Sunday, 27 January 2019

यात्रीका मेरा पात्रहरू

जेबी दर्लामी

‘यात्री’को सार्वजनिकीकरण भएको पनि एक वर्ष नाघिसकेको छ । यो उपन्यासका पात्रहरूले भने मलाई अझै पछ्याउन छाडेका छैनन् ।
यात्रीको भावभूमि पृथ्वीको उत्तरी गोलाद्र्ध मंगोलियाको हो तर मैले यसलाई दक्षिणी गोलाद्र्ध मलेसियामा बसेर लेखेको हुँ । सेक्युरिटी गार्डको काम कुनै कुनै दिन समय त्यत्तिकै बस्दैमा जान्थ्यो । अझ रात्रीको ड्यूटी परेको बेलामा त सिंगो रात नै काम हुन्नथ्यो । कि सुत्ने कि त इन्टरनेट चलाएर बस्ने । मैले यही खाली समयलाई उपयोग गरेर यात्रीको रचना पूरा गरेको थिएँ ।

 
म पात्र अर्थात् ‘यात्री’लाई मैले मेरै मानस रुप दिएको हुँ । नेपालमा त्यस समय दुईथरी अतिवादी स्वर मुखर बन्दै गइरहेका थिए । एकथरी देशका आदिवासी जनजातिलाई सकेसम्म होच्याएरै तह लगाउन सकिन्छ भन्ने मानसिकताबाट ग्रसित थिए भने अर्कोथरी क्षेत्रीबाहुनलाई एकोहोरो गाली गरेर आफ्नो अधिकार स्थापना गर्न सकिन्छ भन्नेमा थिए । 


