Monday, 24 December 2018

तिहार कसको ?

जेबी दर्लामी  


हरेक वर्षजस्तै तिहार आयो । हरेक वर्षजस्तै तिहार गयो । तर त्यसले छाडेको झन्कार गाउँघरतिर अझैपनि बजिरहेको छ । त्यसलाई भैलो खाने भनिन्छ । सहरबजारको भैलो खाने चलन अब बनभोजजस्तो बनिसकेको छ । चर्कोचर्को स्पीकरमा रेडिमेड गीत बजाउने अनि सूर न तालसित दिनभरि उफ्रिने । सहरबजारमा भैलो खाने परम्परा यस्तो बस्न थालिसकेको छ ।
तर केही गाउँघरतिरको भैलो खाने रौनक अझैपनि उस्तै छ । भैलेहरूले गाउँभरिका मानिसलाई निम्तो गर्छन् । तिहारकै छेउछाउमा जस्तै मादल भिर्छन् । भैले पोशाक लगाउँछन् र रातभरि दिनभरि उसैगरि नाच्दछन् । त्यो नाचमा कुनै क्रृत्रिमता हुँदैन । 

तिहार हरेक वर्ष आउँछ जान्छ । तर त्यसले एउटा गहिरो प्रश्न हामीमाझ छाडेर जान्छ, तिहार कसको हो ? कसको हो तिहार ?
यो प्रश्न मेरो मनमा उब्जन लागेको पनि धेरै वर्ष भइसक्यो, अद्यापी यसको जवाफ मैले पाउन सकिरहेको छैनँ । यो आलेख त्यही जवाफको आशामा लेखिएको हो ।

अचेल तिहार आउँदा म आफ्नो बालापनमा फर्कने गर्छु । बाजे हुनुहुन्थ्यो । हाम्रो कुल झाँक्री परम्परामा बाँचेको थियो । यो परम्परा अझै छ । हाम्रो शाखासन्तानमा एकजना भूइँफूट्टा झाँक्री हुने गर्दछ । उसलाई कसैले तन्त्रमन्त्र सिकाउनुपर्दैन । कसैले उसलाई गुरु बनेर झाँक्री विद्या सिकाइरहनु पर्दैन । उसलाई कुनै शक्तिले नै त्यो सिकाउँछ । अनि ‘बहालवाला’ झाँक्रीको देहान्त हुनासाथ उक्त व्यक्ति स्वतः झाँक्री बन्ने परम्परा छ । हाम्रो बाजे त्यस्तै झाँक्री हुनुहुन्थ्यो । उहाँको शेषपछि एकजना काका उहाँको ढ्याँग्रो र गजा बोक्ने झाँक्री बन्नुभएको छ । गाउँमा अझैपनि हामीलाई झाँक्रीका सन्तान भन्ने गर्छन् ।

गाउँमा तिहारको बेला भैलो खेल्ने चलन थियो । चार जना मादले, दुईजना (कहिलेकाहीं त चारैजना) मारुनी, एकजना पुर्सुङ्गे मिलेर नाच्ने नाचलाई नै मैले भैलो भनेर चिनेको हुँ । (अहिले त बनिबनाउ गीतमा दुईजना यसो हल्लिने चलनलाई पनि भैलो भनी स्थापित गराइएको छ ।)
अनि त्यो भैलोमा मादलेमध्ये एकजना गुरु मादले हुन्थ्यो । उसले भिरेको मादललाई गुरु मादल भनिन्थ्यो । त्यसलाई अरु मादले लगायत सबै नचारुले ढोग्नुपथ्र्यो, पुज्नुपथ्र्यो । अनि बाजे सिंगो भैले समूहको नाईके हुनुहुन्थ्यो । उहाँले नै गीतबाट चार दिशा, चार कुना बाँधेपछि मात्र भैलो समूह सुरक्षित रहने विश्वास गरिन्थ्यो । कहिलेकाहीं नचारुहरू मुटु दुख्यो भन्दै कहालिएको म देख्थें । त्यस्तो बेलामा बाजेकै मन्त्रले सुरक्षा प्रदान गथ्र्यो । 

