Friday, 15 June 2018

पावेल बन्ने मौका पाइनँ



जेबी दर्लामी


मई दिवस कथासंग्रह पढ्ने बेला म तेह्र या चौध वर्षको टुसा थिएँ । त्यतिखेर यस्तो लागेको थियो, हो न हो लेखक भनेको खगेन्द्र संग्रौला हो र खगेन्द्र संग्रौला मात्रै हो । लेखकलाई पहिलोपटक चिनेको मैले खगेन्द्र संग्रौलालाई हो र कुनै लेखकप्रति त्यतिविधि आदरभाव जागेको पनि पहिलोपटक उनीप्रति नै हो । त्यसलगत्तै बजारमा एउटा ढड्डु किताब फेला परेको थियो, जसको नाम थियो युवाहरूको गीत । किताबको शीर्षकले मात्रै त्यति ठूलो किताब पढ्ने आँट आउने थिएन होला तर त्यहाँ मलाई लोभ्याउने एउटा नाम थियो, उनै मेरा प्रथम लेखक खगेन्द्र संग्रौला । अनुवादकमा उनको नाउँ देखेपछि कतिपय शब्दै बुझ्ने सामथ्र्य छैन भन्ने जान्दाजान्दै पनि त्यो यामानको किताबको पाना पल्टाउने साहस जुटाएको थिएँ ।

प्रगतिशील भनिएका किताबहरू पढ्ने बानी बसाल्न सहयोग गर्ने मुख्य यिनै दुई किताब थिए मेरा लागि । त्यसपछि खुबै चर्चामा सुनिएको उपन्यास आमा पढ्ने अवसर भने केहीपछि बल्ल जुरेको थियो । जतिबेला देशमा माओवादी युद्धले चरमविन्दु छोइरहेको थियो, त्यतिबेलासम्म नेपालीमा लेखिएका र अनुवाद भएका र प्रगतिवादी भनिएका केही पुस्तकहरू मसित थिए । जस्तो, निकोलाइ आस्त्रोवस्कीको अग्निदीक्षा, याङमोको युवाहरूको गीत, संग्रौलाको मई दिवस, ऋषिराज बरालको कथासंग्रह (नाम भुलें), ईच्छुकको बन्दी र चन्द्रागिरी । र त्यही संकलनमा थियो म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास आमा ।

आमा उपन्यास पहिलोपटक हातमा उचाल्न पाउँदाको दिन मनमा एकप्रकारको गर्व महसुस भइरहेको थियो । एक ऐतिहासिक किताब पढ्न गइरहेको छु भन्ने बोधले रोमाञ्चकता अनुभव पनि गरिरहेको थिएँ । उपन्यासका पाना पल्टाउँदै जाँदा मलाई सबैभन्दा गारो लागेको भनेको उपन्यासका पात्रहरूको नाम पढ्न नै थियो । तर कथा यति बेजोड कि पानाहरू पल्टाउन ती अप्ठेरा पात्रहरूले कहींकतै रोक्न सकेनन् । 

र आमा पढेर सक्ने दिन मैले मेरी आमालगायत गाउँभरिका आमाहरूका बारेमा गमेको थिएँ । त्यो समयको रसिया र यो समयको नेपालका आमाहरूको चेतना उस्तै पाएको थिएँ । हाम्रो देशमा पनि लाखौं आमाहरू कुनै न कुनै रुपमा युद्धमा सरिक भइरहेका थिए । उनको छोरा पावेलजस्ता युवाहरू देश र जनताको नाममा सहिद भइरहेका थिए, जेल गइरहेका थिए । भलै अहिले आएर छोराहरू भ्रष्ट भए होलान् र आमालाई पनि बदनाम बनाइरहेका होलान् । तर त्यस समय आफैपनि केही अंशमा युद्धमा सरिक भएको परिवेशमा यो उपन्यासको महत्व मेरा लागि कति थियो, शब्दमा व्याख्या गर्न सक्तिनँ । 

त्यहीबीच २०५९ सालतिर हाम्रो गाउँमा यूनिफाइड कमाण्डको प्रवेश हुने हल्ला आयो । गाउँभरि भरुवा बन्दूक थिए, विना लाइसेन्सका । गाउँलेहरूले बन्दूक लुकाए । मैलेचाहिं घरका अरु सदस्यलाई अप्ठेरो नपरोस् भनी तिनै किताबहरू बनमा लगेर लुकाएँ । एउटा बाक्लो प्लाष्टिकमा बेरेर घरभन्दा धेरै पर ठूलो रुखको टोड्कामा लुकाएर राखेको थिएँ मैले ती किताबहरू । 
जब यूनिफाइडको आतंकमय हल्ला कम हुँदैआयो, मैले रुखको टोड्काबाट निकालेर ती किताबहरूलाई घरमा ल्याएर आएँ । त्यति बाक्लो प्लाष्टिकलाई पनि धमिराले खाएर छियाछिया पारिदिएको थियो । घरमा ल्याएर जब मैले ती किताबहरूलाई हेरें, तीमध्ये एउटै पनि सद्दे थिएनन् । सबै किताबका पानाहरू धमिराले खाइदिएका थिए । कुनै त पढ्नै नमिल्ने गरी । तर आमा उपन्यासका पानाहरू भने उतिसारो छिया परेका थिएनन् । 
म्याक्सिम गोर्की 

अहिले पनि मेरो सानो पुस्तकालयमा करिब चारसय किताबहरूको बीचमा ‘आमा’ उपन्यास पनि छ । त्यही धमिराले चाखेका पानासहित । जब म यो उपन्यासलाई हातमा लिन्छु, मेरो मनमा अनेक किसिमका विचारहरू आउनेजाने गर्न थाल्छन् । मेरो मनमा देशमा छाएको त्यो कालरात्री समयको सम्झना आउँछ । मेरो मानसपटलमा युवा जोश र जाँगरले जुरुक्क उठेको आफ्नै युवा उमेरको समयखण्ड देखा पर्न आउँछ । पावेल बन्न नसकेको आफ्नो अवस्थामाथि न म हाँस्न सक्छु न त रुन नै । तर आमाहरूको वेदना हिजोजस्तै आजपनि देख्नुपर्दा भने सारै नराम्रो लागिरहन्छ ।
० 
लुम्बिनी दैनिकमा प्रकाशित 

Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...