मैले सकेसम्म मध्यमार्ग खोजी गर्दै हामी सबै यात्री हौं भन्ने विचार प्रवाह गर्नका लागि यो उपन्यासको परिकल्पना गरेको थिएँ । त्यही कारण यसको मुख्य पात्रको नाम नै यात्री राखिएको हो ।
नेपालमा भएका आदिवासी जनजातिले आफूलाई मंगोलियन भनिरहेको या भन्न बाध्य भइरहेको देख्दा मैले यात्रीलाई मंगोलियाको यात्रा गराउन चाहें । मुस्ताङमा उसको भेट लुङदार काजी नाम गरेका मानिससित हुन्छ जसको वास्तविक नाम विरकाजी हो । यहाँ दुईपटक म बडो संकटमा परेको छु । विरकाजीको चरित्र उपन्यासमा कोर्दै गर्दा नेपालमा कबड्डी नाम गरेको सिनेमाले खुब बजार लियो । यूट्युबमा त्यो फिल्म हेरेपछि मपनि अरुजस्तै प्रभावित नै भएँ । त्योभन्दा बढी म हिस्स परें । कारण त्यो फिल्ममा मुख्य पात्र (दयाहाङ राई) को नाम काजी राखिएको छ । अनि ती काजीको घर पनि त्यही मुस्ताङमा हुन्छ । धेरैदिनसम्म मैले उपन्यासको एक पात्र लुङदारकाजीको नाम फेर्ने कोशिस गरें तर सकिनँ । लुङदार काजी मेरो मस्तिष्कमा यसरी आसन जमाएर बसेका थिए कि मैले तिनलाई निकालेर अर्कै नाम गरेको पात्र सिर्जना नै गर्न सकिनँ ।
मुस्ताङ हुँदै यात्री तिब्बत भूमिमा प्रवेश गर्दछ । तिब्बतमा उसको भेट कर्मा नाम गरेका एकजना तिब्बतीसँग हुन्छ । तिनको श्रीमती र एक छोरी छन् । यात्रीलाई एक चिया पसलमा फेला पारेर ती तिब्बतीले आफ्नो घर लिएर जान्छन् ।
त्यही समय नेपालमा चर्चित साहित्यकार नयनराज पाण्डेको सल्लीपीर नाम गरेको उपन्यास प्रकाशित भयो । मलेसियामा पनि त्यसलाई मगाएर पढियो । त्यो उपन्यास पढेपछि म फेरि खिस्रिक्क भएँ । कारण त्यहाँ पनि कर्मा नाम गरेका पात्रको मुख्य भूमिका छ ।
यसपटक पनि मैले मेरो उपन्यासमा भएको तिब्बती पात्रको नाम बदल्न निकै कसरत गरें तर सकिनँ । जतिपटक कर्माको नामको विकल्प सोच्थें, वैकल्पिक नाम कहिल्यै नसुनेको नदेखेकोजस्तो लाग्थ्यो । कर्माको ठाउँमा राख्न चाहेका धेरै पात्रहरू मेरा लागि विरानाजस्ता भए । ती कहिल्यै मेरो नजिक भएनन् । मैले पनि उनीहरूलाई कर्माको स्थान दिन सकिनँ ।
कर्माको पछि लागेर यात्री मंगोलिया पुग्छ । त्यहाँ केही मंगोलियन पात्रहरू फेला पर्छन् । गुर्बान गाउँका मुखिया बूढा र उनकी नातिनी बोलोर्मा ऊर्फ नेर्जुई । नातिनीको खास नाम बोलोर्मा हो तर उसले आफैले राखेको नामचाहिँ नेजुई हो । नेर्जुई इतिहासकी विद्यार्थी हो । यहाँ मेरो आफ्नो रुचीले पनि काम गरेको थियो होला । मुस्ताङको गुम्बाबाट चोरेर लगेको हस्तलिखित प्राचीन लिपि भएको किताबको रहस्य सुल्झाउनका लागि पनि इतिहासका बारेमा जानकार पात्र नै चाहिन्थ्यो । त्यहीकारण पनि नेर्जुईको चरित्रमा त्यो समावेश गरिएको हो ।
नेर्जुईको बाआमा खर्कमा भेडा, च्याङ्ग्रा चराएर बस्छन् । उसको काका पनि खर्कमै बस्छ, पशु डाक्टरको रुपमा । घरमा बाजे नातिनी मात्रै हुन्छन् । यात्रीलाई तिनै मुखिया बाजेको जिम्मा लगाएर कर्मा तिब्बत फर्कन्छन् ।
पछि कर्मा तिब्बतमा मारिन्छन्, चिनिया प्रहरीहरूबाट । मलाई थाहा छ, कर्मालाई मैले सिर्जना गरेको हुँ । उनलाई उपन्यासमा मैले जन्माएको हुँ । तर अझैपनि मलाई यस्तो लाग्दैन । मलाई यस्तो लाग्छ, कर्मासित मेरो कुनै समय भेट भएकै हो । उनको पछिपछि हिँडेर मैले गोबी मरुभूमि पार गरेको हुँ । उनले मलाई मंगोलियाको गुर्बान भन्ने गाउँमा छाडेर फर्केका हुन् । त्यही भएर त अहिले पनि आफैले लेखेको उपन्यासको पृष्ठसंख्या २४८ पढ्दा भक्कानिन्छु जहाँ कर्माको हत्या प्रसंग छ । उनको हत्या मैले गरेको हुँ । मेरै कलमले गरेको हो । यो मलाई थाहा छ तर मेरो मन मान्दैन । मलाई अझैपनि यस्तै लाग्छ, कर्मालाई चिनिया प्रहरीहरूले नै ल्हासाका सडकमा घिसारी घिसारी मारेका हुन् । उपन्यास लेखनको छोटो अवधिमा कर्मा नाम गरेका पात्रसँग म कति घुलमिल भएको रहेछु, सम्झँदा भावुक हुनेगर्छु ।
