Tuesday, 29 August 2017

महिलालाई लगाइयो पाखा


जेबी दर्लामी

चेतनाको हिसाबले अर्घाखाँची जिल्लालाई अग्रणी जिल्लाकै रुपमा हेर्ने गरिन्छ । अझ राजनीतिक चेतना यहाँ महिला पुरुषमा बराबरी नै देखिन्छ । तर यहाँको पुरुषवादी सामन्ती समाजले महिलालाई अधिकार दिने मामिलामा सधैं नै केही न केही षडयन्त्र गर्ने गरेको छ । त्यो षडयन्त्रको सिलसिला भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि राम्ररी देखिएको छ ।

स्थानीय तहको निर्वाचनको घोषणालगत्तै यस जिल्लामा पनि राजनीतिक दलहरूले धमाधम उम्मेदवारका नाम बाहिर ल्याए । नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख या उपाध्यक्षमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने नियमलाई केही समय सबै दलहरूले आत्मसात गरेजस्तो पनि गरे । तर जब तालमेलको समय आयो, सबैले महिलालाई बिर्सिए । 
 photo adopt : google

जिल्लाको दक्षिणी भूगोलमा अवस्थित शितगंगा नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसले मीना पौडेल र माओवादी केन्द्रले सीता अधिकारीको नाम अगाडि सा¥यो । असारको तीन गते अर्थात् उम्मेदवारी दर्ता गरिने अघिल्लो दिनसम्म पनि नगरपालिकाको उपप्रमुखमा यी दुई महिलाको नाम प्रचार भइरहेको थियो । तर जब तीन गते यी दुई पार्टीबीच चुनावी तालमेलको छिनोफानो भयो तब यी दुई नामहरू कतै इतिहासमा सिमित भइदिए । आखिर तालमेल अपेक्षाकृत सफल पनि भयो र नगरपालिकाका मेयर र उपमेयर दुवै पदमा पुरुषहरूले कब्जा गरे ।

त्यही अवस्था भुमेकास्थान नगरपालिकामा पनि भयो । यस नगरपालिकाका उपप्रमुखहरूमा माओवादी केन्द्रले छमकुमारी थापालाई रोजेको थियो भने काँग्रेसले श्रृजना थापालाई । छमकुमारी थापा जनयुद्धकालदेखि नै पार्टीमा आबद्ध थिइन् र सम्भावना बोकेकी नेतृ थिइन् । तर यहाँ पनि जब काँग्रेस माओवादीबीच तालमेल भयो, निर्वाचनको मुखैमा आएर यी दुईलाई पनि पाखा लगाइयो । फलस्वरुप नगरपालिकाका प्रमुख र उपप्रमुखका दुवै कुर्सीमा पुरुषहरू बस्न पुगे । 
त्यसैगरि नै चुनावी तालमेलको नाममा मालारानी गाउँपालिकाबाट नेपाली काँग्रेसले उपाध्यक्षका उम्मेदवार शान्ता खनाललाई हटायो । तर यहाँ चुनावी तालमेल असफल भयो र परिणाम नेकपा एमालेको पोल्टामा आयो ।

यो चुनावमा महिलालाई यतिसम्म प्रयोग गरिएको छ कि उदाहरणका लागि जिल्लाको आजसम्म केन्द्र रहँदै आएको सन्धिखर्क नगरपालिकामा नेपाली काँग्रेसले लामो समयसम्म उपप्रमुखको नाम सार्वजनिक गरेको थिएन । काँग्रेसको यो रणनीतिलाई कतिपयले तालमेलको विकल्प बचाएको भनेर विश्लेषण गरिरहेका थिए । माओवादी केन्द्रले भने कमला भुसाल भण्डारीको नाम अगाडि सारेको थियो । तर उम्मेदवारी दर्ताको हप्तादिन अघि मात्रै अचानक नेपाली काँग्रेस अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाको उपमेयरमा कमला आचार्यको नाम ल्याएर आयो । तर त्यो सब काँग्रेसको चाल थियो । असार तीन गते उसले माओवादी केन्द्रसित तालमेल ग¥यो र आचार्यलाई पाखा लगाउँदै आफूले मेयर पदमा वार्गेनिङ ग¥यो । माओवादी केन्द्रले पनि कमला भुसाल भण्डारीलाई मिल्क्याउँदै उपमेयरमा पुरुष उम्मेदवारलाई सुरक्षित ग¥यो । यसरी सन्धिखर्कमा पनि दुई महिलालाई बलि चढाइयो र पुरुषहरूले आफूलाई नगरपालिकाका दुई महत्वपूर्ण स्थानमा स्थापित गराए । 

