‘दुःख छ तर हरेश नखानू । कहिल्यै विचलित नहुनू । उदास नहुनू, हिम्मत नहार्नू । तिम्ले ल्याएर आएको पुस्तक म उलानबटोर लिएर जाँदैछु । मेरा गुरुहरूलाई देखाउँछु । केही रहस्य त अवश्य पत्ता लाग्नेछ,’ धेरै बेरको मौनतापछि नेर्जुईले भनी ।
म केही नबोली घोडामाथि बसिरहेँ । रुञ्चे स्वरमा नेर्जुई नै बोलीरही,
‘पाँच महिनापछि म आइहाल्छु । ढिलो गरेँ भने पनि अप्रिलको अन्तिम हप्तासम्म जसरी भएपनि आइपुग्छु । जुलाईमा त हाम्रो राष्ट्रिय पर्व हो । नादाम । कति रमाइलो हुन्छ,’ मनमा बिछोडिनुको पीडा दबाएर ऊ हाँस्ने कोसिसमा थिई ।
मेरो कुरा सुनेर उसको अनुहार अँध्यारो भयो । हत्तपत्त हत्केलासम्मै झरेको ओभरकोटको बाहुलाले आँसु पुछी ।
‘मैले खुब याद गर्नेछु तिमीलाई,’ उसले रुँदै भनेकी यी वाक्यहरुले मेरो मुटु स्पर्श गरे । तीन घन्टाको घोडसवारीपछि हामी एउटा सानो डाँडोमा पुग्यौं । हामी त्यही डाँडामा घोडाबाट ओर्लियौँ । केही पर होचा र स–साना घरहरू भएको एउटा बजार देखाप¥यो ।
‘यही हो झाङ्नु बजार । हाम्रो क्षेत्रको सरकारी अड्डाहरू सबै यहीँ छन् । यहाँबाट सिधै उलानबटोरका लागि सवारीसाधनहरू पाइन्छन् । उलानबटोर पुग्न बसमा झन्डै नौ घन्टा लाग्छ,’ उसले मेरो हात समात्दै भनी, ‘नादाममा हामी सँगै आउनेछौं यो बजारमा । खुब रमाइलो हुनेछ ।’
उसलाई छोड्न मन थिएन । तर नछोडी सुख थिएन । जाँदै थिई ऊ मेरा लागि अपरिचित, विरानो सहरमा ।
‘अब तिमी फर्क यात्री ।’
‘किन फर्कने म ? तिमीलाई गाडी चढाएर मात्रै फर्कन्छु,’ मैले आत्तिँदै भनेँ ।
‘मोटरहरू देखेर यी घोडा तर्सेर भाग्लान् । एउटा भए त तिम्लाई सजिलै हुन्थ्यो । दुई वटालाई कसरी सम्हाल्न सक्छौ ? मेरो चिन्ता नगर, आफ्नो ख्याल राख । भोकै नबस । म फर्कंदाखेरि तिम्ले मलाई यहीँ लिन आउनुपर्छ है ?’
धेरै बेरसम्म हामी अलग हुन सकेनौं । एक–अर्काको अँगालोमा बाँधियौँ । मनले छुट्टिन मान्दै मानेको थिएन । कुन आसक्ति थियो कुन्नि त्यो ? यति चाँडै हाम्रो मन यस्तरी जोडिएको रहेछ । एक–अर्काको मुटुको धड्कन सुन्न सक्ने भएका रहेछौं हामी ।
मेरो अँगालोबाट भारी मनले मुक्त भएर उसले छिटोछिटो पाइला सारी । हिँक्कहिँक्क गर्दै रोइरहेकी थिई ऊ । पछाडि फर्केर हेर्नै सकिन । उसका खुट्टा लरबराइरहेका थिए । सायद, हिँडाइको सन्तुलन गुमाइसकेकी थिई । पर पुगेर हरियो चौरमा ऊ घुँडा टेकेर बसी । आफूभन्दा अग्लो झोलाले उसलाई थिच्यो ।
म दौडँदै उसको नजिक गएँ । भित्रैदेखि हिक्का छाडिरहेकी थिई ऊ । अगाडि गएर उसलाई हात दिएँ । मेरो हातमा झुन्डिँदै उठी ऊ र छातीमा टाँस्सिएर गला खोलेरै रुन थाली ।
मैले चुपचाप उसको कपाल मुसारिरहेँ । भन्नुपर्ने कुरा त कति थिए कति मनमा । तर यो बेला कुनै अर्थ थिएन ती कुराको । मैले उसलाई रुन दिएँ ।
केही बेरपछि ऊ आफंै सम्हालिई । रुन्चे बोलीमा निरन्तर ‘म तिमीलाई माया गर्छु’ भनिरहेकी थिई । हिजोसम्म मेरो निम्ति मायाप्रेम भन्ने शब्द नै झुटो थियो । बकवास थियो । बेकामको थियो र भ्रम थियो । आज मैले पनि बुझ्दै थिएँ, मायाको अर्थ । प्रेमको गहिराई म पनि अनुभूत गरिरहेको थिएँ ।
नेर्जुई त्यहाँबाट पनि अगाडि बढी । पटक–पटक फर्केर हेरी । हात हल्लाई उसरी नै पटक–पटक । ऊ मेरो पोल्टामा परेको मैले थाम्न नसक्ने खुसी थिई । मैले नमागेरै पाएको सौभाग्य थिई । संसारलाई नयाँ तरिकाले हेर्न सिकाएकी थिई उसले मलाई । जीवनको अर्थ सम्झाइदिएकी थिई । मेरो रुखो र निस्सार जीवनमा उसले बहार बोकेर आएकी थिई । बदलामा मैले उसलाई आँसु दिएर बिदा गरिरहेको थिएँ ।
हेर्दाहेर्दै उसको आकृति सानो हुँदै गयो । मैले एकटकले हेरिरहेँ त्यो बिन्दुलाई । अन्ततः बिन्दु पनि शून्यमा बिलाइगयो ।