Saturday, 6 August 2016

डाक्टर चित्रको सम्झनामा


- जेबी दर्लामी

श्रावण २२, २०७३- डाक्टर चित्रप्रसाद वाग्ले मेरो पनि डाक्टर हुनुहुन्थ्यो । उहाँका हातले मलाई पनि धेरै पटक स्पर्श गरेका थिए । उहाँको आलाले मेरो छातीको धडकन थुप्रै पटक जाँचेको थियो । उहाँले सिफारिस गरेको औषधिहरूले म निको पनि भएको थिएँ । निश्चय नै, अर्घाखाँची जिल्लाको बासिन्दा हुनुको नाताले पनि डाक्टर चित्रलाई भुल्नु मेरो कृतघ्नता हुनेछ ।
करिब पाँच वर्षको सन्धिखर्क बसाइलाई बिट मार्दै म २०६४ सालमा आफ्नै घर सिद्धारा फर्केको थिएँ । त्यसयता चाहिँ उहाँसँग खासै भेट भएन । एक दिन सन्धिखर्कमा उहाँका बारेमा कसैले मलाई सुनाएको थियो, “डाक्टर चित्रलाई क्यान्सर भएको छ । अहिले काठमाडौँतिर हुनुहुन्छ ।” यो सुनेर मेरो हृदय दग्ध बनेको थियो । मेरो मन बेस्सरी हल्लिएको थियो । अझ सुनाउनेले यो पनि जोडेको थियो, “अब उहाँ बाँच्ने सम्भावना नै छैन रे ।”

मन निमोठिएको थियो । उहाँसँग नजिक भएर बस्ने या कुराकानी गर्ने मौका त कहिल्यै पाइनँ, तर उहाँले मलाई मौका पर्दा बोल्ने र हाँस्ने नै नहुने गरी टाढा पनि कहिल्यै सोच्नुभएन । भेट हुन्थ्यो । बाटोमा, क्लिनिकमा, अस्पतालमा । सधैँ हतारमा देख्थेँ । सधैँ बिरामीहरूको चिन्ता हुन्थ्यो उहाँलाई ।
उहाँको स्वास्थ्यका बारेमा थाहा पाएपछि अर्घाखाँचीमा उहाँको उपचारका लागि भनेर चन्दा उठाउने अभियान पनि सुरु भइसकेको थियो । पछि सुनियो, उहाँको सम्पूर्ण उपचार सरकारले गरिदिने भयो रे । चन्दा अभियान रोकियो । यतिसम्म कि, उठाइसकेको पैसा पनि उहाँले फर्काउन लगाउनुभएको समाचार सुनियो ।
पछि म विदेश आएँ, मलेसिया । उहाँका बारेमा विभिन्न समाचारमा सुनिरहन्थेँ । पढिरहन्थेँ । नरमाइलो लाग्थ्यो । मनले कामना गथ्र्यो, उहाँलाई निको भइदिए हुन्थ्यो ।
अनि एक दिन थाहा पाएँ, भारतमा लामो उपचारपछि उहाँलाई घर ल्याइएको छ । अमेरिका या क्यानाडा लगेर उपचार गर्ने हो भने उहाँलाई ठीक पनि हुन सक्छ, तर त्यसका लागि दुई–चार करोड रुपैयाँ लाग्न सक्छ । अनि सुनेको थिएँ, सरकारले उहाँको उपचार गर्ने भनेर पनि गरेन । नेताहरूलाई रुघा लाग्दा विदेशका महँगा अस्पतालमा लैजाने हाम्रो देशको सरकारलाई सायद उहाँ जस्ता जनताका सेवकहरूप्रति सधैँ नै आफुभन्दा असल भएकामा डाह हुन्छ ।
त्यस्तैमा एक दिन मेरो मुखमा पनि एउटा सानो घाउ देखियो । त्यो घाउ बिस्तारै ठूलो हुँदै गयो र एउटा आकारमा पुगेर रोकियो । माथिल्लो बंगाराको छेउमा आएको यो घाउले मलाई चिन्तामा धकेल्यो । सुरुसुरुमा बाक्लो र्‍याल आउने गरेको थियो । त्यसपछि मुख सुक्खा हुन थाल्यो । घाउ लगातार त दुख्दैनथ्यो, तर निको पनि भएन । अझै पनि यो त्यस्तै छ । कहिलेकाहीँ दुख्छ । थुप्रै अस्पतालमा देखाएँ, तर आजसम्म निको भएको छैन ।
यही घाउ हेरेपछि अनि मेरो कुरा विस्तारमा सुनेपछि एउटा निजी क्लिनिकको डाक्टरले मलाई भनेको थियो, “म शतप्रतिशत ठोकुवा गरेर भन्न सक्छु, यो क्यान्सर नै हो ।”
यसरी मेरा दुर्दिन सुरु भएका थिए, मलेसियामा । उता डाक्टर चित्र मृत्यु पर्खेर घरमा बस्नुभएको थियो । यता मेरो पनि अवस्था त्यस्तै थियो । म पनि अब मर्छु नै होला भनेर मानसिक रूपमा तयार हुने कोसिसमा थिएँ । साथीहरूले मेरा लागि भनेर चन्दा संकलनको कुरा पनि ल्याए, तर मैले तत्काल त्यसबारेमा अगाडि नबढ्न भनेँ । यस्तो बेलामा आफ्नो माया बिस्तारै हराउँदै जाँदो रहेछ, तर आफ्ना मान्छेहरूको माया झनै बढी लाग्दो रहेछ । अझ परदेशमा भएको अवस्थामा यो पीडा सायद लेखेर साध्य पनि छैन ।