यहाँ मैले जोड दिन चाहेको कुरा के हो भने भैलो खेल्ने परम्परासितै तन्त्रमन्त्र पनि जोडिएको छ । यतिसम्म कि छिमेकी गाउँका अन्य झाँक्रीहरूले हाम्रो गाउँको भैलो नाच राम्रो नहोस्, त्यसले अरु गाउँका भैलोलाई नउछिनोस् भनेर आफ्नो तन्त्रमन्त्रले मादल फुटाइदिन्छन् पनि भनिन्थ्यो । कथंकदाचित त्यस्तो भइहाल्यो भने बाजेको झाँक्री शक्तिमाथि प्रश्न उठ्ने गर्दथ्यो । 
मैले देखेको अर्को महत्वपूर्ण दृष्य, गाउँमा डुलेर भैलो नाच्ने समय नाच सुरु गर्नुअघि ‘समृति बाँध्ने’ परम्परा अनिवार्य थियो । गीतको अगुवाई मेरो बाजेले नै गर्नुहुन्थ्यो । त्यो समयमा मादल र बाँसुरीको ताल भिन्नै हुने गथ्र्यो । त्यो सूर र ताल अरु बेला कसैले बजाउन पाउँदैनथ्यो । त्यो तालमा मादल र बाँसुरी बजिरहँदा त्यहाँ मानिसहरू काम्न थाल्थे । मादले, मारुनी र पुर्सुङ्गे मात्र नभइ कोही कोही दर्शक र सहभागी भैलेहरू पनि काम्थे । त्यो काम्ने शक्ति यति शक्तिशाली हुन्थ्यो कि मानिसहरूले उक्त व्यक्तिलाई पछाडिबाट चरप्प समात्नुपर्ने हुन्थ्यो । 
यसरी सम्पूर्ण तान्त्रिक मान्त्रिक रीत पूरा भइसकेपछि मात्रै भैलेहरू गाउँ पस्न तयार हुन्थे । बाजेको मृत्युपछि गाउँको भैले नाच पूर्णतया ध्वस्त बनिदियो । गाउँका अन्य केही धामी झाँक्रीहरूले केही वर्ष भैले नाचको परम्परा जोगाउन चाहेपनि सकेनन् । गाउँमा कुनै बलियो झाँक्रीविना भैलो खेल्न कोही तयार हुन सकेनन् । भैलो नाच नै आफैमा मन्त्रतन्त्रसित प्रत्यक्ष जोडिएको दृष्य आफ्नै आँखाले देखेर हुर्केको नयाँ पुस्ताले यस्तो आँट गर्नसक्ने कुरै भएन । बाजेसित भैलो नाच्न हिँडेका गाउँका मादलेहरूले अझैपनि स्मरण गर्दछन्,
‘आफूजत्रै अग्लो लौरो टेकेर गीतको अगुवाई गर्नुहुन्थ्यो झाँक्री बाजे । कोही नचारुले अलिकति मात्रै नाच बिगारेको देख्नुभयो भने आफूले टेकिराखेको त्यही लौराले त्यसको टाउकामा टक्रक्क हिर्काउनुहुन्थ्यो ।’
यसबाट भैलो नाचको सम्वेदनशीलता देखा पर्दछ । बाजे हुञ्जेल अर्घाखाँचीमा हाम्रो गाउँको जत्तिकै राम्रो भैलो नाच्न सक्ने मानिस अन्त सायदै थिए होलान् । निकै चर्चा हुन्थ्यो हाम्रो गाउँको भैलो नाचको ।