यात्रीभित्र धेरै स्वेरकाल्पनिक र पौराणिक पात्रहरू पनि आएका छन् । यहाँ पारुहाङ छन् जो धेरैधेरै वर्षअघि मंगोलियाबाटै हिमाल नाघ्दै यहाँसम्म आएका छन् । यहाँ ईन्द्र छन् जो दक्षिणी भूभागबाट मूत्र्तिपूजकहरूको नेतृत्व गर्दै यता आइपुगेका छन् । यहाँ बरम्हाजी (ब्रम्हा) छन्, लक्ष्मी, सरस्वती र विष्णु पनि छन् । यी पात्रहरू उपन्यासको दोस्रो अध्यायमा अटाएका छन् जो मुस्ताङको गुम्बाबाट लगिएको प्राचीन पुस्तकभित्रको कथा हो । यहाँ समय र स्थानका बारेमा जानीबुझी नै तारतम्य मिलाइएको छैन । त्यसो गर्न थालेको भए यो उपन्यास हैन, गैरआख्यानजस्तो बन्नेथियो कि ?
अनि यही अध्याय दुईभित्रै तीनजना बृद्धहरूको कथा छ ।
एक हुन् गोम्पो बाजे । हिमाल नाघ्ने बेलामा हरेस खाएर उतै फर्कन चाहनेहरूको नेतृत्व उनैले गरेका छन् । यो चरित्रमा मैले सकेसम्म वास्तविक पात्रलाई नै प्रस्तुत गर्न खोजेको हुँ । मेरो अध्ययनले बाटो बिराएको छैन भने तिब्बतका संस्थापक गोम्पो नाम गरेका मानिस नै हुन् । उनलाई इतिहासबाट टिपेर यहाँ राख्ने धृष्टता गरेको छु ।
अर्का छन् जसको नाम हो वाइखा । नयाँ भूमि (अहिलेको नेपाल)मा मंगोलियन जातिले खेतीपाती गर्न सिक्ने समयमा ती वाइखा बाजेको नेतृत्वमा एक टोली समुदाय छाडेर निस्कन्छ । धरतीलाई खनजोत गरेको उनीहरूलाई मन पर्दैन । आजसम्म यही धरतीले हामीलाई भोकैप्यासै नराखेको भन्दै उनीहरू वनमा स्वभाविक जीवनयापन गर्न थाल्छन् । वाइखा बाजेको चरित्र निर्माण गर्ने बेलामा मैले हाम्रै देशका राउटे समुदायलाई केन्द्रमा राखेको थिएँ । उनीहरूले अझैपनि सामुदायिक रुपमा खेतीपाती गर्न नमानिरहेको परिवेशलाई ध्यानमा राखेर वाइखा बाजेको जन्म उपन्यासमा भएको हो ।
र अझ अर्का एक बाजे छन् जसको नाम हाङतुआ हो ।
दक्षिणी गोलाद्र्धमा बसेर उत्तरी गोलाद्र्धको कथा कसरी लेखिस् ? भनेर केही साथीहरूले सोेधेका छन् मलाई । मलेसियामा बसेर अधिकांश पात्र मलेसियाबाहिरका राखेर लेखिएको उपन्यासमा यी पात्रचाहिँ मलेसियाकै हुन् । मलेसियामा हाङतुआको निकै ठूलो नाम छ तर उनको कतै लिखित इतिहास भने छैन । मलेसियामा मिथक बनेर उनी अझैपनि छाइरहेका छन् । त्यो मिथक कथाअनुसार त्यहाँका मानिसहरू भन्छन्, अहिलेको मलेसियाको कुनै कुनामा उनको राज्य थियो । उनी सूरवीर र लडाका थिए । उनीबाटै अहिलेको मले जाति खडा भएको हो । उनलाई केही चित्रहरूमा देखाउने काम गरिएको पनि छ । तर उनको वास्तविक परिचय भने कसैलाई थाहा छैन ।
हिमाल नाघिसकेपछि अलि सजिलो ठाउँमा आइपुगेर पनि केही मानिसहरू हिउँले पुरिएर मर्छन् । त्यो देखेर समुदाय परित्याग गरेर हिँडेको देखाइएको छ हाङतुआ बाजेलाई । उनीसितै केही मानिस पनि समुदायको ठूलो संख्यालाई छाडेर हिँडेको देखाइएको छ । उपन्यास लेखिरहँदा मैले कल्पना गरेको थिएँ, हाङतुआ त्यहाँबाट भाग्दैभाग्दै दक्षिण लागे । त्यसपछि उनी अहिलेको मलेसियामा आइपुगे र यहाँ आफ्नो राज्य स्थापना गरे ।
‘यात्री’ भित्रका धेरै पात्रहरू काल्पनिक हुन् । केही वास्तविक पात्रहरूलाई पनि टाईम र स्पेसको बन्धनबाट मुक्त गराइ काल्पनिकजस्तै बनाइएको छ । तर आफैले कल्पना गरेर कलमको नीवबाट जन्माइएका पात्रहरू पनि अहिले वास्तविक हुन् कि जस्तो लागिरहन्छ । जब कतै एकान्तमा म उनीहरूबारे गम्छु, मलाई ती सबैका बोली, हाँसो, रुवाई, दुःखसुख एकएक सम्झनामा आउँछन् । यात्री म आफै थिएँ कि जस्तो लागिरहन्छ । कर्माका श्रीमती र छोरी कहाँ होलान्, के गर्दै होलान् भन्ने सोच्दा अहिले पनि म उकुसमुकुस हुन्छु । नेर्जुईले अझैपनि मंगोलियामा मोरिनखुर बजाउँदै मलाई पर्खेर बसिरहेकी होली झैं लागिरहन्छ । कर्मालाई घिस्याएको सडकमा उनको रगत अझै सुकेको छैन होला जस्तो लागिरहन्छ । यात्री नेपाल फर्कने बेलामा मृत्युको बारेमा सारै लोभलाग्दो प्रवचन दिएका नेर्जुईका बूढा बाजे ज्यूँदै होलान् कि मरिसके होलान् भन्ने प्रश्न खेल्दा मन बेचैन भएर आउँछ ।
आजभोलि म आफ्नै उपन्यासका यिनै पात्रहरूसित कसरी नजिक हुन सकिएला भनी सोचिरहेको हुन्छु । उनीहरू कतै बीच बाटामै अलपत्र परेझैं देख्छु र कसरी तिनलाई आफूसितै हिँडाउन सकिएला भनी कल्पने गर्छु ।

