Friday, 15 December 2017

युद्धको घाउ बोकेर बाँचेका मानिस


जेबी दर्लामी । 

२०६१ सालको मङ्सिरको कुनै पाहारिलो दिन थियो त्यो । मगर समुदायको बाक्लो वस्ती रहेको सिलिङखोलाका युवाहरू एउटा चौरमा बसेर तिहारको भैलो खाइरहेका थिए । यो उनीहरूको वर्षेनीको परम्परा थियो । तिनै युवाहरूमा एक थिए समानसिंह पुनमगर ।
अचानक त्यहाँ कम्ब्याट पोशाक लगाएका मानिसहरूको एक हूल देखा प¥यो । ती थिए यूनिफाईड कमाण्डका सिपाहीहरू । सिपाहीहरूले भैलो खेलिरहेका युवाहरूलाई घेरा हाले । अरुलाई छाडियो तर समानसिंहलाई छाडिएन । उनको गठिलो ज्यान देखेर उनीहरूले माओवादी हो भन्ने ठोकुवा गरे । जन्मँदै उनको जिब्रोको रङ कालो थियो । सिपाहीहरूले जिब्रो देखाउन भने । कालो जिब्रो देखेर उनीहरूले अट्टहास गर्दै बन्दुकको बलमा पुष्टि गरे, ‘यो मान्छे माओवादी नै हो ।’ 
त्यसपछि सुरु भयो एउटा निर्दोष युवकमाथि उनीहरूको कायरतापूर्ण अत्याचार । 





                                                           (समानसिंह पुनमगर)

सिपाहीहरूले उनका हात पछाडि लगेर बाँधे । आँखामा पट्टि लगाइदिए । राम्ररी बस्न पनि दिएनन् । त्यो कालो दिन सम्झँदै पुन भन्छन्–
‘दिनभर टुक्रुक्क बस्नुप¥यो । त्यसमाथि पालैपालो बूटले हिर्काउँथे । एकपटक त कोखामा बेस्सरी हान्यो । आँखाभरि पहेँलपुर देखियो । म त बेहोश नै भएछु ।’ 

बिहानदेखि साँझसम्म उनलाई चरम यातना दिइयो । खानेकुरा त परै जाओस् पिउने पानीसम्म दिइएन । उनी आफ्नै आँगनमा त्यसरी आततायीहरूको शिकार बन्नुप¥यो । 
त्यही यातनाकै कारण उनको मानसिक अवस्था दिनदिनै कमजोर बन्दै गयो । कमाउने समयमा उनको शारीरिक र मानसिक क्षयका कारण घरको अवस्था झनपछि झन जर्जर बन्दै गयो । 
उनकी आमा भन्नुहुन्छ–
‘जाँडरक्सीको अम्मली भएको छ ।’ 
निर्दोष हुँदाहुँदै खप्नुपरेको असह्य यातनाका कारण समानसिंह पुनमगरलाई डिप्रेसनले सताएको छ । जाँडरक्सीको अम्मल त त्यही तनावको परिणाम मात्रै हो । 


माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति मन्त्रालय बन्यो । शान्ति समितिहरू बने र स्थानीय स्तरमै काम गर्न थाले । सत्य निरुपण र मेलमिलाप आयोग पनि बन्यो । समिति र आयोगमा नमिलेका मुद्दाहरू हेर्ने अदालत पनि छँदैछ तर समानसिंह पुनमगरमाथि परेको अन्याय कसैको नजरमा परेन । यतिसम्म कि जिल्लामा स्थापना भएको स्थानीय शान्ति समितिले प्रकाशन गरेको पुस्तिकामा राज्य र विद्रोही पक्षबाट अन्यायमा परेका मानिसहरूको नामावलीमा उनको नाम छैन । सामान्य अपमानका घटनाहरूलाई समेत लिपिबद्ध गरिएको ऐतिहासिक पुस्तिकामा थिल्थिलो बन्नेगरी कुटाई खाएका समानसिंहजस्ताको नाम छुटेको छ । राज्य त उनको पहुँचभन्दा धेरै टाढा नै छ तर जसको नाममा उनले त्यसरी यातना भोग्नुप¥यो उसको नजरमा पनि उनी परेनन् । हुन त हजारौँ ज्यूँदा सहिद र युद्धमा अपाङ्ग बनेका जनतालाई बिर्सिइएको देशमा उनको पीडा कसैको चासोमा परेन होला ।

तनाव पनि कहिल्यै घटेन उनको जीवनमा । एकपछि अर्को हुँदै दुःखका श्रृङखला उनको परिवारमा दोहोरियो । घर जल्यो । एउटी १३ वर्षकी छोरी उनकै काखमा बितिन् । उनी भन्छन्–
‘छोरीको सम्झना आउँदा मनमा अझैपनि गाँठो पर्छ । अन्तिम क्षणसम्म पनि ‘बाबा मलाई बचाउनुस्’ भन्दैथी । मेरै काखमा तड्पँदै मरी । गाउँमा अस्पताल भएको भए सायद ऊ बाँच्थी ।’

यसपटक उनको घरमै गएर मैले उनलाई भेटेको थिएँ । दिउँसोको समयमा भुईँमा लम्पसार सुतिरहेका थिए । शारीरिक र मानसिक रुपमा कमजोर देखिन्थे । उनको अनुहारभरि मैले राज्यको उपेक्षा सहेर बाँचिरहेका करोडौँ सीमान्तकृत जनताको अनुहार देखें । 
अब त सिद्धारा पनि शितगंगा नगरपालिका बनेको छ । यसपाली जिल्लाका सबै नगरपालिका र गाउँपालिकामाभन्दा यस नगरपालिकामा तुलनात्मक रुपमा धेरै बजेट बिनियोजन गरिएको छ । अब राज्यको नजरमा समानसिंह  पुनमगरहरू पनि परुन् र देश निर्माणको महान अभियानमा उनीहरूको समान सहभागिता रहोस् । 

published @Tarangga

Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...