क्रमशः हाम्रो गाउँको भैले नाच कोमामा गयो । कालान्तरमा यो जाग्ला नजाग्ला तर अहिले वास्तविक भैलो हाम्रो गाउँमा खेलिँदैन । अन्त पनि त यस्तै भएको होला । धामीझाँक्री विद्यालाई अनदेखा गर्न थालिएपछि यसको प्रवद्र्धन हुने कुरै भएन । अनि मानिसहरू विस्तारै रेकर्डेड गीतमा नाच्न र उफ्रन थालेका होलान् । 
यही प्रश्नले मलाई सधैं हिर्काइरहन्छ ।
भैलो तिहारसित सम्बन्धित छ । भैलो धामीझाँक्री र तन्त्रमन्त्रको परम्परासित जोडिएको छ । त्यसो भए तिहार कसको हो ?
पछिल्लो समय नेपालका आदिवासी जनजाति समुदायमा दसैंतिहार हाम्रो हैन भन्ने एकप्रकारको आन्दोलन नै चल्यो । अहिले मगर समुदायले दसैं त हाम्रो हुँदैहैन तर तिहार भने हाम्रै हो भन्ने जागरण चलाइरहेको छ । जिल्ला जिल्लामा मगर संघजस्तो संगठित संस्थाले भैलो नाचको अगुवाई गरिरहेको पनि देखिन्छ । तर मैले बालक छँदा देखेको भैलो र अहिलेको भैलोमा कता हो कता अन्तर छ । मैले देखेको भैलोका अगाडि अहिलेका भैलेनाच भूराभूरी खेलेकोजस्तो देखिन्छ । भैलोको त्यो विरासत लोप हुने खतरामा छ । जनजाति अगुवाहरूले समयमै यो समस्यालाई नदेख्ने हो भने समयान्तरमा नयाँ पुस्ताले भैलो भनेको रेडिमेड गीतमा उफ्रने मौका हो भनेर बुझ्ने हुन् कि भन्ने डर छ ।

मेरो जिकिर के छ भने भैलो नाच क्षेत्रीबाहुनको त किमार्थ हुन सक्दैन । तन्त्रमन्त्रले बाँधेर खेलिने भैलो त उनीहरूमध्ये धेरैले देखेकै छैनन्, आफैले अनुभव गर्ने कुरा त धेरै पर भयो । अर्को कुरा, उनीहरूले अझैसम्म राम्ररी मादल भिर्नसम्म जानेका छैनन् भने नाच्न जान्ने भन्ने कुरा पनि धेरै धेरै पर भइहाल्यो । न नाच्न जानेका छन् न गाउन । हाम्रा गाउँमा केही राउत क्षेत्रीहरू छन् । मगर समुदायले नाचेको भैलोसित उनीहरू भलिभाँती परिचित थिए तर जब उनीहरूको भैलो नाच हामी देख्थ्यौं, हामीलाई अचम्म लाग्थ्यो । भैलोको भद्रता उनीहरूमा हुन्थेन । उनीहरूमा अर्कैप्रकारको जोश हुन्थ्यो । मादल बजाउँदाबजाउँदै उनीहरूले सुरुको ताल नै बिगारिदिन्थे । नाच्दानाच्दै उनीहरूको नाचमा छुट्टै (बिछट्टै पनि भन्न सकिने) प्रकारको जोश देखा पथ्र्यो । उनीहरूले भद्रतामा सुरु गरेको भैलो उग्रतामा सरायँ नाचजस्तो बनाएर टुंग्याउने गर्दथे । 

बाहुन त झन् नाच्ने गाउने परम्पराकै समुदाय हैन । यो वर्ष अर्घाखाँचीमा हिन्दू जागरण भन्ने समूहले भैलो खेलेको थियो । त्यहाँ अधिकांश क्षेत्री, बाहुन र नेवार समुदायका मानिसहरू थिए । उनीहरूले भैलोमा इसाई समुदायलाई लक्षित गरी केही साम्प्रदायिक गीतहरू आफैले बनाएर गाएका थिए । धर्मपरिवर्तनको विरुद्धमा रचिएका ती गीत आफैमा राम्रा होलान् तर भैलोकै अवसरमा भैलो नै भनेर गाइँदाखेरि भैलो गीत र नाचको लामो परम्परालाई त्यसले कुरुप बनाउने काम मात्रै ग¥यो । उनीहरूले नौमति बाजामा प्रयोग गरिने होंकर र अन्य बाजासमेत प्रयोग गरेका थिए । यतिसम्म कि रुपन्देही जिल्लामा यही वर्ष पञ्चेबाजामा भैलो खेल्ने चलनको सुरुआत भएको छ । र यस्तो चलन सुरु गर्नेहरू जनजाति समुदायका हैनन् । यस्ता अनेक उदाहरणले के पुष्टि गर्दछ भने वास्तविक भैलोको चलन जनजातिबाटै आएको हो । अरु जातिले यसलाई स्वीकार गरेका हुन् । सिको गरेका हुन् । सिको गर्ने क्रममा भैलोको मूल स्वरुपलाई बिगार्ने पनि अरु जातिका हुन् । तर पछिल्लो समयमा जनजाति आफै हिन्दु धर्ममा धर्मान्तरण हुँदै आउँदा उनीहरूले पनि भैलोको खास अर्थ बुझ्न सकिरहेका छैनन् ।