रचना: २०७५ पुस १९ बिहीबार
http://nayaonline.com/2019/01/23/24981/ मा प्रकाशित |

Sunday, 20 January 2019

ढाकाटोपी दिवसको अन्तर्य


जेबी दर्लामी


नेपालको इतिहास अध्ययन गर्दा हामी के पाउँछौं भने नेपालमा राज्यशक्ति लगाएर राष्ट्रिय चिह्नहरूको अवधारणा ल्याएको धेरै समय भएको छैन । जस्तो, राष्ट्रिय जनावर गाई, पंक्षी डाँफे, रङ सिम्रीक, भाषा खस, धर्म हिन्दु । यस्तो व्यवस्थाको अभ्यास गरिनुअघि नेपालमा कुनै जाति समुदायले गाईगोरुको मासु खाने र कतिपय पूजाआजामा बली नै दिने परम्परामाथि ठाडै हस्तक्षेप गरियो । किनकी राज्यको शक्ति परिचालन गर्ने तहमा पहाडे हिन्दुहरू थिए जसले नेपाललाई आफू अनुकूल हिंडाउन खोजिरहेका थिए । आफ्नो धर्म र संस्कृतिलाई फलाउन फुलाउनका लागि नेपालमा आदिकालदेखि नै बसोबास गरिरहेका हिन्दुवाहेकका संस्कृति र परम्परालाई बलात् दमन गर्नैपर्छ भन्ने तथ्य पनि उनीहरूलाई अवगत थियो । र त्यही मेसोमा राष्ट्रि«य पोशाकको रुपमा दौरासुरुवाल र ढाकाटोपीलाई मात्रै मान्यता दिइने व्यवस्था गरियो । सयथरी जातिको सयथरी नै पारम्परिक पहिरन भएको देश नेपालमा यसरी एउटा जातिसमुदायको पहिरनलाई मात्रै राष्ट्रिय पोशाक बनाईंदाखेरि अरु पोशाक तथा पहिरन स्वतः अराष्ट्रिय भए । 