लामो समयसम्म हिन्दू वर्णव्यवस्थाको चपेटामा परेर पशुको जीवन बाँच्न विवश यस जिल्लाका महिलाहरूले आफू पनि मानव भएको प्रमाण दिन पटकपटक प्रतिरोधमा उत्रनु परेको थियो । माओवादीले सञ्चालन गरेको दसवर्षे युद्धमा जिल्लाका सयौँ महिलाहरूले घरबाट बाहिर निस्केर राज्यसत्तालाई चुनौती दिएका थिए । तीमध्ये कयौँ मारिए पनि । अर्घाखाँचीका महिलाहरू पनि कुनै पुरुषभन्दा कम छैनन् भन्ने गतिलो उदाहरण उनीहरूले दोस्रो जनआन्दोलनमा पनि देखाएका थिए । हजारौंहजार मानिसहरू सडकमा निस्केको त्यो समयमा महिलाहरू पनि पुरुष बराबरकै सँख्यामा थिए । तर स्थानीय सरकारलाई चुस्त दुरुस्त बनाउन भनेर गरिएको स्थानीय निर्वाचनमा आएर जिल्लाका महिलाहरूलाई फेरि एकपटक असक्षम, नालायक र पुरुषको छत्रछायामा आश्रित देखाउने कुचेष्टा गरिएको छ । 

Monday, 28 August 2017

तीजको फेरिँदो स्वरूप

जेबी दर्लामी  



नेपालमा तीजको मौलिकता त्यहीबेला समाप्त भएको थियो जुनबेलादेखि लोक गायक कहलिएका प्रजापति पराजुली, खुमन अधिकारी र पशुपति शर्माहरूले तीजका नाममा रत्यौली गाउन सुरु गरे । साठीको दशकपछि तीजको यो दूर्दशा बढेको हो । यसो हुनुमा समयको माग थियो कि संगीतकर्ममा लागेकाहरूको स्वार्थ ? या विवशता ? के थियो ? यस विषयले निश्चय नै खोजअनुसन्धानको गहन मार्गको अपेक्षा राखेको छ । 

तीजको चलन आर्य समाजको उपज हो भनिन्छ । मनुले बसालेको वर्णव्यवस्थाको जगलाई भत्काउनका लागि तात्कालिक समयमा संघर्षशील नारीहरूको सांगठानिक विद्रोह नै थियो होला तीज । या त कुनै शासकले दयावश वर्षको एक दिन महिलाको नाममा छुट्याइदिएको चाड थियो होला तीज । श्रृषि मनुले पुरुष अहमताका साथ हुँकार गरेका थिए, ‘ढोल, शुद्र, पशु, नारी ये सब ताडन के अधिकारी ।’ अर्थात् नारी भनेका पिटिन, प्रताडिन हुन र सताइनलायक प्राणी हुन् । उतिबेलाको समाजमा नारी र कथित शुद्र जातिको मूल्य पशुबराबर थियो । मनुलाई आदर्श मानेर फैलँदै आएको हिन्दु वर्णवादी समाजले अहिलेसम्म पनि यही श्लोकलाई पछ्याएको छ । संविधानमा जेजस्तो खालको व्यवस्था बनाइएपनि हाम्रो समाजको स्थायी चारित्रिक गुण त अझैपनि उस्तै छ । आजपनि समाजमा मान्छेमान्छेबीचमा  छुवाछुत छ । आजपनि देशमा महिला र पुरुषबीचमा भेदभाव छ । 
पुरानो समयमा यो छुवाछुत र भेदभावको परिमाण कुन मात्रामा थियो होला ? कल्पना गर्दा पनि मन थर्थराउँछ ।