मैले पनि खुब सम्झेँ बाबाआमालाई । उहाँहरूका लागि केही गर्न सकिनँ भन्ने ग्लानिले मलाई समातिरह्यो । श्रीमतीलाई सम्झेँ बारम्बार अनि दुई छोराहरूलाई पनि । अब यत्तिकैमा मरेँ भने उनीहरूले कति दु:ख पाउलान् भनेर कल्पिँदा रातभरि निद्रा लाग्दैनथ्यो । कमाउन भनेर आएको मान्छे, ऋण तिरिनसक्दै यति नराम्रो भुमरीमा परेको थिएँ । मैले पनि मृत्युको छायालाई देखेँ । मैले पनि मृत्युको आभास राम्रैसँग पाएँ ।

अनि एक दिन टेलिभिजनमा डाक्टर चित्रसँग दिलभूषण पाठकले गरेको कुराकानी हेरेँ/सुनेँ । आफ्नो रोग र कष्टका बारे हाँसीहाँसी कुरा गरिरहेका डाक्टर चित्र छोराछोरीको प्रसंग आउनेबित्तिकै बेस्सरी भक्कानिनुभयो । त्यो अनुभूति आफैँले पनि गर्नुपरेकाले हुन सक्छ, मैले उहाँको ठाउँमा आफूलाई राखेर हेरेँ । मेरो पनि आँसु थामिन सकेन । आँसुका थोपा परेलीको डिल भत्काएर बग्दै गए । अप्रत्यक्ष रूपमै भए पनि म डाक्टर चित्रसँग थिएँ । उता टेलिभिजनको पर्दामा उहाँले आँसु पुछ्नुभयो, यता मैले सिरानीमा मुख जोतेर आँसु लुकाउने कोसिस गरेँ ।
आखिर एक दिन उहाँले हामीलाई छाडेर जानुभयो । यो खबर सुनेर मलाई आफू पनि त्यही बाटोमा पालो कुरेर बसिरहेको मान्छे हुँ जस्तो लागिरह्यो । जीवनको क्षणभंगुरताका बारेमा मलाई राम्रैसँग थाहा छ, तर एकएक पाइला गर्दै, थकाइ मार्दै अनि अट्टहास गर्दै आफूतिर लम्किँदै आइरहेको मृत्युको सामना गर्नुपर्दाको अनुभव शब्दमा लेखिनसक्नु छ ।
सन्धिखर्कमा रहँदाबस्दाका सम्झनाहरू समेटेर कुनै दिन संस्मरणात्मक निबन्धहरूको सँगालो तयार पार्नुपर्ला भन्ने सोचेको थिएँ, धेरै अगाडिदेखि । केही शीर्षक छानेको पनि थिएँ । त्यहाँ डाक्टर चित्रका बारेमा पनि केही लेख्नेबारे सोचेको थिएँ । उहाँका बारेमा कुनै दिन यसरी यहाँ केही लेख्नुपर्ला भनेर चाहिँ मैले कहिल्यै सोचेको थिइनँ ।
मलाई अझै पनि एउटा प्रश्नले बारम्बार हिर्काइरहन्छ । त्यो के भने, सामान्य मजदुरहरू परेका बेलामा एकअर्कालाई सहायता गर्न दिलोज्यानले लागेका हुन्छन् । देशकै शिक्षित वर्ग भनेर चिनिने डाक्टरहरूमा त्यति गुण या ज्ञान छैन होला र ? मानवताको सेवामा लागिपरेका डाक्टरहरू किन आफ्नै सहकर्मीको दुर्दशामा रमिते बनेर बसे होलान् ? हुन त यसको जवाफ पनि छ । डाक्टर चित्रले चाकडी र चाप्लुसीमा