२०१७ पछि पञ्चायतले ल्याएको ‘हाम्रो राजा हाम्रो देश, एउटै भाषा एउटै भेष’ भन्ने नाराले पहाडे खसआर्य समुदायको अभीष्टलाई राज्यस्तरबाटै संस्थागत गर्ने काम ग¥यो । नागरिकताको प्रमाणपत्र बनाउँदा ढाकाटोपी लगाउनैपर्ने बाध्यता सिर्जना गरियो । त्यतिमात्र होइन, दौरासुरुवाल र ढाकाटोपी नलगाउने नेपालीलाई पराई देख्ने आँखा पनि त्यही पञ्चायतले निर्माण गरेको हो । ‘मेरो टोपी कैलाशको शिरजस्तो’ जस्ता बोल भएका गीत लेखिए, लेखाइए, गाइए । यसको अर्थ टोपीलाई पनि हिन्दुकरण गर्ने धृष्टता गरियो ।
राज्यले बनाएको राष्ट्रिय पोशाकमा मधेशमा बस्ने ठूलो संख्याका नेपाली समेटिएनन् । उनीहरूले शदीयौंदेखि आविष्कार गरेर लगाइरहेको पोशाक राज्यका आँखामा विरानो भइदियो । उनीहरूलाई धोंती नाम दिएर गालीबेईज्जती गर्ने संस्कारको जन्म पहाडमा भयो र त्यसलाई राज्यले नै मलजल गरेर हुर्कायो बढायो । यसरी पञ्चायतले ल्याएको राष्ट्रि«य चिह्न, राष्ट्रि«य पोशाकजस्ता अवधारणाले नेपालको एकता बलियो भएन, बरु त्यसले त देशलाई विभाजन गरिदियो । 
मधेशमा आगो दन्केको हाम्रो निकट अतीतलाई राम्ररी अध्ययन गर्दा त्यो विभाजन कस्तोप्रकारको र कति हदसम्मको थियो भन्ने स्पष्ट भइहाल्छ ।

पञ्चायतले छाडेको विरासतको धङधङीबाट नेपाली, त्यसमा पनि पहाडमा बस्ने एउटा जाति (वर्ग पनि भन्न सकिन्छ) अझै मुक्त भइसकेको छैन । त्यसका अनेक ज्वलन्त उदाहरणमध्ये तथाकथित टोपी दिवस पनि एक हो । 
संसारसामु नझुकेको वीर नेपाली जातिको विशेषण स्वीकार गरेर पनि अत्यन्तै हीनताबोधका साथ बाँचिरहेको पनि हामी नेपाली नै हौं । संसारलाई थाहा छ, यो दुनियामा ईश्वी सम्वत् भन्ने तिथिमिति छ जसलाई नेपालमा ईसा पूर्व र ख्रीष्टाब्द भनिन्छ । संसारका धेरै देशहरूले आफ्नो कामकाजमा यही सम्वत्लाई अँगालेका छन् । हो, निश्चय नै यो येशु ख्रीष्टसित सम्बन्धित सम्वत् हो । अर्थात् ईसा आउनुअघिको समय ईसापूर्व हो भने उनी आएपछिको समय ख्रीष्टाब्द हो ।
यो सम्वत्को पहिलो महिना जनुअरी हो जो हाम्रो नेपालको पुस महिनामा पर्दछ । येशुसित सम्बन्धित भएकै कारणले र विशेषगरी पश्चिमाहरूप्रतिको आग्रहपूर्वाग्रहका कारणले नेपालमा विगत ६ वर्षदेखि यही जनुअरी १ लाई टोपी दिवस भनी मनाउन थालिएको छ ।
नेपालमा अझैपनि येशु ख्रीष्ट र पश्चिमी देशहरू अन्तर्सम्बन्धित हुन् भन्ने गलत बुझाई रहेको पाइन्छ । निश्चय नै येशु ख्रीष्टको विचार एशियामै सुरु भएको भएतापनि यसको प्रचारप्रसार र अभ्यास पहिले यूरोप अमेरिकामा भयो र उनीहरूमार्फत् यतातिर आएको सत्य हो तर यसको अर्थ यो होइन कि हरेक सेतो छाला भएको मानिस इसाई नै हो । उनीहरूमध्ये पनि धेरै मुसलमान छन्, बुद्धिष्ट छन् र हिन्दु पनि छन् । तर येशु र पश्चिमाहरूप्रतिको आग्रहपूर्वाग्रह भने नेपालमै मात्र बढी देखिन्छ ।