त्यही अन्धकार समयमा आफ्नो मनको गुम्फन, पीडा र बहलाई नारी समुदायकै बीचमा प्रस्तुत गर्ने माध्यम बनेको थियो तीज । तीजसित नाचगानको सम्बन्धबारे दुईटा कारण हुन सक्छन् ।
एक, गेयात्मक शब्दलाई भाका हालेर सुनाउँदा त्यसले श्रोताको मनलाई राम्रो स्पर्श गर्न सक्थ्यो । त्यसले वातावरणमा एकप्रकारको भावनात्मक तरंग ल्याउँथ्यो । दिदीबहिनी समुदायमा एकअर्काप्रति प्रेम र माया बढाउन मद्दत गथ्र्याे । अझ गीतमार्फत् कहिएका कथाव्यथा अति नै मर्मस्पर्शी छ भने उनीहरूको मनमा विद्रोहको भावना पनि जाग्थ्यो । र पुरुष सत्ताले थोपरेको अन्याय अत्याचारउपर एकजुट भएर धावा बोल्ने संकल्प पनि मनमा पल्हाउँथ्यो । एक दुईपुस्ताअघिसम्मका तीजका गीतहरूमा लोग्ने र सासुबाट प्रताडित हुनुपरेका कथाहरू नै हुन्थे । उनीहरूमाथि कठोर शब्द प्रहार गर्न नसकेपनि अनेक आलँकारिक र व्यँग्यात्मक शब्दहरूमार्फत् उनीहरूसित बदला लिने काम हुन्थ्यो । 
दोस्रो कारण यो पनि हुन सक्थ्यो, राम्ररी हाँस्नसमेत नपाइने सामाजिक र धार्मिक बन्धनभित्र बसिरहनुपर्दा आफ्नो मनभित्र दमित इच्छालाई नाचेर उफ्रेर सार्वजनिक रुपमा प्रदर्शन गर्ने यो पर्व एक राम्रो माध्यम बन्न सकेको थियो । अहिले त्यो सब हराइसकेको छ ।

हाम्रा बज्यैहरूको समयमा गाइने तीजका केही गीत यस्ता थिए–
‘उँधोबाट पण्डित आए कति छन् नि जजमान
मलाई पनि पुत्र वरदान देऊ न भगवान
......’

‘कहाँमा जान्छौ रानी चरी बगाल
बरी लै भगवानलाई भेटन
......’

त्यसपछिको समयमा धार्मिक शब्दावलीहरू घट्दै गए र त्यसका ठाउँमा सामाजिक मूल्य र महत्वका गीतहरू गाइए । जस्तो–
‘सुन्नुहोला दिदीबैनी यति मन नरुनी
जति मन रोएपनि भन्न नहुनी
कल्ले बुझ्छ कल्ले सुन्छ यो छोरीको मरिम (मर्म)
काँ’ छ कुटो कोदालो भन्ने करिम (कर्म)
......... ’

‘शीरमा लाउने शीरफूल छैन मेरो राजै
प्याउली फूल टिपेर लाउँछु टपक्कै
हातमा लाउने सुनबाला छैन मेरो राजै
रेशमी चुरी लाउँछु टमक्कै
जीवनदेखि गुनासो छैन मेरो राजै
त्रिशुली बगेझैँ बग्छु सलल
औँसीजस्तै यो मन छैन मेरो राजै
प्रीतिको बत्ती बाल्छु झलल
........ ’


त्यसपछि केही हँस्यौलीठट्यौलीका शब्दहरू तीज गीतमा भित्रिए, सुनिए ।
‘आइथी नि साली लाइथी नि कुरा
है मेरो लालुमाई नभन्दिनू है
...... ’
जस्ता ।

त्यसपछि दोहोरी गीत बन्न थाले तीजको भाकामा, तीजका नाममा । तिनले तीजका गीतलाई अचानक विकृत बनाउन थाले । अचेलका गीतहरू त सुनिसाध्य नै छैनन् । आधुनिकताका नाउँमा नेपाली समाज र सँस्कृतिलाई नसुहाउने शब्द र भाका रचना हुन थाले र संचारक्षेत्रमा पनि तिनैको दबदबा बढ्यो । अब त यस्तो लाग्छ यो विकृत बाटोबाट तीजलाई फर्काउन कहिल्यै सकिने छैन । अब तीज नितान्त वासनामय मनोरञ्जनमा फेरिएको छ । 
अचेलका यी गीतहरूमा सामाजिक भाव कहाँ छ ?