जिन्दगी बिताउनुभएको भए सायद सरकारका मान्छेहरू उहाँका लागि अगाडि सर्थे, उहाँका साथीहरू उहाँलाई हौसला दिन तत्पर हुन्थे । व्यक्तिगत रूपमा त धेरैले उहाँका लागि गरे होलान्, तर संस्थागत हिसाबले गरेको भए उहाँका लागि धेरै अर्थपूर्ण हुने थियो र सायद सम्भावनाहरूमा अनेक फेरबदल पनि हुन सक्ने थियो ।
डाक्टर चित्रके बारेमा यति लेखिरहँदा, उहाँका कमीकमजोरी नै थिएनन् त भन्ने प्रश्न जरुर उठ्ला । थिए उहाँका पनि कमजोरीहरू । किनकि उहाँ पनि कुनै देवता हुनुहुन्थेन । उहाँ पनि मान्छे नै हुनुुहुन्थ्यो । अर्घाखाँचीमा विशेष गरीकन औषधि माफियाहरूलाई उहाँले चाहेको भए रोक्न सक्नुहुन्थ्यो भन्ने गुनासो सुनिन्छ । निजी क्लिनिक चलाइरहेकाहरू जनस्वास्थ्यसँग खेलबाड गर्दै पैसा कमाउने होडबाजीमा लागेको उहाँले पनि देख्नुभएको हुँदो हो । जनरल मेडिकल, प्याथोलोजी र एक्सरे सेन्टरहरूले एउटा बिरामीलाई अनावश्यक रूपमा एकअर्काको क्लिनिकमा सिफारिस गरेर पालैपालो लुटिरहेको पनि उहाँलाई अवगत थियो होला । उहाँले तिनीहरूको जालो तोड्न सक्नुभएन भन्ने कुरा पनि गर्छन् कतिपय मानिसहरू । तर सबभन्दा ठूलो उहाँको कमजोरी उहाँ स्वयं अनि उहाँको आफ्नो कर्तव्य नै थियो । किनकि उहाँले अरूको स्वास्थ्यका बारेमा ख्याल गरिरहँदा आफ्नै स्वास्थ्यको ख्याल कहिल्यै गर्नुभएनछ । यदि त्यस्तो हुन सकेको भए उहाँलाई लागेको रोग एकै पटक शरीरभरि संक्रमण भएर उहाँलाई सिध्याउने चरणमा सायद पुग्दैनथ्यो ।
कहिलेकाहीँ कुनै बिरामीसँग या कुनै बिरामीलाई भेट्न जिल्ला अस्पताल गएका बेला मध्यरातमा पनि डाक्टर चित्रलाई वार्डहरूमा घुमिरहेको देख्थ्यौँ हामी । चस्मा शिरमा अड्याएर, निद्राले सताएका राताराता आँखा लिएर उहाँ बिरामीहरूलाई छुँदै हिँडेको मैले धेरै पटक देखेको थिएँ । सबैसँग मीठो स्वरमा बोल्दै, सबैलाई समय दिँदै अनि बिरामीका कुरुवाहरूसँग पनि अत्यन्तै आत्मीयता देखाउँदै उहाँ अस्पतालभरि घुम्नुहुन्थ्यो ।
अहिले त सबै सपना जस्तै लागिरहन्छ ।
प्रकाशित: श्रावण २२, २०७३


http://bit.ly/2aQkXtI

http://bit.ly/2aQkXtI

Book

बाआमा फर्कनुभो

जेबी दर्लामी विद्वानहरू भन्छन्, अहिलेको समाज एक दिन विघटन हुनेछ । यो समाजको स्वरुप यस्तै अरु धेरै समय टिक्नेछैन । प्रदीप गिरि भन्छन्, ‘स्...