भैलो गीत गाउन जानेको जनजाति, भैलो नाच नाच्न जानेको जनजाति । फेरि त्यो भैलो गीतमा किन हिन्दु देवीदेउताहरूको नाम पुकारिने चलन चल्यो होला ? यो प्रश्न अझ गम्भीर छ । नेपाललाई हिन्दुकरण गरिन थालेको पृथ्वीनारायण शाहको समयदेखि जंगबहादुरको पालामा मुलुकी ऐन लेखेरै नेपालमा बसोबास गर्ने सबैलाई हिन्दु धर्म अनिवार्य मान्ने उर्दी जारी गरियो । अझ राजा महेन्द्रको शासनकालमा त यो उर्दीलाई अक्षरशः पालना गराउन जबर्जस्ती नै गरियो । सबै नेपाली पञ्च मात्र हैन, सबै नेपाली हिन्दु भन्ने भाष्यलाई नेपालमा जबर्जस्ती लाद्ने काम भयो । यसको फलस्वरुप हजारौं वर्षदेखि प्रकृतिको पूजा गर्दै आइरहेको जनजाति समुदाय शिवलिंग पुज्न बाध्य भयो । हिन्दु देवीदेउताको नाम जप्न विवश भयो । हिन्दु मिथक र त्यसले निर्माण गरेका कथ्यहरूलाई आफ्नो भनी अँगाल्न लाचार बन्यो ।
भैलोमा गाइने गीतहरूमा सिमेभूमेको नाम आउँछ । तर त्यहीं सरस्वतीको वन्दना पहिलो शत्र्त बनाइएको छ । माथिका केही उदाहरणले मात्र पनि भैलो जनजातिकै हो भन्ने त हामी सहजै बुझ्न सक्दछौं । त्यसमा गाइने गीतहरूमा हिन्दु देवीदेउताका नाम लिनुपर्ने कारण बुझ्न भने हामीलाई सकस छ । अनुमान मात्र लगाउन सक्छौं कि नेपाली समाजलाई हिन्दुकरण गरिंदै आएपछि भैलोका गीतहरूमा हिन्दु देवीदेउताहरूका नाम लिनैपर्ने बाध्यता पनि सिर्जना गरियो होला । यो विषय अनुसन्धाता र विज्ञहरूले अझ गहिराईमा पुगेर खोज्नुपर्ने देखिन्छ । माथिको कुरालाई पुष्टि गर्ने एउटा सानो आधार भनेको हाम्रो बाजेको समयको भैले गीतलाई संरक्षण गर्न जनजातिले अरुचि मानिरहेको र ईतरजातिले त झन् चाहेर पनि जान्दैनजानेको वर्तमान अवस्थालाई हेर्न सकिन्छ । हिन्दु देवीदेउताका नाम जोडिएका भैले गीत लोप हुँदै जानुको कारण के हो ? यो अर्को गम्भीर प्रश्न होजस्तो मलाई लाग्दछ । 