‘साडी लाउँदा हेर्छन् केटा आँखा तानीतानी
फेसबुकमा अपलोड गर्छन् सेल्फी हानीहानी
कुर्ता नि सुहाउँछ मलाई
साडीमा झन् सेक्सी देखियो
....... ’

‘ट्वीटर, भाईबर बिर्सिएँ फेसबुक नि चलाउन
छोटा लुगा लगाइ दुनिया जलाउन
पोहोरको तीजमा गाइयो र नचाइयो
अरू सबै त्याग्छु म एउटा वर माग्छु म
ए शिव यो तीजमा पोई चाहियो
.... ’
(दोहोरी शैलीमा बनेको यो गीतको केटा स्वरमा जोई चाहियो भन्ने छ ।)

मानिसले निर्माण गरेको परम्परा सायद कुनैपनि सिद्ध हुँदैन होला । र त समयक्रममा धेरै परम्पराहरू नष्ट भएर गएका छन् । त्यसरी परम्परा नष्ट हुनुमा प्रत्यक्ष मानिसको हात हुन्छ या त समयको माग हुन्छ । नेपालमा विशेषगरी खसआर्य नेपाली समुदायमा प्रचलित एउटा परम्परा तीज पनि यही नियतिको शिकार बन्ने क्रममा छ । आज तीजको स्वरुप पूरै फेरिएको छ । समयमुताबिक हरेक कुरामा परिवर्तन आवश्यक त छ नै तर साँस्कृतिक परिवर्तन कम्तीमा आफ्नो मौलिक स्वरुपलाई नभत्काइकन हुनुपर्ने हो । तीजको मामिलामा त्यसो हुन सकेन । 

व्यँग्य या कुनै नरम शब्दको बलमा लोग्ने या सासुको विरोध गर्ने त्यो समयमा तीजको दिन पुरुषहरू मादल बजाउने र पिङ तान्ने काममा मात्रै उपयोग हुन्थे । अहिले त दोहोरी गीत नै तीजका भाकामा गाउन थालियो । त्यतिमात्रै कहाँ र ? गीतका शब्दहरू त झनै मुखमा ल्याउन पनि नसकिने भए ।

हुन त अब सापेक्षिक रुपमा भन्दा पुरुषको एकोहोरो दमनमा महिलाहरू पर्ने दिन बाँकी रहेनन् । लोग्नेले आफूमाथि गरेको अत्याचारको बदला लिन आजको महिलाले कानुनी बाटो रोज्न सक्छे । एकवर्षसम्म कुरेर उसले तीज मान्ने योजना बनाउने छैन । आज प्रहरी प्रशासन या न्याय अदालत भन्ने निकाय महिलाको पहुँचभन्दा धेरै टाढा रहेन । साक्षरता र चेतनाका कारणले पुरुषले गरेको अन्यायको विरुद्धमा आजको नारी अवश्यै बोल्न सक्छे । कराउन सक्छे । या त भनौं तत्कालै प्रतिरोध गर्न सक्छे । यस्तो समयमा तीजको पुरानो शैली या परम्परा कायम राख्नुपथ्र्यो भन्ने पनि रहेन ।
तर परम्परा र सँस्कृतिलाई माया गर्ने या यो क्षेत्रमा चिन्तन मनन गर्नेहरूले गीतका भाकाहरूमा परिवर्तन ल्याएपनि तीजसित सम्बन्धित मुख्य दर्शनलाई बचाइराख्न सक्नुपथ्र्यो । आजको सन्दर्भमा महिलाको समस्या लोग्ने या सासुसित सम्बन्धित नहोला । हिजोका ‘कचकचे’ सासु आज नहोलान् । हिजोका अहंकारी लोग्ने आज नभेटिएलान् । तर महिलाका अनेक दुःखहरू त आजपनि छन् नि । आजपनि महिलाहरू छाउगोठमा मारिइरहेका छन् । आजपनि महिलामाथि बलात्कार भै नै रहेका छन् । आजपनि महिला यो देशमा असुरक्षित नै छन् । के यी समस्याहरूलाई गीत बनाउन सकिँदैन ? जनचेतना फैलाउनुपर्ने अनेक आयामहरू बाँकी नै छन् समाजमा । के ती ठाउँमा तीजका गीतलाई माध्यम बनाउन सकिँदैन ? हिजो हाम्री बज्यैहरूले मनभित्रै लेखेर गाउने गरेका कोमल र लयालु गीतका भाव कता हराए ? हाम्री आमाहरूले गाएका प्रतिरोधी चेत भएका गीतका मर्म कता बिलाए ? हाम्रा दिदीहरूले बहिनीहरूले यता सोच्ने कहिले हो ?