यहाँ दुईओटा देशको प्रसंग राख्न सकिन्छ । एक, भारत जो आफै विशाल जनसंख्या हिन्दु धर्माबलम्वीहरू भएको देश हो । यतिसम्म कि विक्रमादित्य जसको नामबाट विक्रमसम्वत् चलेको छ र जुन सम्वत्लाई नेपालीले आफ्नै भनी अँगाल्न मरिहत्ते गरेका छन् ती राजा पनि त्यही भारतकै हुन् । तर भारतमै विक्रमसम्वत् चल्दैन । त्यहाँ पनि राज्यसंयन्त्रका ठूला ओहदाहरूमा हिन्दु धर्म मान्नेहरूकै बाहुल्यता छ तर ईश्वीसम्वत् चलाउँदा उनीहरूमा त्यस्तो हीनताबोध देखिंदैन । भारतको उन्नति प्रगतिमा ईश्वीसम्वत्ले कतै बाधा पु¥याएको पनि छैन । 
अर्को देश छ मलेसिया, जहाँ ६० प्रतिशत मुसलमान छन् । लगभग २६ प्रतिशत बुद्धिष्ट र ६ प्रतिशत जति हिन्दु छन् । मले जातिलाई दिइएको अग्राधिकारका कारण चिनिया र भारतीय मूलका मलेसियनहरू राज्यदेखि रुष्ट छन् । आआफ्नो भाषा, धर्म र संस्कृतिप्रतिको उनीहरूको प्रतिबद्धता पनि लोभलाग्दो छ । तर ईश्वीसम्वत्को नयाँ वर्ष उनीहरूले यसरी मनाउँछन् कि त्यो उत्सवले उनीहरूलाई विभाजन गर्दैन बरु एकअर्कालाई जोड्ने काम गर्दछ । अरु दिनको मनमुटाव र भावनात्मक रुपमा लागेका घाउ उनीहरूले यही नयाँ वर्षमै निको पार्ने प्रयत्न गर्छन् । ईश्वीसम्वत्ले मलेसियाको पनि समृद्धिको यात्रा रोकिएको छैन, झन्झन् अगाडि बढिरहेको छ । 
नेपालमा भने हामीले सबै उन्नति प्रगतिको बाधा ईश्वीसम्वत् नै होजस्तो गरिरहेका छौं । यो हाम्रो हीनताबोधको एक नमुना हो । हीनताबोधबाट उम्कने माध्यम हामीले प्रतिशोध र दूराग्रहलाई बनाएका छौं । यो झनै खतरनाक छ ।

ईश्वीसम्वत्को रिसमा सुरु गरिएको टोपी दिवसले के नेपालीलाई एकअर्कामा जोड्ने काम गरेको छ ? यो प्रश्न बडो गम्भीर छ । कुनैपनि चाडपर्व, दिवस या उत्सवले देश विखण्डन गर्नुहुँदैन । बरु तिनले त भावनात्मक रुपमा विखण्डित भइरहेको देशलाई जोड्नुपर्छ, गाँस्नुपर्छ । तर नेपालको पहाडे खस मनोविज्ञानले सधैं नै मधेसी र जनजातिलाई उपनिवेश बनाइरहने सपना देखेको छ । त्यही सपनाको प्रकटीकरण नै तथाकथित टोपी दिवस हो ।

मैले यस्तै आशयको भनाई सामाजिक सञ्जालमा राखेको देखेर केही साथीहरूले आपत्ति प्रकट गरे । मैले लेखेको थिएँ, टोपी दिवसले हाम्रो देशलाई एक बनाउँदैन बरु यसले हामीमा विखण्डन ल्याउनेछ । कतिपय साथीहरूले यो विखण्डन भन्ने शब्दलाई भूगोलसित मात्रै जोडेर हेरे । म स्पष्ट छु, जाबो टोपी दिवसले मात्रै हाम्रो भूगोल कदापी विखण्डन हुनेछैन तर हाम्रो मनको विखण्डन कसले देखेको छ ? यस्ता दिवस थपिंदै जाने हो भने एकदिन त्यही निहूँमा भूगोल नै विखण्डन नहोला पनि भन्न सकिंदैन । भूगोल विखण्डन एकै रातमा या एकै झट्कामा हुने कुरा होइन । पहिला मानिसको मन विभाजन हुने हो । भावना विखण्डन हुने हो । बल्ल भूगोल विखण्डनको प्रक्रिया सुरु हुने हो । मैले लेखेको विखण्डन भूगोलको होइन मनको हो, आत्माको हो, भावनाको हो ।

