारण अखण्ड लुम्बिनी चाहनेहरुको अहमलाई प्र्रहार गरोस् । उनले त यति मात्रै भनेका थिए, सबैभन्दा ठूलो देश हो । देश टुक्रिन भएन, जिल्ला टुक्रिएर केही फरक पर्दैन । हुन पनि सँघीयता स्वीकार गरेकाहरुले यो कुुरामा आपत्ति जनाउनु पर्ने कुनै कारण देखिन्न ।
अहिले सिके राउतजस्ता मानिसहरुले देशै टुक्र्याउने वक्तव्य दिनदहाडै दिइरहँदा अखण्ड लुम्बिनी या त्यस्तै देशभित्रकै कुनै भूखण्डलाई अखण्ड अर्थात् चौध अञ्चल पचहत्तर जिल्लाकै प्रारुपलाई अखण्ड ठान्ने भीडको मौनता देख्दा अचम्म लागेर आउँछ ।
कसैले नबुझेको राष्ट्रवाद
नाम थियो अर्घाखाँची महोत्सव । अझ थपिएको थियो, कृषि, पर्यटन साँस्कृतिक एवं औद्योगिक मेला । कृषिको नाममा सुन्तला र उद्योगको नाममा दालमोठको एकएकओटा स्टलवाहेक जिल्लाको आफ्नो भन्ने चिज मेलामा केही पनि थिएन । फेन्सीदेखि होटेलहरु सबै जिल्लाभन्दा बाहिरबाट ल्याइएका थिए । अझ मनोरन्जनका उपकरण र खेलौनाहरु त भारतबाटै झिकाइएका थिए । आई लव माई इण्डिया लेखिएका ती उपकरण र खेलौनाहरुमा जिल्लाको त के देशकै कुनै गन्ध थिएन । मेलाको अवधिभरि चर्का आवाजमा हिन्दी गीतहरु घन्किए । माइकबाट दिनभरदिनभर हिन्दी भाषामै सम्बोधन सुनिए । मेलास्थलभित्र पस्दा सहसा सुनौली या रक्सौलको हाटबजारतिर पुगेको आभास हुने धेरैले अनुभव सुनाएका थिए । परिवेश यस्तो निर्माण गरिएको थियो अनि छातीमा तिनै मानिसहरुले कथित राष्ट्रवादको आगो बालेर हिँडेका थिए । तिनै राष्ट्रवादीहरुको निशानामा त्यस दिन डिलाराम आचार्यका साथै ऊर्जामन्त्री जनार्दश शर्मा परेका हुन् । जिल्लाको नाममा हुँदै गरेको यस्तो कार्यक्रममा जिल्लाको उत्पादन के थियो ? थिएन भने त्यो नहुनुको कारण के ? कारण यदि समस्या हो भने समस्याको समाधान कसरी ? राजनीतिक चेत भएका युवाहरुले नै त्यो दिन यस्ता प्रश्नहरुको जवाफ खोज्नुपर्ने थियो तर दूर्भाग्य जिल्लाका युवाहरु कोही मौन थिए कोही त्यसरी हातपात र गालीगलौजमा उत्रिएका थिए ।
जे भएपनि यो घटनापछि अखण्ड लुम्बिनीका अभियन्ताहरुले सम्वाद र बहसलाईभन्दा मूढेबललाई प्राथमिकता दिन थालेको सन्देश बाहिर गएको छ । भन्नेहरुले भन्लान्, ती युवाहरु कुनै पार्टीका हैनन् या कुनै पार्टीको निर्देशनमा नभइ स्वतःस्फूर्त आवेशमा आएका जनता हुन् । तर मञ्चमा आचार्य र शर्मासँगै अतिथिको आसन ओगटेर बसेकामध्ये केही राजनीतिक दलका प्रतिनिधिहरुले भीडलाई उत्तेजित बनाउन गरेको कसरत र हाउभाउले त्यो आक्रमण पूर्वनिर्धारित नै थियो कि भन्ने आशङ्कालाई बलियो बनाएको छ ।
००
No comments:
Post a Comment