समाजको चेतनाले परिवर्तन अवश्यै चाहेको थियो । हाम्रा विचारले परिष्कार पनि खोजेकै थिए । तर थातथलो नै बिर्सने सँस्कार हामीले रोजेका होइनौं । यो हामीमाथि बलात् लादिएको हो । तीजका नाममा चोकमा, गल्लीमा, सार्वजनिक सवारीसाधनहरूमा घन्कने सुन्दै बान्ता होलाजस्ता कथित तीजका गीतहरू पनि हामीमाथि व्यापारिक उद्देश्यले थोपरिएका उत्पादन हुन् । माल हुन् । परम्परा र सँस्कृतिसँग यसको कुनै साईनो छैन । यसका पछाडि व्यापारीहरूको लगानी छ । उनीहरूको नाफा र स्वार्थसित गाँसिएको व्यापार छ । केही टपरटुइँयाहरू जो दृष्य दुनियामा छिटै चर्चा कमाउन लालायित छन् उनीहरूको हुटहुटीले काम गरेको छ । हाम्रो देशमा छाडा सँस्कृति अरू कुनै अमूक देशबाट भित्रिएको छैन । कतिपयले भन्ने गरेजस्तो यो देशको परम्परा सिध्याउने इसाईहरू होइनन् बरु हिन्दुहरू नै हुन् । यो हाम्रै समाजका कीराहरूले उब्जाएको समस्या हो । आजका तीजका भनिने गीतहरू सगोल परिवारमा बसेर सुन्न नमिल्ने खालका छन् । यसलाई समाजको अग्रगमन मान्ने कि पश्चगमन ?

तीजसँगै जोडिएको अर्को एक दिन उल्लेख्य छ । दर खाने दिन । अर्थात् तीजको अघिल्लो दिन । थपी थपी खाने दिन । दरमा विशेष केही हुँदैन । घ्यू र भातवाहेक । पुरानो समयमा घ्यूभात खानुलाई यति धेरै महत्व किन दिइएको हुँदो हो ? 
केही अनुमानहरू यस्ता हुन सक्छन्, 
त्यो समयमा चामल अत्यन्तै दूर्लभ अन्न थियो होला । जोकोहीले र जहिले भन्यो तहिले खान नपाइने भएका कारण यस्तो चलन ल्याइएको हुँदो हो । फेरि यस्तो नहुन सक्ने अर्को तर्क के हुन सक्छ भने तीज विशेषगरी खसआर्य समुदायको पर्व भएका कारण उनीहरूले घ्यूभात खान पाएनन् भनेर पनि कसरी भन्न सकिन्छ ? अर्को तर्क गर्नेले यो पनि भन्न सक्छन् कि, दर खाने दिन विशेषतः महिलालाई नै केन्द्रमा राखिने परिपेक्षलाई हेर्दा वर्षभरि लाज या धार्मिक सँस्कारका कारण कम खान पाउने÷पर्ने महिलाहरूले वर्षमा एक दिन भएपनि पेटभरि खाऊन् भन्नाका खातिर यो चलन बसालिएको हो । कतिपयले त तीजलाई महिलाको वर्षभरिको मानसिक मुक्ति र दर खाने दिनलाई शारीरिक मुक्तिको  भनेर व्याख्या पनि गर्ने गरेका छन् । जे जस्तो भएतापनि परम्परामा बाँचेका राम्रा पक्षहरूको जगेर्ना र नराम्रा पक्षको परिमार्जन गर्दै जानुपर्ने हो । तर परिमार्जनको नाउँमा जरै उखेलेर अर्को परम्पराको भद्दा सुरुआत गर्नु सायद राम्रो हैन होला । 

हाम्रो समाज र सँस्कारमा केही अघिसम्म जीवित रहेको रत्यौली चलन अब लुप्तप्रायः भैसकेको परिदृष्यमा त्यसको ठाउँ ओगट्न आएका अहिलेका दोहोरी तीज गीतहरू पनि कतै निकट भविष्यमै लोप भएर जाने हुन् कि ? यो प्रश्नको जवाफ कसले दिनुपर्ला ? 
यदि यसो भयो भने मौलाउँदै गएको छाडा र विकृत पक्ष त लोप होला तर त्यससँगै नेपालमा लामो समयदेखि चलिआएको तीजको मौलिकता पनि सिद्धिने खतरा बढ्दै गइरहेछ ।


Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...