यो टोपी दिवस प्रायोजित नै हो भन्ने प्रमाण के पनि हो भने हरेक वर्षजस्तै भृकुटीमण्डपमा केही महिलाहरूलाई ढाकाटोपी लगाएर उभ्याइन्छ । पत्रकारहरूलाई बोलाइन्छ । अनि उनीहरूको तस्वीर र समाचार केही राष्ट्रिय भनिएका मिडियाहरूमा छापिन्छ । अनि टोपी दिवस सफल भएको गीत गाइन्छ । तर टोपी दिवस सफल भइरहँदा यहाँ देश असफल बन्दैगएकोतर्फ कसैको ध्यान पुगेकै छैन । भृकुटीमण्डपमा प्रायः भइरहने प्रायोजित कार्यक्रमहरूको लहरमा यो एक सामान्य दृश्यजस्तो पनि लाग्ला तर गहिरिएर हेर्ने हो भने यसमा ठूलो राजनीति लुकेको छ । ती दिदीबहिनीहरूलाई कसैले सोधोस्, के ढाकाटोपी तिम्रो स्वभाविक पोशाक हो ? पञ्चायतकालमै पनि नागरिकताको प्रमाणपत्रमा समेत महिलालाई अनिवार्य नगराइएको ढाकाटोपी लगाउने बाध्यता तिमीउपर कसले सिर्जना ग¥यो ? 

अझ अर्को गम्भीर प्रश्न, कतिजना मधेशीले यो दिवसमा सहभागी भएर खुसी साटासाट गरे ? हिसाब गर्ने नै हो भने जवाफ शून्य आउला । सामाजिक सञ्जालमा केही मधेसीहरुले आफ्नो पारम्परिक पोशाक प्रदर्शन गर्दै धोती दिवसको शुभकामना भनेर लेखे । यस्तो क्रियाकलाप यही टोपी दिवसको प्रतिकार हो । मन विभाजन भइरहेको एउटा प्रमाण पनि हो यो ।
यसपाली जनजातिले पनि यो तथाकथित दिवसमा भाग लिएको देखिएन । यसको अर्थ के हो भने, यो दिवस सबै नेपालीको होइन । यसमा सबै नेपालीले आफ्नोपन महसुस गर्न सक्दैनन् । 
यतिसम्म कि माथि भिन्नै प्रसंगमा उल्लेख गरिएका पहाडे खसआर्य समुदायकै अधिकांश मानिसले देश विखण्डनको अन्तर्य बुझेरै होला, चलेको यो बतासमा सहभागी हुन अनिच्छा मात्र देखाएनन्, सामाजिक सञ्जालमा खुलेरै यसको प्रतिवाद र विरोध पनि गरे । यसर्थ यो टोपीदिवसको यात्रा यहींनिर रोकिनुपर्छ । यसको अब कुनै सकारात्मक अर्थ बाँकी छैन । 

हिजो पो राज्य नै एकल थियो । एकल भाषा, एकल धर्म, एकल संस्कृतिलाई ईतर जातिसमुदायका थाप्लामा जबर्जस्ती बोकाउने काम हुन्थ्यो । मिडिया, स्कूलकलेज, सार्वजनिक फोरमहरूमा राज्यको नियन्त्रण थियो । एक जातिसमुदायले ल्याएको जस्तोसुकै विभेदकारी अवधारणा होस् त्यसलाई राज्यले नै दानापानी दिएर हुर्काउँथ्यो । तर अब समय त्यस्तो रहेन । अब हरेक नेपालीको हातमा मिडिया छ । आफ्नो विचार निर्धक्क राख्न सकिने अनेकन मञ्चहरू छन् । तसर्थ कुनैपनि अभियान चलाउनुअघि त्यसका हत्र्ताकत्र्ताहरूले कम्तीमा दसपटक सोचविचार गर्नैपर्छ । हरेक नेपाली विवेकशील त हिजो पनि थिए, तर आफ्नो विवेकलाई स्वतन्त्रतापूर्वक प्रयोग गर्न सक्ने आजको लोकतान्त्रिक व्यवस्थामा कसैले कसैमाथि विभेद गर्ने कोशिस नगरे हुन्छ । 


Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...