Thursday, 13 July 2017

‘मिनी कर्णाली’को घाउ


जेबी दर्लामी



धेरै वर्षपछि गाउँ फर्किरहेको थिएँ । हातमुख जोर्ने बाध्यताले करिब चार वर्ष त लगातारजसो नै विदेशमा बस्नुप¥यो । जहाँ बसेपनि गाउँको सम्झना नआएको कुनै दिन थिएन । सधैं नै मनमा लागिरहन्थ्यो, गाउँका लागि केही गरौं । तर आफ्नो अस्तित्व नै सङ्कटमा परेको समयमा अरुका लागि सोचेर पनि केही गर्न नसकिँदो रहेछ । त्यही विवश मानिस बनेर धेरै वर्ष म गाउँ छाडेर भौँतारिएँ ।

यसपाली गाउँ जाने मौका मिल्यो । अर्घाखाँची जिल्लाको सुदूर विकट गाविस भनेर चिनिएको सिद्धाराको पनि अति नै सिमान्त गाउँ सिलिङखोला मेरो गाउँ हो । राज्यले उपलब्ध गराउनैपर्ने आधारभूत आवश्यकताबाट आजसम्म पनि बञ्चित मेरो गाउँ । माओवादी युद्धको समयमा राज्यले यस ठाउँलाई मिनी रोल्पा नामाकरण गरेर यहाँको सुरक्षा सम्वेदनशीलता देखाउन चाहन्थ्यो भने विद्रोही पक्षले यो ठाउँको नाम मिनी कर्णाली राखेका थिए । यसरी उनीहरूलेचाहिँ यो ठाउँको दयनीय अवस्था देखाउन चाहन्थे सायद । 
अहिले समय फेरिएको छ । व्यवस्था फेरिएको छ । तर यो गाउँको दूरावस्था अझैपनि उस्तै छ । अझ बढेको छ । आजपनि सिलिङखोला मिनी कर्णालीकै रुपमा छ । आजपनि यो ठाउँमा राज्यको उपस्थिति शून्यजस्तै छ ।

जेठको दोस्रो साता म आफ्नो गाउँमा पुगेको थिएँ । गाउँ सुनसान थियो । युवकहरू थिएनन् । साना बालबालिकाहरूका ओठमा प्राकृतिक रुपमै फक्रनुपर्ने हाँसो कतै सुनिएन । जताततै बाँझो खेतबारी देखिए । काखमा बच्चा च्याँपेर महिलाहरूले हलो समातेको दृष्य जताततै थियो । बृद्धबृद्धाहरू आँखामा तिर्खालु प्रतीक्षा बोकेर पिँढि कुरिरहेका थिए । लोकतन्त्र आएको भनिएको दशक बितिसक्दा पनि मेरो गाउँको दूर्दशा उस्तै रहेछ ।

पशुपति प्रा.वि.का हेडसर लक्ष्मण अधिकारीले यो गाउँमा बसेर अध्यापन गर्न थालेको २६ वर्ष पुग्यो । यतिका लामो समयसम्म एउटै विद्यालयमा पढाउनुको अनुभव सुनाउँदा उहाँ आफै चकित हुनुहुन्छ । कसरी बिताएँ हुँला यतिका वर्ष ? आफैसँग प्रश्न गर्नुहुन्छ । हुनपनि आजसम्म यातायातको कुनै सुविधा नभएको ठाउँ २६ वर्षअघि कस्तो हुँदो हो ? कोशौँ टाढा घरबाट हप्तैपिच्छे आउजाउ गर्नुको पीडा लक्ष्मण सरवाहेक अरु कसलाई थाहा होला र ? 
आजपनि न यातायात छ, न राम्रो पैदल मार्ग नै छ । न त पिउने पानीको उचित व्यवस्था छ न शिक्षा र स्वास्थ्यको । गाउँमा आजसम्म एउटा सानो क्लिनिकसम्म छैन । स्कूलमा बस्दाबस्दै दिउँसो कसैको फोन आउँछ, फलानो ठाउँमा फलानो मान्छे सिकिस्त बिरामी छ, तुरुन्त आइदिनुप¥यो । विद्यालयलाई दुई नबज्दै बन्द गरेर लक्ष्मण सर र म त्यता लाग्छौँ । बाटाभरि कल्पना गर्छु, एउटा स्वास्थ्यचौकीको व्यवस्था गाउँमै भइदिएको भए एउटा शिक्षकलाई यसरी असमयमै विद्यालय बन्द गरेर दौडनु पर्दैनथ्यो । एउटा स्वास्थ्यकर्मीलाई आउने फोनकल शिक्षकलाई आएको थियो ।
बिरामीको छटपटीको कुरा के गर्नु ? गाउँमै स्वास्थ्यचौकी भएको भए कमसेकम पेनकीलरको व्यवस्था हुँदो हो र तत्कालका लागि बिरामीको दुखाईमा राहत हुँदो हो । यी सबै यो गाउँको लागि अहिलेसम्म कल्पनामा मात्रै सिमित रहेको छ । 