मंसिरको महिना जानै लागेको छ । गाउँघरमा भैलो खाने समय अझै भएको छैन । माघ महिनाको कमलो घाम ताप्दै भैलो खाने चलन छ धेरै ठाउँमा । जनजाति बाहुल्य ठाउँमा त भैलो खेल्दा उठाइएको अन्नको जाँड बनाइन्छ । त्यो अन्नलाई पूरापूर प्रयोग गर्न मदिरा बनाइन्छ । सुँगुर बँगुरको जोहो गरिन्छ । अनि गाउँको बीचमा कुनै खाली चौरमा भैलो पाक्छ । गाउँभरिका मानिस भेला हुन्छन् । मादले, मारुनी र पुर्सुङ्गेहरू दिनभरि रातभरि नाचेर थाक्दैनन् । त्यहाँ केही झाँक्रीहरूले आफ्नो शक्ति प्रदर्शन पनि गर्दछन् । जस्तो, बलिरहेको अगुल्टो चपाउने, आगोमाथि हिँड्ने । काम्ने त सामान्य भइगयो । 
तर यी दृष्य अब सहजरुपमा देख्न गाह्रो भइसकेको छ । पूँजीवादी शासन व्यवस्थामा भैलोको मौलिकता पनि लोप भइसकेको छ । उहिले चार मादल बजेको टाढा टाढासम्म सुनिन्थ्यो । मादल बजेकै सुनेर नाचौं नाचौं लाग्थ्यो । त्यो बेला गडमगडम बज्ने मादल अहिले टुङटुङ गर्छ । 

वास्तवमै अहिले गाउँघरमा मादलको स्वर झीनो बन्दै गएको छ । सहरबजारमा थर्कने ‘साउण्ड सिस्टम’का अगाडि गुरुमादलसमेत निरिह बनिरहेको छ । भैलोको साँचो स्वरुप यसरी सङ्कटमा परिरहेको छ । 
हरेक वर्ष तिहार आउँछ र जान्छ । तर त्यसले एक चर्को आवाजमा प्रश्न सोधेर जान्छ, तिहार कसको हो ? भैलो कसको हो ? र यसको मौलिकतालाई संरक्षण गर्ने जिम्मेवारी कसको हो ?

२०७५ मंसिर २६, सन्धिखर्क

http://nayaonline.com/2018/12/18/24087/  मा प्रकाशित 

Wednesday, 12 December 2018

मान्छे बन्न नसक्ने कसरी लेखक हुन्छ ?


जेबी दर्लामी 


संसारका ठूला लेखकहरूको काम लेख्ने मात्रै होइन, बोल्ने पनि हो । तर नेपालका लेखकहरू नगरकोटीको भाषामा गुफा पस्नुलाई गौरव ठान्छन् र त्यसो गरेर उनीहरू संसारका प्रसिद्ध लेखकहरूको दाँजोमा पुग्ने सपना देख्छन् । योभन्दा हास्यास्पद कुरा अरू के होला ?

तालिबानको चरम दमन सहन नसकी अभिभावकसित बेलायत भागेका खालिद हुसेनीले काइट रनर, एन्ड माउन्टेन इकोज र थाउजेन्ड्स स्प्लेन्डिड सन्सजस्ता विश्वप्रसिद्ध आख्यान मात्र लेखेका छैनन्, ‘दि खालिद हुसेनी फाउन्डेसनको स्थापना गरेर अफगानिस्तानमा युद्धको चपेटामा परेका बालबालिकाका लागि सहयोग रकम पनि जुटाइरहेका छन् । उनी आख्यान लेख्नका लागि वर्षौं भूमिगत हुँदैनन् बरु दिनहुँ आफ्नो फेसबुक पेज र ट्विटरमा अपडेट हुन्छन् । किताब मात्र होइन, युद्धको विरोध र मानवताको पक्षमा निरन्तर सामाजिक सञ्जालहरूमा पनि लेख्छन् । उनको यस्तो लेखनीले उनलाई हलुका बनाएको छैन बरु झन्झन् जिम्मेवार लेखक भनी संसारभर चिनाएको छ ।