गाउँमा स्वच्छ पिउने पानीको व्यवस्था छैन । करिब दुई दशकअघि फिनलैण्ड सरकारको सहयोगमा निर्माण गरिएका केही पानी धाराहरूको आज कुनै निशान छैन । खोल्साखोल्सीमा पाइने भेल पानी या त खोलाको पानीको सहारामा यहाँका मानिसहरू बाँचिरहेका छन् । खोलाको मुहानमा केही वर्ष अघि गएको विशाल पहिरोका कारण पर्याप्त मात्रामा पिउने पानी पनि छैन । धमिलो र दूषित पानीका कारण लाग्ने पत्थरीलगायतका रोगहरूको जोखिम उत्तिकै  छ । 

जताततै बाँझो खेतबारी देखा पर्छ । बजार र बिक्रीस्थलको असुविधाका कारण उत्पादनप्रति मानिसहरूको जाँगर कम भएको एउटा पक्ष हो भने अर्को पक्ष भनेको बलिया युवाहरू गाउँमा बस्न नपाउनुको नतीजा पनि हो यो । सिँचाईको सुविधा नभएको खेतबारीमा वैकल्पिक खेतीबालीको बारेमा मानिसहरूलाई सिकाउने हो भने गाउँको स्तरमा अपेक्षाकृत सुधार आउने देखिन्छ । 

घना बनजँगलको उपलब्धताका कारण यो ठाउँ पशुपालनका लागि योग्य त छ तर पोषिलो घाँसको अभाव पनि उत्तिकै छ । कृषि कार्यालय र यससम्बन्धि काम गरिरहेका विभिन्न गैरसरकारी संस्थाहरूको ध्यान यता पुग्न सके र यहाँका कृषकहरूको खरबारीमा मात्रै पोषिला घाँस खेती लगाउन सके पशुपालनका निम्ति यो ठाउँ जिल्लामै नमुना बन्नेछ । दाङमा प्रादेशिक राजधानीको सम्भावना बढ्दै गइरहेको अवस्थामा यो ठाउँको महत्व झन दिनानुदिन बढ्दै गइरहेको छ ।

यसपटक गाउँमा चुनावको चहलपहल पनि खासै देखिएन । वाईसीएलका केटाहरू राता टिसर्ट लगाएर हिँडेका चाहिँ भेटिए । गाउँमा अरु दलका प्रतिनिधिहरू पुगेको खबर सुन्नासाथ उनीहरू हान्निएर बाटो छेक्न आइपुग्दा रहेछन् । प्रत्यक्ष धम्की या गालीगलौज त उनीहरूले गर्दैनन् तर विभिन्नखाले मनोवैज्ञानिक त्रास देखाएर गाउँका जनतामा आफ्नो प्रभाव कायम गरिरहेका देखियो । र यो पनि देखियो, उनीहरू दिनभरि गाउँ चाहार्ने अनि रातभरि रक्सीको तालमा झुम्ने गर्दा रहेछन् । मसँग पनि केही युवकहरूको भेट भएको थियो । भारतबाट काम गरेर फर्केकाहरूलाई माओवादीका स्थानीय नेताहरूले भेट्नै नहुने रहेछ । वाईसीएल लेखेको टिशर्ट भिराइहाल्दा रहेछन् । यसरी उनीहरूले सिँगो गाउँ आफ्नो कब्जामा रहेको सन्देश दिन खोज्दारहेछन् । उता अल्लारे केटाहरू सित्तैको टिशर्ट पाएर मख्खै । उनीहरूलाई देश त के आफ्नो गाउँको अवस्थासम्म थाहा छैन । कुराकानीको क्रममा उनीहरूले यदि चुनावमा जितेर पनि आफूहरूलाई फर्केर हेरेनन् भने आफ्नै पार्टीका प्रतिनिधिको पनि घर फुटाउने कुरा गरे । पाईप बम बनाउन जानेको कुरा पनि सुनाए । गाउँको दूर्दशालाई कसरी सम्बोधन गर्ने ? गाउँको कसरी स्तरोन्नति गर्ने ? यी कुराहरूमा उनीहरूलाई कुनै चासो र चिन्ता छैन, ज्ञान पनि छैन । धेरैजसो युवकहरू अझै पनि लहैलहैमा राजनीतिक स्वार्थका गोटी बनेका रहेछन् । उनीहरूलाई यथार्थसँग साक्षात्कार नगराएसम्म गाउँको उन्नतिको सम्भावना पनि खेर गइरहने छ ।

गाउँमा धेरै कुराको अभाव छ तर मुख्यगरि बाटो, खानेपानी, स्वास्थ्यचौकी र सुलभ शिक्षाका बारेमा तत्काल सम्बोधन गरिनैपर्छ । बाटो र यातायातको सुविधा भएमा गाउँको उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुनेछ । स्वच्छ पिउने पानीको व्यवस्था भयो भने गाउँका जनतालाई लाग्ने विभिन्न रोगहरूमा कमी आउनेछ । त्यसैगरि यति ठूलो गाउँमा आजसम्म एउटा स्वास्थ्यचौकी नहुनु राज्यको पक्षपातपूर्ण व्यवहारको एउटा गतिलो उदाहरण हो । अब निर्वाचित हुने वडाका प्रतिनिधिहरूले आफ्नो गाउँठाउँका लागि यिनै समस्याहरूसित लड्नुपर्ने छ ।








Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...