तर, हाम्रा ठूला भनिएका लेखकहरूले सामाजिक सञ्जाललाई आफ्नो र स्वास्नीको फोटो सार्वजनिक गर्ने साधनका रूपमा मात्र प्रयोग गरिरहेका छन् । उनीहरू यति साँघुरा छन् कि आफ्नो परिवार र हदै भए आफ्नो गुटसम्मको प्रचार गर्नुलाई आफ्नो प्रतिबद्धता सम्झिरहेका छन् । उनीहरूले सामाजिक सञ्जाल प्रयोग गर्ने भनेको व्यक्तिगत घुमघाम, खानपिन र मनोरञ्जनको फोटोहरू अपलोड गर्न मात्रै हो । समाजसित उनीहरूलाई कुनै लिनुदिनु छैन । कहिले बोक्सीको आरोपमा महिलालाई दिसा खुवाइन्छ । कहिले दलितले चुल्हो छोयो भन्दै आफूजस्तै मानिसलाई निर्घात कुटपिट गरिन्छ । कहिले दाइजो नल्याएको निहुँमा नवविवाहितालाई जलाएर मारिन्छ । कहिले आठवर्षीया बालिकादेखि असी वर्षकी वृद्धालाई सामूहिक बलात्कार गरिन्छ । र यो सब हाम्रै देशमा भइरहेको छ ।
तर, देशका दुईथरी लेखक भनिनेहरूलाई यी कुनै पनि घटनाले छुँदैन । एकथरी लेखक हुन् स्वघोषित नै सही ती सिकारु गजलकार जो आफ्नै अगाडि मान्छे मारिँदा पनि प्रेमिकाको आँखा, नाक, च्युँडो र नितम्बको बयान गर्दै गजल लेखिरहेका छन् र अर्कोथरि लेखकको समूह ठूलाभनिनेहरूको हो । केही लेखकहरू छन् जसलाई म आँखा चिम्लेर पछ्याइरहेको छु । तिनका किताब सबै पठनयोग्य छैनन् । तिनका सबै किताब मलाई मन पर्दैन पनि । तर जब बजारमा तिनका किताब आउँछन् म अघिपछि नसोची किन्ने गर्दछु । अनि कुनै घटनाले या कुनै बहसले जब सिंगो देश तरंगित हुन्छ तब म तिनको धारणा सुन्न आतुर हुन्छु । योबारेमा मेरा ती आदर्श लेखकले के भन्दा हुन् भनी जान्न व्यग्र हुने गर्छु । तर ती हिउँजस्तो चिसो बनेर यसरी बसिरहन्छन् मानौं केही भएकै छैन । तिनको लेखनको आदर्श र व्यवहारमा म आकाशजमिनको अन्तर पाउँछु ।

अरू पाठकलाई पनि त मलाईजस्तै महसुस हुँदो हो । त्यसैले मलाई समाजका बोल्नैपर्ने मुद्दामा पनि मौन बस्ने तथाकथित ठूला लेखक र सिकारु गजलकारको झुन्ड एउटै लाग्छ । राजनीतिक त कुरै छाडौं, सामाजिक मुद्दामा समेत हाम्रा लेखकहरू मुखमा पानी हालेर बसेका हुन्छन् । आखिर केले रोक्छ हातमा कलम भएका र कामै लेख्ने भएका लेखकलाई बोल्न र टिप्पणी गर्न ? संग्रौलाको भाषामा भन्नुपर्दा हातमा लाठो हुनेहरू यसरी कोसित डराउँछन् ? स्पष्ट छ, उनीहरू आफैंसित डराउँछन् । आफ्नो पेटसित डराउँछन् । हरेक कुरामा पक्ष या विपक्षमा बहस हुन्छ । हाम्रा लेखकलाई के डर छ भने कुनै पनि मुद्दामा टिप्पणी गर्दा एक पक्षलाई चित्त नबुझ्न सक्छ । चित्त नबुझेको समूहमा रहेका पाठकले आफ्नो किताब नपढीदिन सक्छ 
पाठकले नै नपढिदिएपछि किताबको बिक्रीमा ह्रास आउला । किताब नै बिक्री भइदिएन भने फूल टाइम मात्र नभै नेपालकै ठूलो लेखक बन्ने आफ्नो सपना पनि भत्कन सक्छ । आखिर आफ्नै सपनाको मलामी जान कसलाई रहर हुन्छ र, लेखकलाई होओस् ? नेपाली लेखकहरूको डर यति नै हो र यति मात्रै हो । अर्थात् आफूले दुईअढाई वर्ष गुफा पसेर लेखेको किताबको बिचल्ली होला भन्ने डरले नेपाली लेखक आफ्नै अस्तित्व जोडिएको समाजको मुद्दामा बहस गर्न राजी छैन । योभन्दा ठूलो विडम्बना अरू के होला ? समाजसित अलग्गिएर भुँडी भर्ने पेसा त अरू पनि होलान् । किन तिनले लेखन नै अँगाल्नुपथ्र्यो र ? विदेशी लेखकको नाउँ धेरैको लिन सकिएला ।

तर नेपालकै लेखकहरूको नाउँ लिँदा मात्रै पनि धेरै हुनेछ । बिपी कोइरालाले आख्यान मात्रै लेखेर बसेनन् । न त आख्यानकार बन्ने मोहले राजनीति नै छाडे । उनले समाजको बारेमा सोच्न र बोल्न कहिल्यै छाडेनन् । राजनीतिक छविले उनको साहित्यिक अनुहारमा कहिल्यै दाग लगाउन सकेन । उनका कृति सबै क्षेत्रका पाठकले पढे, अद्यापि पढिरहेछन् । पाठक घट्लान् या आफ्नो किताबको बिक्री कम होला भनेर उनी डराएनन् । पारिजात, जसले आफ्नो जीवनलाई लेखनमा मात्र समर्पित गरिनन्, जीवनभरि समाजकै लागि बोलिन् ।
समाजकै मुद्दामा आफूलाई एकाकार बनाइन् । उनको यस्तो कर्मले उनका पाठक घटेनन् । सुब्बा कृष्णलाल अधिकारी र कृष्ण सेन इच्छुकसम्म सत्ताको नजरमा आतंककारी बनेका अन्य थुप्रै लेखकको नाउँ हामी लिन सक्छौं । त्यो प्रतिरोध हाम्रो परम्परा हो । स्वभावैले नेपाली जातिको स्वाभिमान अतुलनीय त छँदै छ तर समाजको प्रतिनिधि बनेर चिनिने लेखकको समूहले सत्ता र परम्परामाथि प्रश्न गर्न सक्तैन भने त्यो कसको प्रतिनिधि हो र त्यसले लेख्ने भनेको साहित्य कुन समाजको ऐना हो ? भावी पुस्ताले यो प्रश्न निश्चित रुपमा सोध्नेछ ।

नेपालका प्रायः सबै लेखक सामाजिक सञ्जाल प्रयोग गर्छन् । तर कमै मात्रले ताजा घटनामाथि टिप्पणी गर्ने साहस गर्दछन् । उनीहरू आफूलाई यस्ता कुरामा तटस्थ राख्न मन पराउँछन् । उनीहरू न्यू मिडियाको रुपमा परिचित फेसबुक, टिटर लगायतको शक्तिबारे राम्रै जानकार छन् । यिनै सामाजिक सञ्जालको प्रयोगले राज्यसत्तासम्म परिवर्तन हुन सक्छ भन्ने संसारका केही उदाहरण पनि तिनलाई थाहा छैन होला भन्न सकिँदैन । यति हुँदाहुँदै पनि उनीहरूको मौनताको अर्थ आफूलाई विवादरहित लेखकको रुपमा परिचय दिने ध्येय नै हो भन्नेमा स्पष्ट हुन सकिन्छ ।

आखिर तिनको मौनताले सहयोग पु¥याउने भनेको यथास्थितिलाई नै हो । परम्परालाई नै हो । दुनियाँमा राम, कृष्ण, जिजस, बुद्ध त सबैका प्रिय हुन सकेका छैनन् भने लेखकको कत्रो महत्वाकांक्षा कि ऊ सबैको प्रिय बन्न चाहन्छ । नेपाली लेखक आफ्नो किताबको बजार नघटोस् भन्ने कुरामा बडो चनाखो छ तर यही चनाखोपनले उसलाई बाठो लड्छ तीन बल्ड्याङभन्ने उखानको पात्र बनाइदिएको छ । उसलाई समाजप्रति कुनै जिम्मेवारीबोध नभएको असभ्य प्राणी बनाउँदै लगेको छ ।
लेखक पनि समाजकै अंग हो भने समाजको दुखाइमा ऊ उपन्यासमा रोएर मात्र हुँदैन । कवितामा संवेदनाको खेती गरेर मात्र हुँदैन । ऊ समाजसितै रुन र हाँस्न सक्नुपर्छ । नत्र मान्छे हुनुको अर्थ नै के रह्यो र ? मान्छे बन्न नसके लेखक कसरी बन्न सकिन्छ र ?

https://www.farakdhar.com/story/6259/ 

Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...